Saturday, February 27, 2016

चामल पुर्‍याउन डोल्पा गएको हेलिकप्टरबाट एउटा ‘सडकबालक’ काठमाडौं आयो

तिलक घिमिरे ‘निर्मल’

‘भाइ तिम्रो नाम के हो ?’ मैले सोधेँ । अन्दाजी १३ वर्षजतिको उसले कालिमाटी लेखनाथ पौडेलको सालिकअगाडि पाइपको बारमा एक हातमा आफूभन्दा ठूलो प्लास्टिकको बोरा बोकेको थियो र अर्को हातले सीताराम दूधको पाकेटमा डेन्ड्राइड हालिएको सानो पाकेट सुँघिरहेको थियो ।

उसले पनि बडो मज्जाको जवाफ दियो, ‘किन चाहियो तपाईंलाई ?’  यसो सम्झिएँ, हो पनि, उसको नाम सोध्ने मेरो काम थिएन । उसको जवाफले मसँगै रहेको साथी मज्जाले हाँस्यो ।

तिलक घिमिरे 'निर्मल'

तिलक घिमिरे ‘निर्मल’

म अलिअलि हच्किएँ र अति नै मायालु लवजमा भने, ‘चिनेको भाइजस्तो लागेर सोधेको ।’ उसले अब अलि नरम भावमा अंग्रेजीमा भन्यो, ‘नो मेन्सन ।’ अबचाहिँ परिस्थिति एकैछिन अगाडिको भन्दा राम्रो भइरहेको थियो । मैले कुरा गर्ने निधो नै गरें र पुनः सोधे, ‘मलाई तिम्रो नाम भन्न मिल्दैन हो भाइ ?’ उसले जवाफ दियो, माइकल ।

मेलै भनेँ, ‘भाइको त अंग्रेजी नाम पो रहेछ ।’ ऊ हाँस्यो ।

‘अनि, माइकल भाइको घर कता पर्‍यो नि ?’ उनले डोल्पा बताए ।

‘डोल्पा भनेको त साह्रै टाढा छ हैन माइकल भाइ ?’

‘हो, धेरै टाढा छ, हामी गाउँलेहरु चाहिँ काठमाडौं आइपुग्न ७/८ दिन जति लाग्छ, तर मेरो गाउँबाट यहाँ आउन कुइरेहरुलाई १० दिन भन्दा धेरै लाग्छ ।’

डोल्पाबाट काठमाडौंसम्म कसरी आइपुगेको भनी सोधेँ । उसले ‘आज मसँग ट्याम छैन कुरा गर्न’ भन्यो । मैले उसलाई लेखको मुख्य पात्र बनाउन उपयुक्त ठानेँ र उसलाई भोलि पनि भेट्न भनेँ । ऊ एक हातले डेन्ड्राइड तान्दै अर्को हालमा काँधमा ठूलो धोक्रो भिरेर प्लास्टिक टिप्न लाग्यो । मैले ऊ पर पुगुन्जेल हेरिरहेँ ।

कालिमाटीको तरकारी बजारको गेटमा डोकोमा बेच्न राखेको एक सुन्तला निकालेर ऊ भाग्न खोज्छ । तर साहुजीले समातेर लात्ताले हिर्काउँछ र आमाबाबुको नाम जोडेर अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गर्छ । ‘बोहोनी समेत नभएको बेलामा खा***ले झुर गरायो’ भनेर मुर्मुरिन्छ ।

मलाई त्यो उसको गालीको शब्दले बडो नमज्जा लाग्छ र ‘सुन्तलाको पैसा म दिन्छु उसलाई छोड्दिनुस् साहुजी’ भन्छु । उसले छोड्दिन्छ । मैले उसैसँग १ केजी सुन्तला किनेर एउटा साहुलाई दिन्छु । वरपरका मान्छे र अन्य व्यापारी पनि ‘यिनीहरुको जातै यस्तै हो ।’ भनेर कुरा काट्छन् ।

रुममा पुग्छु र उसको कथासँग सम्बन्धित रहेर कसरी राम्रो आर्टिकल लेख्ने भनेर गम्छु तर मेलोमेसो नै आउँदैन । भोलिपल्ट त्यसै ठाउँमा पुगे । केहीबेरको प्रतीक्षापछि ऊ आएर भन्यो, ‘ओ ब्रो हल्का ढिला भयो आउन, सरी है ।’ उसले एकजना साथीलाई ज्वरो आएको र उपचार तथा रेखदेखका लागि १ संस्थामा पुर्‍याएर आएको बतायो ।

म बडो भावुक भए र सोचेँ, ‘अनि उसलाई कहिलेदेखि ज्वरो आएको रहेछ माइकल ?’ उसले ‘हिजो माल खोज्न पाइएन पानी परिरहेर अनि झ्याप हान्न पनि चान्स मिलेन त्यही भएर भोकै बसेको र पानीमा हल्का भिजेकाले बिरामी भएको’ बतायो ।

मैले खाना खायौ त भनेर सोधेँ । उसले संस्थामा गएर मासुभात खाएको बतायो ।  त्यसपछि डोल्पादेखि काठमाडौंसम्मको यात्रा सुनाउन आग्रह गरेँ । उसले १ पाकेट खुकुरी चुरोट किनिदिन आग्रह गर्‍यो । तर, मैले त्यति नै पैसामा मःमः खुवाउने सर्त राखेँ । ऊ आफ्नो कथा भन्न राजी भयो ।

उसको जीवन-कथा बडो मार्मिक रहेछ । डोल्पाको विकट गाउँमा घर । जहाँबाट मानिसहरु से-फोक्सुन्डो ताल र राष्ट्रिय निकुञ्ज हेर्न तथा घुमफिर गर्न जाँदा रहेछन् । सदरमुकाम दुनैबाट लगभग तीन दिनजति लाग्ने रहेछ, उसको गाउँ पुग्नलाई । उसको वास्तविक नाम माइला । सोही माइला नै पछि सहर छिरेपछि अपभ्रंश हुँदै माइकल भएको । माइला ११ वर्ष उमेरसम्म गाउँमै चौँरी चराउने काम गर्थ्यो । जब उसको बाबुको भीरबाट लडेर मृत्यु भयो, त्यसको लगभग ७ महिनापछि उसको आमा पनि पोइला गइछिन् । माइलाको १ जना बहिनी रहिछिन् हाल उनी १२ वर्षकी भइन् ।

माइकलचाहिँ १४ वर्षमा हिँड्दै रहेछ । आमा पोइला गएपछि ११ वषर्ीय माइलाले साहुको चौँरी चराएर बहिनीलाई हुर्काइरहेको थियो । त्यति बेला उसकी बहिनी गौरी नौ वर्षकी मात्र थिइन् । लगभग ५ महिना जति चौँरी चराएछ उसले । एकदिन भोट माग्न आएका नेताले उनी र गौरीलाई काठमाडौं लगेर धेरै पढाइदिने भनेर चामल पुर्‍याउन गएको खाद्य संस्थानको हेलिकप्टरमा हालेर सुर्खेत हुँदै काठमाडौं ल्याएछन् । त्यो नेताको एकजना कुइरेसँग चिनजान थियो । त्यही भएर उसको संस्थामा राख्न ल्याएको रहेछ । तर उनीहरु काठमाडौं आउँदा त्यो कुइरे आफ्नो देश फर्किसकेको हुनाले ती दाजुबहिनीलाई नेताले त्यहीँ छोडेर ‘एकछिनमा आउँछु है’ भनेर हिँडेको आज तीन वर्ष भइसक्यो, अझै भेट भएको छैन ।

डोल्पाको त्यो अनकन्टार वनमा बसेको माइला र गौरीलाई काठमाडौंको भीडभाडले वाकवाकी लाग्न थालेछ । त्यो नेता नआएपछि उनीहरु आत्तिँदै रुँदै बसेछन्, गोंगबुको बसपार्कमा । उनीहरु रोएको देखेर एकजना होटलवाला आएर भाडा माँझ्ने काम गर्छस् भनेर सोधेछन् । माइला र गौरीले सहमत जनाएर हुन्छ भन्दै भाडा माझ्ने काम सुरु गरेछन् ।

काठमाण्डौंको भाषा उनीहरुले राम्ररी बोल्न नजान्ने तर बुझ्न चाहिँ बुझ्ने । चामलको खाना, दाल, तरकारी, अचार हालेको खाएकै थिएनन्, डोल्पामा हुँदा । केही समय त उनीहरुलाई भात रुच्दै रुचेन । २ महिना जति बितेपछि एकजना मोटी-मोटी देखिने महिला आएर गौरीलाई आफ्नो घरमा काम पनि गर्ने, पढाउने पनि भनेर लिएर गइन् । तर ती मोटी महिला को हुन् न उनलाई थाह थियो, न त गौरीलाई । त्यस होटलमा लगभग नौ महिना काम गरेपछि उसले साहुजीसँग लुगा किन्न दुई सय रुपैयाँ माग्दा दिएनछन् । उसलाई काम गर्न मन पनि हराउँदै गयो । एकदिन चियाको कप फुट्दा साहुको छोरोले पिटेको हुँदा उसले काम छोडेर सडक जीवन अंगाल्न पुगेको रहेछ । सडकमा लगभग २ वर्षजति भयो, ऊ बस्न थालेको । ६ महिनाअगाडि गौरीको बारेमा बुझ्न त्यही पुरानो साहुसँग जाँदा उसले त होटल बेचिसकेको र अर्कैले किनेको पो रहेछ ।

म साह्रै भावुक भएँ, उसको कथा सुन्दा । उसका पनि कथा कहँदै जाँदा गला अवरुद्ध थिए, आँखा टिलपिलाइरहेको थियो । मैले मःमः खान उसलाई होटलमा लगेँ । होटलवालाले तपाईंभित्र टेबुलमा बस्नुस्, यो ‘खाते’ यहीँ उभिएर खान्छ भन्यो । माइला जोडले कराउँदै भाग्छ, ‘साला खान्न तेरो मःमः, हो म ‘खा**’ हुँ ।’

म अवाक् भएँ र मःमः पसलको साहुसँग झोक्किएँ र उनलाई त्यस्तो भन्ने अधिकार कसले दियो भनेर अलि कड्किएँ । त्यतिञ्जेल ऊ विष्णुमतीपुल नजिकै पुगिसकेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहिलो योगोत्सव फागुन अन्तिम साता

१५ फागुन, काठमाडौं । यही फागुन २४– २६ गते नेपालमै पहिलो पटक योगोत्सव हुने भएको छ ।

विश्व योग उत्सव मूल समारोह समितिले पत्रकार सम्मेलन गरी मानिसलाई विभिन्न किसिमका तनावबाट मुक्त गराउनका लागि यस किसिमको उत्सव गर्न लागिएको जानकारी गराएको हो ।  निःशुल्क रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्न लागिएको उत्सवमा एक हजार जनालाई समावेश गराइने कार्यक्रम संयोजक योगी प्रकाशले जानकारी दिए ।

उत्सव  बिहान ५ देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने छ ।  कार्यक्रममा नेपालका साथै युरोप र अमेरिकाबाट समेत योगगुरुहरुको सहभागिता रहने जनाइएको छ ।

मानव जीवनलाई भौतिक र आध्यात्मिक रुपमा सहज तरिकाबाट बुझाउन प्रयास गर्नु उत्सवको मुख्य उद्देश्य हुने जनाइएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्पेनमा नेपाली पाठशाला संचालक समिति गठन

बार्सिलोना। बिगत दुई बर्ष देखि संचालन हुँदै आएको नेपाली पाठशाला स्पेनले संचालक समिति गठन गरेको छ। पाठशालाको मंगलबार बसेको एक बैठकले सरला सापकोटाको संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरेको हो।

समितिका सदस्यहरुमा केशरी श्रेष्ठ नेमकुल, निलु अवाले श्रेष्ठ , बिष्णु रानाभाट,जमुना सापकोटा, बिनिता रेग्मी खनाल, लिला भण्डारी, दिप गुरुङ , देबीकुमारी भण्डारी रहेको संयोजक सापकोटाले जानकारी दिइन।

सापकोटाले भनिन्,” पाठशालालाई अब ब्यबस्थित रुपमा हामी संचालन गर्ने छौ ,एनआरएनए स्पेनले कार्यलय उपलब्ध गराएको छ,अब छिट्टै नयाँ बालबालिकाहरुलाई पनि समेटेर कक्षा संचालन गर्ने छौ” उनले कार्यलय उपलब्ध गराएकोमा एनआरएनए स्पेनलाई धन्यबाद ब्यक्त गरेकी छिन्।

यसअघि सन् २०१४ जनवरी ४ तारिख देखि सरला सापकोटा ,निता अधिकारी,केशरी श्रेष्ठ नेमकुल,निलु अवाले श्रेष्ठ, बिष्णु रानाभाट र जमुना सापकोटा मिलेर नेपाली पाठशालाको स्थापना गरेका थिए।

पाठशालाको प्रभाब

विदेशमा हुर्केका आफ्ना छोराछोरीहरुले स्नेह पुर्बक बाबा, आमा भनेर बोलाईदिए पनि मन प्रफुल्ल बनाउने अभिभाबकहरु झन् उनीहरुले नेपाली अक्षर लेख्न र पढ्न थालेपछि त खुशीको कुनै सिमा नै छैन।

स्पेनको बार्सिलोनामा हुर्केका बालबालिकाहरुलाई घरमा नै नेपाली कक्षा चलाएर सिकाउन थाले पछि उनीहरुको नेपाली भाषामा सुधार आएको थियो।

स्कुल जादा बालबालिकाहरु स्पेनिस भाषामा नै लेख्न र पढ्नु पर्ने हुदा फुर्सदको समयमा नेपाली भाषालाई पनि सिक्न सकुन् भनेर हरेक हप्ता नेपाली कक्षा संचालन ल्याईएको थियो। हरेक शनिबार साँझ २ घण्टा उनीहरुलाई नेपाली लेख्न र पढ्न सिकाई पछि नेपाली भाषामा बालबालिकाहरुको सुधार आएको हो।

नेपालमा पनि ७ बर्ष जति स्कुलमा नै बालबच्चाहरुका साथ जीवन बिताए शिक्षिका केशरी श्रेष्ठले बार्सिलोना स्थित नेपाली बालबालिकाहरुलाई पढाउँदै आएकी छिन्।

यही बर्ष जनवरीमा पाठशालाले दोस्रो बर्ष पुरा गरेको छ। बार्षिकउत्सवको अबसरमा बालबालिकाहरु अभिभाबकको साथमा खानपिन गर्दै खुशी मनाएका थिए।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

टिचिङ हस्पिटलमा रुवाबासी, छोराको शव देखेपछि पाइलट सन्तोषकी आमा बेहोस

काठमाडौं, १५ फागुन । काष्टमण्डप एयरका को-पाइलट सन्तोष रानाको शव देखेपछि काठमाडौंको शिक्षण अस्पतालमा दिउँसो रुवाबासी भएको छ । शुक्रबार कालिकोटमा भएको जहाज दुर्घटना ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेसँगै को पाइलट रानाको शवलाई पोस्टमार्टमका लागि शनिबार विहानै काठमाडौं ल्याइएको थियो ।

Santosh-rana-mother-1

त्यसमध्ये को पाइलट रानाकी आमा काठमाडौंमै थिइन् । उनी पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानाका छोरा हुन् । छोराको शव काठमाडौं ल्याएको थाहा पाएपछि गाउँले र परिवारसँगै अस्पताल पुगेकी आमा यमकुमारी डाँको छोडेर रोइन । गाउँले र परिवारका सदस्यहरु पनि आसु झार्दै रुन थाले । एकछिन अस्पतालमा रुवाबासी भयो ।

छोरालाई अन्तिम पटक भेट्न पूर्वमन्त्री राना पनि शिक्षण अस्पताल पुगेका थिए । एम्बुलेन्समा छोराको शव देखेपछि यमकुमारी आँखाभरी आँसु पार्दै एम्बुलेन्सभित्र छिरिन । एम्बुलेन्समा छिरे लगतै ठूलो स्वरमा दर्दनाक आवाज निकालेर रुन थालिन । उनको दर्दनाक आवाज सुनेर सवैका आँखामा भारी बर्षा भयो । दर्दनाक आवाज निकाल्दै रुने ति महिला एक्कासी ढलिन र त्यही बेहोस भइन ।

Santosh-rana-mother-2

एम्बुलेन्सभित्रै छिरेर छोराको शव झम्टेर आमा यमकुमारी डाँको छोडेर रुँदा त्यहाँको माहोल एकाएक शोकमा डुबेको थियो । केहीबेरमै आमा यमकुमारी छोराको शवको आडैमा अचेत भएर ढलेकी थिइन ।

त्यहाँ जुटेका आफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए । शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था पनि उतिकै भावविव्ह्ल थियो । न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो ।

शुक्रबार नेपालगञ्जबाट जुम्लाका लागि उडेको ११ जना सवार जहाज कालिकोटमा दुर्घटना भएको थियो ।

Santosh-rana-mother


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हामी देशलाई कायापलट गर्ने अभियानमा छौंः बाबुराम

इटहरी, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुरातनवादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरुले नयाँ शक्तिको अभियान अघि बढाएको बताउनुभएको छ ।

सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले देशलाई आर्थिक, साँस्कृतिक र सामाजिक रुपान्तरण गर्न हिजोको राजनीतिक चिन्तन र धारणालेमात्र सम्भव नहुने स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिक र सामाजिक सद्भाव सिर्जना गर्दै सम्पूर्ण नेपालीहरुलाई समान ढङ्गले नयाँ शैलीबाट देश निर्माण गर्ने अभियानमा समाहित गराउनु नयाँशक्तिको मुख्य अभियान रहेको स्पष्टसमेत पार्नुभयो ।

डा भट्टराईले देशलाई भ्रष्टाचाररहित नबनाएसम्म कुनै पनि नेपालीको आर्थिक हैसियत माथि उठ्न सम्भव छैन भन्ने आफ्नो बुझाई र विश्लेषण रहेको तर्क गर्दै नयाँ शक्तिले देशैभर अभियान चलाउने रणनीति अघि सारेको जानकारी दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारको स्वीकृति विना भूकम्प प्रभावितले घर बनाउन नपाउने

१५ फागुन, काठमाडौं । सरकारले तत्कालका लागि भूकम्प्रभावितलाई पूर्व स्वीकृति बिना आवासीय घर बनाउन रोक लगाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सूचना जारी गर्दै तत्कालका लागि व्यक्तिगत घर बनाउन रोक लगाइएको जनाएको छ ।

प्राधिकरणले व्यक्तिगत घरको पुनर्निर्माण गर्न सरकारी अनुदान दिने हतारमा घर नबनाउन भूकम्प्रभावितलाई आग्रह गरेको हो । अब बन्ने घर सुरक्षित एवम् भूकम्प प्रतिरोधी हुनुपर्ने भएकाले सरकारको प्राविधिक सहयोग र समन्वयमा निर्माण गर्न सरकारले तत्काल व्यक्तिगत आवासीय भवन बनाउन प्रतिबन्ध नै लगाएको हो ।

रकम नबाँड्न संघसंस्थालाई निर्देशन

यस्तै पुनर्निर्माण प्राधकिरणले विभिन्न संघसंस्था प्रभावितका लागि जथाभावी सहयोग रकम वितरण नगर्न भनेको छ । सूचनामा स्वीकृति बिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानूनी हुने भन्दै त्यस्तो कार्य रोक्न आग्रह गरिएको छ ।

‘पुनर्निर्माण र पुनस्र्थापनाको कार्यमा गैरसरकारी संस्थाको सहयोग परिचालन गर्ने सम्बन्धी छुट्टै कार्यविधि पनि प्राधिकरणले तयार गरिरहेको छ’ सूचनामा भनिएको छ, ‘प्राधिकरणको पूर्व स्वीकृति बिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु प्रचलित कानून र नीति विपरित हुने भएकाले रोकेर प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरिन्छ ।’

आवासीय भवन निर्माणमा प्राधिकरणसाग समन्वय नभएकाले एघर निर्माणमा एकरुपता र गुणस्तरीयता नआएको ठहर गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

भवनहरुको प्राविधिक पक्षलाई सुनिश्चित गर्न यस्तो सूचना निकालेको प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले बताए ।’हामीले गैरसरकारी संस्थाको संलग्नतालाई व्यवस्थित गर्न खोजेका हौं । सधैलाई रोक लगाउने प्राधिकरणको मनसाय होइन’ उनले भने ।

केही जिल्लामा अहिले विभिन्न संघसंस्थाहरुले व्यक्तिगत घर निर्माण गर्न रकम वितरण गरिरहेका छन् । यसैगरी पुनर्निर्माण प्राधिकरणले नीतिगत व्यवस्था गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउन लागेको जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कमल थापाको गुनासोः हिन्दु राष्ट्र चाहिन्छ भन्ने, भोट चाहिँ गाईलाई नहाल्ने ?

१५ फागुन, इटहरी । हिन्दुत्व जागरण अभियानमा सहभागी हुन इटहरी पुगेका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र चाहिन्छ भन्ने तर, गाईलाई भोट नहालेको भन्दै गुनासो गरेका छन् ।

‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ धनगढीबाट सुरु भएको अभियानका क्रममा इटहरीमा सभा भएको थियो ।

सभामा श्रीनिवास आचार्यले राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा छाडेको हो कि जस्तो लागेको बताए । साथै उनले अब पछि बहुमत ल्याएर कि अहिले नै संविधान संशोधन गरेर हिन्दु राष्ट्र बनाउन भन्दै प्रश्न गरे ।

सभालाई सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले त्यसको जवाफ दिएका छन् । थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दा सभामा सहभागीहरुले ताली बजाए ।

तर, उनले रोक्दै भने, हिन्दु राष्ट्र चाहिन्छ भन्दा थपडि बजाउनुहुन्छ । गाईलाई भोट भने हाल्नुहुन्न । हामीलाई २५ सिट मात्र दिनु भो । ६०१ का अगाडि केही गार्न सकिएन ।’

एक लाख मान्छे काठमाडौंमा उतारौं, हिन्दु राष्ट्र आउँछ भन्दा आफूलाई साथ नदिएको ५ हजार पनि उतार्न नसकेको उनले बताए । उनले भने, ५ लाख मान्छे काठमाडौंमा उतारौं, तत्काल हिन्दुराष्ट्र स्थापना हुन्छ, सक्नुहुन्छ ?’

राप्रपा नेपालका अध्यक्ष थापाले अबको दुई वर्षपछि चुनाव हुने र आफ्नो पार्टीलाई भोट दिए हिन्दुराष्ट्र स्थापना हुने दाबी गरे ।

थापाले चोकमा सभा गरिरहँदा नयाँ शक्तिका नेता एर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने नजिकै इटहरी एफएमको कार्यालय पत्रकार सम्मेलन गरेका थिए ।

उनले ‘बगेको खोला फर्कँदैन’ भन्दै हिन्दु राष्ट्र नहुने दाबी गरे । आफूहरुले सबै धर्मलाई सम्मान गर, धर्मका नाममा राजनीति गर्नु जनताको भावनामाथिको खेलबाड हुने उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं