Friday, February 26, 2016

अपहरण आरोपमा चार युवक पक्राउ

इलाम, १४ फागुन । एक काठ व्यवसायीलाई अपहरण गर्ने चार युवकलाई प्रहरीले गएराति इलाम सदरमुकामस्थित होटलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली–१ का ३५ वर्षीय ध्रुव भनिने पूर्ण लावती, दमक नगरपालिका–१० का २३ वर्षीय सन्देश लिम्बू, झापा तोपगाछी–७ का ३६ वर्षीय भानु भनिने युके सुब्बा र तोपगाछी–५ का २८ वर्षीय नवराज राई रहेका छन् ।

जिल्ला वन कार्यालय इलामले बिहीबार खोलेको काठको लिलामी बोलपत्रमा बोलपत्र भर्न आएका झापा दमक नगरपालिका निवासी इन्द्रमणि सिवाकोटीलाई अपहरण गरी एक होटलमा लगेका थिए । होटलमा लगेर ती युवाले सिवाकोटीसँग एक लाख रूपैयाँ मागे । सिवाकोटीले जीउभन्दा पैसा ठूलो होइन भन्ठानेर ५०/५० हजारका दुई पेटी उनीहरूलाई दिए । केही छिनपछि ‘एक लाख अपुग भयो, फेरि एक लाख रूपैयाँ चाहियो’ भनेपछि उनीसँग पैसा थिएन । पैसा नभएपछि ती युवाले पुनः सिवाकोटीलाई एक लाख रूपैयाँ दिने तमसुक बनाएर त्यसमा ल्याप्चे लगाउन लगाए । तमसुकमा हस्ताक्षर गरेपछि उनीहरूले सिवाकोटीलाई मुक्त गरिदिए ।

ल्याप्चे गरेपछि युवा खान्तेपिन्तेमा लागेको मौकाछोपी सिवाकोटी जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूलाई अपहरण गरेको र पैसा लिएको सबै बताएपछि तत्काल प्रहरी टोली होटलमा पुगेर ती युवालाई पक्राउ गरेको हो । प्रहरीले राति १० बजे चारजनालाई फ्रेन्स र आशीर्वाद होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक रूद्र चुडालले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका युवाको साथबाट एक लाख रूपैयाँ, तमसुक र तीनवटा बोलपत्र फारामसमेत बरामद गरेको छ । पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा चलाइने प्रनि चुडालले जानकारी दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment