Wednesday, February 17, 2016

‘उपप्रधानमन्त्री परिषद’ को सुख-दुःख वार्ता !

६ थान उपप्रधानमन्त्रीको गोप्य सम्वाद

-खगेन्द्र संग्रौला

दिनभरिको यात्राबाट थकित घाम विश्राम गर्न डाँडापारि लुक्न-लुक्न लागेका बेला । कतै एकलासको नाम भन्न नमिल्ने तारे होटलको भूमिगत कोठा । कोठामा बडो रहस्यमय ढङ्गले भूमिगत शैलीमा जुटे ओली सरकार मातहतका ६ जना उपप्रधानमन्त्री ।

त्यहाँ बोलिने बातको सुरक्षाका दृष्टिले गोप्यतालाई ख्याल राख्दै उपप्रधानमन्त्रीहरुका गाथ रक्षक गार्डहरु बाहिर अलग्गै राखिए । उमेरको बरियताका हिसाबले उपप्रधानमन्त्री चित्रबहादुर केसी छानिए वार्ताका अध्यक्ष । छोटो र छिटो कि नोट स्पिच दिँदै वार्ताको विषय, विधि र मर्यादामाथि प्रकाश पार्नु अध्यक्षको काम-कर्तव्य ठहर भयो ।

‘हेरी,’ यसरी शुरु भयो उपप्रधानमन्त्री केसीको कि नोट स्पिच अर्थात् विद्वत् प्रवचन, ‘रोटी चिल्ला मीठा, कुरा खस्रा मीठा, हेरी ।’ यति भनेर किञ्चित् सशंकित हुँदै केसीले ढोकातिर पुलुक्क हेरे । के थाहा, बाहिर कोही सुलसुले सुन्दैछ पो छ कि !

केसीले मुन्टो परक्क बटारेर यसो मास्तिर कान थापे । अनि ढुक्क हुँदै प्रवचनलाई गति दिए, ‘साथी हो, यो ठूला दुःखले आज्र्याको हाम्रा सुख-दुःख पोख्ने वार्ताको औसर हो, हेरी । यता तिनकाउको पदीय मर्यादा भन्या छन्, उता पार्टी अनुशासन भन्या छन् । चित्तमा गुम्सिएको कुरो दिल खोलेर कहिल्यै प्वाक्क भन्न नपाइने । ल, यहाँ निश्चिन्त भएर भनूँ । भनूँ र भारी मन चङ्ग पारुँ, हेरी । तर, हेक्का राखूँ साथी हो, भित्ताका पनि कान हुन्छन् । त्यसउसले गर्दाहुँदी मसिना स्वरमा बोलूँ । बोल्दा अर्काको बोलीमा बोली नखप्ट्याउँ ।

उपप्रधानमन्त्रीजस्ता व्यक्तित्वहरुले आरोप-प्रत्यारोपपट्टि लाग्ने त झन् कुरै भएन । तथ्यको टेको लगाएर तर्क गर्नु धेरै राम्रो । हावा टेकेर हावा कुरा गर्नु धेरै नराम्रो । स्मरण रहोस् बन्धुगण, हाम्रो यो वार्ता नितान्त गोप्य हो । तसर्थ म निवेदन गर्छु, यहाँको कुरो यो कोठा बाहिर छिसिक्क कतै नचुहियोस् । बरु गए सास जाओस्, विश्वास नजाओस्, हेरी । हाललाई मेरो कुरो यत्ति हो । हाम्रो वार्ता मैत्रीपूर्ण, शान्त र सुखद् रहोस् । यही मेरो शुभकामना छ, हेरी ।’

उपप्रधानमन्त्री केसीको विद्वत मन्तव्य तुरियो । अनि सबैलाई उछिन्दै चतुर कमल थापाको वाचाल जिब्रो चल्यो, ‘सटिक विद्वत मन्तव्यका लागि धन्यवाद छ, अध्यक्षज्यू । तर, भूलवश यसमा एउटा गाँठ्ठी कुरो छुट्न गयो । त्यो के भन्नुहोला भने, उपप्रधानमन्त्रीको रोल नम्बरअनुसार समयको बाँडफाँड हुनु वाञ्छनीय छ । यो मेरो मान्यता हो ।’

‘हैट, उपप्रधानमन्त्री जस्तो उच्च पदको केको रोल नम्बर हुनु ?’ टिम्मुरे लबजमा भीमबहादुर रावल कड्किए, ‘वार्ताको यो थलो थोडै कखराको कक्षा हो र ? हैट, कुरा पनि !’

‘हाम्रा रोल नम्बर छन्, मान्यवर उपप्रमज्यू,’ आँखामा दम्भको चमक टल्काउँदै गम्भीर मुद्रामा कमलले भने, ‘विद्वानहरुले गहिरो गरी सोचविचार गरेर हाम्रा यथायोग्य रोल नम्बर किटिदिएका छन् ।’

‘कसरी र के आधारमा ?’ चिन्तायुक्त मुद्रामा अर्का उपप्रधानमन्त्री सीपी मैनालीले प्रश्नको तीर हाने ।

‘नियुक्तिका क्रमका आधारमा उपप्रमज्यू, सुनिजानेको कुरो यही हो । नभन्दै कुरो प्रस्ट छ । उपप्रधानमन्त्रीमा जो पहिले नियुक्त भयो, त्यसमा आवश्यकता र योग्यताको केही कुरा त अवश्य होला नै । अनि जो अन्त्यमा नियुक्त भयो, त्यसमा……’

उपप्रधानमन्त्री विजय गच्छदारले निन्द्रालु स्वरमा सोधे, ‘रोल नम्बर १ को हो र रोल नम्बर ६ को हो त जी ?’

‘म कमल रोल नम्बर १, सीपीजी रोल नम्बर ६ ।’

केही भन्न सीपीका फुस्रा ओठ चले, तर मरीगए बक् फुटेन ।

भादगाउँले टोपीधारी टोपबहादुर रायमाझी केही बोलेनन् । केवल चकित-चकित मुद्रामा ट्वाँ परेर सुनिरहे ।

भीम रावलले सन्नाटा भङ्ग गर्दै आफ्नो सुविधातर्फ कुरो रड्काए, ‘रोल नम्बर, सोल नम्बर म जान्दिँन, पार्टीको आकार हेरी समयको बाँडफाँड हुनुपर्छ । ख्याल रहोस्, यो हो मेरो अधिकारसम्पन्न र अकाट्य दाबी ।’

केसीले अध्यक्षता सम्हाल्दै बरालिएको वार्तालाई बाटो दिए, ‘हेरी, कल्ले के भन्या छ भन्नेतिर नलागूँ । अब कत्ति बियाँलो नगरी मूल कुरो थालूँ । जोसँग भन्न लायकका कुरा छन्, उल्ले अलि लामो बोल्ला । जोसँग छैनन्, उल्ले चुपो लागेर सुन्ला । मिलाउन जाने कुरो यसरी मिल्छ, हेरी । अँ, उपप्रधानमन्त्री हुन पाउँदा कल्लाई कस्तो लाग्यो ? ल, अब कत्ति सकस र दकस नमानी आलोपालो गरी आ-आफ्ना सच्चा अनुभूति फटाफट सुनाऊँ ।’

‘म भनूँ जी ?’ सुस्त स्वरमा गच्छेदारले अनुमति मागे ।

‘आज्ञा ।’ चुचुरे रुद्रघण्टी मुसार्दै अध्यक्ष केसीले आज्ञा दिए ।

‘पहिले गृहमन्त्री हुँदा मलाई राजा भएजस्तो लाग्याथ्यो । अहिले उपप्रधानमन्त्री हुँदा मलाई महाराज भएजस्तो लाग्यो । अहो !’ यति भनेर गच्छदारले बडो शानले जुँगामा ताउ लगाए ।

‘मलाई पनि त्यस्तै ।’ गच्छदारको बोलीका पाइला पछ्याउँदै टोपबहादुरले भने । ‘पहिले मन्त्री हुँदा मलाई सगरमाथाको बीचतिर पुगेँजस्तो लाग्या थ्यो । अहिले उपप्रधानमन्त्री हुँदा सगरमाथाको चुचुरो नेरनेर पुगेँजस्तो लाग्यो । अहा ! अरे, जीवनको उचाइको आनन्दै अर्कै ।’

‘मलाई त त्यस्तो उपध्रो केही लाग्या छैन ।’ रावलको चटपटे बोली हावामा तरङ्गति भयो । ‘आफ्नै प्रतिभा, योग्यता र योगदानको भर्‍याङ चढेर उपप्रधानमन्त्री भइयो । भइयो त भइयो, ल जा । मजै भो !’

‘हेर्नोस्, अरुले जस्तो आफैँलाई मुसार्दै मलाई फुर्किनु छैन ।’ गमक्क पर्दै कमल थापा बोले । ‘क्षमता थियो र न म उपप्रधानमन्त्री रोल नम्बर १ भएँ । यो मेरो पद कसैका दयाको बकस होइन, आफ्नै खुबीको स्वाभाविक आकर्षण हो, र यो समयको आवश्यकता हो । अँ, बिरलाकोटी गगनविहारी उपप्रधानमन्त्री हुन पाउँदा अलिकता खुशी त लाग्ने नै भो । यो मानिसको नैसर्गिक स्वभाव हो ।’

‘यसमा मेरो मत बेग्लै छ, एकदम मौलिक, हेरी ।’ सीपी मैनालीलाई मौका नदिई अध्यक्ष केसी आफैँ बोल्न थाले । ‘म तल पीँधबाट नाक टेकेर रगेडिँदै सहायक मन्त्री, मन्त्री भएर माथि उक्लेको होइन । म त एक्कैचोटि झ्याप्पै छलाङ मारेर उपप्रधानमन्त्री भएँ, हेरी । इतिहासमा कोही कहिल्यै यस्तो भा’छ ? म भएँ । यस्तो मै किन भएँ ? किनभने म मै हुनाले यस्तो भएँ । मेरो यो हुनुलाई नाथे खुसीले नाप्न सकिँदैन । के हो खुसी ? के बेखुसी ? यो सब क्षणभङ्गुर चीज हो । गुदी कुरो त चतुर कार्यनीति हो, ठोस रणनीति हो, महान् लक्ष्य हो, हेरी ।’

अध्यक्ष केसीलाई बल्ल मौनब्रती सीपीको याद आयो । पदीय मर्यादाको नाटकीय अभिनय गर्दै केसीले भने, ‘ए, सीपीजीको पालो आउनै बाँकी थियो, हकि ? बिर्सेर मै पो बाल्न थालेँछु । धत्तेरी, रिसानी माफ होस् है । ल, सीपीजी जे भन्नु छ, समय लिएर भन्नोस् ।’

‘उपप्रधनामन्त्री भएँ ।’ उदास स्वरमा सीपीको बोली फुट्यो । ‘यसो हेर्दा यहाँसम्म कुरा ठीकै हो । अँ, म पनि जेनतेन खुशी नै छु भन्नुपर्‍यो । तर, आदर्श र यथार्थको द्वन्द्वले मलाई नाका-नाकामा सतायो ।’

‘हैन, के हो त्यो यसो र उसोको द्वन्द्व भन्या ?’ च्युँडो मुसार्दै गच्छदार सोध्दा भए ।

‘म सीपी मैनाली नेकपा-मालेको पहिलो महासचिव, केपी शर्मा ओली मेरा ऊबेलाका कार्यकर्ता ।’ हल्का रोषमिश्रित स्वरमा सीपीले असन्तुष्टि पोखे, ‘आदि कालमा सत्तारोहण गर्ने भर्‍याङको विजारोपण गर्ने म, अहिले त्यही भर्‍याङ चढेर माथि जाने केपीजी । यसरी माथि जाने केपीजी माथि दिने ठाउँमा, म भर्‍याङ निर्माता तल भर्‍याङमुनि माग्ने ठाउँमा । म अतीतको आदर्श, केपीजी वर्तमानका यथार्थ । एउटा द्वन्द्व यही हो ।’

‘अनि अर्को द्वन्द्व ?’ उङ्न लागेका टोपबहादुरले आँखा मिच्दै खसखस पोखे ।

‘राम्रो मन्त्रालयको उत्कट चाहना थियो, मैले पाएँ महिला तथा बालबालिका मन्त्रालय । यो चाहना मेरो आदर्श हो, र यो प्राप्ति हो मलाई तनाव दिने यथार्थ । मेरो अर्को द्वन्द्व यो हो ।’

‘हेर कुरा !’ अध्यक्ष केसीले मुख बिगार्दै भने । ‘महिला भनेकी माता हुन्, बालबालिका भनेका भविष्यका कर्णधार, हेरी । त्यत्रो महत्वको मन्त्रालय पाएर पनि यत्रो गनगन !’

खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला

‘अध्यक्षज्यूको भनाइमा केही न केही दम अवश्य छ, यो म मान्छु । यहाँ पनि आदर्श र यथार्थ जुध्यो । आदर्श पर्‍यो महिला तथा बालबालिका, यथार्थ हो तिनलाई कत्ति नगन्ने रुढिवादी लोकदृष्टि । अहो ! यो मन्त्रालय लिँदा मलाई लोकले कति गिज्यायो ! उपप्रधानमन्त्री भएर मलाई कहीँ कतै एउटा नमस्ते थपिएन । आफ्नै मन्त्रालयमा धरी मलाई गन्ने र मान्ने कोही भएन ।’

‘ज्या है, सर्वनाश भएछ !’ धृष्टमति रावलले खिल्ली उडाए ।

‘हेर्नोस् त कमलजी कम्निष्टका कुरा !’ नाक निमोठ्दै गच्छदारले ओठ लेब्य्राए । ‘सीपीजीका केजाती र केजातीको द्वन्द्वका कुरा मैले त छेउटुप्पै बुझिँन यार ।’

‘हो त नि विजयजी, मैले पनि बुझिँन ।’ कमल थापाले गच्छदारको हाँ मा हाँ मिलाए ।

‘यो कम्निष्टको कुरा होइन,’ रावल झोँक्किए । ‘यो भन्न लायकका कुरै नहुनेको कुरा हो । मैले हिजो घ्यु खा’थेँ, आज मेरो हाते सुँघिहेर त भनेर फुर्ति लाउन मिल्छ ? गतिमान समय हिजोको पात्रोमा अड्किएन, त्यो अघि बढ्यो । अनि ?’

‘जिन्दगीमा यस्तै भो, द्वन्द्वहरुले मलाई सकसमा पारे !’ सीपीले सुस्केरा हाले ।

‘यी अँध्यारा कुरा भए, हेरी,’ अध्यक्ष केसीले विषयको बुँदालाई ट्र्याकमा फर्काउन खोज्दै भने, ‘केही त उज्याला कुरा गरुँ, सीपीजी ।’

‘छनलाई मसँग त्यस्ता कुरा जति पनि छन् ।’ किञ्चित् उत्साहित देखिँदै सीपी आफ्नो जीवनको उज्यालोतिर फर्किए । अनि भने, ‘हिजो म नभ’को भए आज ओली प्रधानमन्त्री हुने थिएनन् । ओली प्रधानमन्त्री नभ’का भए तपाईँहरु उपप्रधानमन्त्री हुने चान्सै थिएन । लु भन्नोस्, नरेश निर्माता ठूलो हो कि निर्मित नरेश ठूलो हो ?’

‘हैट,’ रावल पड्किए, ‘कुरो नार्सिसफिस प्रवृत्तितिर गयो है ।’

‘के हो त्यो नार्सिसफिस प्रवृत्ति ?’ टोपबहादुरका ओठबाट अनाडी प्रश्न झर्‍यो ।

‘त्यो प्रवृत्ति भनेको आफ्नै मुखले आफूलाई राम्रो म भन्नु हो ।’

‘बास्, बास्,’ राम्रो म को यथार्थ उदघाटित भएको सुनेर अध्यक्ष केसी प्रसन्न भए ।

‘ल, अबलाई अर्को बुँदामा प्रवेश गरुँ,’ अध्यक्ष केसीले सहभागीहरुको ध्यानाकर्षण गरे । ‘उज्यालोपट्टिका आ-आफ्नो औकातअनुसारका जो भएका गतिला-अगतिला कुरा आ-आफ्नो ढङ्ग वा बेढङ्गअनुसार भनिए र सुनिए । अबलाई अँध्यारोपट्टि यसो चियाएर हेरुँ, हेरी । कुराे के भने, उपप्रधानमन्त्री हुँदा हामी सबैलाई केही न केहीे साह्रोगाह्रो त पक्कै पर्‍यो होला । हो, अब कतै भन्न नपाएका तिनै कुरा भाँती पारेर भनूँ र ध्यान दिएर सुनूँ ।’

‘जिन्दगीको यो पाटो बडो मार्मिक छ,’ ओठ चाट्दै कमल थापा दुःख पोख्न थाले । ‘मलाई गाईको रगत टेकेर सत्ताको स्वाद लिन गयो भने । भनेको पनि अरुले होइन, आफ्नै कार्यकर्ता र शुभचिन्तकहरुले । म किन गएँ, तिनलाई बेलैमा मैले बुझाउन सकिँन । पछि बुझाउन खोज्दा ढिलो भइसकेको थियो । अनि हिन्दू छाड्यो, राजा छाड्यो, फत्तुर पनि के के हो के के !’ यति भनेर कमलले लामो सासमा हृदयको तीतो ताप पोखे ।

निन्द्राग्रस्त गच्छदार के भनूँ के भनूँ गर्दै पलभर अल्मलिए । अनि लामो सास तानेर भने, ‘म भनूँ के भनूँ, नभनूँ किन नभनूँ ? मेरो पनि जिन्दगीको यो दुखिया पाटो बिल्कुल सम्झिन लायकको छैन । बरु सम्झिँदा यो छाती चरक्क चिरिन्छ ।’

‘ब्याख्यापट्टि नजाऊँ, बन्धु ।’ अध्यक्षले आदेशको भाकामा कमाण्ड गरे, ‘सोझै छाती चिर्ने करौँतीका कुरा गरुँ, हेरी ।’

‘अँ, कतिपयले मलाई आफ्नै थारुहरुको रगतमा पौडिँदै उपप्रधानमन्त्री भयो भने ।’ गच्छेदारको आहत जिब्रो यसरी चल्यो । ‘मलाई बाह्रमासे पदलोलुप भने । मलाई अवसरवादी नम्बर एक भने । मलाई गद्दार भने । म असल मनशायले उपप्रधानमन्त्री बनेको हुँ भनेर मैले तिनको चित्त बुझाउनै सकिँन । अहो ! हुन पनि यता म सत्ताको आनन्दमय गद्दीमा, उता थारुहरु आफ्नै रगतको आहालमा । मलाई क्या हत्ते !’ गच्छदारले जिब्रो निकालेर उछवास पोखे ।

टोपबहादुरले सुस्त चालले कन्सिरी कन्याए । र, कनेजस्तो गरी भने, ‘हो, मलाई पनि भन्नु नभन्नु भने । हरे, मलाई के मात्र भनेनन् ? मलाई तिहुन चखुवा भनेनन् कि । मलाई गुट फेरुवा भनेनन् कि । अँ, मलाई बाबुरामका आँसु पिउँदै प्रचण्डका तलुवा चाट्न जाने भने । मलाई छाडेर गएको गुटकाहरुले भागेर गयो भने, मलाई सामेल हुन गएका गुटकाहरुले खान आयो भने । हरे ! आफ्नो त दुबैतिर कोही नभएजस्तो भो । हइत्तेरी, जिन्दगीको दशा !’

वातावरण सन्न भयो । वार्ताले मौनतामा अलिबेर विश्राम लियो । अनि अध्यक्ष केसीको इसारा मान्दै सीपी मैनालीले आफ्ना बेचैनीहरुको पन्तुरो फुकाए । ‘खै के भनूँ ? भन्नुमा भन्दा नभन्नुमा मेरो कल्याण छ ।’

‘भनूँ, भनूँ,’ केसीले उक्साए ।

‘भनुँ पनि कुन मुखले भनुँ खै ? मानिसहरुको स्मरणशक्ति मलाई अभिशाप भो । मलाई स्वास्नीपछिको महिला, बालबालिका मन्त्री भने । मलाई बरु यो मन्त्रालय आफ्नै घरमा सारे हुने भने । मलाई आफ्नो पार्टीका दोस्रा नेताको भाग खोसेर खाने लोभीपापी भने । अहो ! मलाई के के भने, के के भने !’

‘हेरी, यी भन्ने चैँ कताका को परे कुन्नि ?’

‘अरु को हुन्थे, अध्यक्षज्यू ? आफ्नै पार्टीका मान्छे, आफ्नै टोलका मान्छे । पर्नलाई यी परे आफ्नै मान्छे, तर बुद्धिले चाइने गाँडु मान्छे । कत्रो महान् उद्देश्य अघि लगाएर म गएको थिएँ ! तैपनि…’

‘मेरो पालो हो ?’ नाक कोट्याउँदै रावल अघि सरे । केसीले ‘हो’ को भाकामा स्वीकृति दिए । तत्पश्चात् रावल उवाच, ‘म भाग्यमानी, मलाई कसैले केही भनेन । मैले कसको के खाइदिया छु र कसैले मलाई केही भन्ने ? मेरो पदोन्नति देखेर कसैलाई डाहा लाग्यो होला, कन्ना पछाडि कसैले केही भन्यो होला, त्यसको मलाई के मतलब ? राजनीतिमा त्याग र बलिदानको बाली लगाउनेले मौकामा बाली उठाउँछ । बस्, सकियो कुरो ।’

‘अब मैले पनि भन्नै परो, हगि ?’ अध्यक्ष केसीले भन्नु नपरे हुन्थ्यो भनेजस्तो गरी भने ।

‘परो, परो ।’ पाँचैओटा कण्ठ समवेत स्वरमा खुले ।

‘ल, म भन्छु ।’ चोर औँलाले कान कोट्याउँदै केसी व्यथा पोख्न थाले । ‘राम्रो र निको भनेको सुन्न यो ज्यानले पनि पाएन, हेरी । मलाई क्रान्ति छाडेर भ्रान्तितिर बहकियो भने । मलाई सिद्धान्तका हिसाबले कत्ति न चोखो हुँ भन्थ्यो, चोखाको पनि देखियो भने । मलाई वचनको त्यागी, कर्मको ढोंगी भने । आ….भन्नेका मुख कसरी थुन्ने भनेर म खुरुखुरु आफ्नै सुरले लमक्-लमक् हिँडिरहेँ ।’

गच्छदार घुँडामा मुन्टो राखेर घुर्न थाले । टोपबहादुरले तीन इन्चीजति मुख बाएर हाई काडे । कमल थापा मुसुक्क हाँसे । रावलले मुख बंग्याए । सीपीले हत्केलामा नाक-मुख लुकाए । अनि सन्नाटा भङ्ग गर्दै कमलले अध्यक्षलाई प्रश्न गरे, ‘अध्यक्षज्यू, त्यतिका फत्तुर लाग्ने गरी आफ्नो सनातनी निष्ठा र अडानबाट चिप्लिएर किन भइयो त उपप्रधानमन्त्री ?’

‘भ्लादिमिर इल्लिच उल्ल्योनोभ लेनिन, हेरी ।’ केसीले लेग्रो ताने ।

‘हइट,’ चकित रावल कड्किए, ‘लेनिनको नाम यति लामो कहाँ छ ?’

‘यो देशमा त्यस्ता हरिपहरु पनि छन् जो लेनिनको नाउँ झुन्ड्याएर धन्दा चलाउँछन्, र ती अल्छेहरु लेनिनको पूरा नाउँ पनि जान्दैनन् । सुन्दैमा लाजमर्नु कुरा, हेरी !’

प्रहारको तोडले रावलका कुम घ्याच्च भासिए । र, सीपीलाई पुलुक्क हेर्दै सहारा माग्ने मनसुवाले उनले भने, ‘ए सीपीजी, लेनिनको नाम यति लामो छ र ?’

‘बिर्सेको थिएँ, अहिले झल्यास्स सम्झेँ ।’ गलित स्वरमा सीपीले स्वीकार गरे ।

‘हैन, कुरा सकिएनन् ?’ केसीका शब्दवाणले रन्थनिएका रावल हतारिए, ‘अब जान पाए हुन्थ्यो ।’

‘हेरी, वार्ता बल्ल आधा बाटाँ पुग्यो । गाँठ्ठी कुरा त अब पो आउँछन्, हेरी ।’

चील-चक्षुले एक टकले हेर्दै कमलले जिज्ञासा प्रकट गरे, ‘अध्यक्षज्यू, केरे त्यो ब्लादिमिर इल्चीको प्रसङ्ग……’

‘हो, भ्लादिमिर इल्लिच उल्ल्योनोभ लेनिन, हेरी । अब आउँछ खास्सा कुरो ।’ अध्यक्ष केसीले सगर्व भने । ‘महान् लेनिनको एउटा कार्यनीतिक सिद्धान्त छ- एक कदम आगे, दो कदम पिछे । मेरो सत्तारोहण यही अचूक सिद्धान्तबाट निर्देशित छ । कसरी ?’

‘कसरी अध्यक्षज्यू ?’

‘कसरी भने हेरी, देशको अखण्डता र सार्वभौमसत्ता लास्टै खतरामा पर्‍यो । खतरामा पार्ने तत्व परे बाहिरका मोदी र भित्रका मधेसी । हेर्नोसत फसाद, क्रान्ति गर्न देश नभई नहुने । त्यसैले गर्दाहुँदी क्रान्ति पछि गर्ने गरी अहिलेलाई आफ्नो निष्ठाबाट दुई कदम पछि हटेर देश बचाउन म उपप्रधानमन्त्री भा’ हुँ, हेरी ।’

‘कुरामा चैँ कम्निस्टसँग सकिँदैन ।’ निन्द्राबाट ब्युँझिँदै हार खाएको स्वरमा गच्छदारले भने ।

‘हो, सकिँदैन ।’ कमल थापाले भाका मिलाए । र भने, ‘अध्यक्षज्यू, वार्ता वायु वेगमा अघि बढाउँ । अब छोटोमा छिटो सिध्याऊँ ।’

‘हेरी,’ केसीले चल्ली मुसारे, ‘अबलाई लाभका कुरा गरुँ । उपप्रधानमन्त्री भ’र कसलाई के लाभ भो ? वार्ताको विषय अबलाई यो हो ।’

‘यसपाला अध्यक्षबाटै शुरु गरुँ न त, लाभ के भो ?’ बोले चतुरमति कमल थापा ।

‘लाभ एक होइन, लाख भो, हेरी । राष्ट्रवादी चेतनाको फोहराले हानेर मोदीलाई आच्छुआच्छु पारियो । ललिपप, आलटाल, जालझेल र ठोकठाक गरेर मधेसीलाई धूलो चटाइयो । र, बकाइदा जोगाइयो देशको अखण्डता, हेरी । लर्तरो लाभ हो यो, कमलजी ?’

‘लाभ ठूलो हो, अध्यक्षज्यू ।’ प्रसन्न मुद्रामा कमल थापा कहँदा भए । र, निज कमलैले फेरि सोधे, ‘यस्ता अनमोल लाभ अरु पनि होलान् कि, अध्यक्षज्यू ?’

‘छन् ।’

‘छन् भने चट, चट, चट छोटोमा भन्नुपर्‍यो, जान हतार भो ।’ यसरी बोले अधीर रावल र

‘संघीयतालाई खुइल्याइयो, हेरी । किस्ताबन्दी संघीयता भनेको के हो यहाँहरुलाई थाहै छ ।’

‘के हो ?’ प्रश्न टोपबहादुरको ।

‘म ठोकेर भन्छु, यो भनेको संघीयताको किस्ताबन्दी हत्या हो, हेरी ।’

‘कसरी ?’ खुल्दुली गच्छदारको ।

‘हेरी, सीमाङ्कनमा मारामार छ, यो पर्‍यो राजनीतिको उकुच पल्टिएको कहिल्यै निको नहुने घाउ । उता कथित प्रदेश राजधानीविहीन छ । यो हो अर्को कहिल्यै नफुक्ने गाँठो । अनि तिनकाउको के जाती त्यो नामाङ्कन छ । सकिएन अब ! संघीयता गयो गोलखाडी, हेरी ।’

‘हइट,’ रावलले टेबुल ठोके, ‘अध्यक्षज्यू, संघीयताको निषेधमा मेरो गम्भीर असहमति छ ।’

गच्छदार- ‘मेरो पनि ।’

टोपबहादुर- ‘मेरो पनि ।’

कमल र सीपी भित्रभित्र हाँस्दै र मुखामुख गर्दै मौन रहे । अध्यक्षको निषेधकारी ठहरमा तिनको मौन सम्मति भएको बुझियो ।

‘हेरी,’ केसीले रावललाई सोधे, ‘तपाईंहरुको असहमतिको मत के हो ?’

‘म भन्छु,’ रावलले प्वाक्क मत राखे, ‘आ-आफ्नो सुविधा हेरी संघीयताको परिभाषा गर्न पक्कै पाइन्छ । यो बुद्धि र बर्कत, चातुर्य र कौशलको कुरा हो । अखण्ड भन्नोस्, ठीक छ । उत्तरदक्षिण चिरा भन्नोस्, झन् ठीक छ । तर, संघीयताकै विरोध गर्न पाइँदैन, देशमा आगो बल्छ ।’

‘आ….नाकाबन्दीले थाकेर घुँडा टेकिसक्यो, बल्छ आगो ।’ केसी कटाक्ष ।

‘अध्यक्षजी, यो भर्‍याङ चढ्न भोलि फेरि चुनावमा जानु छ ।’ रावलका सत्तापारखी दृष्टि भविष्यउन्मुख भए । ‘चुनावमा ङिच्च  हाँस्दै हात पसारेर भोट माग्नु छ । संघीयतालाई डल्लै निषेध गरेर हाम्रो भोट माग्ने बाटै बन्द गर्ने ? हइट !’

‘हेर्नोस् अध्यक्षजी,’ अहिले भने गच्छदारको स्वर टाठो भयो, ‘सघीयता मेरो राजनीतिक मुद्दा हो । संघीयता गर्मीमा शीतल ताप्ने मेरो वटवृक्ष हो । सघीयता मेरो जीवनको डुङ्गा तर्ने सागर हो । अनि मेरो हलचल गर्ने बाटो, मेरो आशा राख्ने ठाउँ । हेर्नोस् अध्यक्षजी,’ गच्छदार बम्किए, ‘यसरी मेरो मुद्दा मार्न पाइँदैन । यस्तै हो भने म यो वार्ता बहिष्कार गर्छु ।’

टोपबहादुर-‘कुरो मेरो पनि छ, अध्यक्षज्यू । हाम्रो पार्टीले संघीयता छाडिहाल्न मिल्दैन । तसर्थ यहाँको उग्र रायमा मेरो पनि कठोर विरोध छ ।’

‘हेरी, गर विरोध, के नापिन्छ ?’

‘मर्यादापालकको आसनमा बस्ने, अनि जथाभावी बोलेर आफैँ मर्यादा तोड्ने ? हैट, देब्रे हातले घुमाएर….’ रावलले दाह्रा किटे ।

‘बोलिन्छ ।’ केसी राँक्किए । ‘कपाल हेरी छुरा, मान्छे हेरी कुरा, हेरी ।’

कमललाई लाग्यो, वार्तामा द्वन्द्व चर्किने भो । त्यसैले मिल्तीको दिशामा सहजीकरण गर्न उनी अघि सरे । र, स्वरमा नौनी घस्दै भने, ‘अध्यक्षध्यू, यो शालीन र गोप्य वार्ता हो । अहिले यहाँ जे भइरहेछ त्यो…..’

केसीले ओठ टोकेर गम खाए । र, आफू चुकेको महसुस गर्दै निहुरिएको स्वरमा भने, ‘कमलजीको कुरा सही हो । ल, हामी सबै सम्हालिऊँ ।’

‘वार्ता सकिएन, अध्यक्षज्यू ?’ टोपबहादुर फटफटाए ।

‘बाँकी छ, हेरी ।’

‘छ भने तुर्नपट्टि लागुन्त । छिटो । भोकले मरियो ।’

‘यो बुँदामा मेरो सानो कुरो बाँकी छ, हेरी । म त्यो भन्छु र नयाँ बुँदा खोल्छु । कसो ?’

ठीक । कमलले आँखाको भाखाले सहमति जनाए ।

‘हेरी, तपाईँहरु मसँग व्यर्थै रिसाउनु भो । छनलाई लाभको कुरो अर्को पनि छ । झन् झरिलो, झन् भरिलो ।’

‘के हो त्यो ?’ वार्तामा हराएका सीपी प्रकट भए ।

‘विखण्डनकारीलाई भिखारी बनाइयो, हेरी ।’

‘कसरी ?’

‘हेर्नोस् त, समानुपातिक भन्या छन्, हात पसार्‍या छन् । सीमाङ्कन भन्या छन्, हात पसार्‍या छन् । प्रदेशको राजधानी भन्या छन्, हात पसार्‍या छन्, हेरी । अनि दिने ठाउँमा को छ ?’ छाती ठोक्दै, हामी ! ती माग्ने, हामी दिने । माग्ने मूलाले मागेजति कहिल्यै पाउँछ ? त्यै त भन्या, गयो संघीयता !’

‘हैट, फेरि उही कुरो ! उही जोरीखोजाइ !’ रावल रनक्क ताते । ‘अहिले च्यापु ताकेर….’

रावलको रौद्र रुप र अग्निवाणीले अध्यक्ष केसीलाई सतर्क गरायो । र, केसीले शालीन मुद्रा र शान्त लबजमा भने, ‘अब भने, वार्ताको अन्तिम बुँदा ।

बुँदा के छ भने, हेरी- यहाँ हामी जो जो छौँ, कसको अन्तिम इच्छा को हो, ल भनूँ ?’

‘पहिले म भनूँ ?’ टोपबहादुरले हात उठाए ।

‘आज्ञा ।’

‘बाबुराम गुटबाट मन्त्री भएँ । प्रचण्ड गुटमा सरेर उपप्रधानमन्त्री भएँ । प्रधानमन्त्री बन्न अब म कता सरुँ ? म त्यसैत्यसै रनभुल्ल छु । चित्तमा अतृप्त तृष्णा लिएर मर्नु नपरे हुन्थ्यो भन्ने मेरो अन्तिम इच्छा छ ।’

‘हरे, इच्छा पनि !’ अध्यक्ष केसी फिस्स हाँसे ।

‘मेरा दुईओटा इच्छा छन् ।’ सीपीवाणी प्रस्फुटित भयो । ‘एक, शत्रुले पनि यो महिला, बालबालिका मन्त्रालयको मन्त्री हुनु नपरोस् । दुई, यो देशमा मेरा दुई प्रातःस्मरणीय आदर्श छन् । एकीकरण गरेर हामीलाई नेपाल दिने पृथ्वीनारायण र पाँच विकास क्षेत्रको राष्ट्रवाद दिने महेन्द्र । यी दुई महारथी अमर रहून् ।’

‘रावलजी ?’

‘मेरो इच्छाको होइन, इच्छाको कार्यान्वयनको कुरा छ, अध्यक्षज्यू ।’

‘त्या भनेको के हो नि, हेरी ?’

‘मेरो पार्टीको आकार छ, हैसियत छ, भविष्य छ, के छैन ? त्यसैले मेरो प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ । आ…..के को अमूर्त इच्छाका कुरा !’

‘कमलजी ?’

‘अध्यक्षज्यू, अघि लाभका कुरा गर्दा मेरो पालै आएन ।’ कमलले तालु मुसार्दै भने, ‘तसर्थ म यहाँ लाभ र इच्छाका कुरा गर्छु ।’

‘हस्, जाओस् ।’

‘अहा ! गाई राष्ट्रिय जनावर ! यो हो राप्रपा नेपालको शानदार लाभ ।’ कमल थापाको अनुहारमा हर्षोन्मादको सूर्य उदायो । ‘अहा ! धर्मनिरपेक्षता सनातन धर्म उर्फ हिन्दू धर्मको संरक्षण गर्ने बफादार सेवक । यो हो राप्रपा नेपालको गज्जपको अर्को लाभ ।’

‘अनि कमलजीको अन्तिम इच्छा ?’

‘अन्तिम इच्छा राजा फर्काउनु हो । फर्काएर देखाइन्छ ।’

कमलवाणिले वार्तामण्डली माझ उष्ण करेन्ट सञ्चार गरिदियो । जिल्ल पर्दै सबैले मुखामुख गरे । कसैको बक फुटेन । तैँ चुप् मै चुप् ।

‘विजयजीको पनि केही इच्छा होला कि ?’

‘छ,’ अनकनाउँदै गच्छदारले भने, ‘तर भन्न बडो गाह्रो छ ।’

‘त्यै गाह्रोलाई सजिलो पार्न त यो वार्ता गर्‍या हो, हेरी ।’

‘हेर्नोस् अध्यक्षजी, जहिले पनि तल आन्दोलन हुन्छ, माथि सरकारमा कोटा खुल्छ । आन्दोलनपट्टि लागूँ, कोटा छुट्छ, कोटापट्टि लागूँ, आन्दोलनले सराप्छ । मलाई क्या हत्ते ! तसर्थ, तसर्थ, तसर्थ….’

‘तसर्थ के त ?’

‘मेरो इच्छा के भने अध्यक्षज्यू, आन्दोलन होस्, तर मेरो कोटा बिगार्ने गरी चर्को आन्दोलन कहिल्यै नहोस् ।’

‘हैट, इच्छा पनि ताल तालका र बेतालका !’ रावल ।

‘अब भने मेरै पालो आयो, हेरी ।’ अध्यक्ष केसी समापन विद्वत् प्रवचन दिउँलाझैँ गरी आसनबाट उठे ।

‘तपाईँहर्को जस्तो मेरो इच्छा केही छैन,’ केसीले भने । ‘बरु यहाँहरु समक्ष अध्यक्षको हैसियतले मेरो सानो अनुरोध छ ।’

‘अनुरोध के होला, अध्यक्ष महोदय ?’

‘हेरी, म संघीयता भन्छु, तपाईँहरु एक स्वरले मुर्दावाद भन्नोस् । म शुरु गरुँ ?’

‘हैट् !’ टेबुलमा तीन थान मुक्का ठोकिए । मुक्कापट्टि थिए- गच्छदार, रावल र रायमाझी ।

‘अध्यक्षज्यू,’ आक्रोशित रावलले आक्रामक हुँदै सोधे, ‘तपाईँ मन्त्रिपरिषदको बैठकमा यस्तो नारा लाउन सक्नुहुन्छ ?’

‘सक्दिँन’ र त म यो गोप्य वार्तामा सक्न आ’को ।’

‘हैट ।’ टेबुलमा मुक्का वषिर्ए । हावामा कुर्सी उठ्यो । वातावरणमा तनाव छायो । र, केही न केही अनिष्ट नभई नछाड्ने भयो ।

‘शान्ति, शान्ति !’ कमल र सीपीले पुकारा गरे, ‘शान्ति, शान्ति !’

अध्यक्ष केसी टाउको जोगाउन निधारमाथि दुई हातको रक्षाकवच बनाएर सुस्तरी काम्दै उभिइरहे । यत्तिकैमा धरतीमा पुछ्रे कम्पनले झट्का दियो । र, ६ थान भयातुर उपप्रधानमन्त्रीहरु एकअर्कालाई समातेर कोलाहल मच्चाउँदै वार्तास्थलबाट कुलेलाम ठोके ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment