Sunday, February 28, 2016

१६ टन सुपारीसहित चालक पक्राउ

१६ फागुन, गोलबजार । सिरहाको बडहरामाल गाविसबाट आइतबार प्रहरीले १६ टन अवैध सुपारीसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ ख २०६९ नम्बरको ट्रकमा विशेष सुराकीका आधारमा जाँच गर्दा अवैध सुपारी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय यहाँबाट सुपारी तस्करी बढेको छ ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विपी प्रजातन्त्रवादी कि राजा महेन्द्र ?  

सन्तोष भुसाल

गगन थापाले हिजो फेसबुकमा कांग्रेसले महामानव भन्ने गरेका विपी कोइरालालाई उद्वृत गर्दै स्टाटस लेखेका छन् । कोइरालाले २०१७ सालमा आयोजित कांग्रेस महाधिवेसनमा सभापतिका रुपमा दिएको अभिव्यक्ती भनेर स्टाटसमा लेखिएको छ, हामीले दुई दुर्गुणलाई त्याग्नुपर्छः  १) स्थानीय भावना र २) गुटबन्दी ।

Santosh-Bhusalगगन र गगनले जस्तै बीपीलाई महामावन देख्ने कांग्रेसजनलाई मेरो टिप्पणीले चित्त दुखेछ भने त्यो अनौठो हुनेछैन । चिन्तन र अध्ययन भन्दा भक्तिभावमा बिश्वास राख्नेहरुमा आफुले आस्था राखेको दलको हरेक नेताको प्रसंशा मात्र गरियोस् भन्ने धारणा रहेको हुन्छ भन्ने म बुझ्दछु । तर, कांग्रेसजनले जस्तो म बिपी कोइरालालाई दोषरहित मानव अर्थात ‘महामानव’ देख्दिन । संसारमा दोषरहित मानव छ वा हुन्छ भन्नेमा मलाई बिश्वास छैन ।

स्थानीय भावना र गुटबन्दीका विषयमा बीपीको धारणाप्रति टिप्पणी गर्दा यसको ठिक बिपरित धारणा राख्ने राजा महेन्द्रको विचारलाई पनि जोड्नु अनिवार्य हुन्छ । बीपीले आफुलाई सँधै प्रजातन्त्रवादी दाबि गर्ने गरेको र राजा महेन्द्रलाई प्रजातन्त्रविरोधि भन्ने गरेको पाइन्छ । बीपीको आत्मवृतान्तमा एक प्रसंग उल्लेख छ जहाँ बीपीले राजा महेन्द्रलाई भनेछन्, ‘सरकार राष्ट्रवादी त हो तर प्रजातन्त्रवादी होइन ।’ जवाफमा राजाले भनेछन्, ‘बीपी बाबु, को प्रजातन्त्रवादी हो भन्ने त समयले बताउने कुरा हो ।’

महेन्द्रले बिपीभन्दा आफु प्रजातन्त्रवादी भएको दाबि गरेनन्, तर समयले आफुलाई नै प्रजातन्त्रवादी भन्नेछ भन्ने आत्मविश्वास भने देखाए । महेन्द्रमा यो आत्मविश्वास त्यसै आएको होइन रहेछ कि जस्तो लाग्दैछ । महेन्द्र र बीपीको सोच र सिद्धान्तमा गम्भीर मतभिन्नता यहिँनेर देखिन्छ ।

१. स्थानीय भावना

महेन्द्र स्थानीयतालाई प्राथमिकता दिनुपर्दछ भन्ने मान्यता राख्थे । त्यसैले उनले हरेक ठाउँमा भन्नेगरेको एकमात्र कुरा हो, ‘जगबाटै उठेको प्रजातन्त्र’ । दलीय व्यवस्थामा दलको केन्द्रीय समितिले गरेको निर्णय तल्लो अंगले मान्नुपर्ने र जनताको भोटले निर्वाचित प्रतिनिधिलाई दलले हृविप (अंकुश) लगाउने भएकोले दलीय व्यवस्थालाई महेन्द्रले माथिबाट थोपरिएको व्यवस्था भन्ने गरेको पाइन्छ ।

स्थानीय निकाय स्थानीय जनताले नै चलाउन पाउनुपर्छ भन्ने मान्यता राखेर शक्ति विकेन्द्रिकरणको नीति लागु गराई देशभर गाउँ पञ्चायत, नगरपञ्चायत, जिल्लापञ्चायत निर्धारण गरेर केन्द्रसँग जोडेका थिए महेन्द्रले । २०४६ पछी तिनै स्थानीय निकायको नाम फेरिएको छ । गाउँ, टोल र समाजको विकास भएर नै राष्ट्रको विकास हुने होइन र ?

अब स्थानीयताको भावना त्याग्नुपर्छ भन्ने बीपीलाई प्रजातन्त्रवादी देख्ने कि स्थानीयतालाई प्राथमिकतामा राख्ने महेन्द्रलाई प्रजातन्त्रवादी देख्ने ? यो सोचनीय बिषय हो ।

२. गुटबन्दी

बीपीलाई आजसम्म सुने-बुझेअनुसार उनी दलीय व्यवस्थाका पक्षधर हुन् । दल भनेको के हो भन्नेबारे सोचौं पहिला । समाज वा राष्ट्रका मानिसहरु विभाजित भएर गुटबन्दी गरेपछि त्यो गुटको साझा नाम राख्नु नै दल निर्माण हो । दलीय व्यवस्थाको पक्षमा वकालत गर्ने अनि गुटबन्दीको बिरोध गर्ने कुरा आफैमा विरोधाभाषपूर्ण छ । यदि गुटबन्दीको बिरोध गर्ने हो भने महेन्द्रको दलविहीन समाज निर्माण गर्ने निर्दलीय सिद्धान्तलाई प्रजातान्त्रिक होइन भन्नुको पछाडी के तुक छ ?

व्यक्तिले संधै स्वतन्त्रता चाहन्छ । त्यसैले दलको नाममा हुने जमिनदारी अभ्यासप्रति चेतनशील व्यक्तिको चित्त बुझ्दैन र उ दलबाट फेरी अर्को गुट निर्माण गर्छ । तर त्यस गुटमा पनि व्यक्ति अर्को नाइकेको अधिनमा रहनुपर्ने बाध्यता हुन्छ । त्यसैले व्यक्तिको स्वतन्त्रताको निम्ति दल वा गुटबिहिन अर्थात् निर्दलीयतामा नै मानिस पुग्दछ ।

म न महेन्द्रलाई महान देख्छु न बीपीलाई । तर म दलीय सिद्धान्तलाई भन्दा महेन्द्रले प्रतिपादन गरेको निर्दलीय सिद्धान्तलाई बढी प्रजातान्त्रिक देख्छु । किनकि म व्यक्तिको स्वतन्त्रतालाई प्राथमिकतामा राख्ने मान्छे हुँ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उपप्रधानमन्त्री थापा फेरि भारत जाने

१६ फागुन, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा जाने भएका छन् । थापा फागुन २६ मा गते भारत जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा थापाको यो चौथो भारत भ्रमण हो ।

भारतीय धर्मगुरु रविशंकरको आयोजनामा हुने लागेको धार्मिक सभामा भाग लिन दिल्ली जाने तयारी गरिएको उपप्रधानमन्त्री थापाको निजी सचिवालयले जनाएको छ । थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले पूर्व निर्धारित कार्यक्रम भएको बताए ।

भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्दा थापाले रविशंकरमार्फत नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका थिए । उक्त भेटमा थापाले प्रस्तुत गरेको चारबुँदे रोडम्याप अनुसार संविधान संशेधन भएपछि नाकाबन्दी हेटेको थियो ।

उपप्रधानमन्त्री थापा अहिले सीमांकन विवाद सुल्झाउन बनेको राजनीतिक संयन्त्रको संयोजक समेत हुन् । तर, यो संयन्त्रलाई मधेसी मोर्चाले स्वीकार गरेको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारत भ्रमणबारे ओलीको टिप्पणी- कोसेली ल्याउन माइत गएको हो र ?

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा दुई देशको संयुक्त विज्ञप्ति किन आएन भनेर सोधिएको प्रश्नबाट आफू छक्क परेको बताएका छन् । भारतले राखेका जायज माग र चासो सम्बोधन हुने तर नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने उनले बताए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि आइतबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा उनले भारत भ्रमण सफल भएको दोहोर्‍याए ।

‘संयुक्त विज्ञप्ति किन आएन भनेर धेरैले प्रश्न गरे । यो प्रश्न सुनेर म छक्क परेको छु । संयुक्त पत्रकार सम्मेलन पनि भयो । सबै कुरा पारदर्शी छ । संयुक्त विज्ञप्ति आएन भन्नु श्राद्ध सकियो तर विरोलो किन नबाँधेको भनेर सोधेजस्तो भयो,’ ओलीले भने ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालमा संविधान जारी हुनु ठूलो उपलब्धी भएको भन्नु नै ठूलो कुरा भएको ओलीले बताए । नेपालको संविधानप्रति असन्तुष्ट भएको भए मोदीले त्यसो नभन्ने उनले तर्क गरे ।

‘मोदीले मसँगको भेटवार्तामा र पत्रकार सम्मेलनमा संविधान जारी हुनु ग्रेट अचिभमेन्ट भन्नु भएको छ । त्यस भित्रै धेरै ठूलो अर्थ लुकेको छ । त्यो नै काफी छ,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘विरोध गरेको भए ग्रेट अचिभमेन्ट कसरी भन्थे ?’

उच्च सम्मान देशकै लागि

आफू भारत भ्रमणमा कुनै कोसेली लिन नगएको र दुई देशको सम्बन्ध सुधारेर आएको ओलीले दाबी गरे । दुई देशबीचको तिक्तता अन्त्य भएकाले आफ्नो भ्रमण सफल भएको उनले दाबी गरे ।

‘मलाई भारतबाट के आयो भनेर सबैले भन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘म माइती घर गएको होर कोसेली लिएर आउनलाई ? दुई देशको सम्बन्ध सुधार गर्ने उद्देश्य थियो, त्यो पूरा भएको छ ।’

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिदी-भाइको नाता लगाएको कुरालाई पनि उनले दुई देशबीचको सम्बन्ध सुधार भएको प्रमाणको रुपमा प्रस्तुत गरे । आफूलाई भारतले दिएको उच्च सम्मान देशकै लागि भएको उनले बताए ।

भारत लगायतका छिमेकी मुलुकको जायज चासो र जिज्ञासा सम्वोधन गर्ने उनले प्रष्ट्याए । तर, चाइना कार्ड खेल्न खोजेको भनेर लगाइएको आरोपको उनले खण्डन गरे ।

‘हामी कसैको विरुद्धमा कार्ड खेल्दैनौं । भारत र चाइनासँग लाभ लिन चाहान्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘भारत र चाइना दुबैको कन्सर्न सम्वोधन गर्छौं तर नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग गर्न दिँदैनौं ।’

मधेसी मोर्चाको हठमा सरकार नअल्झिने

एक अर्को प्रसंगमा ओलीले मधेस केन्द्रित दलहरुका जायज माग सम्बोधन हुने तर पूरा हुनै नसक्ने हठ पूरा नहुने बताए । समाधान हुनै नसक्ने अडानमा सरकार नअल्झिने उनले स्पष्ट पारे ।

‘के छ समस्या ल देखाउनुस् भन्दा समस्या देखाउन पनि नसक्ने र समाधान गर्न पनि नआउने,’ प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलहरुप्रति लक्षित गर्दै भने, ‘समाधान हुनै नसक्ने कुरामा जसले हठ राख्छ त्यसमा हामी अल्झिन जरुरी छैन ।’

अहिलेको संविधानले तराई मधेस हिमाल सबै क्षेत्रका जनतालाई समान हक र अधिकार दिएको उनले दाबी गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कपिलवस्तुको सीमा क्षेत्र दुर्गन्धित

सनिउल्ला धोबी

१६ फागुन, कपिलवस्तु । कपिलवस्तुको नेपाल-भारत सीमा क्षेत्र दशगजा दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नेपालको कृष्णनगर र भारतको बढनीमा फोहर तथा ढलको उचित ब्यवस्थापन हुन नसक्दा स्थानीय समस्यामा परेका छन् ।

कृष्णनगरको लक्ष्मी मन्दिर टोल, झन्डानगर टोलका बासिन्दाले जथाभावि फोहोर फाल्ने गरेका छन् । बजारक्षेत्रमा जम्मा भएको फोहोरको ढल दशगजा क्षेत्रमा मिसाइँदा नाक थुनेर हिँड्नु पर्दछ ।

यस्तै कृष्णनगर बजार छेउँछाउँमा रहेको नेपाली टोलको मूल सडकमा थोरै वर्षा हुँदासमेत फोहर पानी जम्मा हुने गर्दछ । त्यसरी ढलबाट आउने नगरको फोहोर पानी ईलाका प्रहरी कार्यालयको गेटसम्म आउने गर्दछ । भन्सार कार्यालयको लिंक गेट बाहेकको सानो नाकाको पनि त्यही हबिगत छ ।

Krishnanagar-Badhani-fohor

फोहोरसँगै रोगको संक्रमण पनि बढ्ने त्रास छ । तर, नगरपालिकासहित सम्बन्धित निकाय मौन बसेको स्थानीयको गुनासो छ ।

वार्षिक एक करोड बढी आम्दानी गर्ने सो नगरपालिकाले फोहर र ढलको उचित प्रवन्ध नगर्दा फोहर र दुर्गन्ध बढेको स्थानीय बताउँछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालमा र्‍याडिकल राजनीतिको भविष्य

डा. उत्तमबाबु श्रेष्ठ

तत्कालीन नेकपा माओवादीले गोरखा, काभ्रे, रोल्पा, रुकुम र सिन्धुलीमा एकैपटक फौजी कारबाही गरेर ‘जनयुद्ध’सुरु गर्‍यो, १ फाल्गुन ०५२ देखि । यो समाचार देशभरमा भएको एउटा मात्रै सरकार नियन्त्रित टेलिभिजन र रेडियोले फुकेका थिए । नेपालभरमा करिब १.६ प्रतिशत घरसँग मात्र टेलिभिजन सेट थिए । सिंगो देशभर मोटामोटी ८५ हजार टेलिफोन लाइन थिए, टेलिकमले मोबाइल सेवा सुरु गर्नु त परको कुरा । मर्कन्टाइलले भर्खर इन्टरनेट भित्र्याएको थियो, इन्टरनेटको प्रयोगकर्ता मुस्किलले हजारजति थिए ।

अहिलेको इन्टरनेट दुनियाँको भगवान पनि भनिने गुगलको न्वारन भइसकेको थिएन । यसका संस्थापक जोडी ल्यारी पेज र सर्गे ब्राइन स्टयाडफोर्ट युर्निभर्सिटीको हाताभित्रै ग्राजुयट विद्यार्थीको रूपमा सायद फ्री पिज्जाका लागि दौड्दै थिए होला । फेसबुक जन्माउने मार्क जुकरबर्ग पाँच कक्षामा पढ्दै थिए भने टि्वटर सुरु गर्ने सिलिकन भ्यालीको मोटर ग्यारेजतिर कतै कम्प्युटर कोड सिक्दै थिए होला ।

सन् २०१५ को जुलाईसम्म आइपुग्दा २० वर्षमा मोबाइल र ल्यान्डलाइन टेलिफोनको संख्याले सिंगो नेपालको जनसंख्यालाई उछिनेको छ ।

नेपालभरि इजाजत पाउने एफएमको संख्या ६५२ पुगिसकेको छ । देशभर ८५ टेलिभिजनले प्रसारण अनुमति लिएका छन्, जसमध्ये २८ वटा टेलिभिजन त सञ्चालनमा नै छ । नेपालभरमा ५७ लाख फेसबुक प्रयोगकर्ता छन् र अधिकांशले मोबाइल फोनबाट फेसबुक हेर्छन् । जनयुद्घका प्रमुख रचनाकार माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल यतिखेर दैनिक १०औं फोटो फेसबुकमा अपलोड गरिरहेका हुन्छन् । जब कि उनको बुबा प्रचण्डको अनुहारको फोटो जनयुद्घ सुरु भएको धेरैपछिसम्म पनि फेला परेको थिएन । दाहाल जुनियरको फेसबुक पोस्टमा एकैछिनमा सयौंले कमेन्ट गर्छन् । तीमध्ये कतिपय तल्लो स्तरका गाली समेत हुने गर्छ । कल्पना गरौं, यदि माओवादी जनयुद्घको समय हुन्थ्यो र प्राधिकार प्राप्त अध्यक्षको छोरालाई सीधै कसैले त्यसरी गाली गरेको हुन्थ्यो भने उसको हबिगत के हुन्थ्यो ?

सूचनाको प्राधिकारमा परिवर्तन

लेखक उत्तमबाबु श्रेष्ठ

लेखक उत्तमबाबु श्रेष्ठ

विगत २० वर्षमा नेपालजस्तो आर्थिक विकासको तल्लो तहमा रहेको देशमा सूचना र सञ्चारको क्षेत्रमा आएको यो अभुतपूर्व र अकल्पनीय परिवर्तन हो, जुन पहिला मात्रै साइन्स फिक्सनमा पढ्न वा हलिउडका सिनेमामा हेर्न सकिन्थ्यो । नेपालमा मात्रै होइन, यस्ता कुरा केही वर्ष अघिसम्म विकासको उपल्लो स्थानमा रहेका देशमा समेत कल्पना बाहिरको कुरा थियो । भनिन्छ, प्रविधिको विकास हमेसा घातांकीय -एक्स्पोनेन्सियल) हुन्छ । जसले समाज विज्ञान र राजनीतिमा पनि अकल्पनीय प्रभाव पार्छ । एक वर्गमा सीमित प्राधिकारलाई खत्तम गरिदिन्छ । गुटनवर्ग प्रेसले बाइबल छापेर युरोपभरि आम रूपमा उपलब्ध गराएपछि उक्त समय चर्चमात्रै केन्दि्रत बौद्घकि अभ्यासको प्राधिकारलाई खत्तम गरिदियो । सन् १९६२ मै जर्मन दार्शनिक जुर्गन हावरमासले युरोपलाई प्रजातान्त्रिक बनाउन प्रिन्टिङ प्रेसको ठूलो भूमिका थियो भन्ने दाबी गरेका थिए ।

कल्पना गरौं, यदि माओवादी जनयुद्घको समय हुन्थ्यो र प्राधिकार प्राप्त अध्यक्षको छोरालाई सीधै कसैले त्यसरी गाली गरेको हुन्थ्यो भने उसको हबिगत के हुन्थ्यो ?

जसरी प्रिन्टिङ प्रेसले चर्चको प्राधिकारलाई जनतासामु ल्यायो, त्यसरी नै पछिल्लो समय इन्टरनेटको आविष्कारले समाजलाई थप प्रजातान्त्रिक र पारदर्शी मात्रै बनाएन, प्राधिकारका थुप्रै अनगिन्ती केन्द्र निर्माण गरिदियो । यद्यपि दुवैको उत्पत्ति आफ्नो प्राधिकारलाई थप बलियो बनाउन भएको थियो । यस्ता प्रविधिले हामीले अन्तक्रिया गर्ने परम्परागत शैलीमा फरक मात्रै ल्याएन, विचार निमार्णको तरिकामा नै ठूलो उथलपुथल ल्याइदियो । सूचना र ज्ञानमाथिको कथित एलिटहरूको वर्चस्व वा प्राधिकारलाई सामान्य जनताको तहमा पुर्याउने काम यसले गर्यो । मानव इतिहासमा एउटा सामान्य व्यक्ति सूचनाको सहज उपलब्धता र पहुँचको कारण यसअघि यति शक्तिशाली र प्रभावशाली कहिल्यै भएको थिएन ।

परापूर्व कालदेखि नै सूचना भनेको शक्तिको महत्त्वपूर्ण स्रोत रहँदै आएको छ । रामायणको कथामा राम रावणभन्दा कम अभिनवी (इनोभेटिव) र कमजोर लाग्छन् । सुनको लंकाको राजा रावण रामभन्दा बढी वैभवशाली मात्र थिएनन्, उनको सोच्ने क्षमता पनि अलौकिक थियो । उनी दश मान्छेले जति एकैपटक सोच्ने क्षमता राख्थे । कथामा वणिर्त रामसँग त्यस्तो अद्भुत गुण खासै थिएन, जो रावणलाई हराउन पर्याप्त होस् । तर, उनले युद्घमा रावणसँग विजय प्राप्त गरे किन ? किनकि रामसँग रावणको भाइ विभिषणमार्फत प्राप्त गरेको यस्तो सूचना थियो, जुन रावणलाई बध गर्न काफी थियो । पुरातन समाजमा पुरेत वा धार्मिक गुरुहरू पुजिनुको एउटै कारण उनीहरूसँग समाजका अन्य वर्गका मानिससँग भन्दा बढी सूचना हुन्थ्यो । लेखपढको कर्मले उनीहरूलाई जान्ने सुन्ने बनाएको थियो । राजा महाराजाले समेत त्यस्ता पुरेत पण्डितसँग कर उठाउनदेखि युद्घ रणनीति बनाउनसम्म निर्भर हुनुपर्दथ्यो । साराशंमा जोसँग सूचना उनै बढी शक्तिशाली र प्रभावशाली ।

प्रचण्डबाबुरामको नयाँ ‘रिलिजन’

रिलिजनको शाब्दिक अर्थ नेपाली वा हिन्दीमा धर्म भनिए पनि अंग्रेजीमा रिलिजनको अर्थ र परिभाषा त्यससँग त्यति मेल खाँदैन । इजरायलका हिब्रु विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार युभल नोवा हरारीको भन्छन्, ‘रिलिजन मानव जातिको अहिलेसम्मकै सबैभन्दा ठूलो आविष्कार हो, जसले काबिला मानवलाई सहकार्य गर्न सिकायो, एउटै निश्चित अनुशासनभित्र बस्न सिकायो, जसले मानवलाई अन्य प्रजातिभन्दा सफल र समृद्घ बनायो ।’ हरारीको परिभाषामा रिलिजन भनेको ईश्वरमा विश्वास गर्नु मात्रै होइन, यो त एउटा यस्तो मूल्य र मान्यतायुक्त प्रणाली हो, जसको निर्माणको आधार सुपरमानव (मानव समाजभन्दा शक्तिशाली एउटा काल्पनिक रचना) को कानुन हो, जुन मानवबाहेक अन्य प्रजातिमा हुँदैन । बाँदरले वा हात्तीले भगवान मान्दैनन् । हामी पनि जैविक हिसाबले बाँदर वा हात्ती भन्दा बढी केही होइनौं । त्यो कानुन बनाउने सुपरमानव केही रिलिजनमा ईश्वर भएका छन्, केहीमा सिर्फ प्रकृति ।

मार्क्स, एंगेल्सले तत्कालीन समयमा विद्यमान ईश्वरवादी समाजको मान्यताविपरीत भौतिकवादमा आधारित साम्यवादको काल्पनिक रचना गरेका हुन् । जसले विचारको दुनियाँमा नयाँ बहसको सिर्जना गर्न सफल भयो । त्यस्तो रचना गर्नका लागि कार्ल मार्क्सले जीवनका थुप्रै वर्ष बेलायतको ब्रिटिस संग्रहालयको कोठामा बिताएका थिए, तत्कालीन समाजको विभिन्न तथ्यांक र सूचना केलाउँदै ।

जेएनयुका पुस्तकालयमा त्यसरी नै नेपालको अल्पविकासको तथ्यांकलाई केलाउँदै वर्षाैं बिताएका डा. बाबुराम भट्टराई नेपालीको मुक्ति मार्क्सवादी प्रयोगबाट मात्रै सम्भव छ भन्ने निष्कर्षमा पुगे । र, प्रचण्डसँग मिलेर ०५२ मा जनयुद्घको थालनी गरे । प्रचण्ड बाबुरामको ०५२ सालको नेपालका लागि आविष्कार वा अंगीकरण भनेको हाम्रो सन्दर्भमा एउटा शक्तिशाली काल्पनिक रचनाको निर्माण थियो, जसले परम्परागत त्यस्तै काल्पनिक रचनालाई चुनौती दियो । त्यस्तो काल्पनिक रचनालाई उनीहरूले ‘जनवादी क्रान्ति’, ‘समाजवाद’ वा ‘साम्यवाद’ भने जसले ‘विष्णुको अवतार’ भनिने स्थापित काल्पनिक रचनालाई चुनौती मात्रै दिएन, पछि गएर विस्थापित नै गरिदियो । यद्यपि जनवाद वा साम्यवाद पनि आएन । साम्यवाद आफैँमा ईश्वरजस्तै मानव रचना नै थियो, जसलाई हालसम्म न कसैले देखेको छ, न अनुभव नै गरेको छ । यद्यपि दुवैलाई शास्वत मानेर विश्वास गर्नेहरूको कमी यो संसारमा अहिलेसम्म पनि छैन् ।

प्रविधिमार्फत जब प्रचण्ड र बाबुरामका भित्री सूचनाहरू क्रमशः बाहिर आउन थाले, उनीहरू कमजोर बन्ने क्रमको सुरुवात भयो । शक्तिखोरको भिडियो सार्वजनिकीरणपछि शक्तिशाली प्रचण्ड निमेशभरमै रक्षात्मक बन्न पुगे धेरै समयसम्म ।

काल्पनिक रचनालाई वास्तविक विश्वासमा परिणत गर्नका लागि प्रचण्ड बाबुरामलाई परम्परागत पुरेतहरूले गरेजस्तै प्रतिबद्घ वा एक हदसम्म अन्धा समर्थक र चुस्त प्रचार यन्त्रको खाँचो थियो । जसले आमरुपमा त्यो काल्पनिकतालाई वास्तविकता जस्तैगरी प्रस्तुत गर्न सकोस् र आफूहरूप्रति विश्वास बटुल्न सकियोस् । उनीहरूको सफलता भनेको देशभर र बाहिर त्यस्ता घोषित अघोषित ठूलो जत्थाको निर्माण र मजबुत प्रसार यन्त्रको गठन थियो । त्यसैको आडमा उनीहरूले केही समयभित्रै विशाल शक्ति हासिल गर्न सफल भएका थिए । उनीहरूले अपनाएको भूमिगत जीवनका कठोर अनुशासनले आफ्ना कमजोरी सहितका गोप्य सूचनालाई नियन्त्रणमा राख्थ्यो, जसले उनीहरूलाई थप शक्तिशाली बनाइराख्यो । जसका लागि तत्कालीन समयमा उपलब्ध प्रविधि सहयोगी बनेको थियो । तर, पछिल्ला दिनमा विकसित प्रविधिमार्फत जब प्रचण्ड र बाबुरामका भित्री सूचनाहरू क्रमशः बाहिर आउन थाले, उनीहरू कमजोर बन्ने क्रमको सुरुवात भयो । शक्तिखोरको भिडियो सार्वजनिकीरणपछि शक्तिशाली प्रचण्ड निमेशभरमै रक्षात्मक बन्न पुगे धेरै समयसम्म ।

पछिल्लो समय आएको सूचना प्रविधिको विकास र पहुँच विस्तारले परम्परागत सूचनामाथिको प्राधिकारमा उल्टिएको यस्ता धेरै उदाहरण देख्न सकिन्छ । सूचना वा ज्ञानको आडमा नेताहरूले जनतालाई शासन गर्थे, पण्डितहरूले हैकम जमाउँथे, तर बदलिँदो परिस्थितिमा त्यसको विपरीत नेताहरू हरदम जनताको निगरानीमा र नियन्त्रणमा बस्न बाध्य भए । नयाँ प्रविधिले गर्दा त्यो सम्भव भयो । उनीहरू बोल्दा, हिँड्दा, गफ गर्दा तौलिएर बोल्नुपर्ने अवस्थाको सिर्जना भयो । किनकि उनीहरूले खाएको, बोलेको, भेटेको सबै कुरा सार्वजनिक हुन थाल्यो । प्रविधिमा आएको यो परिवर्तनसँग झपेटमै आफ्नो शैली फेर्न र त्योसँग तालमेल मिलाउने नयाँ फायरवाल निर्माण गर्न उनीहरू पूर्णरुपमा असफल भए पछिल्लो समय ।

नेत्रविक्रम चन्द ‘विप्लव’ को क्रान्तिको सपना

जुझारु नेता नेत्रविक्रम चन्द ‘विप्लव’ को मिलेमतोमा वैद्य माओवादी जतिखेर प्रचण्ड नेतृत्वको माओवादीसँग छुटि्यो, धेरै मान्छेलाई लागेको थियो, यो उग्रधारले फेरि सशस्त्र द्वन्द्वको बाटो समात्छ । किनकि हामीले देखेको, भोगेको, पढेको इतिहास त्यस्तै थियो । र, त्यसैको आधारमा त्यतिबेला मलाई पनि लाग्थ्यो, अब देश फेरि युद्घमा जाने भयो ।

हुन पनि वैद्य माओवादीसँग हजारौं प्रतिबद्घ र इमानदार कार्यकर्ता थिए । जनयुद्घले उठाएको अपुरो एजेन्डा थिए । घाइते र सहिदहरूको सपना थियो । लड्नका लागि हतियार पनि थियो । दश वर्ष युद्घ लडेको अनुभव थियो । फौजी हिसाबले ०५२ सालको प्रचण्ड बाबुरामको माओवादीभन्दा वैद्य विप्लव नेतृत्वको तत्कालीन संगठन धेरै गुणा ठूलो, प्रभावशाली र अनुभवी थियो । र, सायद विप्लवसँग नयाँ प्रचण्ड बन्ने महत्वाकांक्षा पनि । तर, पनि उनीहरूले वर्षौंसम्म क्रान्ति भन्दै बिताए । छुटेका वैद्यको क्रान्ति दस्तावेजमा सीमित भयो । विप्लवहरू तयारीमै छु भनिरहेका छन् । यो अवस्थालाई अवलोकन गर्दा निचोड के निकाल्न सकिन्छ भने, समाजमा आएको माथि उल्लिखित परिवर्तनले गर्दा विप्लवले त्यो र्‍याडिकल धारलाई स्थापित गर्न र अपनाउन सकेनन् ।

वास्तवमा नेपालमा मात्रै होइन, सन् १९९० पछिका २६ वर्षमा ठूला अन्तरदेशीय र आन्तरिक युद्घका घटना विश्वभरमै निकै कम हुँदै गएका छन् । कल्पना गरौं, शीतयुद्घको समय हुन्थ्यो र रसियाको विमान टर्कीले केही महिनापहिले जसरी खसालेको हुन्थ्यो भने त्यहाँ एउटा नयाँ युद्घको शंखघोष हुन सक्थ्यो । उक्त कुराले पनि विश्वभर र्‍याडिकल राजनीतिको अबको बाटोमा प्रश्न गर्न सक्ने धेरै आधार दिन्छन् ।

र्‍याडिकल राजनीतिको आधार- अन्धा समर्थक 

धेरै मान्छे समाजमा विद्यमान असमानता, राजनीतिक खिचातानी, असन्तोष, शोषण, भ्रष्टाचार आदि जस्तो एजेन्डाले र्‍याडिकल राजनीतिको आधार तय गर्छ र त्यसलाई मलजल गर्छ भन्छन् । केही हदसम्म त्यो सत्य हो, तर हाम्रोजस्तो कम विकसित देशमा मात्रै होइन, त्यस्ता एजेन्डा धेरथोर संसारभरका सबै ठाउँमा हुन्छन् । तर, र्‍याडिकल आन्दोलन सबै ठाउँमा भएको हुँदैन किन ? किनकि धर्म, जात वा राजनीतिकवादमा आधारित र्‍याडिकल विचारलाई फैलाउन विषेश गुण भएका समर्थकको आवश्यक हुन्छ (अघि वर्णन गरेजस्तै) । त्यस्ता समर्थकको पहुँच अल्पसूचना, गलत वा बंग्याइएको तथ्यसँग मात्रै हुने परिस्थिति निर्माण गरिनुपर्छ । जसले उनीहरूमा आफूलाई थाहा भएको मात्रै सही हो, बाँकी सबै गलत भन्ने मानसिकता निर्माण गर्न सकियोेस् । एकतर्फी सूचनाको स्नानले त्यस्ता समर्थकले कुनै पनि घटनाको पूर्वाग्रहयुक्त पुष्टि (कन्फर्मेसन बायस) मात्रै गर्न सक्ने अवस्था अर्थात् आफ्नो निर्धारित च्यानलबाट सूचना नआएसम्म अरुले भनेको जतिसुकै तथ्यगत सूचना भए पनि नपत्याउने खालको सञ्जालको निर्माण अर्को सर्त हो । त्यसैगरी अन्धा समर्थकको जीवन दृष्टिकोणमा ग्रे एरियाले ठाउँ पाउन हुँदैन । सम्झौताको अर्थ हुनुहुँदैन । कि त्यहाँ जीवन हुन्छ कि त मृत्यु, कि साम्यवाद कि पुँजीवाद, कि राजतन्त्र कि गणतन्त्र । त्यसले दुईबीचको सम्झौताको संसारलाई पूरै नकार्दछ । तर, यथार्थमा सम्झौताले नै जीवन चलेको हुन्छ । त्यस्ता समर्थकले आफूले भनेको नमान्नेलाई मान्छे नै गन्दैनन् । मानिसको जीवनमा नजानेका धेरै कुरा हुन्छन् । तर, अन्धा समर्थक आफूलाई संसारभरको ज्ञानी भएको सम्झन्छन् । र, सबैभन्दा ठूलो कुरा उनीहरूले जीवनलाई भन्दा मृत्युलाई ठूलो मान्छन् । यी माथिका गुण बताइरहँदा तपाईंलाई कतै जनयुद्घको समयमा माओवादीको जिल्लास्तर वा त्योभन्दा तलका कार्यकर्ता भेटे जस्तो लाग्न सक्छ । हो, उनीहरूमा यी गुण प्रशस्त थिए । उनीहरूको त्यो बेलाको बहुचर्चित थेगो थियो- पहाडजस्तो गरुंगो मृत्यु कि प्वाँखजस्तो हलुंगो जीवन । यतिखेर नाफाका जीवन बाँचेका हौं भन्नेहरूले सायद देखिसके, भोगिसके जीवनको सुन्दरता मात्र बाँच्नुमा छ, मृत्युमा होइन ।

हो, सूचना प्रविधिमा आएको व्यापक परिवर्तनले माथि उल्लिखित गुणहरूले लैस र्‍याडिकल अन्ध समर्थकको दस्ता बनाउन अब असम्भव प्रायः भइसकेको छ । त्यसैको कारण हो, एकतर्फी सूचना दिने माओवादी युद्घकालमा खोजीखोजी पढिने चर्चित पत्रिका र वेभसाइट अहिले सदाका लागि बन्द भए । किनकि, जोसुकैसँग पनि दोहोरो संवाद गर्न सकिने अहिलेको संसारमा एकोहोरो संवाद अर्थहीन र अपाच्य भइसकेको छ । त्यो स्वीकार गर्नु वा नगर्नु बेग्लै कुरा हो ।

सूचना प्रविधिमा आएको व्यापक परिवर्तनले यस्ता गुणहरूले लैस र्‍याडिकल अन्ध समर्थकको दस्ता बनाउन अब असम्भव प्रायः भइसकेको छ । त्यसैको कारण हो, एकतर्फी सूचना दिने माओवादी युद्घकालमा खोजीखोजी पढिने चर्चित पत्रिका र वेभसाइट अहिले सदाका लागि बन्द भए ।

संवादको शैलीमा आएको यो परिवर्तनले मान्छेले आफ्नो मनमा लागेको कुरा भन्ने नयाँ साथी, समाज र श्रोता पाएको छ । ऊ नेताको कुरा मात्र सुन्ने अनुशासित कार्यकर्ताबाट आफ्नो पनि कुरा भन्ने वा सुनाउनेमा फेरिएको छ । हिजो कार्यकर्ताले मनको कुरा पोख्न कमिटीको मिटिङ वा नेताको आगमन वा आफ्नो निश्चित च्यानल पर्खनुपथ्र्यो भने आज उसले सोझै तत्कालै भन्न सक्ने स्पेस तयार भएको छ । हिजो नेता मात्रै समाचार बन्थे, आज कार्यकर्ता पनि समाचार बन्ने परिस्थिति तयार भएको छ । हो त्यही शक्तिको विकेन्द्रीकरण गरिदिएको हो प्रविधिले ।

हिजोआज एमाओवादीका नेता हरहमेसा पार्टीमा अनुशासन नभएको कुरा गरिरहन्छन् । सायद विप्लवलाई पनि त्यस्तै लागेको हुनुपर्छ । तर, यो निरन्तर भइराखेको छ, रोकिने कुरै छैन । यथार्थ हिजोको दिनमा उनीहरूले बनाएको अनुशासनको त्यो मानक प्रविधिले आज पूरै ध्वस्त गरिदिइसकेको छ । अब त्यो कथित फलामे अनुशासनको मापदण्ड असान्दर्भिक भइसकेको मात्र होइन, असम्भव नै भइसकेको छ ।

माथि उल्लिखित कुरा अब विप्लवले समातेको र्‍याडिकल राजनीतिक धारमा मात्रै होइन, अन्य पार्टी वा संगठनमा लागू हुन्छ । विप्लवको उदाहरण त उनको समूह र्‍याडिकल विचार बोक्नेहरूमा अग्र पंक्तिमा देखापरेकाले मात्रै आएको हो । विप्लवलाई लाग्ला, यो अकल्पनीय परिवर्तनसँग जुध्ने रणनीति मार्क्स, लेनिन वा माओका ठेलीहरूमा कतै पाइन्छ कि ! अब त्यस्ता ठेलीमा यस्ता कुरा भेटाउन असम्भव छ ।

यद्यपि त्यो माओको ठेलीमा कतै नभए पनि उनको देश चीनले भने त्यसलाई केही हदसम्म सफल प्रयोग गरिरहेको छ । सिंगो राज्य संयन्त्र नै लागेकाले चीनले अहिलेसम्म सूचनाको पहुँचलाई रोक्न र राज्य अनुकूलको सूचनाको उत्पादन गर्न सफल भएको मानिन्छ । जसका लागि उसले २० लाख बराबरको इन्टरनेट प्रहरीको निर्माण मात्रै गरेको छैन, वाषिर्क अर्बाैं डलर रकम पनि खर्च गरिरहेको छ, जुन वर्षेनी बढिरहेको छ । त्यो सबै चीनजस्तो शक्तिशाली र वैभवशाली राज्य लागेर गरेकाले मात्रै सम्भव हुनसकेको हो । के यो सूचनाको पहुँच र विस्तार रोक्ने पर्खाल निर्माण गरेर अन्धा समर्थकको दस्ता बनाउन नेपालका र्‍याडिकल विचार बोक्नेले सक्लान् ? उनीहरूलाई अहिलेलाई गुड लक मात्र भनौं ।

ट्वीटर- @uttambabu


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यशराजको स्टाइलमा फिल्म बनाउँछुः भुवन केसी

ड्रिम्सबाट निर्देशनमा डेब्यु गरेका नायक भूवन केसी अब वर्षमा एउटा चलचित्र आफैंले निर्देशन गर्ने योजनामा छन् । भविष्यमा अन्य ब्यानरसँग सहकार्य गरेर चलचित्र बनाउने र त्यसको निर्देशन आफूले गर्ने सोच उनको छ ।

भुवनले भने, ‘जसरी बलिउडमा यशराज ब्यानरले अन्य ब्यानरसँग सहकार्य गरेर बर्षमा २-३ वटा चलचित्र बनाउँछ । अब म पनि यही शैलीका साथ अगाडि बढ्छु ।’

भुवनका अनुसार उनी आफ्नै ब्यानरबाट बर्षमा एउटा चलचित्र सोलो रुपमा बनाउने छन् । पहिले आफू एक्लै भएकाले केही गाह्रो भएको भन्दै भूवनले अब छोरा अनमोल पनि भएकाले काम गर्न सजिलो हुने आशा गरेका छन् ।

आफूहरुले साझेदारीमा बनाउने चलचित्रमा भने नायकको रुपमा अनमोल नै हुनुपर्छ भन्ने नभएको उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं