Wednesday, February 17, 2016

कसरी अघि बढ्ला कांग्रेसभित्र कोइरालाको बंश-सत्ता ?

विन्दुकान्त घिमिरे/टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसको १२ औं महाधिबेशनको मिति नजिकिँदै गर्दा सभापति पदका दावेदार कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा कोइराला परिवारको साथ लिन घनिभूत रुपमा जुटेका छन् ।

जिल्ला तथा क्षेत्रीय अविधेशनको हालसम्म प्रप्त परिणाम हेर्दा पौडेल र देउवामध्ये जसले कोइराला परिवारको साथ सहयोग प्राप्त गर्छन्, उसैको पल्ला भारी हुने आँकलन गरिएको छ ।

पार्टी सभापति पदमा यसपटक कोइराला परिवारका तर्फबाट सभापति पदमा उमेदवारी पर्ने सम्भावना करिब-करिब छैन । पार्टीको ७२ वर्षको इतिहासमा पाँच वर्ष कृष्णप्रसाद भट्टराई र २ वर्ष सूवर्णशमशेर राणा सभापति भएको अवस्थामा बाहेक कोइराला परिवारका नेताहरुले नै नेपाली कांग्रेसको नेतृत्व गर्दै आएका छन् । तर, उनीहरुले पारिवारिक विरासतका आधारमा भन्दा पनि सबैभन्दा वरिष्ठताका आधारमा चुनाव जितेरै पार्टीको नेतृत्व लिएका छन् ।

वीपी कोइराला र मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसका जन्मदातामध्येकै हुन् । गिरिजाप्रसाद कोइराला १७ वर्ष महामन्त्री र ३ वर्ष प्रधानमन्त्री भए पछि मात्रै सभापति पदमा चुनाव लडेका हुन् । उनी सभापति पदमा चुनाव लड्दा कृष्णप्रसाद भट्टराई बाहेक नेपाली कांग्रेसभित्र सिनियर नेता अरु थिएनन् ।

त्यसैगरी गत १२ औं महाधिवेशनमा चुनाव लड्दा सुशील कोइराला कांग्रेसभित्रका सबै भन्दा सिनियर नेता थिए । २२ वर्ष केन्द्रीय सदस्य र त्यसपछि महामन्त्री उपसभापति र कार्यवाहक सभापति भइसकेका थिए । पारिवारिक विरासत नै भए पनि यस अघि कोइराला परिवारका नेताको पार्टी सभापति पदमा उमेदवारी स्वभाविक नै थियो ।

sujata shasank shekhar

तर, यसपटक कोइराला परिवारबाट सभापतिपदमा चुनाव लड्नका लागि सिनियर नेताहरु छैनन् । पौडेल र देउवाको तुलनामा कोइराला परिवारका अहिलेका तीन नेता (सुजाता, शेखर र शशांक) निकै जुनियर हुन् । उनीहरु पार्टीभित्र केन्द्रीय सदस्यभन्दा माथि जान सकेका छैनन् । केन्द्रीय सदस्य बनेको पनि डेढ वर्ष नाघेको छैन ।

जबकि रामचन्द्र पौडेल ०४५ सालदेखि निरन्तर केन्द्रीय सदस्य छन् । पार्टीको महामन्त्री , उपसभापति र कार्यबहाक सभापतिका रुपमा काम गरेको अनुभव उनीसँग छ । कांग्रेसको केन्द्रीय समितिमा आउनुअघि पौडेलले नेविसंघमा योगदान पुर्‍याएको इतिहास छ ।

यसैगरी ०४८ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदै आएका देउवासँग महामन्त्री तथा उपसभापति पदमा बसेर काम गरेको अनुभव छैन, तर पनि ३-३ पटक प्रधानमन्त्री भएर पार्टीभित्र सबैभन्दा ठूलो उचाइ हासिल गरेका नेता हुन् उनी ।

पहिलो कुरा त पार्टीभित्रका सबैभन्दा सिनियर नेताहरु पौडेल र देउवा विरुद्ध मैदानमा उत्रन कोइराला परिवारका नेताहरुलाई सहज छैन । दोस्रो कुरा, यतिबेला कोइराला परिवारका सदस्य चुनाव लडेको अवस्थामा देउवाले सभापति पदमा बाजी मार्ने निश्चितजस्तै छ ।

त्यसैले सभापति पद पौडेल या देउवामध्ये एकलाई छाडिदिएर पार्टीभित्रका अन्य महत्वपूर्ण पदसहित बहुमत केन्द्रीय समिति आफ्नो हातमा पार्ने र १४ औं महाधिवेशनका क्रममा नेतृत्व लिने रणनीतिमा कोइराला परिवार देखिन्छ ।

कोइराला परिवारका लागि देउवालाई सभापति वनाउँदा फाइदा होला कि ? पौडेललाई बनाउँदा फाइदा होला ? यसबारे लेखाजोखा सुरु भएको छ । पार्टी सभापति निर्वाचित हुने शर्तमा कोइराला परिवारसँग जस्तोसुकै सम्झौता गर्न पनि देउवा र पौडेल तयार छन् ।

देउवालाई बनाउँदा हुने फाइदा

विन्दुकान्त घिमिरे

विन्दुकान्त घिमिरे

महाधिवेशन प्रतिनिधिहरुको अंकगणित हेर्दा देउवा ५० प्रतिशतको नजिक- नजिक पुगेका छन् । संसदीय दलमा पनि उनी बहुमतको नजिक छन् । मुलुकका सबै वडा तहसम्म देउवाको आफ्नै संगठन छ । त्यसैले देउवालाई सभापति पदमा निर्वाचित गराउँदा कोइराला परिवारका नेताका लागि उपसभापति, महामन्त्री र संसदीय दलको नेता पद ग्यारेन्टी छ ।

तर, सभापति पदमा पौडेललाई समर्थन गर्दा कोइराला परिवारका नेताहरुले उपसभापति, महामन्त्री र संसदीयदलको नेता पद प्राप्त गर्ने ग्यारेन्टी छैन । किनकि पौडेलसँग आफ्नै संगठन छैन । देउवा ५० प्रतिसतको नजिकै पुगेका कारण पौडेलले चुनाव जित्ने सुनिश्चत छैन ।

देउवालाई समर्थन गर्दा पार्टी तथा सरकारका महत्वपूर्ण पद प्राप्त हुने सुनिश्चित अवस्थालाई छाडेर कोइराला परिवारका नेताहरु पौडेललाई समर्थन गर्ने अनिश्चित बाटोतिर लाग्लान र ? भन्ने प्रश्न कांग्रेस वृत्तमा उठ्नु स्वभाविकै हो । यसको उत्तर खोज्न नेपाली कांग्रेसको सामान्य इतिहासबारे जान्नैपर्छ ।

पार्टी एउटै भए पनि नेपाली कांग्रेसको स्थापनाकालदेखि नै -कोइराला परिवार र राणा परिवार)दुई वटा पार्टी सत्ता रहँदै आएको छ । सुरुको ३० वर्ष कोइराला परिवारको एउटा सत्ता र सुवर्णसमशेर राणाको अर्को सत्ताका रुपमा नेपाली कांग्रेस अघि बढ्यो ।

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुलाई हातमा लिएर वीपी कोइरालाले सुवर्णसमशेरको सत्ता तोडिदिए । कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह सर्वमान्य नेता हुँदा हुँदै पनि ०४८ सालसम्म नेपाली कांग्रेसभित्र कोइराला परिवारको एकल सत्ता चल्दै आयो । सिंह र भट्टराई सहयोगीजस्ता भए ।

झापाको कलवलगुढीमा २०४८ सालमा सम्पन्न अधिवेशनपछि भट्टराई निर्वाचित सभापति भए । उनलाई निर्विरोध सभापति बनाउन गणेशमान सिंहको ठूलो योगदान थियो । यो अधिवेशनपछि कोइराला परिवारको एकल वंशसत्ता तोड्न गणेशमान सिंह अघि सरे । कांग्रेसभित्र ठूलै शक्ति संघर्ष भयो । यो शक्ति संघर्षमा कोइराला परिवारले जित्यो । गणेशमान र कृष्णप्रसाद भट्टराईले हारे । पार्टीका धेरै जसो युवा नेताहरुले कोइराला परिवारलाई साथ दिए ।

कोइराला परिवारबाट थप धोका पाएपछि २०५६ सालमा कृष्णप्रसाद भट्टराईले शेरबहादुर देउवालाई अघि सारी कोइराला परिवारको बंशसत्ता विरुद्ध धावा बोले । देउवा कुशल संगठक मात्रै होइन, सुवर्णशमशेरको समेत विरासत प्राप्त नेता भएका कारण उनले कोइराला परिवारको वंश सत्तालाई सजिलै चुनौती दिए । कोइराला परिवारका लागि देउवा खतरा सावित भए ।

नेपाली कांग्रेसको सत्तालाई कोइराला परिवारको हातवाट फुत्काएर आफ्नो हातमा लिने मामिलामा देउवा सफल हुँदै गए पछि उनलाई कोइराला परिवारले पार्टीबाटै निकालिदियो । देउवाले छुट्टै पार्टी गठन गरे ।

देउवाको पार्टीलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिका विरासतहरुले समेत साथ दिए । नेपाली कांग्रेस फुट्यो । फुटेको पार्टी कमजोर हुनु स्वभाविकै हो । त्यसैले पार्टी सत्ताको ४० प्रतिशत हिस्सा देउवालाई दिएर कोइरालाले कांग्रेसको एकीकरण गरे । त्यो ४० प्रतिशत सत्ता देउवाले अहिले पनि उपयोग गरिहेका छन् । ६० प्रतिशत सत्ता कोइराला परिवारले उपयोग गरिरहेको छ । कांग्रेसभित्र अरु सत्ता छैनन् ।

कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा पनि यिनै दुई सत्ताबीचको टकराव हुने निश्चित छ । व्यक्तिगत संगठन नभएका र पारिवारिक वंश सत्ताको सम्भावना नभएका पौडेललाई आशन्न अधिवेशनमा जिताउन सके यो पाँच वर्ष आफ्नो अनुकूल पार्टी चलाउने र १४ औं महाधिवेशनका क्रममा नेतृत्वका लागि आफ्नै परिवारलाई तयार गर्ने रणनीतिमा कोइराला परिवार हुनु स्वभाविकै हो ।

देउवालाई साथ दिँदा १३ औं महाधिवेशनमा सभापति बाहेकका रोजेका महत्वपूर्ण पदहरु प्राप्त हुने निश्चित भए पनि १४ औं महाधिवेशन र त्यसपछि कोइराला परिवारमा पार्टीको नेतृत्व र्फकने सम्भावना अत्यन्त न्यून छ । यसपटक सभापति पदमा चुनाव जितेर पाँच वर्ष पार्टी चलाउने अवसर पाए भने देउवाले फेरि अर्को पाँच वर्षका लागि सजिलै सभापतिमा चुनाव जित्नेछन् भन्ने कुरा कोइराला परिवारले बुझेको छ ।

अबको दुई कार्यकाल देउवा सभापति बनेको अवस्थामा कोइराला परिवारका अहिलेका नेताहरु त्यतिञ्जेल बूढा भइसकेका हुन्छन् । अर्को तर्फ देउवाकी पत्नी आरजू राणा नेपाली कांग्रेसको सभापति बन्नका लागि योग्य भइसकेकी हुन्छिन् । आरजूपछि जयवीर योग्य होलान् ।कोइराला परिवारले पार्टीभित्र बंशसत्ता चलाउन हुने, तर देउवा परिवारले नहुने भन्ने छैन । यसको संकेत देउवा परिवारले गरिसकेको छ । आरजू राणा यतिबेला दोस्रो कार्यकालका लागि सांसद छिन् भन्ने कुरा कोइराला परिवारका सबैलाई थाहा छ ।

हाम्रो मुलुकमा सत्ता भनेको के हो र सत्ताका लागि कसरी चलखेल गर्नु पर्छ ? भन्ने कुरा बुझेको बर्ग भनेको कि त कोइराला परिवार हो, कि त राणा परिवार । २००७ सालमा आफ्नो पारिवारिक विरासत अन्त्य भएपछि राणाहरुले राजा महेन्द्रको कोटरीभित्र छिरेर अप्रत्यक्ष रुपमा फेरि सत्ताको प्रयोग गरेका थिए । अब मुलुकमा राजसंस्था छैन । त्यसैले परम्परागत सत्ता केन्द्रहरुले अबका दिनमा शक्तिको प्रयोग गर्ने भनेको राजनीतिक दलहरुभित्र आफ्नो पहुँच बढाएर नै हो ।

एक हिसावले नेपाली कांग्रेसको आसन्न महाधिबेशनको टकराव भनेकै कोइराला परिवार र राणा परिवारवीचको टक्कर हो । शक्ति संघर्ष हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment