१२ चैत, काठमाडौं । कांग्रेस महामन्त्रीमा पराजित गगन थापा र केन्द्रीय सदस्यमा विजयी प्रदीप पौडेल पुराना ‘दोस्त’ हुन् । यद्यपि १३ औं महाधिवेशनमा उनीहरु अलग-अलग प्यानलबाट चुनाव लडे ।
फरक गुटमा सामेल भएको विषयलाई लिएर गगन र प्रदीपवीच लामो व्यक्तिगत सम्बन्धमा दरार आएको अनुमान बाहिर गरिएको छ । यसै सन्दर्भमा प्रदीपलाई हामीले सोध्यौं, के तपाईंहरुको सहयात्रा टुटेकै हो त ? प्रदीपले गगनसँग आफ्नो पुरानो सम्वन्ध र यसका उतार- चढाव व्याख्या गर्दै यसरी आफ्नो धारणा राखेः
गगन र म लामो समयदेखि एउटै डुंगामा सवार सहयात्री हौं । सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा गगन मभन्दा एक ब्याच जुनियर थिए । उमेरले पनि मभन्दा झण्डै एक वर्ष कान्छा हुन् ।
गगनका दाइ पवन थापा र म सहपाठी थियौं । हामी निकै मिल्थ्यौं । एकअर्काको घरमा आउजाउ पनि थियो । त्यसैक्रममा गगनसँग पनि मेरो निकटता भयो । यद्यपि, उनीसँग मेरो सहयात्रा भने सडकबाट सुरु भएको हो ।
हामी दुवैको पारिवारिक माहोल कांग्रेसमय थियो । त्यसैले दुवैजना कम उमेरमै कांग्रेस राजनीतिमा लाग्यौं । सिद्धार्थ वनस्थली स्कुलमा १० कक्षामा पढ्दा म नेविसंघ इकाइ अध्यक्ष थिएँ । ०४६ सालको आन्दोलनमा वनस्थलीका विद्यार्थीहरुलाई मैले नै अगुवाइ गरेर सडकमा उतारेको हुँ । आन्दोलनको अग्रपङ्तिमा गगन पनि हुन्थे ।
साथीको भाइ भएकाले पहिले म गगनलाई भाइकै रुपमा हेर्ने गर्थे । तर, राजनीतिक आन्दोलनमा सँगै भएपछि हाम्रो सम्वन्ध मित्रतामा बदलियो । पवनभन्दा गगनसँग मेरो मित्रता फराकिलो हुँदै गयो । प्रजातन्त्र आइसकेपछि नेविसंघका हरेक गतिविधिमा हामी संलग्न हुन्थ्यौं ।
हामी दुवै पढाइमा पनि अब्बल थियौं । स्कुलले ‘बेस्ट अफ फाइभ’ भनेर हरेक कक्षाका ५ विद्यार्थीहरु छनोट गर्दा गगन र म दुवै परेका थियौं । म गाउँको स्कुल पढेर आठ कक्षामा वनस्थली भर्ना भएको हुँ । सरकारी स्कुलको पृष्ठभूमि भएकाले मेरो अंग्रेजी कमजोर थियो । अन्यथा म आफ्नो कक्षाको जेहेन्दार विद्यार्थीहरुभित्रै गनिन्थेँ । गगनको चाहिँ अंग्रेजी पनि छुरा थियो ।
गगन खासमा पहिलेदेखि नै ‘फरवार्ड’ थिए । राजनीति मात्र होइन, खेलकुद, मनोरञ्जनलगायतका क्षेत्रमा पनि उनको लगाव थियो । गगनकै संगतले गर्दा पनि म राजनीतिक बाहेकका विषयहरुमा रुची राख्न थालेँ । उनले नै मलाई सिनेमा हेर्न बानी पारेका हुन् । अहिले पनि हामी बाक्लै सिनेमा हेर्छौंं ।
सिनेमा हेरेर फर्किँदा गगनले र मैले सम्झिने विषयवस्तु फरक हुन्छन् । उनलाई एउटा कुराले छुन्थ्यो भने मलाई अर्कै कुराले । यसबाट हाम्रो स्वभावगतः भिन्नता प्रकट हुन्छ ।
खेलकुद सम्वन्धी कार्यक्रममा पनि उनकै लहैलहैमा सहभागी हुन्थेँ । फुटबल, क्रिकेट, बास्केटबल, भलिबल सबै खेलमा उनको रुची छ । म पनि थोरबहुत खेलकुदप्रेमी भएर निस्केको छु ।
म अलि बढी अन्तरमुखी छु । चाँडै कसैसँग खुलिहाल्दिँन । उनी भने जहाँ पनि तुरुन्तै हावी भइहाल्छन् । मभन्दा बढी आत्मविश्वास उनको छ । उनको सफलताको मुख्य आधार पनि यही आत्मविश्वास नै हो ।
अस्कल र त्रिचन्द्रमा सहकार्य
म ७६ प्रतिशत अंक ल्याएर एसएलसीमा पास भएँ । त्यसपछि साइन्स पढ्न अमृत साइन्स क्याम्पसमा भर्ना भएँ । तर पढाइ कम, राजनीति बेसी गरियो । अर्को वर्ष गगन पनि एसएलसी पास भएर अस्कलमै आए ।
गगन भर्ना भएकै वर्ष स्ववियू चुनाव भयो । म सहसचिवको उम्मेदवार बनेको थिएँ । क्याम्पसमा परम्परादेखि नै अखिलको जगजगी थियो । मैले हारेँ । यद्यपि, आफ्नो संगठनबाट सबैभन्दा बढी भोट ल्याउन सफल भएँ ।
०५१ सालमा अर्को स्ववियू चुनाव भयो । त्यतिबेला भने गगन आइएस्सी सिध्याएर त्रिचन्द्र क्याम्पसमा बिएस्सी भर्ना भएका थिए । त्रिचन्द्र नेविसंघको पकड भएको क्याम्पस भएकाले पदाधिकारीमा एकैचोटि उम्मेदवारी पाउन कठीन थियो । उनी त्रिचन्द्रबाट सदस्यको उम्मेदवार बने । म त्यो चुनावमा लडिनँ ।
पछि ०५३ सालको चुनावमा म अस्कलको सभापति लडेँ भने गगन त्रिचन्द्रको सचिवमा । अस्कल र त्रिचन्द्रका विद्यार्थीबीच निकै सहकार्य हुन्थ्यो । चुनावमा मैले उनलाई र उनले मलाई जिताउन सक्दो सहयोग गर्यौं । दुवैले जित्यौं पनि ।
त्यो चुनावमा अस्कलबाट जित्ने म एक्लो नेविसंघको उम्मेदवार थिएँ । गगनले पनि नेविसंघको विद्रोही प्यानलबाट उठेर सर्वाधिक मतका साथ जितेका थिए ।
त्यसपछि ०५५ सालको चुनावमा भने मेरो सभापति कार्यकाल सकिएको थियो । त्रिचन्द्रमा गगन सभापतिको उम्मेदवार बने । फुर्सदमा रहेको मैले गगनलाई जिताउन आफ्नो सारा जोडबल लगाएँ । उनले जिते पनि ।
नेविसंघमा यसरी पर्यो टक्कर
यसरी हामी नेविसंघको राजनीतिमा एक-अर्कालाई सहयोग गर्दै अघि बढ्यौं । राजनीतिको उकालो चढ्दै गर्दा एक-अर्कासँग ठोक्किने क्षणहरु पनि नआएका होइनन् । त्यस्तो परिस्थितिलाई हामी दुवैले सुझबुझका साथ व्यवस्थापन गर्न सफल भएका छौं । नेविसंघको केन्द्रीय सदस्यमा म पहिले आएँ । गगन भने एकैपटक उपाध्यक्ष भएर केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् ।
गगनले उपाध्यक्षमा उम्मेदवारी दिनुलाई कतिपयले महत्वाकांक्षी पनि मानेका थिए । तर, नेविसंघभित्र लोकप्रिय भइसकेकाले उनले जिते । मैले त्यो चुनावमा भाग लिइनँ ।
मेरो गगनप्रति गुनासो छैन । यद्यपि उनको मसित गुनासो हुन सक्छ । उनले चुनाव हारे । म उनको टीमभित्र भएको भए केही फरक पर्थ्यो कि भन्ने सोचेका हुन सक्छन्
त्यसपछिको पोखरा महाधिवेशनमा गगनले आफूलाई सभापतिका उम्मेदवारका रुपमा प्रस्तुत गरे । त्यो बेला उनलाई समर्थन गर्ने अलि परिचित नेता ममात्रै थिएँ । यद्यपि विभिन्न कारणले त्यो महाधिवेशन भाँडियो ।
चितवन महाधिवेशनमा हामी दुवैलाई अध्यक्षको आकांक्षीका रुपमा हेरिएको थियो । मलाई पनि अध्यक्ष बन्नुपर्छ भन्ने दवाब थियो भने उनलाई पनि । तर, अन्तिममा उनले सभापतिमा मलाई समर्थन गरे । उनले विसुद्ध हाम्रो पुरानो व्यक्तिगत सम्वन्धका कारणले यो त्याग गरेका थिए । गगनको समर्थनले गर्दा मलाई सभापति निर्वाचित हुन सहयोग मिल्यो । यसरी त्यो महाधिवेशनमा हाम्रो सम्वन्धमा अलिकति असहजता उत्पन्न हुन खोज्दा यसको उचित व्यवस्थापन भयो ।
जेलभित्र भावुक पत्र
हामी सडक आन्दोलनबाटै कांग्रेसको राजनीतिमा स्थापित भएका हौं । कुनै नेता विशेषप्रति बफादार भएर होइन । हामी दुवैले आफ्नो आवश्यकता र महत्व पुष्टि गरेको आन्दोलनकै क्रममा हो ।
राजाको प्रत्यक्ष शासनकालमा हामीलाई सबैभन्दा बढी टार्गेट बनाइएको थियो । सबैभन्दा बेसी जेल पनि हामी दुई नै बस्यौं । जेलबाहिर रहँदा सँधै साथसाथ हुन्थ्यौं । काठमाडौंमा खतरा हुँदा ट्रक्याक्टरमा राखेको परालमुनि लुकेर थानकोट क्रस गरेको उदाहरण पनि छन् । हिरासतमा भने हामीलाई कहिले पनि सँगै राखिएन । सँगै पक्राउ परे पनि बेग्लाबेग्लै हिरासतमा राखिन्थ्यो ।
हामी जेलबाट एकअर्कालाई हदै भावुक बनेर लामा-लामा पत्र पठाउने गर्थ्यौं । पत्रमा व्यक्तिगत, राजनीतिक तथा व्यवहारिक कुराहरु हुन्थे ।
‘तिमी बढी इमोसनल छौ, आवेगमा आउनु हुँदैन, परिवारलाई सम्झाउनू । यो निरंकुशता लामो जाने होइन । वीपी कोइरालाको जस्तो समय होइन अहिले । केही दिन दुःख सहनुपर्छ । धैर्य गर्नुपर्छ । यहीबेला हो, हामीले आफूलाई पुष्टि गर्ने । यो चुनौतिलाई हामीले सामना गर्नैपर्छ ।’ यस्तै-यस्तै शब्दहरु हुन्थे हामीले लेख्ने पत्रमा ।
पोखरा महाधिवेशन हुनुभन्दा तीन दिनअघि म हिरासतबाट छुटेँ भने गगन एक दिनअघि मात्रै छुटे । उनले ‘मेरो उम्मेदवारी तिमीले दर्ता गरिदिनु, म वारेस पठाइदिन्छु’ भनेर चिठीमा लेखेका थिए । तर, त्यो महाधिवेशन बीचमै अवरुद्ध भयो ।
कांग्रेसमा हारजीत
कांग्रेसका अघिल्लो महाधिवेशनमा हामी दुवै जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिने अवस्था आयो । सो महाधिवेशनमा म नउठेर उनलाई जिताउन केन्द्रित भएको हेर्न चाहन्थे गगन । म चाहिँ दुवै जना जित्न सकिन्छ भन्नेमा थिएँ । गगनले आफ्नो लोकप्रियताको बलले चुनाव जिते पनि । उनले सबैभन्दा बढी भोट पनि पाए । म २९ भोट नपुगेर केन्द्रीय सदस्य बन्नबाट वञ्चित भएँ ।
१३ औं महाधिवेशनभन्दा अगाडिसम्म गगनसँग मेरो सहकार्य घनिभुत नै थियो । गगन, म र गुरु घिमिरे मिलेर पार्टीको वैचारिक कार्यक्रमबारे नयाँ प्रस्तावना ल्याएका थियाैं । पार्टी नीतिलाई समय सापेक्ष बनाउनका निम्ति हाम्रो यो सामुहिक प्रयास थियो । यसले पार्टी पङ्तीमा एक किसिमको तरंग पनि ल्यायो ।
तर, महाधिवेशनको पूर्वसन्ध्यामा हामी एउटै डुंगामा अटाउन सकेनौं । अलिकति अलमलपछि गगन र मैले फरक प्यानलबाट उम्मेद्वारी दियौं । यसले गर्दा हाम्रो लामो समयदेखिको सानिध्यतामा अलिकति दरार उत्पन्न हुन गयो ।
यस सन्दर्भमा मेरो गगनप्रति गुनासो छैन । यद्यपि उनको मसित गुनासो हुन सक्छ । उनले चुनाव हारे । म उनको टीमभित्र भएको भए केही फरक पर्थ्यो कि भन्ने सोचेका हुन सक्छन् । म दु:खी छु, तर राजनीतिमा आफ्नो करिअर नै सबैभन्दा प्रधान हुँदोरहेछ । म केन्द्रीय सदस्य निर्वाचित भएपछि उनलाई भेट्न गएँ । उनले मलाई बधाइ दिए । हामीबीच गम्भीर वार्तालाप भने भएन ।
यस्ता छन् गगन थापा
मेरो दृष्टिमा गगन एक साहसी र महत्वकाकांक्षी व्यक्ति हुन् । साहसी यस अर्थमा कि आवश्यक पर्दा बोल्ड डिसिजन लिन हिच्किचाउदैनन् । महत्वाकांक्षी यस अर्थमा कि एकैपटक धेरै खुडि्कला उक्लेर छिटो माथि पुग्ने चाहना राख्छन् । आफ्नो महत्वाकांक्षालाई कसरी व्यवाहारमा रुपान्तरण गर्ने भन्ने उनले राम्रोसँग बुझेका छन् ।
बैचारिक हिसाबले गगन प्रष्ट छन् । आफूलाई अरुभन्दा भिन्न र प्रखररुपमा प्रस्तुत गर्ने भएकाले नेपाली कांग्रेसभित्र मात्र नभएर नेपालको समग्र युवापुस्तामा गगनको लोकप्रियता छ । अत्यधिक ‘मिडिया फ्रेन्डली’ हुनुले पनि उनको लोकप्रियतामा मलजल गरेको छ । मडियालाई कसरी ‘डिल’ गर्नुपर्छ भन्ने उनले राम्ररी बुझेका छन् र यो कुरा हामीले उनीबाट सिक्न सक्छौं ।
आज कांग्रेसमा गगनलाई पूँजिका रुपमा लिइन्छ । किनकी उनको कारणले कांग्रेसप्रति धेरै युवाहरुको उत्सुकता बढेको छ । बैचारिक हिसाबले सुसुप्त अवस्थामा रहेको पार्टीमा उनको उपस्थितिले उर्जा भर्ने काम गरेको छ ।
अनेक क्षमताले भरिपूर्ण भएर पनि राजनीतिमा एक्लै अगाडि बढ्न सम्भव हुँदैन । समुहका साथ अगाडि बढ्दा चाँडो गन्तव्यमा पुगिन्छ । गगनले आफ्नो विचारसँग नजिक युवाहरुसँग मिलेर अघि बढ्नु उनको र कांग्रेसको हितमा छ ।
आन्दोलन र पार्टी राजनीतिमा सफलताका खुड्किला चढ्दै आए पनि राज्य सञ्चालनको अनुभव उनीसँग छैन । यस हिसाबले उनी अनटेस्टेड हुन् । गगनबाट जे-जति आशा देशले गरेको छ, भोली ठाउँमा पुग्दा त्यो आशामा तुषारापात हुने अवस्था आउन नदिनु उनको निम्ति ठूलो चुनौति हो ।
भोलीको कांग्रेसको नेतृत्वकर्ता भनेका हामी नै हौं । हामीमध्येमा पनि गगन चाँडो त्यो ठाउँमा पुग्ने धेरैले अनुमान गरेका छन् । मलाई पनि यस्तै लाग्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment