२१ फागुन, काठमाडौं । नेपाल र बङ्गलादेशका सरकारी सञ्चारमाध्यमबीच समाचार आदान-प्रदान एवम् पारस्परिक सहकार्यको सैद्धान्तिक सहमति भएको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राई र उनका बङ्गलादेशी समकक्षी हसनुल हक इनुबीच शुक्रबार भएको भेटवार्तामा दुई मुलुकका सरकारी सञ्चारमाध्यमबीच सूचना आदान प्रदान गर्ने सहमति भएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) र बङ्गलादेश सङ्घवाद संस्था (बासस), रेडियो नेपाल र बङ्गलादेश बेतार तथा नेपाल टेलिभिजन र बङ्गलादेश टेलिभिजन (बिटिभी) बीच सूचना र समाचारको आदान-प्रदान गर्ने सम्बन्धि समझदारीपत्रमा निकट भविष्यमा हस्ताक्षर गर्न दुबै मुलुकका सञ्चारमन्त्रीले सैद्धान्तिक सहमति जनाएका हुन ।
पहिलो चरणमा रासस र बाससबीच सम्झौता हुनेछ भने त्यसपछि क्रमस टिभी र रेडियोबीच सम्झौता हुने बताइएको छ । सम्झौताका लागि सम्बन्धित पक्षलाई निर्देशन दिने र सम्झौताको मस्यौदा राजदूतावासमार्फत टुंगो लगाइनेछ ।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि दुबै देशका राष्ट्रिय सूचना आयोगबीचको सहकार्यबारे आफूलाई जानकारी भएको र द्विपक्षीय समझदारी गर्न नेपाल तयार रहेको पनि मन्त्री राईले बताए ।
नेपालका श्रमजीवी पत्रकारलाई व्यावसायिक उत्तरदायित्वबाट मर्यादित बनाउने उद्देश्यले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना हुन लागेको जानकारी दिँदै मन्त्री राईले बङ्गलादेशले त्यस क्षेत्रमा हासिल गरेका उपलब्धि नेपालका निम्ति उपयोगी हुने बताए ।
प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न भारतको राजकीय भ्रमण र त्यस क्रममा भएका सम्झौताले बङ्गलादेश र नेपालबीचको पारवहन मार्ग सञ्चालनलाई मूर्त रुप दिएकाले द्वि-देशीय व्यापार विस्तार र लगानीका ढोका खुलेको मन्त्री राईको भनाई थियो ।
उहाँले प्रेस इन्स्टिच्युट अफ बङ्गलादेशले पत्रकारितासम्बन्धी विविध तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै नेपालका श्रमजीवी पत्रकारहरुलाई तालिमका निम्ति स्वागत गर्न बङ्गलादेश तयार रहेको बताउनुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment