फाल्गुन १४, २०७२- कांग्रेस महाधिवेशन सुरु हुन एक साता पनि बाँकी छैन । तर, संस्थापन पक्ष अहिलेसम्म सर्वसम्मत उम्मेदवार बनाउन अल्झेको छ । सुशील कोइरालाको निधनपछि कार्यबाहक सभापति रामचन्द्र पौडेल स्वभाविक उम्मेदवार भए पनि उनलाई छाड्न महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तयार देखिएका छैनन् । जसका कारण संस्थापन पक्षले सभापतिको सर्वसम्मत उम्मेदवार दिन सकिरहेको छैन ।
देउवा पक्षको असहमतिका कारण पदाधिकारी बढाउने संभावना कम भएपछि संस्थापन पक्षमा नेता व्यवस्थापनकै मुख्य चूनौति देखिएको छ । सभापतिमा पौडेल र महामन्त्रीमा वीपी पुत्र सशांकको टिम करिब निश्चित प्राय: छ । तर, महामन्त्रीद्वय सिंह र सिटौलाको व्यवस्थापन कसरी गर्ने भन्ने बिषय नमिल्दा सर्वसम्मत हुन नसकेको हो ।
दोस्रो बन्न सिंह र सिटौलाको प्रतिस्पर्धा
सिंह र सिटौलबीचको भित्री उद्देश्य पौडेल सभापतिमा निर्वाचित भए त्यसपछिको संस्थापनमा दोस्रो स्थानमा को आउने भन्ने मुख्य प्रतिस्पर्धा देखिन्छ । दुवैलाई एकअर्कासँग सशंकित छन् ।
तत्कालीन सभापति सुशील कोइरालाले आफूलाई वाईपास गरेर सिटौलालाई अघि बढाएको गुनासो धेरैअघिदेखि सिंहले गर्दै आएका थिए । सर्वदलीय बैठक र वार्ताहरुमा आफूलाई भन्दा सिटौलालाई प्राथमिकता दिइएको र पार्टीमासमेत जिम्मेबारी नपाएको गुनासो सिंहको पौडेलसंँग पनि थियो । त्यसलाई गम्भीरतापूर्वक नलिइदिएको कारण देखाउँदै सिंहले पौडेलसँगको घनिष्टता सम्बन्ध छाडेका थिए ।
‘उपसभापति पद एउटै छ । सिटौलालाई दिँदा सिंह नमान्ने र सिंहलाई दिँदा सिटौला नमान्ने अवस्था छ,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, ‘दुवैलाई सभापति नपाउँदा दोस्रो पद पाउनु पर्छ भन्ने छ । दोस्रो एउटाले नपाउने अवस्थामा सर्वसम्मत गराउन कठिनाई परेको छ ।’
पौडेलको आफ्नै रोजाई सिंहलाई उपसभापतिमा ल्याउने छ । सिटौलाको तुलनामा सिंह प्रभावशाली र बलियो रहेको अनुमान पौडेलको छ । दुइटाबीच रोज्नु परेमा पौडेल सिंहलाई विश्वासमा लिएर अघि बढ्ने सोचमा देखिन्छन् । त्यसो गर्दा सिटौला सभापतिकै उम्मेदवार बन्ने संभावना प्रवल बन्दै गएको छ । ‘म उम्मेदवार बन्ने करिब निश्चित छ,’ उनले कान्तिपुरसँग भने ।
सिटौलाले पौडेललाई भने– हामीलाई हली बनाउनुस् !
सर्वसम्मत उम्मेदवार बनाउन कांग्रेस केन्द्रीय सदस्य रामशरण महतको निवासमा बिहीबार बेलुका बसेको बैठकमा सिटौलाले पौडेललाई आफू बलियो उम्मेदवार हुने निष्कर्ष सुनाएका थिए । उनले अभिभावकको भूमिकामा बसिदिन पौडेललाई बारम्बार आग्रहसमेत गरेका थिए ।
‘मेरो पोजिसन बलियो छ । तपाईं अभिभावक बन्नुहोस् । तपाई सुशील कोइरालाको उचाईमा पुग्नुहुन्छ,’ सिटौलाको भनाई उत्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई हली बनाउनुहोस् । हामी हलो जोत्छौं । तपाईं अभिभावक भएर अर्हाउनुहोस् ।’
बैठकमा सिटौला पूरै समय समेत बसेनन् । उनी आफ्नो धारणा राखेर बाहिरिएका थिए । सिंहले देशभरको स्थिति हेरेर आफूलाई आफैंले मूल्याकंन गर्नुपर्नेमा जोड दिएका थिए ।
सिटौलालाई फकाउन शशांक र मिनेन्द्र सक्रिय, सशांक निवासमा आज पनि बैठक
सिटौलालाई फकाउन बिहान पार्टी प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरु संशाक र मिनेन्द्र रिजाल उनको निवासमै पुगेका थिए । त्यसलगतै सशांक निवासमा संस्थापनको बैठक बसेको थियो । पार्टी प्रवक्ता बडुले टुंगिसकेको अवस्था नभए पनि सर्वसम्मतिको उम्मेदवारी बनाउने प्रयास जारी रहेको बताए । ‘संस्थापन पक्षबाट एउटै उम्मेदवार हुन्छ । अलग–अलग हुँदैन,’ बडुले भने, ‘कसलाई कहाँनेर व्यवस्थापन गर्ने भन्नेबारे छलफल भईरहेको छ ।’
संस्थापन पक्षले पार्टी र सरकारमा व्यवस्थापन गर्ने जमर्को गरिरहेको छ । पार्टीमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था छ । पौडेलले जितेमा मनोनित महामन्त्रीमा महतलाई ल्याउने आश्वसन दिइएको छ । सिंह र सिटौला दुवैको स्थान संसदीय दल वा उपसभापति छ ।
महाधिवेशनपछि दलको नेताको निर्वाचन गर्नुपर्ने हुन्छ । बरिष्ठ नेता शेरवहादुर देउवा र कार्यबाहक सभापति पौडेल दुवैको चाहना पार्टी सभापति बनेपछि दलको नेता हुने छ । सिटौलालाई दलको नेतामा अघि बढाउन स्वयं पौडेल तयार छैनन् । उनी तयार भए पनि सिंह र महत बिच्कने छन् । ‘एउटै उम्मेदवार बनाउन चूनौतिपुर्ण अवस्था नै छ,’ केन्द्रीय सदस्य रिजालले भने, ‘तर सहमतिका लागि हामी लागिरहेका छौं ।’
सुजाता पनि महामन्त्री आकांक्षी
यता सहमतिका लागि भईरहेका छलफलमा आफूलाई नबोलाईएको भन्दै गिरिजापुत्री सुजाता रुष्ट भएकी छिन् । संशाक निवासमा आजै बिहान भएको बैठकमा आफूलाई नडाकिएको उनले बताईन् । ‘अब म पार्टी सभापतिका लागि नै तयारी गरे । यस्तो पाराले पार्टी चल्दैन,’ उनले भनिन्, ‘रामचन्द्रजी संसदीय दलको नेता भएर प्रधानमन्त्री बने हुन्छ म पार्टी सभापति हुन्छु ।’
आफूलाई वाईपास गरेर छलफल हुन थालेको प्रतिक्रियास्वरुप सुजाताले सभापतिको तयारी थालेको भने पनि उनको चाहना पनि महामन्त्रीमा छ । कोइराला परिवारकै अर्का नेता शेखरले पनि महामन्त्रीकै लागि आफूलाई अघि बढाउँदै आएका छन् । देशभर क्रियाशील भएका कारण कोइराला परिवारबाट आफू नै बलियो रहेको तर्क शेखरको छ । संस्थापनको दबाव संशाकलाई अघि बढाउने भएपछि शेखर र सुजातालाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा पौडेलका लागि चूनौति छ । ‘जसलाई जहाँ व्यवस्थापन गरे पनि कोइराला परिवार एकै ठाउँमा रहन्छ,’ बडुले भने, ‘असन्तुष्टी भएर जाने अवस्था छैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment