– हरि देवकोटा
भूकम्पपछि नेपाल र चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी झण्डै एक वर्षसम्म बन्द रह्यो। हालै चीन सरकारले भूकम्पअघि रोकिएका सामान ल्याउन पाउने गरी अस्थायी रुपमा नाका खोलेको छ। भत्किएको सडक सफा गरेर एकातर्फी रुपमा मात्र ट्रक चल्ने बनाइएको छ। चीन जोड्ने मितेरी पुलपनि भत्किएका कारण भत्किएको पुलमाथि अर्को बेलिब्रिज बनाएर गाडी आवतजावत गर्छन्।
छोटो समयका लागि भएपनि नाका खुलेपछि पहिले घर छोडेर बाहिर बसेका तातोपानी नाका जोडिएको लिपिङ बजारका वासिन्दा फर्किन थालेका छन्। चहलपहल बढेसँगै होटल सञ्चालक, कपाल काट्नेहरु, सुन पसलेहरु पनि ब्यापार गर्न पुगेका छन्।
तातोपानी बजार
खासामा रोकिएको सामान ल्याउने शर्तमा अस्थायी रुपमा सडक सञ्चालन गर्दा ट्रकचालक, सहचालक, सामान लोड, अनलोड गर्ने मजदुरलाई रोजगारी मिलेको छ। तातोपानी नाका नजिकैको लिपिङ बजारमा चहलपहल बढेर ब्यापार विस्तार भएपनि यो ठाउँ अझै जोखिमयुक्त छ भन्ने कुरामा सचेतता देखिएन।
यसकारण तातोपानी क्षेत्र जोखिममा
यस क्षेत्रको भौगर्भिक अवस्थाको ख्याल नगरी अहिले नै लिपिङ बजारमा बसोबास गर्नु र सडक सञ्चालन गर्नु उपयुक्त छैन। यो बजार वैशाख २९ गतेको ६.९ रेक्टर स्केलको भूकम्पको इपिसेन्टरको २ किलोमिटर आकाशेदूरीभित्रै पर्छ। वैशाख १२ र २९ गतेको भूकम्प र निरन्तरको परकम्पका कारण यहाँका पहाडहरु चिरिएका छन्। ढुंगाहरु उक्किएर झर्न ठिक्क परेका छन्। कुनैपनि बेला झर्न सक्छ।
सडक छेउमा रहेका जोखिमयुक्त घर
लिपिङ बजारका कुनै पनि घर सद्दे छैनन्। वैशाख १२ को भूकम्पको इपिसेन्टर वारपाक र लाप्राक जस्ता गाउँहरु जति क्षतविक्षत भएपनि त्यहाँ धेरै भग्नावशेषहरु हटाइसकिएका छन्। स्थानीय वासिन्दा झण्डै झण्डै सामान्य अवस्थामा फर्किसकेका छन्। तर २९ गतेको इपिसेन्टर नजिकको यो ठाउँको जनजीविका भने पुरानै अवस्थामा छ। भत्केका घरहरु उस्तै छन्। मान्छेहरु त्यहीँ बसेका छन्।
चीनबाट सामान ल्याउन एउटा ट्रक गुड्न चाहिने जति सडक मात्र सफा गरिएको छ। सडकको छेउ र कुनामा थुप्रिएका पहिरोका ढुंगामाटो समेत फालिएको छैन। सडकको भित्तामा भत्किएका अवस्थाका घरहरु त्यत्तिकै छन्। त्यहाँ पनि मानिस बसिरहेका छन्।
सडक छेउका जोखिमयुक्त घर र पहिरो
सडकको सामान्य स्तरोन्नती गरेपनि यसले पहिरो रोक्न सक्दैन। पहिरो खस्छव कि भनेर पहाडतिर हेर्दै सडक पार गर्नुपर्छ। हामी मोटरसाइकलमा जाँदाजाँदै पनि ढुंगाहरु खसे। केही ठाउँमा ट्रकले सजिलै सडक पार गर्न सक्दैेनन्। अर्को ट्रकले तान्नुपर्छ। पहाडको धेरै माथिदेखि ढुंगाहरु खस्न रोकिएको छैन।
मितेरी पुलदेखि बञ्जी जम्प गर्ने ठाउँसम्मको करिब ५ किलोमिटर क्षेत्रको भौगर्भिक अवस्था अत्यन्तै संवेदनशील छ। पानी पर्ने बित्तिकै पहिरो खस्न सुरु भइहाल्छ। सुख्खा पहिरो पनि गइरहन्छ। मितेरी पुलमाथि बनाइएको बेलिब्रिजको भारबहन क्षमता कंक्रिट पुलको जति हुँदैन। यसले भारयुक्त ट्रक लामो समयसम्म थेग्न सक्दैन। मितेरी पुल भएको जमिन पनि कमजोर छ।
मितेरी पुलमाथि बनाइएको बेलिब्रिज
लिपिङ बजारका वासिन्दाले ठूला ट्रक आवतजावत गर्दा जमिन बढी थर्किएको महसुस भएको हामीसँग बताए। ‘पहिला ट्रक गुड्दा समेत केही थाहा हुँदैनथ्यो हिजोआज साना गाडी गुड्दा समेत बेस्सरी थर्किन्छ’ भन्छन्।
अहिले तातोपानी बजारमा जे जति मानिसहरु बसेका छन्, उनीहरु वर्षायाममा पनि त्यहाँ बसिरहनु उचित देखिँदैन। भूकम्पको रेड जोनमा पर्ने भएकाले यस क्षेत्रको जमिन सेट हुन ५ वर्षसम्म लाग्छ। गएको वर्ष वर्षायाममा धेरै पानी नपरेकाले ठूला पहिरोहरु गएनन्। तर यसको मतलब अबका वर्षहरुमा कुनै जोखिम हुँदैन भन्ने होइन। वर्षायाममा पहिरो गएर बाह्रबिसे भन्दा माथि भोटेकोशी नदी थुनिन सक्ने सम्भावना पनि देखिन्छ। त्यस क्षेत्रमा पनि जुरेमा जस्तै पहिरो जान सक्छ।
त्यहाँका मानिसहरुले घरका सामान सारेका छैनन्। उनीहरुलाई यो ठाउँ जोखिमयुक्त छ भनेर सचेत गराइएको छैन। तर यो बुझ्नुपर्छ कि सुरक्षाका हिसाबले आउँदो वर्षायाममा त्यहाँ मानिस बसाउनु उपयुक्त हुन्न।
स्थानीय वासिन्दालाई भत्केकै भएपनि आफ्नो घर र सम्पत्तिको माया हुनु स्वभाविक हो। त्यसैले सरकारले त्यसको सुरक्षाको जिम्मेवारी लिएर उनीहरुलाई २०-३० किलोमिटर क्षेत्रभित्रकै सुरक्षित ठाउँमा पुनर्वास गराउनु उपयुक्त हुन्छ।
आफ्नै प्रयासमा भूकम्प प्रतिरोधी घर
तातोपानी नाकादेखि ४/५ किलोमिटर तल लिस्तीकोट तल्लो गाउँ छ। त्यहाँ करिब १ सय ३० घर छन्। त्यहाँ न इन्जिनियर कुनै घरको डिजाइन लिएर पुगेका छन्, न पुनर्निर्माण प्राधिकरणले नै केही सल्लाह दिएको छ। तर स्थानीय वासिन्दाले आफ्नै प्रयासमा भूकम्प प्रतिरोधी घर बनाइरहेका छन्।
उनीहरुले आफ्नै डिजाइनमा एक तले भूकम्प प्रतिरोधी घर बनाएका छन्। पुराना घरको काठ, जस्तापाता र एनजिओले दिएका जस्तापाता प्रयोग गरेर भुइँतल्लामा ३ कोठा र माथि अन्न राख्न मिल्ने घर बनाएका छन्।
भत्केका घरको ढुंगा पनि आँगन र भुइँतल्लामा राम्रोसँग छापेर व्यवस्थापन गरेका छन्। इपिसेन्टर नजिकको गाउँ भएकाले यस क्षेत्रमा अग्ला घर बनाउनु उपयुक्त हुँदैन। स्थानीय वासिन्दा ले कसैको सल्लाहबिना नै वैज्ञानिक तरिकाले होचो घर बनाएका छन्।
स्थानीयले बनाएका भूकम्प प्रतिरोधी घर
२०७२ सालको अन्तिम दिन गाउँलेले विशेष पूजा गरे. फेरि भूकम्प नआओस् भनेर लामाले विशेष पूजा गरेर ग्रह फ्याकेका छन्। यस गाउँमा भूकम्पले भत्किएको एउटा स्कुल छ। यसको पुनर्निर्माणमा कसैले चासो दिएको छैन। गुम्बा भने गाउँलेले नै बनाए। गाउँका कतिपय विद्यार्थी पढ्नका लागि सदरमुकाम बाह्रविसेतर्फ पठाइएका छन्।
भूकम्प प्रभावित त्यस क्षेत्रमा मुसाको प्रकोप बढेको छ। टहरामा राखिएका अन्नहरु पनि मुसाले खाइदिएका छन्। राहतमा पाएका ब्ल्याङ्केट र लुगा कपडाहरु पनि मुसाले काटिदिएको छ। यसवर्ष हिउँदे खेती गहुँ अघिल्ला वर्षहरुमा भन्दा कम फलेको छ। स्थानीय वासिन्दा भूकम्प गएको वर्ष खेतीबाली राम्रो नहुने विश्वास राख्छन्। तर वर्षा नभएका कारण खेती राम्रो नभएको हुनसक्छ। धेरै ठाउँमा नजिकको पानीको मुहान सुकेको छ, टाढाबाट बोक्नुपर्ने भएको छ।
(विपद व्यवस्थापनमा काम गरेका इन्जिनियर देवकोटासँग विनोद ढकालले गरेको कुराकानीमा आधारित)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment