Friday, March 25, 2016

सुविधासम्पन्न यातायातमा यात्रा

– लक्ष्मण गाम्नागे

भर्खरै खुर्कोट–सिन्धुलीको बाटो हुँदै झापा पुगेर फर्किएको थिएँ । सडक साँच्चै आधुनिक र भव्य छ त्यो । घुम्तीमा आउँदै गरेका गाडी देखियून् भनेर सडकको केही खण्डमा ऐनाहरू समेत जडान गरिएका थिए त्यहाँ पहिला, सायद परीक्षणका लागि होला । जाँदा एक–दुई ठाउँमा बाँकी देखिएका ऐना फर्किंदा ढुट्टिइसकेका रहेछन् । हामी वीर नेपाली जाति ऐनाजस्ता कुनै उज्याला, राम्रा, नयाँ र टल्किने वस्तु देख्नै सक्दैनौँ, फुटाइहाल्छौँ । हामीलाई परीक्षण गरिराख्नै पर्दैन, हाम्रो निशाना अचूक छ ।

काठमाडौँ फर्केकै दिन राजधानीमा अत्याधुनिक सुविधासम्पन्न बस चल्न थालेको समाचार पढेर गद्गद भएँ । त्यो बस हेरिहाल्न, चढिहाल्न इच्छा भयो । पछि भनेको के हो के हो ! बस कति दिनसम्म चल्ने हो ! दुई–चार दिनपछि जाँदा सिट सद्दे रहने हुन् कि होइनन् ! अहिले पो दिनैपिच्छे नुहाइधुवाइ गरिदिने अरे त, केही दिनपछि धूलोले गाडीको रंग पनि नछुट्टिएला । यो राम्ररी चल्न थाल्यो भने ट्याक्सी, माइक्रो र अरू कम्पनीका गाडीहरूले बाटो छेकेर गुड्नै बन्द गराउलान् । ढुंगा हान्न त थाली नै सके, कुन दिनदेखि आगो लगाउन थाल्लान् । त्यसैले बस चल्न थालेको दोस्रो दिन नै म लागेँ चक्रपथतिर बस हेर्न ।

सञ्चारमाध्यममा चिटिक्कका राता राम्रा गाडी देखेको थिएँ । विशेष पोसाक लगाएका चालकहरू । मीठो बोली र मुस्कानसहित ढोकामा स्वागत गर्न बसेका परिचारिकाहरू । गाडीभित्र सजिलै सास फेर्न सकिने खुकुलोपन । भिडिओ स्क्रिनबाट आइरहेको मधुरो गीत । पुगिएको ठाउँ र अब पुगिने स्टेसनको नाम डिजिटल डिस्प्लेमा । यति भएपछि कुनै यात्रुले ‘ओए ! रोक् भनेको सुनिनस् ?’ भनेर हपार्नु पनि नपर्ने, सहचालकले ‘अघि बोलाएको बेला कानमा ठेटी खाँदेको थियो ?’ भनेर यात्रुलाई झपार्नु पनि नपर्ने ।

त्यस्तो बसमा चढ्ने आत्तुरीका साथ पर्खंदै गर्दा ‘महानगर यातायात’ लेखेको बस आयो । गाडी ठम्याउन खोज्दै थिएँ, झ्यालबाट मुन्टो निकालेर एक जना भाइ करायो, ‘नयाँ बस ! नयाँ बस ! गौशाला, चाबहिल महाराजगन्ज, चक्रपथ !’ बस नयाँ तर पुरानै कर्कश आवाज । पारा पुरानै । मन खिस्रिक्क भयो । गाडीमा चढौँ कि नचढौँ जस्तो गर्दै थिएँ, भाइ करायो, “जाने होइन दाइ ?” मैले भनेँ, “हो ।” उसले पुरानै भाकामा भन्यो, “के हेरेर बसेको त, चढ्नु न छिटो ।” म ढोकाछेउको अटेसमटेस भीडमा मिसिएँ । भाइले भन्यो, “भित्र जानू न, ढोकैमा भीड गर्नुपर्छ ?”

त्यो भाइ पक्कै पनि नयाँ परिचारिकाहरूलाई तालिम दिन खटाइएको कर्मचारी हुनुपर्छ । ऊ यात्रुलाई खाँद्ने, हप्काउने, तान्ने, घचेट्ने आदि तरिकाहरू सिकाइरहेको थियो । एयरपोर्टबाट चढेको म गौशालामा झरेँ । भाडा १३ रुपियाँ रहेछ, परिचारिकाले मसँग १५ रुपियाँ लिइन् । मैले भनेँ, “खोइ दुई रुपियाँ ?” उनी ‘खुद्रै भएन दाइ’ भन्दै झोला खोतल्न थालिन् । प्रशिक्षक कराए, “ढिलो भइसक्यो, दुई रुपियाँका लागि के किचकिच गरिराख्या, ल लिनूस् ।” उनले दुइटा सिक्का मतिर फाले । एउटा सिक्का हातमा पर्‍यो, अर्को गुडेर हरायो । परिचारिकाहरूको नमस्ते खाइएला भनेको झन्डै परिचारकहरूको कुटाइ खाइयो । जाबो १३ रुपियाँको यात्रामा त्यसभन्दा बढी अत्याधुनिकता र सुविधासम्पन्नता के पाइयोस् त भनेर चित्त बुझाउँदै घर फर्किएँ ।

साभारः इ-कान्तिपुर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment