Friday, March 4, 2016

आऊ युवाहरु ! बाबुरामलाई यसरी चुनौती दिऔं

– सरोज खड्का

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको साठी उक्लिसक्दा पनि उनको ऊर्जा, सक्रिया, क्रियाशीलता र इच्छाशक्ति अनौठो छ । उनले हामी युवाहरुलाई आफ्नो बुढेसकालमा पनि चुनौती दिइरहेका छन् । यो चुनौतीको हामी युवाले सामना गर्न सक्यौं भने नयाँ नेपाल अवश्य पनि सपनाबाट विपना बन्ने छ । जीवनका सम्पूर्ण उपलब्धिलाई जोखिममा पारेर वैकल्पिक राजनीतिका लागि भट्टराईले जुन स्तरको चुनौतीलाई आत्मसाथ गरेका छन्, त्यही स्पिरिटलाई हामी युवाले पछ्याउन मात्रै सकेपनि राष्ट्रले नयाँ गति लिनेछ । मलाई लाग्छ, अब युवाहरुले आफ्नो क्षमता देखाउने बेला आएको छ । उनलाई चुनौती दिने बेला आएको छ । ‘बाबुराम ! तिमी बुढेसकालमा त यति जोखिम मोल्न सक्छौं, यति सक्रिय जीवन जिउन सक्छौ । हामीसँग त झन सिंगै जीवन बाँकी छ, युवा ऊर्जा छ । किन सक्दैनौं हामी हाम्रो क्षमतालाई विस्फोटक ढंगले देखाउन ? लौ चुनाती छ बाबुराम तिमीलाई !’

सम्भवतः यस्तो चुनौती नै दिए पनि सबैभन्दा बढी खुसी बाबुराम नै हुन्छन् होला । किनकी उनको उद्देश्य नै सपना मरिरहेका युवाहरुको सपना जगाउनु हो । यो देश बनाउन सकिन्छ भन्ने आत्मविश्वास भर्ने हो । सभ्यता निर्माणको नयाँ युगको ढोका खोल्ने हो र त्यसमा सबै युवालाई लामबद्ध लगाउने हो ।

तर मलाई आजको दिनसम्म चिन्ता नै छ । के हामी पनि अब राष्ट्रको लागि यस्तो जोखिम मोल्न सक्छौं ? के नयाँ पुस्ताले उनले जस्तै जोखिम मोल्न सक्छ राष्ट्र बनाउन ? जसरी उनले निजी जीवन त्यागको राजनीतिमा लगाए, त्यसरी हामीले समृद्धिको नयाँ चरणमा हामीलाई लगाउन सक्छौं ? अनि जगाउन सक्छौं हामीभित्रको सुतिरहेको सपनालाई, हाम्रो क्षमतालाई, हाम्रो अल्छी क्रियाशीलतालाई ? अनि संसारभरको ज्ञानलाई आफूमा केन्द्रित गरेर युगको आवश्यकता पूरा गर्न सक्ने हामी युवामध्येबाट कोही नेता जन्मन सक्ला त नयाँ भिजन लिएर ? म चिन्तामा छु ।

Saroj Khadkaअब एकाध दशक बाबुराम हामीसँग होलान् । उनीजस्तो नेता राष्ट्रमा हुनु भनेको एक देशभक्त, बुद्धिमान, विवेकशील र असल अभिभावक आफ्नो घरमा हुनु हो । तर उनीसँग अब हामीले सधैंभरी आशा गरेर मात्रै हुँदैन । अब हरेक नेपाली युवाहरु समृद्ध नेपाल निर्माणको अभियानमा लामबद्ध हुनुपर्छ । असल र निस्वार्थ बन्न जरुरी छ । सोच बदलेर सत्य बोल्न र मेहनतकश हुन आवश्यक छ । अब नेताहरुलाई गाली गरेर मात्र देश बन्दैन । गाली गर्नुभन्दा अगाडि आफ्नो भूमिकाबाट समिक्षा सुरु गर्नुपर्छ हामीजस्ता युवाहरुले । अनि गर्न आवश्यक छ नयाँ संकल्न र अठोट, जसको बलमा समृद्ध नेपाल बनाउने सपना पूरा गर्न सकियोस् ।

नयाँ शक्तिमा लागेका एक अभियन्ताले बाबुरामको नामको प्रत्येक अक्षरको अर्थ लगाएका रहेछन् । बाबुराम भट्टराई अर्थात् वास्तविक, बुद्धिजिवी, राजनेता, महान विचार बोकेको, भरपुर, टक्कर दिनसक्ने, राष्ट्रनायक, इमान्दार नेता । यसको अर्थ के हुन्छ ? यो कति न्यायोचित हुन्छ, समयले बताउला । किनकी समयभन्दा शक्तिशाली केही पनि छैन । तर हामीले विगतबाट सिक्दै हाम्रो नेतृत्वलाई देवत्वकरण गर्नुहुँदैन । मान्छेलाई मान्छे बनेर बाँच्न दिनुपर्छ । किनकी मान्छे भनेको न भगवान हुन्छ, न दानव । मान्छे मान्छे नै हो अर्थात् केही कमजोरीसहित हुन्छ मान्छे । मन परेको बेला भगवान बनाउने र मन नपर्दा राक्षस बनाउने जनता विवेकशील जनता हुन सक्दैनन् । आउनुहोस्, विवेकशील जनता बनौं । सत्य बोल्न हिम्मत गरौं । राम्रो कामलाई पछ्याऔं । नराम्रो कामको रचनात्मक आलोचना गरौं । यसरी मात्रै आफू असल बन्न सक्छौं र असल मानिसहरु बस्ने देश पक्कै असल बन्ने नै छ ।

आज ५० लाखभन्दा बढी हामीजस्ता युवाहरु विदेशी भूमिमा आफ्नो रगत पसिना बगाइरहेका छौं । यही पसिना र रगत देशमा बगाउन पाएको भए देश कस्तो बन्थ्यो होला । हामी बुढेसकाल लागेर रिटायर्ड जीवन बाँच्ने बेला स्वदेश फर्कन्छौं । अनि त्यतिबेला हाम्रो छोराछोरीहरु विदेशिने बेला हुन्छ । अभावले जीवनभर आफ्ना परिवारबाट टाढिनुपर्ने यो वियोगान्त जीवन कहिलेसम्म बाँच्ने ? बाबुरामले हामीसँग यही प्रश्न गरिरहेका छन् । भूगोल एकीकरणको युगको बेला गोर्खाकै पृथ्वीनारायण शाह नयाँ शक्ति बनेर आए । अनि एउटा भूगोल कब्जाको लागि मारकाट गरिरहनुपर्ने युगको अन्त्य उनले गरिदिए भलै सुगौली सन्धिसम्म यसको पराकम्प जारी थियो । त्यसपछि भूगोल परिवर्तन गर्ने शक्ति पुरानो भयो र त्यो विकासको निम्ति बाधक भयो र राजनीतिक क्रान्ति सुरु भयो । सुरुमा प्रजापरिषद नयाँ शक्ति थियो, बिस्तारै कांग्रेस थपियो, एमाले थपियो र अन्तमा यसको उत्कर्षमा गोर्खाका बाबुरामलगायतले जनयुद्धको नेतृत्व गरे । संविधानसभाबाट नयाँ संविधान लेखनको नेतृत्व बाबुरामले नै गरे पार्टी भित्र र पार्टी बाहिर पनि । अन्ततः नयाँ संविधान लेखियो । राजतन्त्र हट्यो र संघीय गणतन्त्र आयो ।

अब के को लागि राजनीति गर्ने ? कुन व्यवस्था फेर्न राजनीति गर्ने ? अवश्य पनि अबको राजनीति समृद्धि र विकासको लागि हुनुपर्छ । तर बाबुरामले यो अभियानको सुरु गरे पनि उनी बुढा भइसके । अब कति सक्लान् र यसको नेतृत्व गर्न ? अब नयाँ पुस्ताले उनको सपनाको नेतृत्व गर्नुपर्छ । बिस्तारै विदेशी भूमिबाट स्वदेश फर्कने वातावरण बनाउँदै लैजानुपर्छ र अन्ततः नेपाली जनशक्तिले नपुगेर विदेशबाट कामदार झिकाउनुपर्ने अवस्था हाम्रै प्रिय मातृभूमिमा हामी किन बनाउन सक्दैनौं ?

एकपटक हामीले मनको आँखाले हेरौं । छातीमा हात राखेर सोचौं । सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्न सक्ने परिकल्पना हामी किन गर्न सक्दैनौं ? उपलब्ध खुसी बाँढेर थप खुसी सिर्जनाको लागि हामी किन योजना बनाउन सक्दैनौं ? यतिबेला पनि हामीले हाम्रो सपनालाई ब्युँझाउन सकेनौं भने राष्ट्र बीस तीस वर्ष पछाडि धकेलिने निश्चित छ ।

हामीलाई थाहा छ, हाम्रोमा कति नकरात्मकता छ । नपढ्ने, फेल हुने अनि बोर्ड फस्टहरुलाई गाली गर्ने प्रचलन छ । प्रचण्डले त गोरुको सिङमाथि पिएचडीको कथा हालिरहेका छन् । उनी भन्न सक्छन्, ‘अहिलेसम्म एसएलसी बोर्ड फस्ट हुने एक दर्जन मानिसले मात्र बाबुरामले जति राष्ट्रको लागि योगदान दिएको भए देश कहाँ पुग्दथ्यो होला ?’ हामीलाई थाहा नै छ, अहिले पनि हजारौं डाक्टर इन्जिनियरहरु विदेश भासिएका छन् । स्वदेशमा बस्नेहरुलाई बाबुरामले ऊर्जा थपिरहेका छन् । हामीले राजनीतिक संस्कार कहिले देखाउने होला ?

त्यसैले आउनुहोस्, बुढेसकाल लागेका बाबुरामलाई चुनौती दिऔं । किन २० वर्ष लगाउने मुलुक बनाउन ? एउटा सानो तर सम्भावना भएको देश हो नेपाल । गोर्खालीहरुको देश हो । १० वर्षमै बनाएर देखाइदिऔं । बाबुरामको सपनालाई साथ दिऔं, अभियानलाई साथ दिऔं र उनलाई चुनौती दिऔं– ‘तपाई बुढो हुनुभयो बाबुराम ! तपाईंको दिशा ठिक छ, तर गति अझै बढाउनुपर्छ । किनकी हामी युवा हौं । हामी सक्छौं । तपाई नेतृत्व गर्नुहोस् ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment