Sunday, February 28, 2016

रामशरण महतका दुई टुकः नेताका घरमा भीड नलाग्नोस्, बैंकमा ऋण माग्न जानोस्

पुष्प दुलाल

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेताहरुका घरमा कार्यकर्ताको भीड लाग्ने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् । बरु कार्यकर्ताहरु बैंकमा ऋण माग्न गए राम्रो हुने डा. महतको सुझाव छ ।

नेपाली कांग्रेसका नेताको दैलोमा बिहानैदेखि कार्यकर्ताको भीड लाग्ने चलन पुरानै हो । यही कारणले कांग्रेसभित्र एउटा आहान नै के बनेको छ भने जुन कांग्रेस नेताका ढोकामा धेरै जुत्ता देखिन्छन्, त्यही नेता लोकप्रिय मानिन्छ ।

कांग्रेस कार्यकर्ताहरु आफ्नो गुट नजिकको नेताका घरमा बिहानै पुग्छन् । ‘दाइ जय नेपाल’ भन्छन् र आँगनमा केही घण्टा बसेर अर्को गुटका नेताको कुरा काट्छन् । भात खाने बेला भए पछि उनीहरु आफ्नो घरमा र्फकन्छन् ।

यसरी बिहानभरि नेताको दैलो ढुक्दा कसैले कालो चियासम्म खान पाउँछन् त कसैले त्यो पनि भेट्दैनन् । कार्यकर्ताको भीड थेग्न अधिकांश कांग्रेस नेताहरुले आफ्नो घर अगाडि टहरो हालेका हुन्छन् । बेरोजगार कार्यकर्ताहरु बिहानभरि त्यही टहरोमा बसेर गफ चुट्छन् । अरु बेलामा पनि कांग्रेस नेताका घरमा भीड लाग्थ्यो,  अहिले महाधिवेशन लागेपछि त नेताहरुको घरमा स्वाभाविकरुपमै भीड बढेको छ ।

तर, केही दिन अघिसम्म सभापतिमा उठ्ने दाबी गरेर रामचन्द्र पौडेलसँग मनोनित महामन्त्रीका लागि सहमति गरेका  डा. रामशरण महतका घरमा भने खासै भीडभाड देखिँदैन । यसबारे प्रश्न गर्दा डा. महतले नेताको घरमा भीड लाग्नु गलत कार्य भएको बताए । विना काम घरमा आएका कार्यकर्तालाई आफूले  भेटसमेत नदिने गरेको उनले बताए । कार्यकर्ताको दैलो ढुक्ने प्रचलनदेखि पार्टीको आर्थिक नीतिसम्मका प्रश्नहरुको डा. महतले अनलाइनखबरलाई यसरी जवाफ दिए-

अहिले कांग्रेस नेताहरुको घरमा कार्यकर्ताको भीड लागेको देखिन्छ । तर, तपाईको घर त सुनसान छ नि, किन ?

नेताको घरमा भीड लाग्ने राजनीतिक संस्कार नै बदल्नुपर्छ भन्ने मेरो मान्यता हो । म कार्यकर्ताहरुलाई बिना काममा मेरो घरमा आउ भनेर ‘इन्करेज गर्दिँन’ । काम नभएका मान्छेहरु घरमा आउनु भनेको खाली भीडका लागि भीड मात्रै हो । म भीडमा विश्वास गर्दिन । काम नभएका कार्यकर्ताहरुलाई म भेट्दिँन । कतिपय कार्यकर्ताहरु मेरो घरमा आएर पनि मलाई भेट्न नपाई जान्छन् । त्यसैले पनि मेरो घरमा अरुको जस्तो कार्यकर्ताको भीड हुँदैन ।

र, स्मरण रहेास्, एउटा निर्वाचन क्षेत्रबाट लगातार चारपटक निर्वाचन जित्ने थोरै मान्छेहरु मध्येको एक हुँ म । जनताले मूल्यांकन गर्छन् नि । भोटरको विश्वासका अगाडि भीडले काम गर्दैन । अहिले पनि मलाई अघि बढाउनुपर्छ भन्ने कार्यकर्ताहरुको ठूलो जमात छ ।

नयाँ संविधान बनेपछि अब नेपाली कांग्रेस कसरी अगाडि बढ्नुपर्ला ? 

अबको मुलुकको आवश्यकता आर्थिक सम्मृद्धि र विकास नै हो । त्यसका लागि जसले अर्थतन्त्रलाई बुझेको उसले नेतृत्व गर्नुपर्छ । त्यसकारण मुलुकको आर्थिक सम्मृद्धिका लागि कांग्रेसमा मेरो नेतृत्व आवश्यक छ । म विकासवादी मान्छे हुँ । मुलुकको आर्थिक सम्मृद्धि नै मेरा लागि सबैभन्दा बढी चिन्ताको विषय हो । मजस्तो आर्थिक सम्मृद्धिका लागि लागि पर्ने मान्छे पार्टी र सरकारको नेतृत्वमा भयो भने मात्रै देशको सारा ध्यान अर्थतन्त्रप्रति जान्छ ।

अब राजनीतिक भाषणबाजीमा समय विताउने बेला छैन । विकास, आर्थिक वृद्धि र न्यायको पक्षमा हामीले अबको समय खर्चिनुपर्छ ।  बन्द, हड्ताल तोडफोड र आन्दोलनलाई अन्त्य गरी १० वर्ष एकाग्रह भएर मुलृुकको विकासमा लाग्ने हो भने देश बन्छ । हामीले विकासको मोडेलको बारेमा धेरै बहस गरिरहनुपर्दैन । संसारले स्वीकार गरिसकेको मोडल हामीकहाँप्रचलनमा छ ।

परिश्रम गर्ने र आविस्कार गर्ने बानीको विकास गर्ने, उद्यमशीलता देखाउने बानीलाई प्रात्साहित र पुरस्किृत गर्ने व्यवहारको खाँचो छ । अब काम गरेर मात्रै, लगानी भित्र्याएर मात्रै र उद्यमशीलताको विकास गरेर मात्रै देश अगाडि बढ्छ । त्यसैले अहिले कांग्रेसमा शान्ति र सिर्जनाले मात्रै देश अघि बढ्छ भन्ने भावना मजबुत गराउन सक्ने नेतृत्व चाहिएको हो ।

आर्थिक विकासका लागि त जनतालाई उद्यमशील बनाउनुपर्ने हुन्छ, तर कांग्रेससँग यस्तो योजना केही देखिँदैन नि ?

जनतालाई उद्यमशील वनाउने वातावरणले हो । हामीले त्यस्तो वातावरण मिलाइदिनु पर्छ । तर, हाम्रो देश सिन्डिकेट र कोर्टेलिङले ग्रस्त छ । १०० रुपैयाँ ढुवानी खर्च लाग्नेलाई ५ सय रुपैयाँ लिइन्छ । कुनबेला हड्ताल हुन्छ पत्तो छैन ।

उत्पादन भएको वस्तु समयमा बजारमा पुग्न सक्ने वातावरण नभएपछि कसरी उद्यमशीलता बढ्छ र ? हामीले उद्यमशीलता बढाउने वातावरण तयार पार्ने हो भने बन्द हड्तालको अन्त्य गर्नुपर्छ । खाडी गएका युवाहरु फर्किएर गोलभेडा खेती गर्न थालेका छन् । अन्य व्यावसायिक खेती गर्न थालेका छन् ।

जागिर पाउन गाह्रो छ, त्यसका लागि प्रतिस्पर्धा गर्नुपर्छ । नेताको चाकरी गरेर जागिर पाइँदैन भन्ने प्रष्ट सन्देश दिन सक्नुपर्छ । जीबन भनेको संघर्ष हो, कडा परिश्रम गरेपछि मात्रै केही प्राप्त हुन्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ । हामकहाँ त हाजिर गरेर जागिर पकाउने प्रवृत्ति छ ।

जागिर खाने प्रवृत्ति होइन, आफैले केही गरेर बजारमा पठाउने प्रवृत्ति नै उद्यमशीलता हो । उद्यमशीलता भनेको सिजर्नशीलता हो ।  उद्यमशीलता नहुने हो भने संसार शून्य हुन्थ्यो ।

आफ्ना कार्यकर्तालाई चाँहि उद्यमशील बनाउनु पर्दैन ?

मैले अघि नै भनेको व्यवस्थापकीय सुधार भनेको नै यही हो । अब कुन नेताले के कस्ता भाषण गरे भन्ने होइन, कसले के सिर्जना गर्‍यो, कसले के निर्माण गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । सिर्जनशील कार्यकर्तालाई प्रोत्साहन गर्नुपर्छ ।

आम पार्टी कार्यकर्ताहरुप्रति मेरो आग्रह छ कि तपाईहरु कृषि उद्यम सञ्चालन गर्नका लागि बैंकमा ऋण लिन जानुहोस् ।

गाउँमा कसैले केही नयाँ सिर्जना गरेको छ भने त्यस्ता मान्छेलाई अगाडि बढाउनुपर्छ । पार्टीले टिकट दिँदा पनि त्यस्तै मान्छेलाई दिनुपर्छ । जसले गर्दा अरु मान्छेहरुलाई पनि सिर्जनशील काममा लाग्न प्रोत्साहन मिलोस् । अब भाषण गर्ने मान्छेलाई होइन, सिर्जना गर्ने मान्छेलाई प्रोत्साहन गर्नुपर्छ त्यस्ता मान्छेलाई अगाडि बढाउनुपर्छ ।

जो सिर्जनामा र उद्यममा लागेको हुन्छ, पार्टीले त्यस्ता मान्छेहरुलाई टिकट दिने हो भने त कार्यकर्ताहरु चाकरी गर्न भन्दा उद्यमशील बन्नतिर लाग्छन् । कांग्रेसले अब त्यस्तो नीति लिनुपर्छ । मैले गत आर्थिक वर्षको बजेटमा ६ प्रतिशत ज्याजदरमै युवा किसानलाई बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु । आम पार्टी कार्यकर्ताहरुप्रति मेरो आग्रह छ कि तपाईहरु कृषि उद्यम सञ्चालन गर्नका लागि बैंकमा ऋण लिन जानुहोस् ।

हामीले आफ्ना कार्यकर्तालाई उद्यमी बन्ने ‘ओरियन्टेसन’ दिनुपर्छ । मैले नै नयाँ बिचार भएकाहरुलाई लगानी गर्नका लागि ५० करोड रुपैयाँ बिउ पुँजी राखेर नविन स्टाट अफ फण्डको स्थापना गरेको छु ।  यसको कार्यविधि बनिसकेको छ । अब कार्यान्वयनमा आउँछ ।

धनकुटाको सिँधुवाबाट भारतको कोलकातामा बन्दागोपी र गोलभेँडा जान थालेको धेरै वर्ष भइसक्यो । काठमाडौं उपत्यकाका वरिपरि टनेल बनाएर तरकारी खेती सुरु भएको छ । यही हो उद्यमशीलता । सिमेन्टमा हामी आत्मनिर्भर भइसक्यौं । यस्तो संक्रमणकालमा पनि हामीले प्रगति नगरेका भने होइनौं ।

कांग्रेसको महाधिवेशनमा नेताको मात्रै चर्चा छ, नीतिको चर्चा  किन नभएको ?

कांग्रेसले जुन नीति अबलम्बन गर्‍यो, अहिले मुलुक त्यही नीतिले सञ्चालन भइरहेको छ । यो देशमा म कांग्रेसको बाहेक अरुको नीति नै देख्दिँन ।

राजनीतिक रुपमा भन्नुहुन्छ भने नेपालमा कांग्रेसले नै हो राजनीतिक उदारवादको सिद्धान्त अवलम्वन गरी स्थापित गरेको । अरु कुनै पनि राजनीतिक दलले बहुलवाद, प्रजातन्त्र, संसदीय व्यवस्थाको पक्षमा अरु कुनै दलहरु थिएनन् । कि वामपन्थी थिए कि त पञ्चपन्थी निर्दलवादीहरु थिए । अहिले सबै कांग्रेसले अबलम्बन गरेको राजनीतिक नीतिमा आएका छन् ।

आर्थिकरुपमा भन्ने हो भने हामीले सामाजिक न्याय र लोकतान्त्रिक समाजवाद भन्यौं । यो मध्यमार्गी बाटो हो, यो साम्यवादी पनि होइन र पुँजीबादी पनि होइन । त्यही बाटोलाई आज सारा संसारले स्वीकार गरेका छन् । हिँजोको पुँजीवाद अहिले कहिँपनि छैन  न त हिँजोको साम्यवाद पनि कहीँ छैन । लोकतान्त्रिक समाजवाद भनेको बीचको बाटो हो ।

हामीले खास गरेर ०४६ साल पनि त्यसलाई नयाँ दिशा दियौं । आर्थिक वृद्धि गर्नका लागि बजारले दबाब दिनुपर्ने, निजी पुँजीको प्रवर्द्धन गर्नुपर्ने, वैदेशिक पुँजीमा भएको प्रतिबन्ध हटाउनुपर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र सरकारले सामाजिक क्षेत्रमा र निजी क्षेत्र नआउने क्षेत्रमा पूर्वाधारको विकासमा गरिबी निवारणमा, सामाजिक न्यायमा सरकारको भूमिका हुनुपर्ने नीति अबलम्बन गर्‍यौं । कतिपय सञ्चालनमा आउन नसकेका सार्वजानिक संस्थानहरुको निजीकरणको प्रक्रिया सुरु भयो । त्यसको घोर आलोचना पनि भयो । तर, अहिले सबैले त्यही नीति अवलम्वन गरेका छन् । त्यसैका पछि लागेका छन् ।

माओवादीजस्तो उग्र वामपन्थी दलको नेता प्रधानमन्त्री भएका बेला भारतमा गएर भारतसँग बिप्पा सम्झौता गरेर हामी विदेशी लगानीको संरक्षण गर्छौं भनिसकेका छन् । भर्खरै मात्र प्रधानमन्त्री ओलीजीले नेपालमा लगानी गर्न आहृवान गरे । कांग्रेसको नीति नै मुलुकमा स्थापित भइसकेको छ भने कांग्रेसको नीतिबारे थप चर्चा गरिरहनु नपर्ला ।

दुर्भाग्य के छ भने हाम्रो निर्वाचन पनि त्यही बखतमा हुन्छ र नीति र कार्याक्रम पनि पनि त्यही बेला पारित हुन्छ । त्यसैले महाअधिवेसनका बेला नीतिकोभन्दा बढी नेताको चर्चा हुने गर्छ । नीतिपत्रको बारेमा न पार्टीभित्र नै ठूलो सोधखोज हुन्छ, न त पत्रकार साथीहरुले नै सोधखोज गर्छन्  । त्यसैले नीति ओझेलमा परेजस्तो देखिएको मात्रै हो ।

त्यसो त कांग्रेसको नीति भनेको कांग्रेसले पेस गरेको बजेटबाटै पनि बुझ्न सकिन्छ । नीति भन्ने चिज छिनछिनमा बदलिरहने होइन । निर्वाचनमा घोषणापत्र लिएर गएका छौं । अहिलेको महाअधिवेशनमा पनि नीतिपत्र कार्यक्रमहरु लिएर जान्छौं ।

यो महाधिवेशनबाट कस्तो नीति ल्याउने तयारी गरिरहनुभएको छ त ?

कांग्रेसको अहिलेको समस्या भनेको व्यवस्थापनको हो । अबको महाअधिवेशनबाट कांग्रेसले व्यवस्थापनमा जोड दिने नीति पारित गर्नुपर्छ । त्यसमा पार्टी व्यवस्थापन र सुदृढीकरण, जनशक्ति व्यवस्थापन बढी जोड दिनुपर्छ । कार्यकर्ताहरुको मूल्यांकन जिम्मेवारीको बाँडफाँडका साथै कार्यालयलाई व्यवस्थित गर्ने र आफ्ना उपलब्धिहरुको जगेर्ना गर्ने र कार्याकर्तालाई प्रशिक्षित गर्ने नीति आवश्यक छ ।

जनसरोकारका विषयका बारेमा त चुनावी घोषणापत्र लिएर जाने हो । सरकारमा जाँदा हाम्रो यस्तो हुन्छ भनेर नीति बनाउने हो । त्यसबारे पनि कांग्रेसले धेरै भनिरहनुपर्दैन । उसले विगतमा ल्याएका बजेटहरुबाटै पनि कांग्रेसको नीतिबारे विश्लेषण गर्न सकिन्छ ।

अबको कांग्रेसको सुधार भनेको व्यवस्थापकीय पक्षमा मात्रै हो । नीतिगत सुधार गरिरहनु आवश्यक छैन । कांग्रेसले आफ्ना नीतिहरुको सही व्यवस्थापन गर्न सक्यो भने मात्रै पनि मुलुक सम्मृद्ध बन्छ ।

एकछिनलाई मानौं, तपाई कांग्रेसको महामन्त्री हुनुभयो र अर्थमन्त्री वा प्रधानमन्त्री नै हुनुभयो भने देशले के पाउँछ ?

मैले अहिले नै सूचकांकहरु यस्ता बनाउँछु भनेर भन्नु काल्पनिक कुरा हुन्छन् । प्रत्येक सूचकांकहरुको पृष्ठभूमि के हो भन्ने कुराको पूर्ण विश्लेषण नगरिकन यी हचुवाका भरमा भन्ने विषय होइनन् । भन्नकै लागि हो भने त म भन्न सक्छु । मलाई सबै जानकारी पनि छ । तर, कुनै पनि नेताले भोलिका सूचकांकहरु यस्ता हुन्छन् भनेर फटाफट भन्छ भने त्यो हावादारी कुरा मात्रै हो । त्यो सरकारमा बस्दाखेरी भन्ने कुरा हो ।

म वामपन्थी गफमा विश्वास गर्दिन । म कामकाजी कुरामा विश्वास गर्छु ।

तर, मलाई के कुरामा विश्वास छ भने यदि मैले पार्टी र सरकारको नेतृत्वको जिम्मेवारी पाएँ भने र मैले भनेको जस्तो हुने हो भने १० वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियाली देशहरुको भन्दा बढी हुन सक्छ । हामी अविकसित देशबाट विकाशोन्मुख देशमा स्तरोन्नति हुनेछौं । हामी पूर्वी एशियाको आर्थिक वृद्धिसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छौं । एउटा व्यक्तिलेमात्रै परिवर्तन गर्ने कुरा होइन । राष्ट्र निर्माण गर्न सारा शक्ति लाग्नुपर्छ ।

आर्थिक विकास भनेको दन्त्यकथा लेख्ने होइन, उपन्यास लेख्ने होइन । आर्थिक विकास भनेको तथ्यमा आधारित हुन्छ । कति प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कति लगानी चाहिन्छ । लगानी कहाँबाट ल्याउने ? कुन कुन क्षेत्रमा लगानी ल्याउने ? लगानीको प्रतिफलको अवस्था कस्तो हुन्छ ? ती सबै कुरा नभइकन म भएँ भने यति प्रतिशत आर्थिक वृद्धि गर्छु भनेर भन्नु उही प्रचण्ड र बाबुरामको गफजस्तो मात्रै हुन्छ । यस्तो गर्छु उस्तो गर्छु भनेर प्रचारबाजी गर्ने भनेको बामपन्थी गफ हुन् । म वामपन्थी गफमा विश्वास गर्दिन । म कामकाजी कुरामा विश्वास गर्छु ।

जतिबेला बिहारको आर्थिक वृद्धिदर ३ प्रतिशत थियो, त्यसबेला हामीकहाँ करिब ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेका थियौं । तर, अहिले हाम्रो आर्थिक वृद्धिदर ४/५ प्रतिशतको वरिपरि घुमिरहेको छ भने बिहारको आर्थिक वृद्धिदर दोहोरो अंकले बढिरहेको छ । यसैलाई मात्र हेर्ने हो भने पनि नेपालको आर्थि वृद्धिलाई लिएर सन्तोष मान्छ मिल्छ र ?

बिहारमा राजनीतिक स्थायित्व भयो । त्यसैले उसले तीब्र आर्थिक विकास गर्‍यो । तर, हामीकहाँ त्यहीबेला मुलुक माओवादी जनयुद्धको चापमा पर्‍यो । यस्तो आतंकका बेला हाम्रो अर्थतन्त्र कोल्याप्स हुनबाट बचाउन सक्नु नै हाम्रो सफलता मान्नुपर्छ । यस अवधिमा हामीकहाँ सरदर एक वर्षका सरकार परिवर्तन भए । नयाँ मन्त्री आउनेवित्तिकै कर्मचारीहरु परिवर्तन हुन्छ । शान्ति प्रक्रिया सुरु भएको नौ वर्ष भएछ यस अवधिमा मात्रै आठवटा सरकार गठन भएछन् ।

जहाँ सँधै प्रधानमन्त्रीको को बन्ने भन्ने होडबाजी चल्छ । नयाँ मन्त्री आउँछ, बुझेको केही पनि हुँदैन ।  तर, भाषण भने चर्को गर्न थाल्छ । यो नीति ल्याउँछु र त्यो नीति ल्याउँछु भन्छ । हिँजो के थियो भन्ने उसलाई केही थाहा हुँदैन । अनि सचिव, महानिर्देशक, कार्यालय प्रमुखहरु बदलिन थाल्छन् । यो प्रकारको शासन व्यवस्थाबाट कस्तो प्रगति खोज्ने ?

अहिले जे जति उपलब्धि भएका छन्, त्यो सबै हामीले ०४८ सालमा बसालेको जगका कारण भएका हुन् । हामीले तयार पारेको आधारले नै सरकारलाई प्रत्येक वर्ष राजस्व बढिरहेको छ । जसले खर्च गर्न अभाव छैन । रेमिटान्सले विदेशी मुद्राको भण्डार बलियो बनाएको छ ।

आजभन्दा २० वर्ष अगाडिका गाउँहरु कस्ता थिए र अहिलेका गाउँहरु कस्ता भएका छन् भनेर हेर्‍यो भने परिवर्तन देख्न सकिन्छ । तर, मान्छेहरु परिवर्तन र सुधार भएको कुरा देख्दै देख्दैनन् ।

सदरमुकामसम्म आउन २ दिन लाग्ने गाउँहरु पनि थिए, अहिले त्यस्ता गाउँमा पनि मोटरबाटो पुगिसकेको छ । विद्यालयमा हेर्नुभो भने केटा र केटीको संख्या बराबर छ । २० वर्ष अघि छोरीलाई स्कूल पठाउने हिच्किचाउने समाज थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment