Wednesday, February 17, 2016

कप्तान राजुको आँखामा विश्वकपः मेरै गल्तीले निर्णायक म्याचमा चुक्यौं

राजु रिजाल

नेपालले यू-१९ विश्वकप खेल्दा राजु रिजाल दुई कारणले चर्चामा रहे । पहिलो उनको ब्याटिङ र दोस्रो उमेर ।

उमेरका विषयमा उनले आइसीसीबाट सफाइ पाइसकेका छन् भने ब्याटिङका विषयमा उनी अनलाइनखबरलाई आफैं ‘सफाइ’ दिँदै छन् । प्रतियोगिताका महत्त्वपूर्ण म्याचमा आफूले खराब सट खेलेर आउट हुँदा टिम दबाबमा आएको राजुको भनाइ छ । अनलाइनखबरसित उनले आफ्नो क्रिकेट करिअर तथा विश्वकपको अनुभव यसरी सुनाए ।

कास्कीदेखि मुम्बईसम्म

नेपालको कुनै दुर्गम पहाडी जिल्लामा मेरो जन्म भएको हो । सायद कास्की जिल्ला हुनुपर्छ । म २-३ वर्षको हुँदा परिवार धनगढीमा बसाइँ सरेर आयो । मेरो बुवा भारतमा रोजगारी गर्नुहुन्थ्यो । पछि उहाँले परिवारलाई नै भारतमा लैजानुभयो । त्यतिबेला म पाँच वर्षको थिएँ । मेरो विद्यालय शिक्षा भारतमा नै भयो । मैले त्यहीँ क्रिकेट सिकेको हो । मुम्बईमा स्कुलस्तरीय तथा केही स्थानीय प्रतियोगिता खेलेर अनुभव बटुलेँ ।

म सुरुदेखि नै विकेटकिपिङ र ब्याटिङ गर्थें । मेरो आदर्श थिए, अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्ट । म उनकै शैलीलाई नक्कल गने कोसिस गर्थें । अन्तर्राष्ट्रिय क्रिकेटमा मेरो समर्थन भने भारतलाई हुन्थ्यो । तर, त्यतिबेलाको अस्ट्रेलियाको टिम औधि राम्रो थियो ।

अनि नेपाल आएँ

एकपटक नेपाल आउँदा मैले अछामको टिमबाट एसपीए कप खेलेको थिएँ । अछामका दाइ लोकेन्द्र खत्रीले मेरो खेल मन पराएर क्षेत्रीय क्रिकेटमा चान्स मिलाइदिन्छु भन्दै नेपालमै क्रिकेट खेल्न सुझाव दिनुभयो ।

यसैबीच मेरो बुवा पनि जागिरबाट रिटायर्ड हुनुभयो । हाम्रो परिवार नै नेपालमा फर्कियो । त्यसपछि मैले क्षेत्र नम्बर ९ टिमबाट खेल्ने मौका पाएँ । पछि सो टिमको कप्तानी पनि पाएँ । त्यसमा राम्रो प्रदर्शन भएपछि यू-१९ राष्ट्रिय टोलीमा छनोट भएको हुँ ।

मैले भारतमा ११ कक्षाको परीक्षा दिएको थिएँ । नेपाल आएपछि १२ को परीक्षा छुट्यो । नेपालमा पनि कलेज ज्वाइन गरिनँ, क्रिकेटमै व्यस्त भइयो । पछि भारतमा गएँ फेरि पढ्ने योजना थियो, तर सफल हुन सकेन ।

यू-१९ नेसनल टिमबाट मैले एसिया कप खेलेँ र त्यसपछि विश्वकप क्वालिफायर खेलेँ । एसियाकपमा राम्रो प्रदर्शन भएपछि मलाई टिमको कप्तानीसमेत दिइयो । एकपटक सिनियर टिमबाट पनि खेल्ने मौका पाएँ । मलेसियामा भएको विश्व-११ विरुद्धको मैत्रीपूर्ण खेलमा मलाई मौका दिइएको थियो । त्यसमा १५ रनजति बनाएर आउट भएँ ।

विश्वकपमा राम्रो सुरुवात

विश्वकपमा हामीले दोस्रो चरणसम्म पुग्ने लक्ष्य लिएका थियाैं । सुरुमा हाम्रो समूहमा अस्ट्रेलिया पनि थियो । पछि उसले खेलमा सहभागिता नजनाउने भएपछि आयरल्यान्ड आयो ।

अस्ट्रेलिया भएको भए हामीलाई अर्को चरणमा पुग्न कठिन हुन्थ्यो । यद्यपि अस्ट्रेलिया जस्तो बलियो टिमसित खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हुन्थ्यो । त्यो अवसर हामीले गुमायौं ।

विश्वकपको अभ्यास खेलमा हामीले टेस्ट राष्ट्र श्रीलंकासँग खेल्यौं भने, विश्वकपका ६ म्याचमध्ये ४ वटा म्याचमा हामी टेस्ट राष्ट्रहरूविरुद्ध भिड्ने मौका पायौं । त्यसैले अनुभवका हिसाबले यो विश्वकपबाट हामीले ठूलो उपलब्धि हासिल गरेका छौं । उमेर समूहको क्रिकेटमा टेस्ट राष्ट्रहरूभन्दा धेरै तल छैनाैं भन्ने महसुस हामीले गरेका छौं । अलिकति आत्मविश्वास र अनुभवको मात्रै कमी छ, हामीमा ।

पहिलो म्याच न्युजिल्यान्डसँग थियो । हामीले त्यो म्याचमा जित्ने लक्ष्य राखेर नै खेलेका थियौं । हामीलाई विशेषगरी हाम्रो फिल्डिङ र बलिङमा भरोसा थियो । ब्याटिङमा २०० रनमाथिको योगफल बनायौं भने जित्छौं भन्ने थियो ।

नभन्दै त्यस्तै भयो । त्यो म्याचमा मेरो ब्याट राम्रै चल्यो र अन्य सबै ब्याट्सम्यानहरूले राम्रै योगदान दिए । हामीले २ सयमाथिको स्कोर खडा गर्‍यौं । पछि बलरहरूले जित दिलाए ।

दोस्रो म्याचमा आयरल्यान्डलाई हराउन खासै कठिन भएन । पहिले पनि हराएको टिम भएको र अघिल्लो म्याचमा टेस्ट म्याचलाई हराएको हुनाले हाम्रो उच्च आत्मबल थियो । हामीले त्यस्तै खेल्यौं पनि । त्यो म्याचमा सन्दीप लामिछानेले ह्याटि्रकविकेट पनि लिए, जुन नेपालका लागि ठूलो सफलता हो ।

बंगलादेशको विकेट हाम्रो ब्याटिङ सुहाउँदो थियो । पिचमा खासै टर्न थिएन तर पनि लाइन र लेन्थ कन्ट्रोल गरेमा स्पिनरलाई राम्रो सपोर्ट गथ्र्यो । एसियाभन्दा बाहिरका ब्याट्सम्यानहरू रोकिएर आउने बलमा खेल्न त्यति अभ्यस्त हुँदैनन् । त्यसैले उनीहरूका लागि ब्याटिङ कठिन भयो ।

पिचको आवश्यकताले गर्दा नै हामीले टिममा फास्ट बलिङभन्दा स्पिनलाई महत्त्व दिएका हौं । हामीसँग फास्ट बलर दीपेश थियो । तर उसलाई अन्तिम ११ मा नराख्नुको कारण भनेको स्पिनर खेलाउनलाई नै हो । हामीसँग मध्यम गतिको बलिङ गर्न सक्ने अलराउन्डरहरू थिए । फास्ट बलिङ डिपार्टमेन्ट उनीहरूले नै सम्हाले ।

हामीले पछिल्लो चार म्याच हार्‍यौं । तीमध्ये तीन म्याचमा राम्रै ब्याटिङ गरेका हौं । भारतविरुद्धको म्याचमा हामीले १७० भन्दामाथिको स्कोर बनायौं तर भारतीय ब्याट्सम्यानहरूले आक्रामक ब्याटिङ गरे । उनीहरूले सुरुमै पिकअप लिएपछि हामीले खेलमा फर्किने मौका पाएनौं ।

पाकिस्तानसितको म्याचमा हाम्रो ब्याट चलेन । बलिङ भने त्यति नराम्रो थिएन । अलिकति मिडियम पेसरलाई हेल्प गर्ने विकेट थियो । उनीहरूको स्लो मिडियम पेसरले हाम्रो धेरै विकेट लियो । जसलाई गतिलो बलर होइन भनेर हामीले रन बटुल्ने प्रयास गर्दा उसले विकेट हात पार्‍यो । उसले बल बाहिर फ्याँकेर सामान्य आउटस्विङ मात्रै गराएको थियो ।

हामीले सबैभन्दा बढी बंगलादेशसितका म्याचलाई लिएर चुक्चुकाउनुपर्‍यो । त्यो म्याच जितेको भए हामी इतिहास रच्दै सेमिफाइनलमा पुग्ने थियौं । हामी जित्न सक्ने पोजिसनमा पनि थियौं ।

तर, त्यहाँ हाम्रो अलिकति अपरिपक्वता झल्कियो । म ब्याटिङमा हुँदासम्म दुई सय ५० सम्म बनाउन सक्ने आँकलन गरेको थिएँ । तर म रनआउट भएँ । मेरो विकेट नै टर्निङ प्वाइन्ट बन्यो । यद्यपि, हामीले दुई सय रन कटाउन सफल भएका थियौं । बलिङमा पनि राम्रो गरिरहेका थियौं ।

तर उनीहरूले सम्हालिएर ब्याटिङ गरे । त्यो म्याचमा बंगलादेशको फिल्डिङ दुई देशबीचको अन्तर बन्यो । हाम्रा चार ब्याट्सम्यानलाई उनीहरूले रनआउट गरेाक थिए ।

लास्ट म्याच त जित्नपर्ने थियो । तर हार्‍यौं । हामीले आफ्नो मिस्टेकले हारेको जस्तो लाग्छ । सबैभन्दा ठूलो म आफ्नो गल्ती मान्छु । उनीहरूले २ सय प्लस बनाएका थिए । तर हाम्रो स्टार्ट राम्रो थियो । म जाँदा सिचुयसन राम्रो थियो । तर म र्‍यास सट खेलेर आउट भएँ । मेरो सबैभन्दा अन रेस्पोन्सिबल र नराम्रो ब्याटिङ त्यही म्याचमा भयो ।

राष्ट्रिय टिमका लागि अझै तयार छैन

म मिहिनेत गरिरहेको छु । तर, राष्ट्रिय टिममा दिगो स्थान बनाउनका लागि अझै धेरै सुधार गर्न बाँकी छ जस्तो लाग्छ । उत्तेजनामा आएर खराब सट खेल्ने मेरो बानी सुधार्नुपर्छ । स्किलमा पनि अझै विकास गर्न प्रयासरत छु ।

नेपालमा क्रिकेट करिअर राम्रा बनिरहेको छ । क्रिकेट धेरै विकास भइरहेको छ । एपिएफ आर्मी पुलिसले जागिर दिइरहेका छन् । त्यसैले म क्रिकेटमै आफ्नो करिअर बनाउन सक्छु भन्ने लागेको छ ।

उमेर विवादले अचम्मित

प्रतियोगिताकै बीचमा मैले केही मिडियामा मेरो उमेरसम्बन्धी समाचारहरू आएको थाहा पाएँ । त्यो सुन्दा अचम्म लाग्यो । मविरुद्ध के भइरहेछ भन्ने लाग्यो । जो मान्छेले फेसबुकमा लेखेको छ, उसको नाम सुनेको छु, तर पर्सनल्ली चिन्दिनँ । उसँगै एउटै टिममा क्रिकेट खेलेको याद छैन । भारतमा स्कुल लेभलमा क्रिकेट खेलेको छु तर उसले भनेको जस्तो होइन । जेहोस्, यो विषय अब कोट्याइरहन आवश्यक छैन ।

कुराकानीमा आधारित


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment