Tuesday, March 1, 2016

२५१ भारुमा स्मार्टफोन बेच्दा पनि ३१ भारु नाफा !

भारतीय कम्पनी रिंगिंग बेल्सले हालै २५१ भारु मूल्य पर्ने दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गर्यो । यो स्मार्टफोन खरीद गर्नका लागि कम्पनीको वेबसाइटमा आफ्नो नाम दर्ता गराउन कम्पनीले आग्रह गरेको थियो र सोही बमोजिम अहिलेसम्ममा ७ करोड भन्दा बढिले आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ ।

स्मार्टफोन लन्च गरेसँगै कम्पनीका निर्देशक मोहित गोयललाई कैयौँ प्रश्न तथा आशंकाको सामना गर्नुपरेको छ । नोएडास्थित उनको कार्यालयमा प्रहरी तथा आयकर अधिकारीहरु सम्म आए । यति सस्तो मूल्यमा स्मार्टफोन बेच्न सम्भव नै नभएको र सस्तो मूल्यमा घाटा खाएर स्मार्टफोन बेच्नुका पछाडि दालमा केही कालो रहेको आशंका कतिपयको छ । तर मोहित भने स्मार्टफोन तोकिएको मूल्यमा बेच्नेमात्र होइन की यसबाट मुनाफा पनि कमाउने दाबी गर्दछन् । एउटा स्मार्टफोनबाट ३१ भारु नाफा कमाउने उनको दाबी छ ।

टाइम्स अफ इण्डियासँगको अन्तरवार्तामा उनले भनेका छन्ः थाहा छैन, मेरो पछाडि किन सबै लागिरहेका छन् । मैले के गलत गरेको छु र ?

आगामी १५ अपि्रलदेखि यो अढाइ सय भारुको स्मार्टफोनको बिक्रि सुरु हुने दाबी उनकेा छ ।

आपूर्ति कम हुने हुनाले पहिलो चरणमा केवल २५ लाख गोटा फोनको लागि अर्डर लिइने र अरु बाँकी २५ लाख अफलाइन वितरकलाई दिइने उनको भनाइ छ ।

२ सय ५१ भारुमा स्मार्टफोन बेच्दा समेत त्यसको लागत उठाएर उल्टै नाफा कमाउन कसरी सम्भव छ ? भन्ने प्रश्नमा उनी भन्छन्ः इकोनोमिज अफ स्केल अर्थात् ठूलो परिमाणमा हुने उत्पादनले मूल्य कम हुन्छ र यो उत्पादन स्थलमै यसको लागत १२ सय भारुमा झर्नेछ । अनलाइन बिक्रिका कारण यसको मार्केटिंग तथा बिक्रिमा लाग्ने खर्च पनि कम हुनेछ र हामीले थप बचत प्राप्त गर्नेछौँ ।

यसका अलावा हामीले पिगिब्याक मार्केटिंग गर्नेछौँ जसका माध्यमबाट यसमा अन्य कम्पनीको एप्लिकेसन लोड हुनेछ । यसबाट हामीलाई ३ सय भारु प्रति सेट फाइदा हुनेछ ।

उनले विभिन्न इ कमर्श कम्पनी तथा ट्राभल कम्पनीहरुले पनि आफ्नो एप यो स्मार्टफोनमा हाल्न अनुरोध गरिरहेको बताए । साथै कम्पनीको वेबसाइट हेर्नेहरुको ट्राफिकबाट पनि विज्ञापनमार्फत पैसा कमाइने उनको दाबी छ । यी सबैका माध्यमबाट २ सय ५१ भारुमा स्मार्टफोन बेच्दा समेत ३१ भारु फाइदा कमाउन सकिने जिकिर उनको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल आउँदै चिनियाँ मोबाइल साओमी

सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन बेचेर बिश्वभर तहल्का मच्चाएको चिनियाँ स्मार्टफोन कम्पनी ‘साओमी’ले नेपालमा पनि बिक्रि सुरु गर्ने भएको छ ।

साओमीले नेपालकै प्रतिष्ठित ब्यापारिक समूह सारदा ग्रुपलाई आफ्नो आधिकारिक वितरिक चयन गरेको छ । सारदा ग्रुप अन्तर्गतको वत्सल इम्पेक्सले साओमी फोन नेपालमा साओमी मोवाइलको बजारीकरण हुनेछ ।

साओमीलाई एक महिनाभित्रै नेपाली बजारमा ल्याइसकिने सारदा ग्रुपका निर्देशक गौरव सारदाले जानकारी दिए । ‘मार्च महिनाभित्रै नेपालमा लन्च गर्ने तयारी भइरहेको छ’ उनले भने ।

साओमीको नेपालभर डिलर बन्न इच्छुक कम्पनीहरुलाई संजालमा जोडिनका लागि आह्वानसमेत गरेको छ ।

स्थापनाको छोटो समयमै चर्चित बनेको साओमी बिश्वकै मूल्यवान स्टार्टअप कम्पनीमध्ये पर्दछ । एन्ड्रोइड फोन उत्पादन गर्ने साओमीले सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन बजारमा उपलब्ध गराएर प्रतिस्पर्धी सामसुङ र एप्पललाई आच्छुआच्छु पारिसकेको छ ।

चीनमा ठूलो बजार हिस्सा भएको साओमीले भारत र इन्डोनियाजस्ता ठूला बजारमा पनि आफुलाई स्थापित गरिसकेको छ । अनलाइन सेल्स र उत्कृष्ट बजार नीतिका कारण साओमीले प्रतिस्पर्धी स्मार्टफोन कम्पनीहरुलाई चुनौती दिइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

त्रिभुवन विमानस्थलमा गोमाको विमान चरासँग ठोक्कियो

१९ फागुन, काठमाडौं । गोमा एयरको कल साइन ९एन-एकेजेड विमान दुर्घटनाबाट बचेको छ । विहान ८ बजेर ४६ मिनेटमा काठमाडौंबाट लुक्ला उडेको विमानमा चरा ठोकिएको हो ।

विमान धावनमार्गबाट उड्ने वित्तिकै चरा ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गराए । जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । जहाजमा ९ जना यात्रुहरु रहेका थिए ।

‘धावनमार्गमा चराहरु देखिएपछि उड्नै लागेको हाम्रो विमानलाई होल्ड गराइयो, सिकारीले चरा हटाएको टावरलाई जानकारी गराएपछि हामीलाई उड्न निर्देशन दिइएको थियो’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘जहाज धावनमार्गबाट टेक अफ गर्न नपाउँदै चरा ठोक्कियो ।’

अरु चरा उडेपनि चारवटा चरा धावनमार्गमै रहेछन् । जहाजसँगै चराहरु पनि एक्कासी उडेपछि विमानमा ठोक्किएको बताइएको छ । चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

‘हामीले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेका छौं, उहाँहरुको प्रमिसन पाउनासाथ कुच्चिएको भाग मर्मत गरेर जहाज उडाउँछौं’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘आज जहाज मर्मत गरेर उडाउन भ्याइँदैन होला, भोलीसम्म मर्मत गरेर जहाज उडाउने योजना बनाएका छौं ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अबको कांग्रेसः बीपीको नामले चल्दैन, शशांक नै आए पनि संविधान फेरिँदैन

प्राध्यापक कृष्ण खनाल

नेपाली कांग्रेस १३ औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको संघारमा छ । कांग्रेसको अहिलेको अवस्था नेपालका अन्य पार्टीहरुको भन्दा खासै भिन्न छैन ।

शशांक कोइरालाले बीबीसीको अन्तर्वार्तामा भनेका छन् कि कांग्रेसले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा पुनर्विचार गर्नुपर्छ । कांग्रेसभित्र कतिपयको यस्तो धारणा पनि होला । तर, मलाई लाग्दैन कि कांग्रेसको अबको नेतृत्व संवैधानिक परिवर्तनबाट पछि हट्छ ।

शशांक कोइरालाले भनेजस्तै विचार बोक्ने व्यक्ति केन्द्रीय समितिमा हाबी भए भने पनि कांग्रेसले संविधान नै बदल्न सक्दैन ।

सीमांकनका मुद्दामा, संघको कार्यप्रणालीमा केही मतभेद आउला, तर नेपाली कांग्रेस परिवर्तनबाटै पछि हट्छ भन्ने मलाई लाग्दैन । यो विषय नेतृत्वमा कस्ता व्यक्ति हाबी हुन्छन् भन्नेमा पनि भर पर्छ । तर, शशांक कोइरालाले भनेजस्तै विचार बोक्ने व्यक्ति केन्द्रीय समितिमा हाबी भए भने पनि कांग्रेसले संविधान नै बदल्न सक्दैन । तथापि संविधान कार्यान्वयनमा अवरोध ल्याउने कोसिस भने नहोला भन्न सकिँदैन ।

कांग्रेस नेतृत्वमा त्यसरी अवरोध गर्ने पक्ष देखिए पनि सफल हुने सम्भावना छैन । किनभने, अहिले मुलुकलाई संविधानको रक्षा गर्ने र संविधानको अग्रगामी कार्यान्वयन गर्ने शक्तिकै खाँचो छ । मुलुक यही मार्गमा अघि बढिसकेको छ, यसमा सिंगो कांग्रेसले अवरोध गर्न सक्दैन । र, यसो गर्दा कांग्रेसको अस्तित्व पनि संकटमा पर्छ ।

समयसँगै हिँडेन कांग्रेस

कांग्रेसले  ००७ सालको परिवर्तनमा जुन अग्रगामी सोच राख्यो, त्यो निकै क्रान्तिकारी थियो । तर, पछिल्लो समय कांग्रेसमा नयाँ विचारको अभाव खड्कँदै आयो ।

अहिलेको बदलिएको समाजअनुरुप कांग्रेस केही पछाडि देखिन्छ । किनभने, पार्टीभित्र चिन्तनको बहस कमजोर छ, विचार व्यक्त गर्ने प्लेटर्फम छैन

बीपीको विचारलाई नयाँ सन्दर्भमा बुझ्न जरुरी थियो, छ, यसमा कांग्रेस अहिले पनि कमजोर छ । अहिलेको बदलिएको समाजअनुरुप कांग्रेस केही पछाडि देखिन्छ । किनभने, पार्टीभित्र चिन्तनको बहस कमजोर छ, विचार व्यक्त गर्ने प्लेटर्फम छैन । बन्द कोठामा छलफल गरेर हुँदैन । पार्टीका विचार आमजनतामा पुग्नुपर्छ, यसमा कांग्रेस पछाडि छ ।

तर, कांग्रेसभित्रै पनि गतिशील विचारको अभाव छैन । पछिल्लो परिवर्तनका लागि गणतन्त्रको नारा कांग्रेसभित्रै जबर्जस्त उठेको हो । फेरि पनि कांग्रेसमा वैचारिक बहसको अभाव छ । वैचारिक बहस गर्ने, चिन्तन गर्ने नेताहरुको अभाव छ । आफ्नो पक्षमा ताली पिट्नेको जमात बढाउने होड कांग्रेसभित्र छ । त्यसैले कांग्रेसले पार्टीभित्र बहस गर्न आवश्यक छ ।

कोइराला र कांगेस

bp koiralaकांग्रेसको इतिहासमा कोइराला परिवारको ठूलो प्रभाव रहँदै आयो, यस्तो प्रभाव नेपालका अन्य पार्टीमा छैन । पार्टीको स्थापना कालका वीपी कोइरालादेखि सुशील कोइरालासम्म आइपुग्दा कांग्रेसमा कोइराला परिवारकै वर्चस्व रह्यो ।

तर, महत्त्वपूर्ण कुरा यो छ कि वीपी र कांग्रेसलाई अलग्याउन सकिँदैन । बीपीलाई बिर्संदा, अलग्याउँदा कांग्रेस अपूर्ण रहन्छ । कांग्रेस अहिले पनि एक प्रकारले बीपीकै दर्शन, विचारले निर्देशित छ ।

अझै पनि एउटा ठूलो जत्था कांग्रेसमा छ, जो वीपीले भनेबाहेक केही पनि तल-माथि गर्न हुँदैन भन्ने सोच राख्छ । यो खालको पारिवारिक वर्चस्व नेपालका अन्य पार्टीमा छैन ।

सधैँ बीपीको नामले मात्रै कांग्रेस चल्दैन । सुशील कोइरालाको निधनपछि एक किसिमले कोइराला परिवारको वर्चस्व सकिएको छ । कोइराला परिवार त छन्, तर देशको लोकतान्त्रिक आन्दोलनसँग व्यक्तिगत रुपमा जोडिएका कोइराला सदस्य खासै छैनन् ।

अहिले कोइराला सदस्यका रुपमा शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइरालाको चर्चा छ । पारिवारिक हिसाबले कांग्रेसमा उहाँहरूको संलग्नता होला, परिवारै कांग्रेस भएकाले उहाँहरू प्रत्यक्ष-अप्रत्यक्ष रुपमा कांग्रेससँग जोडिनुभयो होला, तर पार्टी सदस्य नै भएर प्रस्ट रुपमा उहाँहरूको संलग्नता रहेको धेरै पछि हो ।

यसकारण उच्च व्यक्तित्वको कोइराला सदस्यविना नै यसपटक कांग्रेसको महाधिवेशन हुँदैछ । कोइराला परिवारबाट पार्टी शीर्षस्थ नेतृत्वमा दाबी गर्ने व्यक्तित्व निर्माण हुन सकेको छैन । त्यसैले यो महाधिवेशनपछि कांग्रेसको नेतृत्व कोइराला परिवारबाट अरु कसैमा जाँदैछ ।

कहिलेकाहीँ पार्टीको इतिहासमा परिवारको वर्चस्व रहन्छ । वीपी कोइरालाको निधनपछि नै कांग्रेस निरन्तर संगठनका रूपमा आइसकेको छ । त्यसैले व्यक्तिको आयुसँग पार्टीको आयु जोड्न मिल्दैन ।

वीपीपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पार्टी संगठित भएर रह्यो, उनकै नेतृत्वमा ०४६ सालको आन्दोलन सम्पन्न भयो । यसकारण कोइरालाको नेतृत्वविना पार्टी चल्दैन भन्ने होइन, यो इतिहासले नै पुष्टि गरिसकेको छ ।

तैपनि कतिपय कार्यकर्तामा सुशील कोइरालापछि कांग्रेस के होला भन्ने चिन्ता छ । शेरबहादुर देउवाले यसअघि नै गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाविरुद्ध चुनाव लडेर आफ्नो उपस्थिति देखाइसकेका छन् । अहिले कोइराला सदस्यबाट अन्यमा पार्टीको नेतृत्व जाने बिन्दुमा कांग्रेस छ ।

विभाजित प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसको एकतापछि प्रस्ट देखिने गरी गुटले प्रश्रय पायो । एकता गर्नका लागि केही पदको बाँडफाँड गरियो । यो बाँडफाँडको धार अहिलेसम्म मेटिएन

संस्थापन पक्ष र विद्रोही पक्ष भन्नु राजनीति पार्टीभित्र गलत शब्द चयन हो । संस्थापन भनेपछि सिंगै पार्टीलाई जनाउँछ । सभापतिले नेतृत्व गरेको समूहलाई मात्रै जनाउने होइन । हो, पार्टीभित्र केही दृष्टिकोण भिन्न हुन्छन्, त्यसमा प्रतिस्पर्धा हुन्छ, कतिपय मुद्दामा फरक मत हुन्छन्, यो सिंगो पार्टीको कुरा हो, संस्थापन र विद्रोही पक्षको कुरा होइन ।

तर, नेपालका पार्टीमा खासगरी कांग्रेसमा केही वर्षयता पार्टी प्रमुखको चुनावपछि पराजित हुने पक्षले समानान्तर खालको कार्यशैली अपनाउने, निर्वाचित नेतृत्वभन्दा अलिकति पृथकरुपमा प्रस्तुत हुनेखालको गलत परम्परा बस्दै आएको छ ।

कांग्रेसमा गुटको राजनीति

एक समय गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराईबीच अलिकति दूरीजस्तो भयो । भट्टराईजी आफैँले त त्यस्तो दूरी राख्नुभएन, तर उहाँको नाम उपयोग गरी शेरबहादुरजीहरूले गिरिजाप्रसादभन्दा अलिकति भिन्न दृष्टिकोणसहितको समूहगत अभ्यास गरेको देखिन्छ ।

सिंगो पार्टीले यसलाई रोक्ने खालको गतिविधि गरेन र समूहगत अभ्यास झनै विकसित हुँदै गयो, देउवाजीहरूको प्रजातान्त्रिक कांग्रेसलाई जन्मायो ।

विभाजित प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसको एकतापछि प्रस्ट देखिने गरी गुटले प्रश्रय पायो । एकता गर्नका लागि केही पदको बाँडफाँड गरियो । यो बाँडफाँडको धार अहिलेसम्म मेटिएन ।

यस्तो गुटगत प्रवृत्ति कांग्रेसमा मात्रै नभएर अन्य पार्टीमा पनि देखिन्छ । पार्टीभित्र समूहगत अभ्यास स्वाभाविक रुपमा हुन्छ । कुनै नेताको व्यक्तित्वको वरिपरि केही व्यक्ति घुमेका हुन्छन् । तर, पछिल्लो समय प्रस्ट देखिने गरी, पार्टी सञ्चालनमै बेला-बेला अवरोध आउने गरेर कांग्रेसमा गुटबन्दी देखियो ।

पछिल्लो पाँच वर्ष पार्टीभित्र संगठनात्मक काम हुन सकेका छैनन् । संगठनात्मक काममा अर्को पक्षलाई कसरी सहमत गराउने भन्ने समस्या देखिन्थ्यो । यही अवस्थामा पार्टी अगाडि बढ्दैन । निर्वाचित नेतृत्वले एउटा कार्यकाल सन्तुलनका साथ अगाडि बढाउन पाउनुपथ्र्यो, तर त्यसमा समस्या आयो ।

नीतिगत विवाद छैन

संस्थापन र देउवा पक्ष जो छ, यो ध्रुवीकरणमा कुनै नीतिगत विवाद छैन । बीपीले नेपालको लोकतान्त्रिक शक्तिको प्रतिनिधिको रुपमा पार्टी निर्माण गर्नुभयो ।

परिवर्तित समाजलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने दृष्टिकोणमा नेपाली कांग्रेसमा मतभेद छन् । तर, नीतिगत भिन्नताले कांग्रेसलाई त्यति ठूलो असर पार्लाजस्तो मलाई लाग्दैन

मोटामोटी रुपमा विश्वसम्मत लोकतन्त्र र सिद्धान्तका मूल्यलाई बोकेर कांग्रेसको निर्माण भयो, जसलाई प्रजातान्त्रिक समाजवाद भनेर व्याख्या गरिएको पनि छ, यसमा कांग्रेसभित्र अहिले कसैको पनि मतभेद छैन ।

विश्वसम्मत व्याख्यामा समाजवादले अन्धो निजीकरण नियन्त्रण, समाजमा पिछडिएको समुदायको सहभागिता र समतामूलक समाज भन्ने बुझाउँछ, यसमा कांग्रेसको फरक बुझाइ नहोला । राजनीतिक प्रतिस्पर्धा, व्यक्तिगत प्रतिस्पर्धालाई कायम राखेर समतामूलक समाजका लागि राज्यको भूमिकालाई पनि प्रभावकारी बनाउने कुरामा नेपालका प्रायः सबै पार्टीको मतभेद छैन ।

व्यक्तिगत दृष्टिकोणमा केही भिन्न बुझाइ सबैमा हुन्छ, जो कांग्रेसमा पनि होला । अलि फराकिलो रुपमा, लोकतान्त्रिक शैलीमा पार्टी सञ्चालन गर्दा विचारका विविधता हुन्छन् नै । परिवर्तित समाजलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने दृष्टिकोणमा नेपाली कांग्रेसमा मतभेद छन् । तर, नीतिगत भिन्नताले कांग्रेसलाई त्यति ठूलो असर पार्लाजस्तो मलाई लाग्दैन ।

अबको कांग्रेस कस्तो होला ?

कांग्रेसको ‘ड्राइभ’ के हो ? अहिले यो निक्र्योल गर्न गाह्रो भइरहेको छ । सधैँ वीपीको नामले कांग्रेस चल्दैन । पार्टीलाई कुन दिशामा हाँक्ने कहाँ पुर्‍याउने ? यो कार्यदिशाको अभाव अहिले पनि छ । कांग्रेसलाई सही दिशामा हाँक्ने नेतृत्व देखिएको छैन, यो समस्या पुरानै हो ।

क्रमशः हुँदै जान्छ, एकैचोटि कहीँ पुगिँदैन भन्ने कन्जर्भेटिभ सोचको जमात पनि कांग्रेसमा छ । अर्को, क्रमिक होइन, परिवर्तन फड्को मारेर हुनुपर्छ भन्ने जमात पनि छ । यो मतभेद पछिल्लो १२-१५ वर्षदेखि कांग्रेसमा छ, चाहे हिजो शान्ति प्रक्रिया, संविधान निर्माणको को सन्दर्भमा होस्, मतभेद रहँदै आएकै छ ।

यो मतभेद टुंग्याएर पार्टीलाई गतिशील मार्गमा हिँडाउन अब आउने नेतृत्वलाई चुनौती छ । यो व्यक्तिमा भर पर्छ, ड्राइभ सक्ने व्यक्ति नेतृत्वमा आए सिंगो पार्टी नयाँ गतिमा अघि बढ्छ । होइन भने पनि कांग्रेस एउटा संस्था हो, संस्थाका आफ्ना परम्परा-मर्यादा छन्, त्यसैले क्रमिक रुपमा पार्टीलाई अगाडि बढाउँछ ।

मुलुक के-केमा अड्किएको छ, त्यो अवरोध हटाउन नै नयाँ गतिको निर्माण गर्ने हो । मुलुकलाई नयाँ गति दिन निर्णायक नेतृत्व कांग्रेसलाई चाहिएको छ ।

अहिले नेतृत्व दाबेदारको चर्चामा जति छन्, उनीहरूले पार्टी र मुलुकलाई हाँक्छन् भन्ने मेरो अपेक्षा छैन । किनभने, अहिलेको परिस्थितिको निर्माण हुनुमा यिनै जिम्मेवार छन् । जस्तो, संविधानमा भएका कमी-कमजोरीका निर्माता शेरबहादुर, रामचन्द्रलगायत सभापतिका दाबेदार नै हुन् ।

(कुराकानीमा आधारित)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामचन्द्र पौडेलको टिम घोषणा आज, महामन्त्रीको उम्मेदवार शशांक

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले बुधबार औपचारिक उम्मेदवारीको घोषणा गर्ने भएका छन् । उनले आफ्नो टीम सार्वजनिक गर्नेछन् ।

पौडेल समूहले अपराहृन ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन राखेको छ । ‘सहमतिको प्रयास गर्ने र नभएपछि टिम घोषणा गर्ने भन्ने भएको छ’ पौडेल निकट मानिएका काभ्रे जिल्ला सभापति मधु आचार्यले भने ।

पौडेलको टीमबाट महामन्त्रीमा शशांक कोइराला उम्मेदवार हुनेछन् भने कोषाध्यक्ष टुंगो लागेको छैन । कोषाध्यक्ष मधेसी समुदायबाट उम्मेदवार बनाउने तयारी छ । यसमा पूर्व राष्ट्रपति डा. रामवरण यादवका भतिजी किरण यादवको सम्भावना प्रवल रहेको स्रोतले बताएको छ ।

पद्मनारायण चौधरी, फर्मुल्लाह मन्सुरको नाम पनि चर्चामा छ । अर्का दावेदार पूर्व राष्ट्रपति यादवका छोरा चन्द्र मोहन यादव भने महाधिवेशन प्रतिनिधि नै नहुने खतरा बढेको छ । उनको क्षेत्र धनुषा ५ मा अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको छ ।

पौडेल समूहको उपसभापतिका रुपमा प्रकाशमान सिंहलाई हेरिएको छ । यो मनोनित पद भएकाले अहिले घोषणा हुनेछैन । यस्तै मनोनित महामन्त्रीमा पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई ल्याउने समझदारी भएको छ । तर, महतले सभापति लड्छु भन्न छाडेका छैनन् ।

सिटौलाको छुट्टै भेला 

सभापतिका अर्का दाबेदार कृष्णप्रसाद सिटौलाले बत्तिसपुतलीस्थित एक होटलमा अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाको तयारी गरेका छन् । पौडेल समूहको कार्यक्रम अघि सभापतिका आकांक्षी कृष्ण सिटौलाले कार्यक्रम राखेका हुन् । उनले टिम घोषणा नभनी महाधिवेशन प्रतिनिधिहरुलाई स्वागत गर्ने कार्यक्रम राखेका छन् ।

यहि कार्यक्रमबाट उनले सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न सक्नेछन् । सिटौलाले महामन्त्रीमा गगन थापालाई अघि सार्नेछन् । कोषध्यक्षसहितको उनको अन्य टिम भने तय भइसकेको छैन । उनी अहिले पनि छलफलमै रहेका छन् ।

अर्की नेतृ सुजाता कोइरालाले पनि बुधबार दिउँसो १ बजे समूहसहित उम्मेदवारी घोषणा गर्ने दाबी गरेकी छन् । आफ्नै निवास मन्डीखाटारमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नामावली सार्वजनिक गर्ने बताइएको छ ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने बुधबार नै उम्मेदवारी घोषणा गर्ने सम्भावना न्यून छ । देउवा समूहले अन्य नेताको उम्मेदवारी घोषणा सकिएपछि मात्रै पर्सी उम्मेदवारी घोषणा गर्ने रणनीति बनाएको छ । संस्थापन पक्षका असन्तुष्ट नेताहरुलाई आफूतिर तान्ने प्रयासमा देउवा पक्ष लागेको छ ।

बुधबार अन्य केही नेताले पनि पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्यका लागि यसअघि पनि धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तपाईंको भान्सामा सिलिण्डर बम छ कि ? आफैंले हेर्न सकिन्छ सिलिण्डरको म्याद

रवीन्द्र घिमिरे

१९ फागुन, काठमाडौं । तपाईंले कहिल्यै ग्यास सिलिन्डरको म्याद गुज्रने मिति (एक्सपायर्ड डेट) जाँचेर खरिद गर्नुभएको छ ? पक्कै पनि धेरै उपभोक्तालाई सिलिन्डरमा गुज्रने मिति उल्लेख हुन्छ भन्ने ज्ञान छैन । केहीले यसतर्फ थाहा पाए पनि खासै चासो दिँदैनन् ।

तर, म्याद गुज्रिएका सिलिन्डरहरु बमजतिकै जोखिमयुक्त र खतरनाक हुन्छन् भन्ने उपभोक्ताले बिर्सनुहुँदैन । सिलिन्डरको म्याद हेर्ने तरिकाबारे खासै अप्ठ्यारो छैन ।

थोत्रा र म्याद गुजि्रएका सिलिन्डरबाट ग्यास चुहिने र आगलागी तथा बिष्फोट हुने सम्भावना हुन्छ । यस्ता जोखिमयुक्त लाखौं ग्यास सिलिन्डर अहिले धेरै उपभोक्ताको भान्सामा पुगेका छन् । त्यसैकारण हरेक सचेत उपभोक्ताले ग्यास सिलिन्डरको गुज्रने मिति हेर्न आवश्यक छ ।

कसरी हेर्ने सिलिन्डरको गुज्रने मिति ?

सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०,  लगायतका अंक लेखिएका हुन्छन् ।

ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ ।

यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ । जस्तै  बी-२५ लेखिएको छ भने त्यो सिलिन्डरको म्याद सन् २०२५ को जून महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।

डी-२०१५ सम्मका लेखिएका सिलिन्डरको मिति सकिएको हो भन्ने उपभोक्ताले जान्नुपर्छ । यस्तै ए-२०१६ लेखिएका सिलिन्डरको म्याद अब एक महिनामात्रै बाँकी छ । म्याद सकिएका सिलिन्डर लिकेज हुने बिष्फोट हुने सम्को सम्भावना हुने विज्ञहरु बताउँछन् ।

बढ्दैछ सिलिन्डरमा खतरा

अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।

उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् ।  त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको नेपाल आयल निगमका निर्देशक दीपक बरालले अनलाइनखबरलाई बताए ।

यसैका कारण नेपाली बजारमा २० वर्ष भन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५/५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि गरेका छैनन् ।

उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुजि्रएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।

केही दिनअघि धादिङका उद्योगहरुमा आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुजि्रएका सिलिन्डरमा ग्यास भरेर बजार पठाइने गरेको भेटिएको थियो ।

अझ ग्यास सिलिन्डरमा नयाँ रंग पोतेर र फलामले खोपेर लेखिएका म्यानुफ्याक्चर्ड डेट मेटेर पनि बजार पठाउने गरिएको भेटिएको छ । एउटा सिलिन्डर कुच्चिएर बाहिरी आकार नबिगि्रएसम्म प्रयोग गरिरहन सक्ने जोखिमलाई नेपालको कानुनले नै संस्थागत गरेको छ ।

आपूर्ति मन्त्रालयअन्तरगत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट खटिएका शाखा अधिकृतको टोलीले मंगलबार झापामा गरेको अनुगमनमा पनि यस्ता मिति गुजि्रएका थुप्रै सिलिन्डर भेटिएका थिए ।

होटलमा प्रयोग भइरहेका त्यस्ता सिलिन्डर उपभोक्ताले नदिएपछि टोलीले जफत नै गर्न सकेन । बजारमा यस्ता हाइड्रोलिक टेष्ट नभएर मिति गुजि्रएका २५ प्रतिशत सिलिन्डर हुन सक्ने आयल निगमकै अधिकारी बताउँछन् ।

‘हामीसँग ग्यास सिलिन्डरको मिति हेर्ने छुट्टै निकाय नै छैन । त्यसैले कति सिलिन्डरको म्याद गुज्रिएका होलान्, अनुमानमा भन्न सकिँदैन’ आयल निगमका एक उच्च अधिकारीले भने-‘अनुगमन र कारवाही नभएपछि मनलाग्दी हुन्छ, त्यो देखिएकै छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बुढासुब्बाका कारण कन्दङ्वा गोल्डकप स्थगित

१९ फागुन, बिराटचोक (मोरङ) । धरानमा भइरहेको बुढा सुब्बा गोल्डकपका कारण  मोरङको बिराटचोकमा भइरहेको पीएलओ चौथो केबीआरयु कन्दङवा गोल्डकपको फाइनल खेल शुक्रबार सम्मका लागि स्थगित भएको छ ।

कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिताकअन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको सगरमाथा युथ क्लब कोसी हरैंचा क्लबका अध्यक्ष जर्नादन बास्तोलाले जानकारी दिए ।

बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही- ११ बीच हुने तयारी थियो । खेल स्थगनको कारण बताउँदै बास्तोलाले भने, ‘आज हुने फाइनल खेल दुई दिनपछि शुक्रबार गर्ने भएका छौं, यहाँ फाइनल खेल्ने दुबै टीम धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमी फाइनल खेल्ने भएकाले दुई दिन सार्नुपरेको हो ।’

प्रतियोगिता अन्तर्गत मंगलबारको खेल पीएलओ लुब्रिरकेन्ट र उद्योग वाणिज्य संघ कोसी हरैंचाबीच भएको थियो । सो खेलमा पीएलओले ६-१ को गोल अन्तरले उद्योग वाणिज्यलाई पराजित गरेको छ । जीतसँगै पीएलओले नगद २१ हजार र ट्रफी जितेको छ ।

-पुष्प थपलियाको सहयोगमा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं