Monday, March 21, 2016

भारतीय चासोकाबीच चीनले नेपालमा पेट्रोल भेटाउला ?

रवीन्द्र घिमिरे
८ चैत, काठमाडौं । चीनले नेपालमा रहेका पेट्रोलियम खानीको अन्वेषणमा सहयोग गर्ने भएको छ । चीनको नेशनल चाइना पेट्रोलियम कर्पोरेशन विश्वकै पेट्रोल अन्वेषण र उत्खनन् गर्ने सबैभन्दा ठूलो संस्था हो ।

यसैले अब नेपालमा पनि तेल र ग्यासको उत्खननको सम्भावनाबारे अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागले तीन दशक अघिदेखि नेपालमा पेट्रोलियम खानीको अन्वेषण थालेको थियो ।

नेपालमा पेट्रोलियम पदार्थको उत्खनन गर्न सकिने सम्भावना प्रचुर भएपनि प्राविधिक विज्ञता, प्रविधिक र जनशक्तिको अभावमा यसको विस्तृत अनुसन्धान हुन सकेको छैन ।

त्यसो त नेपाल सरकारले अहिलेसम्म यस विषयमा खासै चासो पनि दिएको थिएन । तर, नयाँ बनेको संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि नेपालले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्र्याउन पहल गरेको थियो ।

त्यही परिणामस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला पेट्रोलियम अन्वेषणमा सहयोग उपलब्ध गराउने सम्झौता भएको छ ।

नेपालको अध्ययन कहाँ पुग्यो ?
नेपालको तराईका अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन् गर्न सकिने भनेर झण्डै ३५ वर्ष अघि नै पत्ता लागेको हो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि स्थापना गरिएको छ ।

तर, सरकारले परियोजनालाई सक्रिय गरेर पेट्रोल नेपालमै उत्खनन् गर्ने गरी त्यस्ता कुनै नतिजा दिने किसिमका कार्यक्रम अघि सारेको छैन ।

नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्रहरु पहिचान भइसकेको खानी तथा भूगर्भ विभागका भूगर्भविद सोमनाथ सापकोटाले अनलाइनखबरलाई बताए ।

पेट्रोलियम अन्वेषणका आवश्यक अर्बौं रकम लगाउन अहिलेसम्म सरकार पनि थिएन । अब भने यसका लागि चीनले नेपालमा औपचारिक प्रवेश पाउनेछ ।

अहिलेसम्मका उपलब्धी
खानी विभागले गरेको अध्ययनले चुरेभन्दा मुनिको सबै भू-भागबाट पेट्रोलियम पदार्थ उत्खनन् हुनसक्ने देखाएको छ । पेट्रोलियम बन्ने स्रोत पहाडी भू-भाग हो भने, चुरे ‘सिल्ड’ क्षेत्रमा पर्छ । तराईबाट उत्खनन् गर्न सकिने भएकाले त्यसलाई रिजर्भवायरका रुपमा मानिएको छ ।

विभिन्न वैज्ञानिक आधारहरुलाई पछ्याएर विभागले पेट्रोलियमको सम्भावनालाई पुष्टी गर्ने गरी भौगर्भिक एक्स-रे लगायत विभिन्न अध्ययन सकेको छ । त्यसैका आधारमा ती क्षेत्रमा पेट्रोलियम पदार्थ पाइने सम्भावनालाई विभागले बाहिर ल्याइसकेको छ ।

तिनै अध्ययनका आधारमा सम्भावित भू-भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो ।

तर, सम्झौताअनुसार तिनले अन्वेषण र उत्खननको काम नगरेपछि नेपाल सरकारले सम्झौता गत वर्ष मात्रै खारेज गरेको थियो । १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले पाएको अनुमति खारेज भएको थियो भने ३ र ५ मा टेक्साना, ८ र ९मा इएबी र १० नम्बर ब्लकमा बीबीबीको अनुमति रद्द भएको थियो ।  त्यसपछि कुनै ब्लकका लागि पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि कसैलाई अनुमति दिइएको छैन ।

भारतको चासो
भारतले ०४५ सालमा नकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको थियो । सेल नेपाल नामक कम्पनीले बिराटनगर आसपासको क्षेत्रमा अन्वेषणको काम गरेको थियो ।

मोरङको बाहुनी गाविसस्थित राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिराइसम्म डि्रल गर्‍यो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएको भन्दै कम्पनी अन्वेषणबाट पछि हट्यो ।

त्यस घटनालाई नजिकबाट हेर्नेहरु भारतको दबावमा कम्पनीले काम नगरेको आरोप लगाउँछन् । जानकारहरुका अनुसार नेपालमा तेल निकालियो भने आफ्नो तेल भण्डार सुक्ने डर भारतलाई थियो । त्यतिबेला राधानगरमा पेट्रोल खोज्न खनिएको खाडल अहिले पनि देख्न सकिने स्थानीय बताउँछन् ।

०४६ सालबाट देशमा विकसित नयाँ बहुदलीय राजनीतिक परिवर्तनपछि पेट्रोलियम पदार्थको खोज र उत्खननमा राज्यले खासै काम गर्न चाहेन ।

सम्भावना कति ?
नेपालको जुन भूभागमा पेट्रोलियम पदार्थ छ भनेर अनुमान गरिएको छ, भारत र पाकिस्तानका त्यस्तै श्रृङ्खलामा पर्ने भूभागमा डिजेल-पेट्रोल भेटिएका छन् ।

दैलेखको पादुकामा भेटिएको कच्चा तेल

दैलेखको पादुकामा भेटिएको कच्चा तेल

पाकिस्तानमा नेपालको जस्तै चुरे पर्वत श्रृङ्खलामा पर्ने पाट्वर बसिन क्षेत्रमा तेलको उत्खनन् भइरहेको छ । भारतले पनि चुरे श्रृङ्खलाभन्दा मुनिको विभिन्न क्षेत्रबाट तेल निकालिरहेको छ ।

अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । अन्य धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यासहरु निस्किरहेका छन् । काठमाडौंमै पनि प्राकृतिक ग्यासको भण्डार रहेको कुरा जापानले गरेको एक अध्ययनले पुष्टी गरिसकेको छ ।

यी विषयले नेपालको पेट्रोलियम सम्भावनालाई सतहमा नै ल्याएका छन् । दैलेख कै श्रीस्थानमा जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ ।

यस्ता ग्यास र तेल भण्डार उत्खनन् गर्न चीनले गर्ने सहयोगमा नेपाली अधिकारीको समर्थन तथा सदासयता रह्यो भने र नेपालको प्रगति देख्न नचाहने छिमेकी राष्ट्रको चलखेल भएन भने नेपाल पेट्रोलियम पदार्थमा आत्मनिर्भर बन्नसक्ने विज्ञहरु बताउँछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment