Sunday, February 28, 2016

कांग्रेसमा नेता छान्न सकस र वीपी पुत्रले गुमाएको अवसर

समाचार टिप्पणी 

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुन तीन दिन मात्रै बाँकी छ । तर, सभापतिका आकांक्षीहरुले अझैसम्म आफ्नो टीम घोषणा गर्न सकेका छैनन् ।

संस्थापन समूहबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलाका साथै सुजाता कोइरालाले सभापतिमा दाबी गरेका छन् भने अर्को समूहबाट शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार देखिएका छन् ।

तर, कसैले पनि टिम घोषणा गर्न सकेका छैनन् । केन्द्रीय सदस्यका आकांक्षीहरु मात्र होइन, महाधिवेशन प्रतिनिधिहरु नै काठमाडौं आउन थालिसके । नेताहरु भने आफूले अन्तिम समयसम्म सहमतिको प्रयास गरिरहेको सन्देश दिन एकअर्कालाई भेटेर ‘मलाई सहयोग गर्नुपर्‍यो’ भन्दै हिँडेका छन् ।

सोमबार पनि कुनै समूहले औपचारिक उम्मेदवारी घोषणा गर्दै टिम सार्वजनिक गर्ने सम्भावना लगभग छैन । देउवा समूहले १७ गते प्यानल नै सार्वजनिक गर्ने भनिएको थियो । तर, संस्थापन समूहमा छलफल चलिरहेकाले देउवा पनि रोकिएका छन् किनकि संस्थापनको असन्तुष्ट हुनेहरुलाई आफूतिर तान्ने उनको रणनीति छ ।

संस्थापनमा भने सभापतिका आकांक्षीहरु रामचन्द्र पौडेल र कृष्ण सिटौला आफूतिर धेरैभन्दा धेरै नेताहरुलाई तान्ने प्रयासमा छन् । गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाले सभापति लड्छु भने पनि धेरै कांग्रेस नेता कार्यकर्ताले नै पत्याएका छैनन् । तर, उनलाई पनि पछि हट्न त्यति सजिलो छैन ।

सहमतिको सम्भावना र चुकेका शशांक

पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि संस्थापनमा सुरु भएको बेमल अझै समाधान भएको छैन, बरु बढ्दो छ । जसका कारण सभापतिमा कम्तिमा त्रिपक्षीय भिडन्त पक्का जस्तै देखिएको छ ।

सभापतिका दाबेदार रामचन्द्र पौडेलले वीपी पुत्र शशांक कोइरालालाई महामन्त्री बनाएर अघि बढ्ने तयारी गरेका छन् । तर, शशांक आफैं भने पौडेलको महामन्त्री बन्ने कि सभापति नै उठ्ने निर्णयमा पुगिसकेका छैनन् । अहिले पनि आफूलाई भेट्न आउनेहरुसँग उनी पौडेल टिममा महामन्त्री बन्ने कुरा खुलेर गर्दैनन् । बरु आवश्यक परे पार्टीलाई बचाउन सभापति लड्न सक्छु भन्ने संकेत दिन्छन् ।

Shahanka-Koirala

वीपी पुत्र भएका कारण कांग्रेस नेता कार्यकर्तामा उनीप्रति मोह निकै छ । झन सभापतिको दाबेदारहरुले आफ्नो टिममा आउन एकपछि अर्को अफर गरेपछि उनी ‘हटकेक’ नै बनिरहेका छन् । योसँगै शांशकसँग पार्टीलाई मिलाउने केही अबसर थिए । जसलाई उनी एकपछि अर्को गर्दै छुटाइरहेका छन् ।

कसैले स्वीकार गरे पनि नगरेपछि पार्टी एकता भएको वर्षौ वित्दा पनि नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकको अस्तित्व कायमै छ, संस्थापन र देउवा समूहका नाममा । फरक यत्ति हो कि केही नेता अवसरका लागि गुट परिर्वतन गरिरहेका छन् । यदि पार्टी अलग-अलग भएको भए यसलाई माउ पार्टीमा र्फकने र असन्तुष्ट भएर निस्किएको मानिथ्यो होला । जुन नेपाली राजनीतिमा चल्दै आएको छ ।

सुशील कोइरालाको आकस्मिक निधनपछि वीपी पुत्र शशांकलाई देउवाले आफ्नो टीमबाट महामन्त्री बन्न अफर गरे । यो सुरुमा अलोकपि्रय लाग्ला तर, कांग्रेसमा रहेको संस्थापन र प्रजातान्त्रिकलाई मेटाउन एक बनाउने अवसर थियो । यदि शशांकले देउवाको महामन्त्री भएको भए पार्टीमा नयाँ ध्रुवीकरण सुरु हुन्थ्यो तर, संस्थापन र प्रजातान्त्रिक छ्यासमिस हुन्थ्यो र पुराना विभाजनका डोबहरु विस्तारै मेटिने थिए ।

शंशाकले साँच्चै चाहेको भए यो सम्भव थियो । तर, कम्तिमा यो पटकका लागि यो अवसर उनले छुटाएका छन् ।
शशांकसँग अर्को अवसर थियो-कम्तिमा संस्थापन पक्षलाई मिलाउने । कोइरालाको निधनपछि रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सभापतिको दाबेदारी गर्दै अगाडि आएका बेला सबैको रोजाइमा उनी थिए ।

यस्तोमा उनी कसैको महामन्त्री बन्नुभन्दा पार्टीको संस्थापन पक्षलाई एक बनाउनतिर लागेको भए सम्भव थियो । रामचन्द्र पौडेल सभापतिका स्वभाविक दावेदार हुन् । त्यसैले उनलाई सभापति, वर्तमान निर्वाचित महामन्त्री प्रकाशमान सिंहलाई उपसभापति र कृष्ण सिटौलालाई महामन्त्री दिने विकल्प उनीसँग थियो ।

यसो गर्दा तीन नेताको सहज व्यवस्थापन हुन्थ्यो र आफू मनोनित महामन्त्री बनेर पार्टीको मियो बन्ने अवसर थियो । तर, उनी रामचन्द्रतिर ढल्किए । कृष्ण सिटौला संस्थापन बाट रिङ आउट हुने भएपछि प्रकाशमान सिंहसहितका नेतहरुले पनि भूमिका यसमा खेले । परिणाम संस्थापन छिन्नभिन्न हुनपुग्यो ।

कांंग्रेस संस्थापनका एक नेता वीपी पुत्र शशांकले पार्टीलाई एक बनाउने र आफू मियो बनेर बस्ने अवसर गुमाएको बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, साँच्चै उनले पार्टीका हितका बारेमा सोचेको भए शशांकसँग धेरै अवसर थियो । तर, उनले आफूलाई केन्द्रमा राखेर सोच्दै गर्दा सबै गुम्यो ।’

सिटौला पछि हट्न सक्छन् ?

संस्थापन समूहबाट रिङ आउट भएपछि कृष्ण सिटौला आफ्नो टीम बनाउन लागेका छन् र, महामन्त्रीमा गगन थापालाई अघि सार्दैछन् । उनको अरु टीम टुंगो लागेको छैन । तर, भोलि १८ गते औपचारिक रुपमा सिटौलाले सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । सुरुमा कार्यवाहक सभापति रामचन्द्र पौडेलहरुले उनलाई कन्भिन्स गर्ने प्रयास नै नगरेको र अब निकै अघि बढिसकेकाले उनी सभापति लड्ने पक्काजस्तै भएको निकटवर्तीहरु बताउँछन् ।

सभापतिको उम्मेद्वारमा निर्विवाद देखिएका शेरबहादुर देउवाका लागि पनि पदाधिकारीको टीम मिलाउन सकस परिरहेको छ

के सिटौला अब नरोकिने नै हुन् त ? उनी निकटका एक नेता भन्छन्, ‘१० प्रतिशत सम्भावना अझै छ । किनकि उनी पदभन्दा पनि काम गर्ने नेता हुन् । रामचन्द्र पौडेलले आफू कार्यवाहक सभापति भएर बाँकी टीम बनाउने जिम्मा सिटौलालाई दिने र उनलाई पावर सेन्टर बनाउने हो भने उनी रोकिन सक्छन् ।’

सुशील कोइरालालाई १२ औं महाधिवेशनमा सभापति बनाउने बेलामा पनि सिटौलाले यस्तै भूमिका खेलेको उनी निकटवर्तीहरु बताउँछन् । त्यसबेला उनी केन्द्रीय सदस्य मात्र लडे र पछि मनोनित महामन्त्री बने ।

उता सभापतिको उम्मेद्वारमा निर्विवाद देखिएका शेरबहादुर देउवाका लागि पनि पदाधिकारीको टीम मिलाउन सकस परिरहेको छ । देउवाका सामु चित्रलेखा यादव, पुष्पा भुसाल, खुमबहादुर खड्का, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी लगायतसँग टीम मिलाउनुपर्ने चुनौती छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment