काठमाडौं, ८ चैत । नेपाल प्रहरीमा मर्यादाक्रम मिचेर केही प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक डिएसपीमा बढुवा गरिएपछि प्रहरी संगठनभित्र असन्तुष्टि चर्किएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको नेतृत्वमा रहेको बढुवा समितिले लोकसेवा आयोगको मेरिट लिस्टलाई लत्याएर शक्ति केन्द्रका नजिक बसेकालाई बढुवा गरेपछि असन्तुष्टि चर्किएको हो । समितिले केही दिनअघि केही इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको थियो ।
लोकसेवा आयोगको मेरिट लिस्टमा आफू अगाडि भए पनि बढुवामा नपरेकाहरुले असन्तुष्टि जनाइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको सुरक्षागार्ड रहेका इन्स्पेक्टर दानबहादुर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्ड रहेका सुदीप पाठक, राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा गार्ड रहेका कपिल कटुवाल, आईजीपीको सचिवालयमा रहेका श्याम सारुमगर, एआईजी वीरेन्द्रबाबु श्रेष्ठको सचिवालयका रुपेश तण्डुकार, गृहमन्त्रीको सुरक्षा गार्ड रहेका पवनकुमार भट्टराईलाई समितिले बढुवा गरेको थियो । यसरी शक्तिकेन्द्रको नजिक बसेकाहरुलाई बढुवा गरिएको भन्दै प्रहरी प्रधान कार्यालयकै अधिकृतहरुले असन्तुष्टि व्यक्त गर्दै यसलाई शक्ति र सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।
बढुवा गर्दा समितिले २०६२ साल साउनको पुरै ब्याजलाई छुटाएर २०६२ साल भदौको ब्याजकालाई समेटेको छ । साउनमा भर्ना भएका करिब १ सय जना प्रहरी निरिक्षक छन् । भदौको ब्याचका ४६ जनामध्ये १० जना बढुवामा परेका छन् ।
बढुवाको रोल क्रममा रहेका दक्ष र कुशल भनिएका नविन कार्की, नवराज मल्ल, पुष्प मल्ल, दीलबहादुर मल्ल, दीलिप गिरी, भरत लामा, मुकुन्द रिजाल, रविन श्रेष्ठ, प्रदीप सिंह र बुद्धिलाल कामत भने बढुवामा परेका छैनन् ।
प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले भने बढुवा न्यायसंगत भएको दाबी गरेका छन् । व्यक्तिगत असन्तुष्टि भए कानुनी बाटो खुला रहेकाले उजुरी दिए हुने उनले बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment