८ चैत, काठमाडौं । विश्व काष्ठ दिवस सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । चार वर्ष अघिदेखि मनाउन थालिएको दिवसको चौंथो मूल समारोह नेपालमा सुरु भएको हो ।
प्रज्ञा भवन कमलादीमा सुरु भएको दिवसको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरिन् । भण्डारीले काठको प्रयोग मानव जीवनमा अत्यावश्यक भएको भन्दै यसको सिर्जनशील प्रयोगबाट आर्थिक उपार्जन गर्न सकिने बताइन् । उनले वन जोगाउने दायित्व सबैको भएको बताउँदै काठको दीर्घकालीन उपयोगमा सबैको ध्यान जानुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा वन मन्त्री अग्नी सापकोटाले भूकम्पबाट भर्खर तङ्ग्रिन लागेको नेपालमा भएको काठ दिवसको समारोहले काठको महत्वलाई झन् बढाएको उल्लेख गरे ।
कार्यक्रमका वक्ताहरुले काष्ठकलाकै नामबाट चिनिएको काठमाडौं शहरमा विश्व काष्ठ दिवस मनाउन पाउनु सौभाग्य भएको बताए ।
३ सय ५० भन्दा बढीको सहभागिता
प्रकृति र संस्कृति भन्ने मूल विषयमा केन्द्रित रहेर यो वर्षको विश्व काष्ठ दिवस मनाउन लागिएको छ । वातावरण मैत्री नविकरणीय जैविक पदार्थका रुपमा चिनिने काठको महत्वलाई प्रवर्द्धन गर्न विश्व काष्ठ दिवस मनाउन थालिएको हो । यो दिवस आजदेखि साताव्यापी रुपमा मनाइने छ ।
सन् २०१३ मा पहिलोपटक तान्जेनियामा भएको यो दिवसको समारोह सन् २०१४ मा चीन र २०१५ मा टर्कीमा आयोजना भएको थियो । प्रकृति र संस्कृति विषयमा केन्द्रित रहेर मनाइनेे दिवसमा झण्डै एक सय देशका काठविद, कलाकार र वैज्ञानिक गरी ३ सय ५० भन्दा बढीको सहभागिता छ ।
अन्तर्राष्ट्रिय प्रकृति संघले संयोजन गरेको कार्यक्रमको उदघाटन समारोहमा विभिन्न देशका साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरियो । विशेष गरी काठबाट बनेका वाद्यवाधनबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिएको हो ।
अन्तर्राष्ट्रिय काष्ठ सँस्कृति समाज र वन मन्त्रालयको आयोजनामा सुरु भएको कार्यक्रममा काष्ठकलाको प्रदर्शनी पनि राखिएको छ । प्रज्ञा भवनभित्रै कालीगढहरुले काठमा खोपेका कला अवलोकन गर्न सकिन्छ ।
पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास
विभिन्न देशका कलाकारहरुले काठको प्रयोग गरी विभिन्न मुर्ति, हस्तकला र विभिन्न काष्ठजन्य सामाग्रीहरु निर्माण पनि गर्नेछन् । कार्यक्रमले नेपालको काष्ठकलाको प्रवर्द्धन हुनुका साथै भूकम्पपछि पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन फलदायी हुने विश्वास गरिएको वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले बताए ।
कार्यक्रममा काष्ठसम्बन्धी कार्यशाला पनि हुनेछ । काठबाट बनेका बाद्यवाधनको प्रदर्शनी पनि राखिएको छ । यस्तै लोककला कार्यशाला, बाल कार्यक्रम, सांगितिक कार्यक्रम, वृक्षारोपणलगायत कार्यक्रम पनि राखिएका छन् । काठको टर्निङ प्रविधि र फर्निचर बनाउने प्रतियोगिता पनि प्रज्ञा भवन परिसरमै हुनेछ ।
चैत १२ गतेसम्म चल्ने विश्व काष्ठ दिवसको सर्वसाधारणले पनि अवलोकन गर्नसक्ने आयोजकले जनाएको छ । प्रदर्शनी र कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment