Monday, March 21, 2016

मोटरसाइकलमोटरसाइकल एजेन्डा पूरा भएपनि चढ्न भने नपाउने

काठमाडौं, ९ चैत । सरकारले गाविस सचिवलाई मोटरसाइकल दिने निर्णय गरेपनि २ वर्षपछि मात्रै किन्न सकिने देखाएको छ ।

अर्थ मन्त्रालयले यस वर्ष विनियोजन भएको बजेटबाटै मोटरसाइकल किन्ने सहमति दिएको थियो ।

तर, यस वर्षका लागि बजेट गत आर्थिक वर्षको परिषदले बाँडफाँड गरिसकेको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

साथै, गत वर्षको बजेट पनि यस वर्षको गाउँ परिषदले पुसमै बाँडफाँड गरी सकिएकाले २ वर्षपछि धकेलिएको गाविस सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष दामोदर रिजालले बताए ।

‘यो वर्ष खर्च भइरहेको बजेट गत वर्षको परिषदबाट र आउने वर्षको बजेट गत पुसको परिषदबाट बाँडफाँड गरिसकेको छ । यो आर्थिक वर्षमा त सम्भब छैन नै, आउने आर्थिक वर्षमा पनि सम्भव छैन’, रिजालले भने, ‘अहिले तत्काललाई हाम्रो एजेन्डा पूरा भयो भनेर खुसी मान्नबाहेक अरु केही छैन ।’

गत चैत १ मा अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी मोटरसाइकल किन्ने सहमति दिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विदेशमा बिक्दैछ, सेना-प्रहरीको प्रमाणपत्र

९ चैत, काठमाडौं । नेपालका सुरक्षाकर्मीले युद्ध लड्नु पर्दैन । माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिने गरी खतरा छैन ।

यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको आकर्षक गन्तव्य बन्नुपर्ने हो । तर, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई वेवास्ता गर्दै जागिर छाड्ने क्रम जारी छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सशस्त्र प्रहरीका जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए । थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाइन्थ्यो  । जीवनभर पेन्सन खान पाउँथे । तर परिवार चलाउन गाह्रो भएपछि उनले राजीनामा दिए ।

पर्वत कुश्माका स्थायी बासिन्दा गिरीले सुरक्षा अंगमा कार्यरत रहँदा हतियार चलाउने डि्रल, बिल्ला वार, म्यापरिडिङलगायत तालिम लिएका छन् । राज्यले पैसा खर्चेर उनलाई तालिम दिएको छ ।

नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार पार्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन् ।

राज्यले लगानी गरेर दिएको त्यही सीपको प्रमाणपत्रसहित वैदेशिक रोजगारीमा जाने तयारीमा दीपक जस्ता अरु धेरै युवा छन् । सुरक्षा निकायको रोजगारी यसरी बीचमा छाडेर विदेश जाने तयारी गर्ने दीपक प्रतिनिधि उदाहारण मात्रै हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिंहदरबार गेटमा छड्के, एक सय २७ कर्मचारी कारबाहीमा

९ चैत, काठमाडौं ।  पोसाक भत्ता लिने तर तोकिएको पोसाक नलगाउने निजामति सेवाका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले सोमबार पनि छड्के जाँच गरेको छ ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र निकायमा काम गर्ने एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परेका हुन् ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटा र ठाकुरप्रसाद निरौलाको नेतृत्वमा खटिएको छड्के टोलीले पोसाक नलगाएका कर्मचारीमाथि छड्के गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

आइतबारको छड्केमा तीन सय ७४ कर्मचारी बिनापोसाक कार्यालय आएको पाइएको थियो ।  सामान्यले पोसाक नलगाएका कर्मचारीको रेकर्ड सम्बन्धित मन्त्रालयमा पठाउँदै त्यस्ता कर्मचारीले पाउने पोसाक भत्ता कटौती गर्न निर्देशन दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धनमा भारतको एकाधिकार कायमै

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा इन्धन संझौता हुन नसकेपछि पेट्रोलियम पदार्थ आयातमा भारतकै एकाधिकार कायम रहने देखिएको छ ।

भारतीय नाकाबन्दीपछि नेपाल र चीनका अधिकारीबीच कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट आयात गर्नेसम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

तर, प्रधानमन्त्रीको ओपचारिक भ्रमण सम्झौता नभएपछि चार दशक लामो भारतीय एकाधिकार कायम रहने देखिएको हो ।

पाँच महिना लामो भारतीय नाकाबन्दीबाट भर्खरै मुक्ति पाएका नेपाली नागरिकले प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन सम्झौता हुने अपेक्षा गरेका थिए । छिमेकी दुई देशबाट इन्धन आपूर्ति हुँदा बजार सन्तुलन राख्न सहज हुने अनुमान धेरैको थियो ।

प्रधानमन्त्रीको भ्रमणमा इन्धन सम्झौता हुन नसकेपनि छिट्टै सम्झौता प्रक्रिया अघि बढ्ने आपूर्तिमन्नत्री गणेशमान पुनको दाबी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३६ वर्षको प्रयासपछि पेट्रोलियम अन्वेषण हुँदै

९ चैत, काठमाडौं । झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ ।

सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन । अब चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालका ३ स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो ।  यससँगै मुलुकमा पेट्रोलियम पदाथएको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।

नेपालले करिब दुई महिनाअघि पेट्रोलियम अन्वेषणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको थियो । उद्योग मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई दैलेखको ग्यास खानी र अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिन आग्रह गरेको थियो ।

करिब दुई साताअघि चीनले मन्त्रालयलाई पत्राचार गरि पेट्रोलियम अन्वेषणमा आर्थिक एवं प्राविधिक सहयोग गर्न सहमति जनाएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमालेका २० हजार पुस्तक अलपत्र

९ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एकाले केन्द्रीय कार्यालयका करिब २० हजार पूस्तक अलपत्र बनेका छन् ।

अलपत्र पारिएका पुस्तकमा भूमिगतकालदेखि संकलित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास, दर्शन, संस्कृति, साहित्य, समाज, विज्ञान, प्रविधिलगायत विभिन्न विषयसँग सम्वन्धित रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

साथै, महत्वपूर्ण दस्तावेजहरु संग्रहरु दश महिनादेखि अलपत्र अवस्थामा देखिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा पर्याप्त स्थान नरहेपछि ती पुस्तक धोबीखोलाकिनारामा रहेको मदन भण्डारी कलेजको गोदाममा बोराभित्र बाँधेर थन्काइएको छ ।

पुस्तक हराउन नदिन एमालेले बाहिर पुस्तक लैजान नपाउने तर, पुस्तकालय भित्र मात्रै अध्ययन गर्न पाउने नियम बनाएको थियो । दुई वर्षअघि पुस्तक व्यवस्थित गर्न १२ हजार पुस्तक दर्ता गरी नम्बरिङ गरिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच फेरी प्रतिस्पर्धा

९ चैत, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच अर्को प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिन लागेका आजको नागरिक दैनिकमा समाचार छ ।

पार्टीको केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन् ।  १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीब्र बनाएका छन् ।

सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र सम्भव नभए अधिकतम सांसदलाई पक्षमा पार्न देउवा निकट नेता सक्रिय छन् । सभापतिमा समर्थन गरेका सांसद संख्या आंकलन गर्दै उनीहरु सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन् ।

तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए ।

यतिबेला कोइराला पक्षका भनिएका अर्जुननसिंह केसी, जगदीश्वरनरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारी लगातयतका नेता देउवा क्याम्पमा आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं