Wednesday, March 23, 2016

ठगी गर्ने ४७ म्यानपावरविरुद्ध मुद्दा दर्ता गर्न ढिलाइ

१० चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले ९ महिना अघिदेखि थालेको ४७ म्यानपावर कम्पनीको अनुसन्धान सकाउन ढिलाइ गरेको छ । नक्कली कागजपत्र बनाएर ठगी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिविरुद्ध कारवाही अघि बढाउन गत असारमै सिफारिस गरेको थियो ।

ती म्यानपावरमाथि नक्कली कागजात बनाएर कामदारसँग श्रम सम्झौता गरेर ठगी गरेको आरोप छ । अख्तियारले ललितपुरको एक प्रेसबाट नक्कली कागजपत्र बनाउँदै गरेको भेटाएपछि फाइलहरु नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

कारबाही फकुवा गर्न दवाब

विदेशी कम्पनीले दिने तलब, सेवा, सुविधालगायतका सम्बन्धमा कामदारसँग हुने सम्झौता म्यानपावर कम्पनीले नक्कली बनाएको अख्तियारको ठहर थियो । ति म्यान पावरको काम १० महिनादेखि रोक्का गरेपनि अन्तिम निर्णय नहुँदा व्यवसायी दोधारमा छन् ।

विभागले उनीहरुलाई वैदेशिक रोजगारको काममा प्रतिबन्ध लगाएको छ । तर, अझै मुद्दा दायर गर्ने कि कारबाही फकुवा गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

विभागका महानिर्देशक केदार बोगटीले ४७ म्यानपावरबारे अनुसन्धान भइरहेको बताए । व्यवसायीहरुले म्यानपावरको काम छिटो फुकुवा गरिदिन आग्रह गर्दै आएका छन् ।

९ महिनादेखि जारी अनुसन्धान नसकिएको भन्दै विभाग पन्छिरहँदा व्यवसायी भने काम फकुवाका लागि सरकारी अधिकारीले आर्थिक चलखेल गर्न चाहेको आरोप लगाउँछन् ।

तर, महानिर्देशक बोगटी भने धेरै म्यानपावरविरुद्ध एकैपटक अनुसन्धान गर्न जनशक्ति कम भएकाले ढिलाइ भएको बताउँछन् ।

‘विभागमा धेरै मुद्दाहरु आउँछन् । त्यसैले अनुसन्धानको चापले ति म्यानपावरको विषय नटुंगिएको हो,’ महानिर्देशक बोगटीले भने, ‘अब न्यायाधीकरण्मा चाँडै दोषि कम्पनीविरुद्ध मुद्दा चलाउनेछौं ।’

गत असार १८ गतेदेखि काम बन्द भएका ४७ म्यानपावर कम्पनीको मुद्दा अब केही हप्तामै वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता गरिने बोगटीले बताए । त्यसका लागि बयान सकेर अनुसन्धानको काम चलिरहेको उनको दावी छ ।

विभागले यी म्यानपवरको इजाजत रद्ध गर्न सक्ने देखिएको छ । तर, व्यवसायी भने वैदेशिक रोजगार ऐन र नियमावलीअनुरुप इजाजतपत्र कुनैपनि अवस्थामा रद्ध नहुने दावी गर्छन् ।

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पत्रिका बेच्दाबेच्दै माओवादी, माओवादी छाडेर बदाम चटपटे !

२०७२ चैत १० गते ११:०५ मा प्रकाशित

 190  31

 0

Badam (2)१० चैत, काठमाडौं । राजधानीको सडकमा एकजना युवक गीत गाउँदै बदाम भरिएको डालो बोकेर हिँड्छन् । पुख्यौली घर रामेछाप भएका यी युवक हुन्- मानबहादुर बस्नेत, जो विगतमा पत्रिका बेच्दाबेच्दै माओवादी लडाकू बने । माओवादी नेताहरु सिंहदरबार छिरेपछि उनी फेरि सडकमै ओर्लिए ।

मानबहादुर आफैँमा एउटा किताब हुन्, ‘मिखाइल सोलोखोभ’ को ‘मान्छेको भाग्य र दोनका कथाहरु’ जस्तै । मानबहादुरको अन्तरकथा उनकै शब्दमाः

बुबा ‘चौकीदार’ हुनुहुन्थ्यो, म ‘हकर’ भएँ

मेरा बुवा मोहनबहादुर बस्नेत सानै छँदा हजुरआमा खस्नुभएछ, हजुरबुवाले दोस्रो बिहे त गर्नुभएन, तर बुवालाई हेला गर्न थाल्नुभएछ । त्यसपछि बुवा पुख्र्यौली घर रामेछाप, बिजुरकोट खोल्मागाउँ छाडेर मावलीमा बस्न थाल्नुभयो । सुरुमा बुवाले लहानको राइस मिलमा चौकिदारको जागिर गर्नुभयो । पछि बिहे गरेर जनकपुर चुरोट कारखानामा चौकिदारकै जागिर गर्नुभयो ।

हामी जनकपुरमै जन्म्यौँ । हामी दुई दाजुभाइ मात्र हौँ । भाइ अहिले साउदीमा छ ।

मेरो जन्म ०३५ सालको हो । पहिले भाडामा बस्थ्यौँ । अहिले बुवाले पाँच धुर जग्गा किनेर घर बनाउनुभएको छ । हाम्रो रामेछापमा पुख्र्यौली सम्पत्ति थियो, बुवाले घरको सम्पत्तिमा दाबी गर्नुभएन ।
मैले जनकपुरकै सरस्वती माविमा पढेँ । टेस्ट फेल भएपछि जनकपुरमै पत्रिका बेच्न थालेँ- जनकपुर टुडे । हेडलाइनहरू भट्याउँदै पत्रिका बेच्थेँ । हेडलाइन त्यति मार्मिक नभएका बेला आफैँ अनेकथरी भन्थेँ, ‘आयो-गयो बिहे भयो, छोराछोरी जन्मियो । बाटैमा लड्यो-मर्यो सिद्धियो । भालेले अन्डा पार्यो, चल्ला निस्क्यो । हुक्र्यो, मान्छेले काट्यो खायो इत्यादि ।’

मान्छेहरूले लौ के भयो भनेर पत्रिका किन्थे । पत्रिका बेचेर म हिँडिहाल्थेँ ।

त्यतिबेला जनकपुर टुडेको दुई रुपैयाँ पथ्र्यो, एउटा बेच्दा ३० पैसा आउँथ्यो । घरमा बुवालाई महिनाको १५ सयमा काम गरेको छु भनेको थिएँ, तर कमाइ ७ सय पनि भएन ।

पत्रिका बेच्दा एकजनाले भनेका थिए, ‘यति राम्रोसँग भट्याएर पत्रिका बेच्दारहेछौ, पोखरा वा काठमाडौं गएर यसरी भट्यायौ भने त धेरै राम्रो गर्न सक्छौ ।’ त्यसपछि भागेर पोखरा गएँ- ०५४ तिर । साथमा ८/९ सय रुपैयाँ थियो ।

आली गुरुङको दिल

पोखरा पुगेर दिनभरि सडकमा ‘हजुर, मलाई काम दिनुस्’ भन्दै हिँडेँ । राति चिउरा र दालमोठ खाएर शिवचोकको प्रतीक्षालयमा बिताउँथेँ । तेस्रो साँझ चिउरा खाएर प्रतीक्षालयमा सुत्न लागेको थिएँ, एकजनाले मोटरसाइकलमा आएर मेरोबारे सोधे । मैले सबै कुरा बताएँ । उनले ‘के काम जानेका छौ’ भनेर सोधे । जनकपुरमा पत्रिका बेच्ने गरेको बताएँ । उनले मलाई मोटरसाइकलमा घर लिएर गए, मियाँपाटनमा । उनको नाम आली गुरुङ हो, पछि विदेशतिर गए । त्यस रात उनका घरमा मासुभात खाएर सुतेँ ।

आली गुरुङले ‘आदर्श समाज दैनिक’का एकजना पत्रकारसँग भेटाइदिए । तिनै पत्रकारसँग बसेर ‘आदर्श समाज’ पत्रिका बेच्न थालेँ- एक रुपैयाँमा किनेर दुई रुपैयाँमा । पहिलो दिन दुई सय पत्रिका बेच्न भ्याएँ ।

एकदिन पृथ्वीचोकमा पत्रिका बेच्दै थिएँ, पोखरामै रहेका माइलाबालाई भेटेँ । माइलाबाले एउटा कोठा खोजिदिनुभयो, शान्ति वन वाटिकामा, दीपक पहारी भन्नेको घरमा । त्यहाँ बसेर ४५ दिनजति आदर्श समाज बेचेँ ।

आदर्श समाज कल्याण पालिखेको पत्रिका हो । उनले उधारोमा पत्रिका दिँदैनथेँ । कहिलेकाहीँ मैले भन्थेँ, ‘आज पैसा छैन, उधारो पत्रिका दिनु, बेचेर दिन्छु ।’ तर, उनले मान्दैनथे । कल्याण पालिखे धेरै धनी थिए, पालिखे चोकमा घर थियो । तर, उनले गरिबलाई त्यति मतलब राख्दैनथे । पछि अर्कै पत्रिका बेच्न थालेँ ।

माइलाबाको चिनजानको राजकुमार सुवेदी हुनुहुन्थ्यो, एक दिन उहाँले माओवादीसँग सम्पर्क गराउनुभयो । ०५८ सालको अन्त्यतिर म माओवादीमा लागेँ ।

कुखुरा फार्ममा काम, क्षेत्रीमाथि छुवाछुत

मेरा माइलाबाका साढुदाइ, कमल बराल, मैले ठुल्बुवा भन्छु, उहाँको घर चितवन हो । पोखराबाट म काम खोज्दै उहाँको घरमा गएँ । पोखराको सडकमा चिच्याउँदै पत्रिका बेच्नुमा भविष्य देखिँन ।
चितवन कैलाशनगरमा काम गरेँ, पोल्टी र्फममा, कुखुराको अन्डा बटुल्ने, चारो हाल्ने काम । त्यहाँ काम गर्ने चार-पाँचजना थियौँ । साहु आचार्य थरका हुन् । खानामा दूध-दही पनि दिन्थे । म क्षेत्री-बाहुन भन्ने थाहा थियो, तर मलाई छुवाछुत गर्थे । मैले खाएर माझेको भाँडा चोख्याएर मात्रै भित्र लैजान्थेँ, भित्र भान्सामा छिर्न दिँदैनथे । हामी काम गर्नेहरू पोल्टी र्फमछेउको टहरामा बस्थ्यौँ । उनको खेतीको काम पनि गर्नुपथ्र्यो ।

साहु बोलीमा त ठीकै थिए । उनकी आमाले भने घर-परिवारले खाएर रहेको झुटो भात हामीलाई दिने गर्दिरहिछन् ।  छुवाछुत गरेको पनि मलाई मन परेको थिएन, त्यहाँ काम छाडेँ ।

ठुल्बुवाले गीतानगरमा काम लगाइदिनुभयो, घनश्याम देवकोटाको पोल्टी र्फममा । त्यहाँ पनि अलिअलि छुवाछुतको व्यवहार गरे, भान्सा छोइन्छ भनेर टाढैबाट दिन्थे । यो मलाई मन परेन । मैले त्यहीँकी छिमेकी बहिनीलाई सुनाएँ- कैलाशनगरमा ममाथि भएको छुवाछुतदेखिका घटना । त्यस्तै गरे भने यहाँ पनि काम नगर्ने बताएँ ।

यो कुरा ती बहिनीले सुनाइछन् । भरे घनश्याम दाइले भन्नुभयो, ‘आज राम मसँग एउटै टेबलमा बसेर खाना खान्छ ।’ मेरो बोलाउने नाम राम हो । उहाँकोमा १६ महिना काम गरेर छाडेँ, पैसा कम थियो ।
 
माओवादी भन्दै आर्मीले दुःख दियो

पोखरामा हुँदा मैले पत्रिकासँगै पुस्तकहरु पनि बेच्न थालेको थिएँ, कार्ल माक्र्स, लेनिन, माओत्सेतुङ, चे ग्वेभाराका । त्योबीचमा पुस्तक पसलसँग पनि सम्पर्क भइसकेको थियो । पत्रिका बेच्ने मात्रै नभएर पढ्न पनि थालेँ, खासगरी जनादेश पत्रिका पढ्थेँ । देशको अवस्था बुझ्न थालेँ ।

कम्युनिस्टका किताब बेच्न हिँडेका बेला मलाई आर्मीले पक्रियो । तर, एक दिनमै एकजना नजिकको भूपू आर्मी दाइले छुटाउनुभयो ।

कुखुरा फारमको काम छाडेपछि मैले फेरि पत्रिका बेच्न थालेँ- चितवन पोस्ट, कान्तिपुर, अन्नपूर्ण पोस्ट । साइकलमा तेलौरीसम्म पुगेर पत्रिका बेच्थेँ । राति अबेला र्फकन्थेँ । राति हिँड्दा माओवादी भनेर फेरि आर्मीले दुःख दिन थाल्यो ।
Badam (5)माओवादी समर्थित गाविस रहेछ, शान्तिनगर । त्यहाँ म साइकलबाट लडेँ । त्यहीबेला आर्मीले सोध्दै आएको थियो, त्यहाँका स्थानीयले जोगाए । मलाई अलिअलि चोट लागेको थियो, स्थानीयले उपचार पनि गरिदिए । गीतानगरका रामलाल गुरुङले काम लगाइदिए, चितवन पुल्चोकको सन राइज क्याफेमा ।

त्यो क्याफेमा भाँडा माझ्ने काम गर्थें, तर कुक नभएका बेला चाउमिन पनि बनाउँथेँ । त्यो क्याफे रामलाल गुरुङलगायत पाँचजना मिलेर खोलेका रहेछन् । सबैले माया गर्थे । त्यहाँ काम गर्दागर्दै बेसरी बिरामी भएँ, उनीहरूले नै उपचार गराए ।

फेरि पोखरा, अनि फेरि चितवन

म फेरि पत्रिका बेच्न पोखरा गएँ । पुरानै घरबेटीकहाँ गएँ । पोखरामा सँगै बस्ने साथी थिए- उदयपुरका भैरव आले र स्याङ्जाका मोहन गुरुङ । मोहन क्याम्पस पढ्दै पत्रिका बेच्ने गर्थे, अहिले टिचर भएका छन् भन्ने सुन्छु । सामान त्यसै छाडेर गएको थिएँ, भैरव त्यही घरमा रहेछन् । लेबर काम गर्दा धेरै पैसा हुन्छ भन्ने कुरा आयो । तनुहँको साँखे भन्ने ठाउँमा लेबर काम गर्न गएँ । तर, जसले लगेका थिए, उनीहरूले मलाई केही नजान्ने भनेर हेप्न थाले ।

फेरि चितवनको सनराइज क्याफेमा फर्किएँ । तर, त्यो क्याफे अर्कैलाई बेच्न लागेका रहेछन् । रामलाल गुरुङले भन्नुभयो, ‘म तिमीलाई फलफूल पसल खोल्न लगानी गरिदिन्छु, यतै बस ।’

त्यहीबेला घरबाट फोन आयो, बुवा बिरामी हुुनुहुन्छ भनेर । घर गएँ । मेरो नागरिकता सविता पुस्तक पसल नारायणघाट पुल्चोकमा धरौटी राखेको थिएँ । मैले कतिलाई पत्रिका उधारोमा दिन्थें, पैसा उठेन । त्यो पसलमा ऋण थियो । बुवाले ३५ सय दिएर नागरिकता लिन पठाउनुभयो र फर्केर घरतिरै केही गरेर बस्न भन्नुभयो ।

तर, म नागरिकता उकास्न आएको, चितवनबाट फर्किनँ । भारत मोतिहारीको रुस्तम खान भन्ने ठेकेदार थियो, मुसलमान । दिनको सय रुपैयाँ दिन्छु भनेको थियो । डेढ वर्ष मजुदरी गरेँ । तर, त्यो ठेकेदार एक वर्षजतिको पैसा खाएर भाग्यो ।

त्यसपछि फेरि पोखरा नै गएँ, यो ०५७ साल अन्त्यतिरको कुरा हो । पोखरा गएर मजदुरी नै गरेँ, दिनको डेढ सयमा । ओखलढुंगातिरको ठेकेदार थियो, तर पैसा दिने बेला गुण्डा ल्यायो । मैले एकजना साथीलाई सुनाएँ । उनले गुण्डा ल्याउन हामी पनि सक्छौँ भनेपछि ठेकेदारले पैसा दियो ।

त्यसपछि मार्बल टायल ठेकेदारसँग काम गरेँ, त्यो ठेकेदार इन्डियन थियो, दिनको डेढ सय दिन्थ्यो । ऊ त राम्रै थियो, पछि उसको भतिजसँग काम गर्नुपर्‍यो, उसले तीन महिनाको पैसा नदिई गयो ।

माओवादीतिर मन

अनेक विभेद सहेँ- धनी र गरिब, जातभात । पत्रिका बेच्दा पत्रिका पढ्ने पनि गर्थें । माओवादीबारे पढ्थेँ, कुरा सुन्थेँ । मलाई माओवादी मन पर्न थालेको थियो ।

माइलाबाको चिनजानको राजकुमार सुवेदी हुनुहुन्थ्यो, एक दिन उहाँले माओवादीसँग सम्पर्क गराउनुभयो । ०५८ सालको अन्त्यतिर म माओवादीमा लागेँ ।

सुरुमा पोखरा नजिकै कसेरी जंगलमा लुकेर बस्यौँ । ८-१० जनाको सेक्सन थियो । तालिम लिन्थ्यौँ । पछि पाल्पा आएँ, तानसेन रामबजारदेखि माथिको जंगलमा ।

दिनमा गाउँतिर डुल्थ्यौँ । कमान्डरले गाउँलेलाई शोषण, विभेदको विरोध गर्दै समानताका कुरा बताउँथे । गाउँलेका घरमा गएर काम गरिदिन्थ्यौं । जे दिन्छन्, त्यो खाएर हिँड्थ्यौँ । साँझमा खाना खाइसकेपछि कमान्डरको आलोचना गर्न पाइन्थ्यो । कमान्डरको यो बानी ठीक भएन भन्न पाइन्थ्यो ।

म फ्रन्ट गार्ड लिडर हुँदै सेक्सन भीसी र त्यसपछि सेक्सन कमान्डरमा प्रमोसन भएँ । ०६३ सालमा मलाई पोखरा पठाइयो । आन्दोलनका लागि जनता जगाउन सक्रिय भएँ । सीआईडी बनेर पनि हिँडेँ ।

शान्ति सम्झौतापछि घरजम

जनकपुरमा ८ कक्षा पढ्दादेखि मैले कसैलाई माया गरेको थिएँ । उनी एसएलसी पास भइन्, जनकपुरमै कलेज पढ्न थालिन् । पोखराबाट मैले उनलाई चिठी पठाउँथेँ, कलेजको ठेगानामा । उनले पनि पठाउँथिन् । त्यस्तै, २२/२५ वटा पत्र आदान-प्रदान भयो । उनलाई भेट्न म घर गइरहन्थेँ । हाम्रो सम्बन्ध राम्रै थियो । ०५७ तिरै म जनकपुर गएँ, केही पैसा जम्मा गरेर । उनलाई बिहे गर्ने सोचेको थिएँ । तर, उनले अर्कैसँग बिहे गरिछन् ।

शान्ति सम्झौतापछि मैले स्वेच्छिक अवकाश रोजेँ, पाँच लाख पाएको थिएँ । सेनामै जान पनि सक्थेँ, तर मनमा अनेक नकारात्मक कुरा खेले । के हो, के हो ? त्यत्रो रिसिबी छ, तितर-बितर पारेर मार्छन् कि भन्ने सोचेँ ।

अवकाशपछि चितवनमा तरकारी बच्न थालें, साइकलमा । तर, बिरामी भएँ, कोखो दुख्न थाल्यो । उपचारमा ४० हजार खर्च भयो । त्यसपछि तरकारी र चटपटेको पसल खोलेँ । चाउमिन, चाउचाउ पनि पकाउँथेँ ।

एउटी युवती चटपटे खान आउँथिन् । छेउतिर बसेर रुँदै चटपटे खान्थिन् । मैले अरुलाई सोध्थेँ, यो केटी कस्तो भनेर, सबैले ‘दिमाग ठीक छैन’ भन्ने कुरा गर्थे । एक दिन मैले सोधेपछि उनले आफ्नो कथा भनिन्-

‘हाम्रो पुरानो घर कास्की हो । म ६-७ वर्षकी छँदा मेरो बुवा बेपत्ता हुनुभयो । दुई दाइ हुनुहुन्छ । दाइले यहीँ चितवनमा विवाह गर्नुभयो र यतै व्यवसाय गरेर बस्न थाल्नुभयो । दाइहरुले पुख्र्यौली सम्पत्ति बेच्नुभयो । मेरो भागमा नौ लाख, आमालाई पाँच लाख परेको थियो । बाँकी दुई दाजुभाइले लिनुभयो । पछि आमालाई कान्छोदाइले र मलाई जेठोदाइले पाल्ने कुरा भयो । पैसा बैंकमा थियो, मेरै नाममा । दाइले ‘तेरो नाममा जग्गा किनौँ, पैसा निकाल’ भन्नुभयो । पैसा दिएँ । तर, दाइले जग्गा किनिदिनुभएन । मैले आफ्नो पैसा मागेँ । तर, मलाई दाइ-भाउजूले शारीरिक, मानसिक यातना दिन थाले । म मानसिक रोगीजस्तै भएँ । एकजनासँग जबर्जस्ती विवाह पनि गरिदिए । मलाई घर मन परेन र बिहे गरेकै रात भागेर आएँ ।

मेरो उपचार त भयो, अहिले पनि सबैले मलाई ‘बौलाही’ भन्छन् ।’

उनले सुनाएको कथा साँचो वा झुटो, मलाई थाहा भएन । जेहोस्, उनको कथाले मलाई छोयो, उनको माया लागेर आयो । उनले पनि मलाई मन पराएको थाहा पाएँ । जिग्दगीले कता-कता पुर्याएर मैले बिहे गर्न पाएको थिइनँ । उनको कथा सुनेर पग्लेँ । यति दुःखसुख बुझेकी केटीलाई बिहे गर्दा राम्रै होला भन्ने सोचेँ र उनैसँग बिहे गरेँ ।
त्यसपछि हामी घरमा गयौँ । बुवाले राम्रैसँग बुहारी भित्र्याउनुभयो, छिमेकीलाई भोज खुवाएर ।

कमाउने अधुरो सपना

चितवन फर्केपछि उनले भनिन्- ‘म चटपटेको पसल चलाउँछु, हजुरले अरु केही गर्नुस्, दुवैको कमाइ भयो भने केही जोड्न सकिएला ।’ उनको सल्लाह राम्रो थियो ।

लडाकूबाट अवकाश लिँदा दुई किस्तामा पैसा लिएको थिएँ । दोस्रो किस्ताको दुई लाखले चितवन चम्पानगरमा जग्गा किनेको थिएँ । बाँकी ५० हजार सहकारीमा एक वर्षका लागि राखेको थिएँ । त्यो पैसा झिकेर डिप पि|mज किनेँ, कुल्फी बनाउनका लागि ।

उनको सबै राम्रै थियो । तर, सामान बिर्सने, एउटा काम गरेपछि अर्को काम गर्न बिर्सने समस्या देखियो । उनले मानसिक औषधि बीचमै खान छाडेकी रहिछिन् ।

पसलमा चटपटेका सामान तयार पारेर म कुल्फी लिन जान्थेँ । केटाहरु चटपटे खान आउँथे । केटाहरुले ‘दाइले दुईटा चाउचाउ हाल्नुहुन्थ्यो, कति मीठो बनाउनुहुन्थ्यो भाउजू, हजुरले बनाएको मीठो भएन’ भन्दारहेछन् । उनले बढी सामान हालेर चटपटे बनाउन थालिन्, फेरि कति राखेँ भन्ने पनि भुल्थिन् । पसलमा घाटा लाग्न थाल्यो ।

जाडो सिजनमा कुल्फी नबिक्ने भएपछि मैले चटपटे बेच्न थालेँ । व्यापार त्यति राम्रो भएन । एकजना हिमाल घिमिरे हुनुहुन्थ्यो, मलाई चटपटेका सामान उधारो दिनुहुन्थ्यो । उहाँले काठमाडौं गएर भुजा बेच्ने सल्लाह दिनुभयो । उनलाई चटपटेकै पसलमा छाडेर काठमाडौं आएँ ।
 
पोखराको भुजा कुरुम-कुरुम

सानैदेखि गायक हुने रहर थियो । स्कुल पढ्दा जनकपुर कलापरिषद, मिथिला नाट्य कला परिषदबाट गीत गाउँथेँ । तर, मेरो गाउने कला पत्रिका, बदाम, तरकारी, चटपटे, कुल्फी, बदाम बेेच्न प्रयोग गर्नुपर्‍यो ।

काठमाडौंमा भुजा बेच्दा दुईवटा डर छ, एक त ठेलालाई गाडीले हान्ला भन्ने, अर्को नगरपालिकाले खोसिदिने । नाफा पनि थोरै आउँछ । तैपनि पिठ्युँमा बोकेर भुजा बेच्न थालेँ । भुजा वीरगन्जको हो, तर मैले त्यतिकै गीत बनाएँ- पोखराको भुजा कुरुम-कुरुम… ।

भिडियो हेर्नुस्

पोखरामा मैले संघर्ष गरेँ, त्यो सहर सफा छ, पोखरालाई संसारका मान्छेले राम्रो मान्छन् भन्ने मलाई थाहा छ । त्यसैले मैले गीत बनाएको त हो । जुन ठाउँको पनि बनाउन सक्थेँ, तर पोखराको मायाले पनि मैले पोखराको गीत बनाएँ ।

कमाइ ठीकै थियो । उता श्रीमती दुई जिउकी थिइन् । उनले छोरा पाइन्, ७ कात्तिक ०७० मा । काठमाडौंमा म भुजा साहु राजकुमार सापकोटाकहाँ बस्थेँ, उनको अनुग्रह खाद्यान्न सप्लायर थियो । उनको कोठामा बसेवापत दिनको अलिअलि पैसा दिनुपथ्र्यो ।

अर्काे पनि भिडियो हेर्नुस्

उता श्रीमतीलाई फेरि मानसिक रोगले च्याप्यो । काठमाडौं ल्याएँ, पाटन हस्पिटलमा उपचार गरेँ, २० हजार खर्च भयो । साहुसँग ऋण लिएँ । साहु क्रिस्चियन धर्मावलम्बी थिए । उपचारपछि पनि म साहुकैमा बसेँ । श्रीमतीलाई साहुले धर्म परिवर्तन गर्न भनेँ ।

भुइँचालोले हल्लाएपछि कन्तबिजोग

उपचारपछि उनी माइत जान्छु भनिन् । म पनि चितवनमै गएर चटपटे बेच्न थालेँ । तर, व्यापार राम्रो भएन । फेरि काठमाडौं आएँ, श्रीमतीलाई लिएर । साहुकहाँ बसेको पैसा बढी लिन थालेपछि छुट्टै कोठा लिएर बसेँ ।

मीनभवन ठूलो खरिबोटमा सटर लिएर भुजा बेच्न थालेँ । तर, त्यति राम्रो व्यापार भएन । साहुलाई सामानको पैसा दिन सकिनँ ।  सटरको भाडा पनि बाँकी रहन थाल्यो । जग्गासमेत बेच्नुपर्ने अवस्था आयो । चितवनमा दुई लाखमा किनेको जग्गा दुई लाखमै भुजा साहुलाई बेचेँ ।

मीनभवनको सटरमा चटपटे, पानीपुरी, खाद्यान्न पनि राखेँ । तर, देशमा भुइँचालो आयो र व्यापारमा घाटा हुन थाल्यो । त्यसपछि हामी जनकपुर गयौँ । यता बस्न सक्ने अवस्थै थिएन । भुइँचालो आइरहन्थ्यो ।

घरमा दुई महिना बसेर काठमाडौं आयौँ । यता, चार महिनाको सटर भाडा थियो । साहुले भाडा मागे । मैले ‘भुइँचालोले व्यापारै भएन, केही महिना पर्खनुस्’ भनेँ । सुरुमा त घरबेटीले मानेका थिए । पछि उनका छोराले अत्त्याइरहे । मैले सटरमै ताल्चा लगाउनुपर्यो । भाडा खप्टिरह्यो ।

घरबेटीले भने, ‘अब तैंले पैसा तिर्न सक्दैनस्, तेरो डिफ्रिज, इलेक्ट्रोनिक तुलो, डाइनिङ टेबललगायत सामान छाड्, पछि पैसा दिएर लैजालास् ।’

मैले सटर छाडेँ । अहिले टहरोमा बस्दैछु, मीनभवनमै । भाडा तीन हजार छ । त्यसयता सडकमै बदाम, चटपटे बेच्दैछु । भाडा तिर्न हम्मे छ । हिजो पनि सटरका घरबेटी भाडा माग्न आएका थिए । टहरो रोडमा परेकाले भत्काउने कुरा छ । वैशाखमै कोठा खोजेर सर्नुपर्ने छ, घरबेटीलाई दुई महिनाको भाडा तिर्न बाँकी छ । श्रीमती दुई जिउकी छिन् ।

प्रस्तुतिः ध्रुवसत्य परियार, सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आरुघाटमा फेरि खस्यो छानामाथि ढुंगा

१० चैत, गोरखा । आरुघाटकी सीता बानियाँको घरमा ढुंगा झर्ने क्रम अझै रोकिएको छैन । सोमबार साँझ प्रहरीले घरको एक पाखा जस्ता हटाएर आएको थियो । त्यसको भोलिपल्टसम्म कुनै ढंगा झरेन । तर, साँझबाट फेरि ढुंगा र्झन थालेको छ ।

सीताका कान्छा छोरा रोशन बानियाँले प्रहरीलाई बताए अनुसार अहिले पनि ढुंगा झरिरहेको छ । तर, यो क्रम सुरुवाती दिनहरुमा जस्तो छैन ।

Stone (4)आरुघाट इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रविराज थपलियाले अनलाइनखबरसँग भने, ‘रोसनले फोन गरेका थिए । अझै ढुंगा झर्न रोकिएको रहेनछ ।’ उनका अनुसार घटनाबारे जानकारी माथिल्लो निकायमा गराइसकिएको छ ।Stone (2)

बानियाँको घरको छानोमा गत शनिबारदेखि जस्ताले बारेर बनाइएको टहरो घरमा एक्कासी ढुंगा खस्न थालेको थियो । चुल्होमा पनि ढुंगा खस्यो । गाउँलेले अनेक कुरा गर्न थालेपछि सोमबार साझँ आरुघाट इप्रकाबाट थपलियाको नेतृत्वमा प्रहरी पुगेको थियो ।

Stone (3)

Stone (7)

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजुमार ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार

१० चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा ‘उपहार’ दिइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लैनचौरस्थित बेलायती दूतावासमा पुगेर नक्सा बुझाएको हो ।

बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाको प्रतिनिधिमण्डलले १० बुँदे ज्ञापनपत्रसहित ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको थियो । नक्साप्रति एलिसनले जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकाले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताए ।

डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने जवाफ दिएकी थिइन् । उनले एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरिन् ।

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सूचिमा काठमाडौं

१० चैत, काठमाडौं । विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौं परेको छ । ट्राभल वेबसाइट ट्रिप एडभाइजरले छनौट गरेका सन् २०१६ का लागि घुम्न जाने उत्कृष्ट गन्तव्यहरुको सूचिमा काठमाडौं २३ नम्बरमा परेको हो ।

विश्वभर घुमेका लाखौं पर्यटकको छनोटमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो ।

ट्रिप एडभाइजरले हरेक वर्ष उत्कृष्ट गन्तब्यहरु सार्वजनिक गर्दै आएको छ । काठमाडौंपछि अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्ट उत्कृष्ट गन्तव्यमा परेका छन् ।

गतवर्ष पनि नेपाल उत्कृष्ट २५ गन्तव्यभित्र पर्न सफल भएको थियो । टि्रप एडभाइजरको उत्कृष्ट पहिलो गन्तव्यमा बेलायतको लण्डन परेको छ ।

उत्कृष्ट दोस्रो गन्तव्यमा टर्कीको स्तानवुल परेको छ । त्यस्तै,स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा   फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन परेका छन् ।

तेह्रौं स्थानमा संयुक्त अरब इमिरेट्सको दुबई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं थाइल्यान्डको बैंकक, सोह्रौं नेदरल्यान्डको आम्सटर्डम, सत्रौं अर्जेन्टिनाको ब्युनस आयर्स, अठारौं चीनको हङकङ, उन्नाइसौं मेक्सिकोको प्लेया डेल कार्मेन, बीसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एक्काइसौं जापानको टोकियो, बाइसौं पेरुको कुस्को, चौबीसौंमा अस्ट्रेलियाको सिड्नी र पच्चीसौं स्थानमा हंगेरीको बुडापेस्ट परेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ब्रसेल्स आक्रमणको नेपालद्वारा भ्रत्सना

१० चैत, काठमाडौं । नेपाल सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको श्रृङ्खलावद्ध विस्फोटको भ्रत्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा जुनसुकै प्रकारको आतंकवादको नेपालले भ्रत्सना गर्ने उल्लेख छ । साथै मृतकप्रति समवेदना र बेल्जियमका जनताले भोग्नुपरेको दुःखमा सहानुभूति ब्यक्त गरिएको छ ।

विज्ञप्तिमा घटनाका दोषीलाई जतिसक्यो छिटो कारबाही हुने विश्वाससमेत नेपालले ब्यक्त गरेको छ ।

ब्रसेल्सको जभेन्टम विमानस्थलमा दुईवटा र मेट्रो स्टेशनमा एउटा बम विष्फोट भएका थिए । विष्फोटमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । ब्रसेल्स सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

आक्रमणकारी तीन जनाको तस्वीर सार्बजनिक

brussels_attack_suspect_afp

आक्रमणकारी भनेर तीन जनाको तस्वीर सार्बजनिक गरिएको छ । सीसीटिभी क्यामेरामा कैद भएको तस्वीर सार्बजनिक गरिएको हो ।

कालो कपडा लगाएका दुई जना आत्मघाती आक्रमणकारी हुन् भने सेतो कपडा लगाएको अर्को व्यक्ति फरार भएको स्थानीय सन्चार माध्यमहरुले जनाएका छन् । उनीहरू यात्रु बनेर विमानस्थल प्रवेश गरेका थिए ।

समाचार सौजन्यः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

न्युयोर्कमा रंगकर्मी थापाद्वारा अभिनित नाटक प्रदर्शन

विजय थापा
वाशिंगटन डिसी । गत मार्च २० तारिख न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाको आयोजनामा वरिष्ठ रंगकर्मी हरिबहादुर थापाका उत्कृष्ट १० वटा नाटकका अंशहरु समेटिएको श्रब्य दृष्य भीसीडीको प्रदर्शन तथा लोकार्पण न्युयोर्कमा गरिएको छ l

उक्त अवसरमा रंगकर्मी थापालाई सम्राटको उपाधिले सम्मान गरिएको थियो भने उनीसँगै उनकी धर्मपत्नी मिठु थापालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो l सोहि कार्यक्रममा नेपाल प्रहरीको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला पार्वती थापा तथा क्विन्स चलचित्र महोत्सवमा उत्कृष्ट छायाँकारबाट पुरष्कृत रबिन आचार्यलाई समेत खादा ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा थापाको जीवनी साहित्यकार कृसु क्षेत्रीले सुनाएका थिए । संयुक्त रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा अनेसास न्युयोर्क शाखाका सदस्य बिजय सिम्खडाले गरेका थिए ।
कार्यक्रममा अनेसास न्युयोर्कले हरेक महिनाको तेश्रो आइतबार नियमित रुपमा साहित्य शृंखला गर्ने समेत भएको जानकारी दिइएको छ ।
यसैगरी शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले न्युजर्सीमा नेपाली भाषाको कक्षा संचालन भइसकेको बताउँदै निकट भबिष्यमा न्युयोर्कमा पनि भाषा कक्षा संचालन गरिने बताए ।
शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई थिए । बिशेष अतिथिहरुमा न्युयोर्क स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत नारायणप्रसाद मैनाली, सहवााणिज्यदूत साहित्यकार कृसु क्षेत्री, उपवाणिज्यूत प्रविण भट्टराई र अनेसासका केन्द्रीय पूर्वअध्यक्ष गीता खत्रीको उपस्थिति थियो l
कार्यक्रम संचालन शकुन्तला ज्ञवालीले गरेकी थिइन् ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं