काठमाडौँ । काठमाडौँ उपत्यकाको आगामी दिनको सुरक्षा रणनीति बनाउने उद्देश्यसहित आज यहाँ ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’ सुरु भएको छ । गोष्ठीमा तराई केन्द्रित दलले जनजाति समेतको सहभागितामा गर्ने भनेको राजधानी केन्द्रित आन्दोलन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा योजना लगायतका विषयमा छलफल भइरहेको छ ।
गोष्ठीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले राजधानीको सुरक्षा योजनाबारे साझा धारणा बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सुरक्षा निकायबीचको आपसी समन्वय, उनीहरुको आन्तरिक जीवन सुदृढ र सबल बनाउने विषयमासमेत गोष्ठीमा छलफल आवश्यक रहेको धारणा राख्नुभयो । अहिले मुलुक सामान्यभन्दा अलि विशिष्ट अवस्थामा रहेको भन्दै सुरक्षा निकायले नियमितभन्दा अझ बढी सक्रिय हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
गृहमन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्ने र नगर्ने भनी मुलुकलाई धु्रवीकृत गर्ने प्रयास भइरहेको बताउँदै उहाँले राज्यका सबै निकाय संविधान कार्यान्वयनमा लाग्नुपर्ने भनाइ राख्नु भयो ।
संविधान कार्यान्वयनमा देखिने जटिलता, आपूर्ति व्यवस्थामा देखिएको असहजता, विधिको शासन, नियमित सुरक्षा व्यवस्था र अपराधको नयाँ स्वरुप लगायतका चुनौतीको कसरी सामना गर्ने विषयमा योजना बनाउन उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
आपूर्ति व्यवस्था अझै सहज हुन नसकेकोतर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो, “आपूर्ति व्यवस्था असहज भएको कठिन अवस्थामा जनताले धैर्यधारण गरेर राज्यप्रतिको दायित्व पूरा गरे, अब आपूर्ति व्यवस्थित र पारदर्शी बनाएर राज्यले जनताप्रतिको दायित्व पूरा गर्ने बेला आएको छ ।”
गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव यादव कोइरालाले राजधानीको सुरक्षाको भावी कार्ययोजना बनाउन नियमित कार्यक्रमअन्तर्गत नै सुरु भएको गोष्ठी आजै सकिने जानकारी दिनुभयो । अहिले गोष्ठीको बन्दसत्र चलिरहेको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment