Sunday, February 28, 2016

विपी प्रजातन्त्रवादी कि राजा महेन्द्र ?  

सन्तोष भुसाल

गगन थापाले हिजो फेसबुकमा कांग्रेसले महामानव भन्ने गरेका विपी कोइरालालाई उद्वृत गर्दै स्टाटस लेखेका छन् । कोइरालाले २०१७ सालमा आयोजित कांग्रेस महाधिवेसनमा सभापतिका रुपमा दिएको अभिव्यक्ती भनेर स्टाटसमा लेखिएको छ, हामीले दुई दुर्गुणलाई त्याग्नुपर्छः  १) स्थानीय भावना र २) गुटबन्दी ।

Santosh-Bhusalगगन र गगनले जस्तै बीपीलाई महामावन देख्ने कांग्रेसजनलाई मेरो टिप्पणीले चित्त दुखेछ भने त्यो अनौठो हुनेछैन । चिन्तन र अध्ययन भन्दा भक्तिभावमा बिश्वास राख्नेहरुमा आफुले आस्था राखेको दलको हरेक नेताको प्रसंशा मात्र गरियोस् भन्ने धारणा रहेको हुन्छ भन्ने म बुझ्दछु । तर, कांग्रेसजनले जस्तो म बिपी कोइरालालाई दोषरहित मानव अर्थात ‘महामानव’ देख्दिन । संसारमा दोषरहित मानव छ वा हुन्छ भन्नेमा मलाई बिश्वास छैन ।

स्थानीय भावना र गुटबन्दीका विषयमा बीपीको धारणाप्रति टिप्पणी गर्दा यसको ठिक बिपरित धारणा राख्ने राजा महेन्द्रको विचारलाई पनि जोड्नु अनिवार्य हुन्छ । बीपीले आफुलाई सँधै प्रजातन्त्रवादी दाबि गर्ने गरेको र राजा महेन्द्रलाई प्रजातन्त्रविरोधि भन्ने गरेको पाइन्छ । बीपीको आत्मवृतान्तमा एक प्रसंग उल्लेख छ जहाँ बीपीले राजा महेन्द्रलाई भनेछन्, ‘सरकार राष्ट्रवादी त हो तर प्रजातन्त्रवादी होइन ।’ जवाफमा राजाले भनेछन्, ‘बीपी बाबु, को प्रजातन्त्रवादी हो भन्ने त समयले बताउने कुरा हो ।’

महेन्द्रले बिपीभन्दा आफु प्रजातन्त्रवादी भएको दाबि गरेनन्, तर समयले आफुलाई नै प्रजातन्त्रवादी भन्नेछ भन्ने आत्मविश्वास भने देखाए । महेन्द्रमा यो आत्मविश्वास त्यसै आएको होइन रहेछ कि जस्तो लाग्दैछ । महेन्द्र र बीपीको सोच र सिद्धान्तमा गम्भीर मतभिन्नता यहिँनेर देखिन्छ ।

१. स्थानीय भावना

महेन्द्र स्थानीयतालाई प्राथमिकता दिनुपर्दछ भन्ने मान्यता राख्थे । त्यसैले उनले हरेक ठाउँमा भन्नेगरेको एकमात्र कुरा हो, ‘जगबाटै उठेको प्रजातन्त्र’ । दलीय व्यवस्थामा दलको केन्द्रीय समितिले गरेको निर्णय तल्लो अंगले मान्नुपर्ने र जनताको भोटले निर्वाचित प्रतिनिधिलाई दलले हृविप (अंकुश) लगाउने भएकोले दलीय व्यवस्थालाई महेन्द्रले माथिबाट थोपरिएको व्यवस्था भन्ने गरेको पाइन्छ ।

स्थानीय निकाय स्थानीय जनताले नै चलाउन पाउनुपर्छ भन्ने मान्यता राखेर शक्ति विकेन्द्रिकरणको नीति लागु गराई देशभर गाउँ पञ्चायत, नगरपञ्चायत, जिल्लापञ्चायत निर्धारण गरेर केन्द्रसँग जोडेका थिए महेन्द्रले । २०४६ पछी तिनै स्थानीय निकायको नाम फेरिएको छ । गाउँ, टोल र समाजको विकास भएर नै राष्ट्रको विकास हुने होइन र ?

अब स्थानीयताको भावना त्याग्नुपर्छ भन्ने बीपीलाई प्रजातन्त्रवादी देख्ने कि स्थानीयतालाई प्राथमिकतामा राख्ने महेन्द्रलाई प्रजातन्त्रवादी देख्ने ? यो सोचनीय बिषय हो ।

२. गुटबन्दी

बीपीलाई आजसम्म सुने-बुझेअनुसार उनी दलीय व्यवस्थाका पक्षधर हुन् । दल भनेको के हो भन्नेबारे सोचौं पहिला । समाज वा राष्ट्रका मानिसहरु विभाजित भएर गुटबन्दी गरेपछि त्यो गुटको साझा नाम राख्नु नै दल निर्माण हो । दलीय व्यवस्थाको पक्षमा वकालत गर्ने अनि गुटबन्दीको बिरोध गर्ने कुरा आफैमा विरोधाभाषपूर्ण छ । यदि गुटबन्दीको बिरोध गर्ने हो भने महेन्द्रको दलविहीन समाज निर्माण गर्ने निर्दलीय सिद्धान्तलाई प्रजातान्त्रिक होइन भन्नुको पछाडी के तुक छ ?

व्यक्तिले संधै स्वतन्त्रता चाहन्छ । त्यसैले दलको नाममा हुने जमिनदारी अभ्यासप्रति चेतनशील व्यक्तिको चित्त बुझ्दैन र उ दलबाट फेरी अर्को गुट निर्माण गर्छ । तर त्यस गुटमा पनि व्यक्ति अर्को नाइकेको अधिनमा रहनुपर्ने बाध्यता हुन्छ । त्यसैले व्यक्तिको स्वतन्त्रताको निम्ति दल वा गुटबिहिन अर्थात् निर्दलीयतामा नै मानिस पुग्दछ ।

म न महेन्द्रलाई महान देख्छु न बीपीलाई । तर म दलीय सिद्धान्तलाई भन्दा महेन्द्रले प्रतिपादन गरेको निर्दलीय सिद्धान्तलाई बढी प्रजातान्त्रिक देख्छु । किनकि म व्यक्तिको स्वतन्त्रतालाई प्राथमिकतामा राख्ने मान्छे हुँ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment