Sunday, February 28, 2016

लाइसेन्स लिएको ९ वर्षमा २६ पटक जरिवाना

फाल्गुन १६, २०७२- गत साता २ चिकित्सकलाई ठक्कर दिने माइक्रोबसका चालक लाइसेन्स लिएको ९ वर्षमा २६ पटक जरिवानामा परेको प्रहरी अनुसन्धानमा खुलेको छ । चालक अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमडी अध्ययनरत प्यूठानका डा. सन्दीप सुवेदी र भारत बिहारका सोनी आनन्दको मृत्यु भएको थियो ।

नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रो बसको अचानक ब्रेक फेल हुँदा उनीहरूलाई किचेको थियो । महाराजगन्जस्थित कान्ति बाल अस्पताल ओरालोमा बेलुकीतिर सडक छेउमा हिँडिरहेको अवस्थामा किच्दा उनीहरूको घटनास्थलमै मृत्यु भयो ।

चालक सेवाले २०६३ मा वागमती अञ्चल यातायात कार्यालयबाट लाइसेन्स लिए । तर, केही महिनामै उनले गाडीलाई ठक्कर दिए र जरिवाना तिरेर निस्के । प्रहरी ट्राफिक महाशाखाका अनुसार लाइसेन्स लिएको ६ महिनाभित्र उनले तीन पटक जरिवाना तिरेको खुलेको छ । २०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरेको पाइन्छ ।

२०७२ मा मात्र उनले ५ पटक जरिवाना तिरेका छन् । यसरी पटक–पटक सवारी साधन दुर्घटनामा जरिवाना तिरेका चालक सेवाले २०६५ मा तनहुँको घाँसी कुवामा गाडी दुर्घटना गर्दा १ एक जनाको मृत्यु भएको प्रहरी अनुसन्धानमा छ । छानबिनपछि प्रहरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । रिहाइको केही महिनापछि पुन: उनले गल्ती गरेर जरिवाना तिरे । उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले चालक सेवाले पटक–पटक ट्राफिकमा जरिवाना तिरेको बताए ।

गत साता कान्ति बाल अस्पताल ओरालोमा दुर्घटनामा परेको माइक्रो बसको मर्मतसम्भार नगरेको, जाँचपास नगरेकोलगायत त्रुटि भेटिएको उनले बताए । ‘यो गाडीमा विद्यार्थी बोक्न पाइँदैन, हरियो प्लेटको पर्यटक बोक्ने गाडी हो, अवस्था पनि ठीक रहेनछ,’ उनले भने, ‘जीर्ण गाडीमा विद्यालयका खचाखच विद्यार्थी बोकेर जाँदा दुर्घटना हुनु स्वाभाविक नै हो ।’

राम्ररी सवारी साधन चलाउन नसक्ने मानिसलाई यातायात कार्यालयले सवारी लाइसेन्स दिँदा दुर्घटना हुने गरेको भौतिक योजना तथा निर्माण मन्त्रालय एक उच्च अधिकारीले बताए । ‘त्यसको शैक्षिक योग्यता कति हो, कति वर्ष गाडी चलाएको छ, भन्ने कुनै मापदण्ड नै छैन,’ ती अधिकारीले भने, ‘लाइसेन्स दियो अनुगमन गर्ने निकाय नै छैन ।’ मादक पदार्थ सेवनमा ५ पटकभन्दा बढी परे ट्राफिकले जसरी लाइसेन्समा प्वाल पारे जस्तै यातायात कार्यालयले पनि लाइसेन्स खारेजीको व्यवस्था गर्नुपर्ने ती अधिकारीको भनाइ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment