खगेन्द्र संग्रौला, लेखक
पुस्तक कि आफ्नो बेहोसीले गर्दा हराउँछ कि कसैले चोरेर हराउँछ । तपाईंको स्तम्भको शीर्षक पुस्तक हराएको होइन, पुस्तक चोरिएको सूचना हुनु बेस हो । किनभने, पुस्तक हराएको सूचनाले हराउनेका चित्तमा कताकता आश जगाउँछ, सँगसँगै त्रास पैदा गर्छ । आश, हराएको पुस्तकको चोर प्रहरीले वा अख्तियारले पत्तालगाइदेला कि भन्ने हो । र, त्रासचाहिँ पुस्तक चोर्ने आफू प्रहरी वा अख्तियारका हातबाट पक्राउ परिएला कि भन्ने हो ।
पुस्तक चोरिएको वा चोरेको विषयमा मसँग उति धेरै संस्मरण छैनन् । थिए हुनन्, ती बिर्सिइए । सम्झेका केही भन्छु । पहिले नोटबुक चोरीको कथा भनिहालौँ । दश क्लासको विद्यार्थी छँदाको कुरा हो । सेन्टअप टेस्ट पास गरेपछि रहलपहल विषय पढाउन विद्यालयमा पूरक कक्षा चलेका थिए । पढाइमा म राम्रो मानिन्थें । एक दिन हाफ छुट्टीको बेला मेरो नोटबुक हरायो । बाक्लो गाता भएको ढ्याके नोट बुक थियो । त्यसमा अंग्रेजी र नेपालीका गद्यपद्यका सारांश, व्याख्या, निबन्ध आदि सारा कुराका नोट थिए । वास्तवमा त्यो नोट बुक दश वर्षको पढाइबाट कमाएको मेरो सिरिखुरी सम्पत्ति थियो, त्यो हरायो । त्यो मेरा आँखा अगाडिको उज्यालोको रेखी थियो । त्यसले मलाई डोर्याएर कतै पुर्याउँछ भन्नेमा म ढुक्क थिएँ । त्यो हरायो र मेरा आँखा अगाडिको प्रकाश गायब भयो । त्यो हरायो र मेरो संसार अँध्यारो भयो ।
एसएलसी मुखमुख आइरहेको थियो । आइरन गेट भनेर विद्यार्थीलाई अत्त्याइने एसएलसीमय दानवको औतारमा मेरो चिन्तित चित्तमा ताण्डवनृत्य गर्न थाल्यो । म होस गुम भएजस्तो भएँ । सरले कसमाथि शंका छ भनेर सोधे । आफूले देखेको छैन, देख्ने कोही छैन । कसमाथि शंका छ भनुँ ? सरले सबै विद्यार्थीका झोला खोतलखातल गरे । चोरले किन झोलामा राख्थ्यो, लुकायो होला कतै झाडीमा । म रुन थालें । झन्डै हप्ता दिनसम्म सुद्धिबुद्धि हराएझैँ शून्यमा हेरेर म टोलाइरहेँ । यो भयो चोरी नम्बर एक ।
चोरी नम्बर दुई । त्रिचन्द्र कलेजमा बीए पढ्दै थिएँ । आईएमा सबैभन्दा बढी अंक ल्याएबापत महेन्द्ररत्न छात्रवृत्ति पाएको थिएँ । मासिक रकम थियो एक सय ९५ रुपैयाँ । त्यत्तिले महिनाभरिका यावत् खर्च धान्न गाह्रोगाह्रै हुन्थ्यो । पुस्तक पढ्न रहर लाग्ने, किन्न पैसा नहुने । अमेरिकन लाइब्रेरी र बि्रटिस काउन्सिल पुस्तकका लागि मेरा शरणस्थल थिए । मेम्बरसिपको दस्तुर बुझायो, रोज्जा पुस्तक ल्यायो, स्वादले पढ्यो । निर्वाह राम्रै चलेको थियो । एक दिन अमेरिकन लाइब्रेरीबाट रबिन्सन क्रुसो भन्ने पुस्तक ल्याएँ । मेरो डेराको छिमेकमा एकजना मित्र बस्थे । घर पश्चिमतिर कतै थियो, त्रिचन्द्रमा अर्थशास्त्र पढ्थे । साहित्यमा रुचि राख्थे । उनको त्यो रुचि उनको र मेरो मित्रताको दरिलो सूत्र थियो । डेरामारबिन्सन क्रुसो पढ्दै थिएँ, मित्र आए । पुस्तकको कथा बडो रोचक र रोमाञ्चक थियो, मैले उनलाई सुनाएँ । म तल छिँडीमा चर्पीमा तिरो बुझाउन झरेँ, पुस्तक बोकेर उनी टाप कसेछन् । एक मन त पढ्न लगेका हुन्, फर्काउलान् भन्ने लाग्यो । फेरि कसोकसो डर लाग्यो । पुस्तक आफ्नो होइन, हरायो भने बर्बाद हुन्छ ।
मित्रको डेरामा गएर सोधेँ । पुस्तक मैले ल्याएको छैन भने । म खङ्ग्रङ्गै भएँ । हैट्, यो त हाक्काहाक्की चोरी भयो । तर के लाग्छ, आफूले देखेको छैन, देख्ने कोही छैन । चोर नाथे चोरेको हुँ भन्दैन । मेरो सातो गयो । अब अमेरिकन लाइब्रेरीमा मुख देखाउन नमिल्ने भो । डेराको थातथलो र घर नम्बर बुझाएको छु । पक्राउ गर्न डेरामै आउन बेर छैन । मेरा नौ नाडी गले । आफ्नो चोरिएको भए केही थिएन, माल पर्यो अर्काको । परेन कि बित्यास Û त्यसपछि अमेरिकन लाइब्रेरी जान मलाई आँट आएन । धेरैपछि जाँदा लाइब्रेरीका कर्मचारीले चिन्लान् कि, झ्याप्पै पक्राउ परिएला कि भन्ने त्रासले मलाई गाँजिरह्यो । यो भयो चोरी नम्बर दुई ।
चोरी नम्बर तीनमा प्रकृतिको हात छ । लमजुङ, खुदीमा हाईस्कुलको हेडमास्टर थिएँ । मेरै नामका खगेन्द्रजंग गुरुङ स्कुलका अध्यक्ष थिए । ती विचित्रका मानिस थिए । ती पहिले राजाका राज्यमन्त्री भएका थिए । र, त्यो बेला राजसभाका सदस्य थिए । यो भयो उनका व्यक्तित्वको एउटा पाटो । व्यक्तित्वको अर्को पाटोमा उनी जण्डमति लाल क्रान्तिकारी थिए । कांग्रेस र पञ्चलाई फुटेका आँखाले देखिनसहने । तीसँग रिस उठ्यो कि मुखभन्दा पहिले उनको हात चल्ने । मित्र खगेन्द्रजंग बडो पुस्तकप्रेमी थिए । उनको विशाल पुस्तकालय थियो । पुस्तकालयमा हिन्दीमा माक्र्सवादी र कम्निस्ट पुस्तक थुप्रा थिए । उनकहाँ घरीघरी जाँदा म सधैँ एउटा पुस्तक लिन्थें । एक दिन राहुल सांस्कृत्यायनको ‘दर्शन-दिग्दर्शन’ बोकें । साउन महिना, बाटामा पर्ने खोलामा बाढी आएको थियो । बाढीमा म ढलपल हुँदा पुस्तक खोलाले बगायो । उता मित्र खगेन्द्रको स्वभाव छ त्यस्तो, यता खोलामा पुस्तक अलप भयो । परेन कि बित्यास ! पुस्तक चोर्ने प्रकृति, आपत पर्यो मलाई । अब मैले कुन मुखले भन्ने ? बातभन्दा पहिले ममाथि मित्रका हात चले भने… ।
एकाध हप्तापछि मित्र खगेन्द्रजंग शान्त मनोदशामा भएको मौका छोपेर प्रकृतिले गरेको चोरीबारे मैले सविनय बेलिबिस्तार लगाएँ । फिस्स हाँसेर मलाई माफी दिँदै करुणामयी मित्रले भने, ‘बग्यो त बग्यो, किन गाह्रो मान्नुपर्यो ? काठमाडौं जाँदा किनम्ला । धन्य मित्रवर, म बचें ।
अब म आफूतिर फर्किन्छु । नढाँटी भनुँ भने म पनि पुस्तक चोर हुँ । तर मेरो चोरी रहरको होइन, बाध्यताको नतिजा हो । अघि नै भनें, मलाई पढ्न खुब मन लाग्ने, पुस्तक किन्न पैसा कहिल्यै नहुने । अमेरिकन र बि्रटिस लाइब्रेरीमा सुरक्षा कडा थियो । भित्र पस्दा झोला खोतलखातल, बाहिर निस्कँदा झोला खोतलखातल । तैपनि साथीभाइ मिलेर, व्यूह रचना गरेर, लाइब्रेरीमा भीडम भीड भएको मौका पारेर एकाध पुस्तक चोरेरै छाडियो । मेरो चोरीको प्राथमिकतामा तोल्सतोय, डिकेन्स, हेमिङ वे आदिका पुस्तक पर्थे ।
केन्द्रीय पुस्तकालय कीर्तिपुरमा पुस्तक चोर्न कताकता सजिलो । विश्वविद्यालमा मेरा जति पढन्ते साथी थिए, ती सबैजसो चोर थिए । तिनको मार्गदर्शन र हौसला पाएर मैले निकैवटा पुस्तक चोरें । त्यो चोरी मलाई कुनै कसुरजस्तो लाग्दैनथ्यो । देश मेरो, पुस्तकालय मेरो देशको, म स्वदेशी चोर । घिउ कहाँ पोखियो, दालैमा भनेजस्तो लाग्थ्यो । तर अहिले विचार गर्दा व्यक्तिका पुस्तक चोर्नुभन्दा लाइब्रेरीका पुस्तक चोर्नु ठूलो कसुर हो भन्ने लाग्छ । व्यक्तिका पुस्तक उसका कोठामै कैद भएर थोत्रिने हुन् । तर लाइब्रेरीका पुस्तक प्रयोगका दृष्टिले सार्वजनिक सम्पत्ति हुन् । ती पुस्तक आलोपालो गरी सयौँले पढ्छन् । त्यसैले ती पुस्तक चोर्नु भनेको सयौंलाई घाटा पार्नु हो । पैसाका दुःखले चोरियो र घाटा पारियो । जिन्दगी यस्तै हो मान्यवर, मजबुरीका नाम महात्मा गान्धी ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment