Friday, March 4, 2016

प्रधानमन्त्री ओलीले भने- कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन, विस्तार हुन्छ  

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पनि आफ्नै नेतृत्वको सरकार कायम रहने बताएका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार कांग्रेस महाधिवेशनपछि बिस्तार हुने तर परिवर्तन नहुने बताएका हुन् ।

शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ने.का. महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तार हुन्छ ।’

सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्डले सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने अभिव्यक्ति दिँदै आएका बेला प्रधानमन्त्री ओलीले पनि कांग्रेसलाई समेट्ने संकेत स्वरुप सरकार विस्तार हुने धारणा सार्बजनिक गरेका हुन् ।

कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्वोधन गर्दै ओलीले कांग्रेससँग मिलेर अघि बढ्न चाहेको अभिव्यक्ति दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रदीपजंग पाण्डेको औषधि कम्पनीमा प्रहरीको सिलबन्दी

रमेश धमला

२१ फागुन, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको औषधि उद्योगमा प्रहरीले सिल गरेको छ ।

Pradeepjung pandayकाठमाडौं परिसरबाट खटिएको विशेष टोलीले महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको लुमस प्राइभेट लिमिटेड र हरी भक्त शर्माको जनता देउराली नामको औषधि कम्पनीमा छापा मारेर त्यहाँ रहेका ओषधि सिलबन्दी गरेको हो ।

प्रहरीको टोलीलेे प्रदिपजंग पाण्डेका दुई छोराहरु प्रबलजंग पाण्डे र प्रचोलजंग पाण्डेलाई नियन्त्रणमा लिएको छ । त्यस्तै जनता दउरालीका महाप्रबन्धक निलराज आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदिपजंग पाण्डेको उत्तरढोका स्थित लुमस प्रालिको गोदाम तथा कार्यलयमा तथा जनता देउराली र्फमास्युटिकल्स उद्योग हात्तिसार स्थित गोदाम तथा कार्यलयमा छापा मार्दा तोकिएभन्दा उच्च मूल्यमा औषधि बिक्री गरेको पाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।

सरकारले गत साउन १८ गते राजपत्रमा सुचना प्रकाशन गरी अत्यावश्यक औषधिको मूल्य तोकेको थियो । उक्त मुल्य माघ महिना सम्म लागु गर्न भनिए पनि जनता देउराली र लुमसले अटेर गरेर हरेक औषधिमा अधिक मूल्य तोकेको भेटिएको छ ।

एसएसपी थापाले भने,-‘जनताको जीवनसँग सरोकार राख्ने औषधि जस्तो वस्तुमा सरकारले तोकेको मूल्य भन्दा बढी लिएका छन त्यसैले काठमाडौंका सिडियो र हामीले संयुक्त रुपमा छापा मारेका हौं ।’

महिनौं सम्म सरकारले तोकेको भन्दा बढी मुल्य राखेर औषधि विक्रि गर्नेहरुलाई कालोबजारी ऐन अन्र्तगत मुद्धा चलाइने एसएसपी विक्रम सिंह थापाले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्वास्थ्य मन्त्रालयमा १ सय १० अधिकृतका लागि जागिर खुल्यो

२१ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्त गर्ने गरी विभिन्न किसिमका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

विभिन्न प्राविधिक पदहरुमा १ सय १० जना अधिकृतहरुको माग भएको हो ।

मन्त्रालयले मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतहरुको माग गर्दै शुक्रबार सूचना जारी गरेको छ।

आठौं तहको मेडिकल अधिकृत तथा सातौं तहका मेडिकल ल्याक टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।

सबैभन्दा धेरै ८२ जना मेडिकल अधिकृत, १७ जना नर्सिङ अधिकृत, ७ जना मेडिकल ल्याब टेक्नलोजिष्ट र ४ जना माइक्रोबायोलोजिष्टका लागि आवेदन माग गरिएको छ । मेडिकल अधिकृतहरु खटिनुपर्ने कार्यक्षेत्र पनि पदपूर्ति सम्बन्धी सूचनामै उल्लेख गरिएको छ ।

मेडिकल अधिकृतका लागि आवेदन गर्न एमबीबीबएस तथा मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने छ ।

पदपूर्ति सम्बन्धी सूचना (दुईपटक क्लीक गरी हेर्न सक्नुहुन्छ)

swasthy-matralaya-vacancy

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विराटनगरमा सुविधासम्पन्न बसपार्क बन्ने

२१ फागुन, विराटनगर । पूर्वको प्रमुख शहर विराटनगरमा अत्याधुनिक सुविधासम्पन्न दुई तले बसपार्क निर्माण हुने भएको छ ।

पूर्वाञ्चलको मूख्य शहरमा आफ्नै व्यवस्थित बसपार्क नभएको अवस्थामा उपमहानगरपालिकाले बसपार्क निर्माण योजना अघि बढाएको हो ।

विराटनगर-१५ स्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा वसपार्क निर्माणको काम उपमहानगरपालिकाले अघि बढाएको छ ।

विराटनगर उप-महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माणको गुरु योजना तयार गरिसकिएकाले यही महिना भित्र वसपार्कको निर्माणका लागि सम्झाैता हुने दावी गरे ।

कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गरिने छ । उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिव डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ । पहिलो तलामा रेष्टुरेन्ट, व्यागेज रुम, रहने बव्यस्था हुने छ । इन्जिनियर थापाले बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्कभित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा पनि हुने जानकारी दिए ।

दैनिक २७ वटा बस र २८ वटा माइक्रो बस बसपार्कमा आउने-जाने गरी अट्नेछ । यसअघि सामान्य वर्षा हुँदा पनि विराटनगर वसपार्क अस्तव्यस्त हुने गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी दर्ता

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको समय शुक्रबार मध्यान्ह १२ बजेसम्मको समय तोकिएको थियो ।

सभापति पदमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । महामन्त्री पदमा पौडेल पक्षबाट शशांक कोइराला, देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा चार उम्मेदवार

तीन प्यानल भए पनि कोषाध्यक्ष पदमा भने चार जनाको उम्मेदवारी परेको छ ।  पौडेल प्यानलबाट सीतादेवी यादव, देउवा प्यानलबाट चित्रलेखा यादव र सिटौला प्यानलबाट उमाकान्त चौधरीको उम्मेदवारी परेको छ ।

स्वतन्त्र तर्फबाट स्याङ्जाका कृष्ण कार्कीले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

खुलातर्फ २५ जना केन्द्रीय सदस्यका लागि ९४ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेशबाट २-२ जनाको दरले १४ सदस्यका लागि १ सय २ जनाको उम्मेदवारी परेको छ ।

महिला आरक्षण तर्फ ६ जनाका लागि ४० जना, दलित आरक्षण तर्फ ३ जनाका लागि २१ जना, दलित तर्फकै महिला २ जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै आदिवासी जनजाति आरक्षणतर्फ ३ जनाका लागि ५० जना, आदिवासी जनजाति तर्फकै महिलामा २ जनाका लागि १४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

मधेसी आरक्षण तर्फ ३ जनाका लागि १८ जना, मधेसी महिला तर्फ २ जनाका लागि १० जना, मुस्लिम १ सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१० उद्योगपतिको चाहनाः कांग्रेसमा कसले जितोस् ?

नविन अर्याल

२१ फागुन, काठमाडौं । विहीबारदेखि राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनबाट कस्तो नेतृत्व आउला भन्ने चासो उद्योगी व्यवसायीहरुमा पनि देखिएको छ ।

अब कांग्रेसमा कस्तो नेतृत्व आउनुपर्छ ? कांग्रेसको भावी आर्थिक नीति कस्तो हुनुपर्छ ? र, कस्ता मुद्दाहरुलाई अंगीकार गरेर कांग्रेस अगाडि बढ्नुपर्छ ? यसबारे अनलाइनखबरले १० जना उद्योगी व्यवसायीलाई सोधेको छ । हेर्नुहोस् उनीहरुको प्रतिक्रियाः

खुल्ला बजार अर्थतन्त्रको पक्षपाती नेतृत्व आउनुपर्छ

-पशुपति मुरारका, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Pashupati-Murarkaकांग्रेस नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी हो । त्यही भएर जनताले कांग्रेसबाट धेरै अपेक्षा गरेका छन् । जनताको अपेक्षा पूरा गर्नका लागि कांग्रेसमा सबल र सक्षम नेतृत्व आवश्यक छ ।

कांग्रेस खुल्ला बजार अर्थतन्त्रको पक्षपाती हो । खुल्ला बजार अर्थतन्त्रको विकास गर्नेखालको नेतृत्व कांग्रेसले पाउनुपर्छ । कांग्रेस निजी क्षेत्रलाई विश्वास गरेर अगाडि बढ्नुपर्छ । देशको विकास गर्ने जिम्मेवारी नीजि क्षेत्रको पनि भएकाले दलहरुले साथ लिएर जानुपर्छ ।

नेपालमा विगतमा विभिन्न किसिमका द्वन्द्वहरु आउँदा अपेक्षाकृत विकास हुन सकेन । प्राकृतिक स्रोत साधनको विकास हुन सकेन । अब वातावरण सहज बनेको छ । देशको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले विकासको नेतृत्व गर्नुपर्ने हुन्छ । यसका लागि पनि कांग्रेसमा जिम्मेवारी वहन गर्न सक्ने सक्षम नेतृत्व आवश्यक छ ।

अहिलेसम्म कुनै पनि दलको नेतृत्वमा आर्थिक विषयमा राम्रो जानकारी भएको व्यक्ति आउन सकेको छैन । नेतृत्वमा आर्थिक मुद्दा बुझेको मान्छे आउन नसके पनि कम्तिमा कार्यसमितिमा अर्थतन्त्र बुझेको मान्छेहरु आउनुपर्छ ।

विकास निर्माणमा अग्रसर हुने नेतृत्व चाहिन्छ । यस्तो नेतृत्व चाहियो, जसले एक-एक पैसाको हिसाब गर्न सकोस्, विकास निर्माण लगाएको रकमको लाभहानी मापन गर्न सकोस् । मुलुकमा काम गरेर खान पाउने वातावरण तयार गर्न सक्नेखालको नेतृत्व कांग्रेसमा आउनुपर्छ ।

विकास निर्माणका परियोजना बनाउँदा कमजोर राष्ट्रवादको वकालत गर्ने व्यक्तिहरु कांग्रेसजस्तो पार्टीमा आउनुहुँदैन । परियोजना निर्माण सञ्चालनको जिम्मेवारी विदेशीलाई सुम्पिदा देशै बेच्यो भन्ने कुरा आउँछ । कमजोर राष्ट्रवाद अंगालेर केही हुँदैन, कमजोर राष्ट्रवादले पनि राष्ट्रियता झनै खतरामा पर्छ ।

टाढासम्म देख्न सक्ने नेतृत्व चाहिन्छ

-शेखर गोल्छा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Shekhar_Golchhaमुलुकको अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्न सक्नेखालको नेता कांग्रेसको नेतृत्वमा आउनुपर्छ । दुरगामी भिजन भएको अनुभवी व्यक्तिले मात्र अर्थतन्त्रको नेतृत्व गर्न सक्छन् । कांग्रेसको नेतृत्वमा मात्र होइन, कार्यसमिति नै इनर्जेटिक टिम आउनुपर्छ ।

मुलुकलाई सम्वृद्धिको बाटोमा लैजाने एउटा मात्र उपाय भनेको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । यसका लागि टाढासम्म देख्न सक्ने नेतृत्व चाहिन्छ । अर्थतन्त्र भनेको उद्योगीको मात्र होइन, उद्योगी व्यवसायी केवल माध्यमामात्र हुन्, अर्थतन्त्र जनताको कुरा हो । कांग्रेसले आर्थिक नीति बनाउँदा अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ ।

कांग्रेसको यस्तो नीति हुनुपर्छ, जसले मुलुकभित्र रोजगारी सृजना गर्न सकोस, अर्थतन्त्रलाई गतिशिल बनाओस, कसरी भेल्यु एडिसन गर्न सकिन्छ, त्यसमा ध्यान दिइओस, पूर्वाधार विकासमा दत्तचित्त भएर लागोस् । जनता विकास चाहान्छन्, कांग्रेस नेतृत्व र नीति विकासप्रेमी जनताको पक्षमा होस ।

म त भन्छु नेतृत्वमा युवा आउनुपर्छ
अनिल शाह, बैंकर्स

anil shahसुधार घरभित्रैबाट सुरु गर्नुपर्छ भन्ने नेपाली उखान छ । यही भएर प्रजातान्त्रिक अभ्यास कांग्रेसबाटै हुनुपर्छ । किनभने विगतदेखि नै प्रजातन्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको छ । प्रजातान्त्रिक परिपाटीलाई संस्थागत गर्ने काम कांग्रेसको हो ।

प्रजातन्त्रको सबैभन्दा ठूलो शत्रु भागबण्डा हो । भागबण्डाले आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विचलन ल्याउँछ । त्यही भएर प्रजातान्त्रिक परिपाटीमा प्रतिस्पर्धा जायज छ । जसरी कांग्रेसमा एउटै पदका लागि ३/४ जना उठ्न खोजिरहेका छन्, त्यसलाई मैले सकरात्मक रुपमा लिएको छु ।

अब आउने कांग्रेस नेतृत्व आगामी दिनमा कांग्रेसको मात्र होइन, आम जनताको सपना साकार गर्ने खालको हुनुपर्छ । मुलुकका आर्थिक मुद्दालाई अगाडि बढाउन सक्ने खालको हुनुपर्छ । अर्थतन्त्रलाई डोर्‍याउन सक्ने, आर्थिक विकासको भिजन भएको, कार्यान्वयन क्षमता भएको नेतृत्व कांग्रेसले पाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।
जतिजना उठे पनि जित्ने एउटाले मात्र हो । चुनावमा हार्ने नेताले जित्ने नेतालाई असफल बनाउन लाग्ने होइन । आपसी सहयोग बढाएर पार्टीलाई मजबुद बनाउन लाग्नुपर्छ । सबैलाई मिलाएर लैजाने क्षमता भएको नेतृत्व आउन सक्यो भने कांग्रेसलाई मात्र होइन, राष्ट्रलाई नै फाइदा पुग्छ ।

म त भन्छु, नेतृत्वमा युवा आउनुपर्छ । हिजोलाई होइन, भोलिलाई बुझेर काम गर्न सक्ने नेतृत्व ल्याउनुपर्छ । जसले भावी पुस्तालाई विकास दिन सकोस् । कांग्रेस ठूलो पार्टी भएको र मुलुकको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा सक्षम नेतृत्व आवश्यक छ ।

वाद हैन, विकासको कुरा गनेृ नेता चाहियो

हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ

Haribhakta-Sharma-jpgमुलुकमा सम्वृद्धिको मार्गचित्र कोर्नेखालको आर्थिक मुद्दा बोकेर अगाडि बढ्ने नेता देशलाई चाहिएको छ । वादको कुरा बोक्ने होइन, असल नीति बोक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ । अहिलेसम्म वादका कुरा धेरै भए, अब बिकास निर्माणका कुरा गर्ने नेता चाहिन्छ ।

मुलुकको राजनीति एक किसिमले टुंगोमा पुगिसकेको छ । कांग्रेसको अबको नेतृत्व आर्थिक समृद्धिका लागि काम गर्ने, मुलुकमा लगानीमैत्री वातावरण तयार गरी औद्योगिक विकास गर्ने, निजी क्षेत्रलाई प्रश्रय दिने खालको हुनुपर्छ । अहिलेसम्म धेरै बोलियो, थोरै गरियो । अब थोरै बोल्ने धेरै काम गर्ने नेता आउनुपर्छ ।

काम गरेर खाने संस्कृतिको विकास गर्ने नेतृत्व कांग्रेमा खाँचो छ । जसले चन्दा मागेर होइन, काम गरेर खाने संस्कृतिको विकास गरोस् ।

कांग्रेस आफुलाई खुल्ला अर्थतन्त्रको पक्षपाती सम्झन्छ । त्यसो हुँदा खुल्ला अर्थतन्त्रको विकासमा काम गर्न सक्नेखालको नेतृत्व कांग्रेसले पाओस् । सरकार तथा पार्टीमा विधिको साशन स्थापित गर्न सक्ने खालको आउनुपर्छ । अहिलेसम्म व्यक्तिको शासन गर्ने व्यक्ति आउँदा जनताको हितमा काम हुन सकेन ।

इकोनोमिक डिप्लोम्यासी बुझेको नेता चाहिन्छ

राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

Rajesh-Kaji-shresthaकांग्रेस पुरानो र प्रजातान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनले निजी क्षेत्र र आर्थिक विकासका कुरा गर्ने खालको व्यक्तिहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउनुपर्छ । मुलुकको अर्थतन्त्र राम्रो भएपछि राजनीति स्वतः राम्रो भइहाल्छ ।

इकोनोमिक डिप्लोमेसी बुझेको र आर्थिक मुद्दामा लिड गर्न सक्ने नेतृत्व आएमात्र जनताको विकास हेर्ने चाहना पूरा हुन्छ ।

मुलुकको नेतृत्व राजनीतिक दलले गर्ने भएको हुँदा त्यहाँ अर्थशास्त्र बुझेका मानिसको जमात बढी हुनुपर्छ । राजनीति कम, अर्थतन्त्रलाई बढी प्राथमिकतामा राख्ने नेतृत्व कांग्रेसले पाउनुपर्छ भन्ने मेरो धारणा छ ।

पाका र युवा नेताहरु मिश्रति हुनुपर्छ

अञ्जन श्रेष्ठ, अध्यक्ष, नेपाल अटोमोबाइल डिलर एशोशिएसन

anjan-shrestha_laxmi-groupनेपालका प्रजातान्त्रिक आन्दोलनमा सुरुदेखि कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रजातान्त्रिक आन्दोलनमा इतिहास रचेको पार्टी हो, कांग्रेस । नेपालमा प्रजातन्त्र ल्याउन, लोकतन्त्र ल्याउन, नयाँ संविधान ल्याउन कांग्रेसको नेतृत्वदायी भूमिका रहृयो ।

अब कांग्रेसले नयाँ इतिहास रच्नुपर्छ । कांग्रेसले हिजो राजनीतिक क्रान्ति सफल बनाउनका लागि सफल भूमिका खेल्यो । अब आर्थिक क्रान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने कांग्रेसमा नेतृत्व आउनुपर्छ ।

मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने खालको नेतृत्व आवश्यक छ । सोही सोच भएका व्यक्तिहरु कांग्रेस कार्यसमितिमा आउनुपर्ने मेरो धारणा छ । २१औं शताब्दीको विश्व परिवेशसँग मेल खाने आर्थिक सामाजिक रुपान्तरण गर्ने जिम्मेवारी कांग्रेसले लिन सक्नुपर्छ ।

हामीले समृद्ध नेपालको परिकल्पना गर्ने हो । यसका लागि स्वच्छ समाज आवश्यक हुन्छ । आर्थिक र भौतिक रुपमा स्वच्छ र सवल नेपाली समाज बनाउने भूमिका कांग्रेसले खेल्नुपर्छ । कांग्रेस महाधिवेशनले जानेका बुझेका, पाका तथा युवा सबै भएका मिश्रति कार्यसमिति चयन गर्नुपर्छ ।

आर्थिक भिजन भएको नेता चाहिन्छ

सुमन पाण्डे, अध्यक्ष, पाटा नेपाल

Suman-Pandey-Photo1कांग्रेसमा भिजन भएका नेताहरु नेतृत्वदायी तहमा आउनुपर्छ । आर्थिक विकासविना मुलुकमा अग्रगमन आउँदैन । अग्रगमन दिन नसक्ने राजनीतिक शक्ति धेरै टिक्न पनि सक्दैन र दिगो पनि हुँदैन ।

मुलुकको परिस्थितीलाई बुझेर आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ । चाहे सरकारमा बसेर होस् वा बाहिर बसेर होस्, कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्नुपर्छ । अहिले सरसर्ती हेर्दा माथिल्लो तहमा त्यस्तो क्षमता भएको नेता आउने नदेखिए पनि कार्यसमितिमा थुप्रै आर्थिक विकासको भिजन भएका नेताहरु आउने सम्भावना देखिएको छ ।

हामीलाई तिब्र आर्थिक विकास चाहिएको छ । दुई अंकको आर्थिक विकास गर्न सक्ने खालको सक्षम नेतृत्व पनि मुलुकका लागि आवश्यक छ । हामीले चाहने हो भने २० प्रतिशतको आर्थिक विकास गर्न सक्ने सम्भावना छ । त्यो असम्भव पनि छैन ।

तर, त्यसका लागि भिजन चाहिन्छ । इमान्दार, भिजन, डेडिकेटेड तीन गुण भएको नेता नेतृत्वमा आउन सक्यो भने मुलुकका लागि सुखद हुन्छ ।

सबैलाई मिलाउन सक्ने सक्षम नेतृत्व आउनुपर्छ
विनायक शाह, महासचिव, होटल संघ नेपाल

binayak-shahaकांग्रेसले नारा बनाएको छ, शान्ति, समृद्धि र संविधान । यो नारा व्यवहारमा लागू गर्नेखालको नेतृत्व आउनुपर्छ । संविधान जारी भएको छ । यसलाई पूर्ण रुपमा लागू गर्नका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । संविधान लागू गर्नका लागि पनि सक्षम नेतृत्व आवश्यक हुन्छ ।

आर्थिक विकासमा मन, वचन र कर्मले लाग्ने नेतृत्व र पदाधिकारी महाधिवेशनबाट चयन हुनुपर्छ भन्ने हाम्रो धारणा हो । अहिले कांग्रेसभित्र गुट, उपगुट देखिएको छ । यो गुट उपगुट निर्वाचनसम्म मात्र देखिनुपर्छ । निर्वाचनपछि सबै पक्षलाई मिलाएर अगाडि लैजान सक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ ।

अब राजनीतिक मुद्दा बोकेर मात्र हुँदैन । जनता विकास चाहन्छन्, रोजगारी चाहन्छन्, काम गरेर खान पाउने वातावरण चाहन्छन् । यी कुराहरुको सुनिश्चिता गर्ने जिम्मेवारी कांग्रेसको हो । यसका लागि पनि सक्षम नेतृत्व र कार्यसमिति आवश्यक छ ।

विगतका हाम्रा नीति तथा कार्यक्रमहरु युगान्तकारी भए पनि कार्यान्वयन गर्न सकेनौं, हाम्रोजस्तै नीति तथा कार्यक्रमहरु अंगालेका अन्य मुलुकहरु कहाँबाट कहाँ पुगिसकेका छन् ।

अब हामी चुप लागेर बस्न सक्ने अवस्था छैन । हामी गर्न नसक्ने होइन, सक्षम छौं, मात्र राष्ट्रलाई सोचिदिने सक्षम नेतृत्वको खडेरीमात्र परेको हो । राजनीतिक स्थिरता र शान्ति आइसकेपछि अब आर्थिक समृद्धिमा लाग्नुपर्छ । यसको नेतृत्व पनि कांग्रेसले गर्न सक्नुपर्छ ।

आर्थिक क्रान्तिका लागि युवा पुस्ता आउनुपर्छ

प्रवलजङ्ग पाण्डे, युवा उद्यमी

prabal-jung-pandeyकांग्रेसमा नयाँ पुस्ताहरु अगाडि आउनुपर्छ भन्ने मेरो धारणा छ । कांग्रेसको नेतृत्वमा पनि अर्थतन्त्र बुझेको व्यक्ति आउनुपर्छ । जसले आर्थिक मुद्दालाई जोडतोडका साथ अगाडि बढाउने हिम्मत राखोस ।

मुलुकमा एक लेभलको राजनीति क्रान्ति भइसकेको छ । अबको पालो हो, आर्थिक क्रान्तिको । आर्थिक क्रान्तिका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ । कांग्रेसको नेतृत्वमा मात्र होइन, गाउँ लेवलदेखि केन्द्रसम्म आर्थिक मुद्दा बुझेको मान्छे हुनुपर्छ ।

हाम्रा नेताहरुले विकास निर्माण र आर्थिक क्रान्तीका धेरै गफमात्र गरे । व्यवहारमा त्यो लागू भएको देखिएन । अब टाइम बाउन्ड बनाएर आर्थिक क्षेत्रमा काम गर्नेखालको नेतृत्व कांग्रेसमा आवश्यक छ । अब समय खेर फाल्ने होइन । यो समय यो-यो काम गर्छु भनेर समयसीमा तोकेर काम गर्नुपर्ने बेला आएको छ ।

कांग्रेसका पुराना नेताले राजनीतिक परिवर्तन गरेका छन् । अब आर्थिक क्रान्तिका लागि नयाँ युवापुस्ता अगाडि आउनुपर्ने मेरो धारणा छ ।

विकास निर्माणका लागि नयाँ पुस्ता धेरै अनुभवी र चुस्त देखिन्छ । देशको आर्थिक उन्नति गर्ने खालको नीति बनाएर टाइम बाउन्डभित्र पुरा गर्ने क्षमता भएको नेतृत्व कांग्रेसमा आवश्यक छ ।

युवापुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्छ

दक्ष पौडेल, सञ्चालक, प्रभु बैंक

नेपाली कांग्रेसको महाधिवेशनले समग्र नेपालको आर्थिक विकासका लागि विकासप्रेमी नेतृत्व चयन गर्नुपर्छ । जसले मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्दै युवा जनशक्तिलाई स्रोतको रुपमा उपयोग गर्दै उद्योग कलकारखानाको विकास गरेर रोजगारी सिर्जना गरी दक्ष-अदक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकोस् ।

कांग्रेसको नयाँ नेतृत्वले सहकारिताको माध्यमबाट समतामूलक समाज रुपान्तरण गर्न सक्नुपर्छ । विगतमा भन्दा यो महाधिवेशनमा युवा पुस्ताको बाहुल्यता बढी देखिन्छ । महाधिवेशन प्रतिनिधिमा युवा पुस्ताको बाहुल्यता रहेको हुँदा असल र सक्षम नेतृत्व चयन हुनेछ भन्ने विश्वास छ । कांग्रेसले सवल सक्षम र युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Thursday, March 3, 2016

कांग्रेस महाधिवेशनः निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने, मतपत्र ९ किसिमका

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग नहुने भएको छ ।

राष्ट्रिय सभागृहमा आइतबार हुने निर्वाचनमा नेता-कार्यकर्ताहरुले परम्परागतरुपमै मतपत्रमा नेता रोजेर मत पेटिका मत खसाल्नेछन् ।

कांग्रेसको १२ औं महाधिवेशनमा पनि मतपत्रकै प्रयोग गरिएको थियो । संसदीय दलको निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गर्दा निष्पक्ष नभएको भनेर विवाद भएको थियो जुन निर्वाचनमा रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई हराएका थिए ।

१३ औं महाधिवेशनमा पनि पौडेल र देउवा सभापति पदका मुख्य प्रतिस्पर्धी हुन् । महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने चर्चा चले पनि नेताहरुबीच सहमति जुटेन ।

सबै प्रतिनिधिहरु विद्युतीय मेसिनमा अभ्यस्त नभैसकेको र उम्मेदवारहरुको सूची लामो भएको भन्दै विद्युतीय मेसिन प्रयोग नगर्ने नेताहरुबीच सहमति भएको केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

मतपत्र ९ किसिमका

निर्वाचनमा ९ किसिमको मत पत्र प्रयोग हुनेछ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छपाइ गरिने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

निर्वाचनमा ९ किसिमको मतपत्र प्रयोग हुने भएकाले मतगणना झन्झटिलो हुने त छ नै परिणाम सार्बजनिक हुन पनि बढी समय लाग्ने छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं