Friday, February 26, 2016

दुख्यो-दुख्यो भन्दै थिए चालक, समयमै उद्धार नहुँदा साढे २ घण्टापछि मृत्यु

काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस–२ मा दुर्घटना हुँदा चालकदलका दुई सदस्यको मृत्यु भएको छ । मृतकहरुमा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना छन् । 

विमान दिउँसो एक बजे दुर्घटनामा परेको प्रत्यक्षदर्शी नन्द कटुवालले टेलिफोनमा जानकारी दिए । सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । ‘ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो,’ प्रत्यक्षदर्शी कटुवालले भने ।

खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । ‘जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,’ उनले भने । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्काको दुर्घटना भएको साढे दुई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिलखाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिए ।

‘एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन,’ उनले भने । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको हो ।

‘बाहिर निकालेको एक घण्टासम्म दुख्यो-दुख्यो भनेर कराइरहनु भएको थियो,’ अहेव रावलले भने, ‘हामीले सक्दो उपचार गर्यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि !’ विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।

अहिले चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरिरहेका छन् । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् ।

घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए । अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ । ‘सबै जना होसमै छन्,’ उपचारमा संलग्न अहेव रावलले भने ।

अहिले घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् ।

घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए । ‘जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ,’ घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु पर्यो ।

एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो १२ः३० वजे जुम्लाका लागि उडेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment