नेपाल सरकार गृह मन्त्रालयद्वारा नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित ‘उपत्यका विशेष सुरक्षा सम्वन्धी गोष्ठी’ सम्पन्न भएको छ । उक्त गोष्ठीको गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार एक समारोहबीच उद्घाटन गरेका थिए ।
गोष्ठी उद्घाटनका अवसरमा गृहमन्त्री बस्नेतले संगठनको नीति नियमलाई समयानुकूल बनाइ लागू गर्न र त्यस्ता विषयको लेखाजोखा गर्न विशेष समय परिस्थितिमा गोष्ठीको आयोजना गरिने बताए ।संगठनमा जनशक्ति व्यवस्थापन, जिम्मेवारी बहन र नयाँ भावी योजनासहित अगाडि बढ्न गोष्ठीले मार्गनिर्देश गर्ने उनले बताए । संविधान निर्माण पश्चात मुलुक ऐतिहासिक परिवर्तनको चरणमा पुगेको अवस्थामा संविधान कार्यान्वयन, राष्ट्रिय एकता र सुशासनमा विशेष जोड दिनुपर्ने उहाँले चर्चा गरे ।
अपराधीले आफ्ना आपराधिक क्रियाकलापमा समेत समयअनुसार परिवर्तन गर्ने भएकाले त्यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण, अनुसन्धान तथा आइपर्ने चुनौती समाधानका लागि आन्तरिक रुपमा छलफल गरी अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गरे ।इन्धन अभाव लगायत जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा समेत आमनागरिकले सरकारको साथ दिँदै आएको चर्चा गर्दै गृहमन्त्री बस्नेतले हाल पेट्रोलियम पदार्थ व्यवस्थापनमा सहजीकरण भइसकेको अवस्थामा विकासलाई साझेदारीको महत्वपूर्ण भूमिकाको रुपमा लिई बिकास निर्माण र सुदृढिकरणका लागि सकारात्मक वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरे ।
गोष्ठीमा गृह सचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले उपत्यकाको शान्ति सुरक्षा, चुनौती र भावी कार्ययोजनाका बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
गृह मन्त्रालय, शान्ती सुरक्षा महाशाखाका प्रमुख सहसचिव यादवप्रकाश कोइरालाले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेको सो गोष्ठीमा आगामी दिनमा शान्ति सुरक्षाको व्यवस्थापन तथा भावी कार्ययोजना तर्जुमा, गुण्डागर्दी तथा कालोबजारी नियन्त्रण, मठमन्दिरको सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो । गोष्ठीमा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरु, काठमाडौं ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा ती जिल्लाका सुरक्षा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment