फाल्गुन १४, २०७२- छाउपडी भएकालाई पनि अन्य महिलासरह व्यवहार गर्नुपर्छ भनेर सिकाउन हिँडेकी मेलविसौना स्वास्थ्य चौकीकी अनमी अनिताकुमारी सिंह आफैं महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जंगलको छाउपडी गोठमा बस्नुपर्यो ।
मेलविसौना २ लोकन्ड गाउँ पुग्न गाविसकै अन्य वडाबाट एक दिन हिँड्नुपर्छ । जिल्लाको उत्तरी हिमाली भूभागमा पर्ने यो गाउँमा महिनावारी हुँदा महिलालाई गरिने व्यवहार अत्यन्तै निर्मम छ ।
‘छाउपडी महिलालाई सरुवा रोग लागेका बिरामीलाई जस्तै व्यवहार गरिन्छ । कतिपय त छाउपडी हिँडेको बाटो पनि हिँड्दैनन्,’ अनमी सिंहले भनिन्, ‘लोकन्ड गाउँको अवस्था डरलाग्दो छ ।’
‘मलाई एक रात काट्न त यति गाह्रो भयो । गाउँका महिलाले सारा जिन्दगी कसरी काटेका होलान् ?’ उनले भनिन् । महिनावारी भएका महिला गाउँ नजिक बसे देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वास छ ।
छाउपडी र सुत्केरीले जंगलमा बनाइएका कटेरामा बस्दा नवजात शिशु नै गुमाएका उदाहरण छन् । सात दिनको छोरालाई छाउगोठमा छोडेर नुहाउन गएकी जलादेवी रोकाया नुहाएर गोठमा फर्किंदा भेटिनन् । जंगलभरि खोज्दा एउटा खोल्सामा सानो हाडको टुक्रा मात्र भेटियो । बच्चालाई जंगली जनावरले आहारा बनाइसकेको रहेछ ।
१२ दिनकी नवजात छोरीलाई छाउ गोठमा छोडेर गहुँ काट्न गएकी पिउली रोकायाले पनि त्यसरी नै सन्तान गुमाउनुपर्यो । जंगली जनावरले लगेको बच्चाको उनले त हाड पनि फेला पार्न सकिनन् । सोही गाउँकी जमुना रोकायाले छाउ गोठमा सुताएर गएको ८ दिनका छोरा पनि घाँस काटेर फर्किंदा गायव थिए ।
खोज्दै जाँदा नजिकैको ओडारमा स्यालले आधा खाइसकेको अवस्थामा फेला पारिन् । छाउ गोठमा बसेका बेला स्थानीयवासीबाट पनि महिला उत्तिकै पीडित भएको लोकन्डकी महिला स्वास्थ्य स्वयंसेविका पानकला रोकायाले बताइन् । ‘धेरै महिला बलात्कारको सिकार भएका छन्,’ उनले भनिन्, ‘कतिपय लाजले केही भन्न मान्दैनन् । भनिहाले पनि सानोतिनो जरिवाना गरेर गाउँमै कुरा मिलाइन्छ ।’
धामीझाँक्री पनि दोषी
सामाजिक कार्यकर्ता सानुकुमारी शाहीले परिवर्तन नआउनुमा धामीझाँक्रीको मुख्य दोष रहेको बताइन् । ‘धामीहरूले पहिले महिनावारी हुँदा घर नजिक आएको, देउताको वास्ता नगरेकाले तिनीहरूका बच्चा देउता रिसाएर जंगली जनावरले खाएको हो भनेर उल्टै हप्काउँछन् । यस्तो चलन परिवर्तन गर्न निकै गाह्रो छ,’ उनले भनिन् ।
देउताले भनेको मान्दा कसैलाई केही नभएको बताउने धामी हर्के रोकायाले आफ्ना देउताले यस्तो नसहने र महिनावारी भएका बेला घर नजिक आउनेलाई कुनै न कुनै सजाय दिने दाबी गरे ।
- देउता रिसाउने र अनिष्ट हुने मान्यता
- ठूलै सरुवा रोग लागेका बिरामीलाई जस्तै व्यवहार
- जंगलमा बस्दा कतिले नवजात शिशु गुमाइसके
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment