Saturday, March 5, 2016

मुगुमा खाद्य संकट, भोकमरीको खतरा

२२ फागुन, काठमाडौं । मुगुमा ४० वर्ष यताकै ठूलो खडेरीले चरम खाद्य संकट उत्पन्न भएको स्थानीयवासीले जनाएका छन् ।

मुगुका स्थानीयवासीले कर्णाली खाद्य तथा कृषि सरोकार समूहका नाममा शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी जिल्लामा वर्षे बालीको उत्पादन ७० प्रतिशतले घटेका कारण चरम खाद्य संकट भएको जनाए ।

खाद्य संकटका कारण उत्पन्न भोकमरीको संभावना टार्न अधिकांश स्थानीयवासीहरु भारत पलायन हुने क्रम बढेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

वर्षे बालीको उत्पादन घटेको अवस्थामा खडेरीका कारण हिउँदे बाली समेत नउमि्रएकाले स्थानीयवासीहरु खानेकुराको जोहो गर्न असमर्थ भएका छन् । सरकारी सहयोग नआउने हो भने निकट भविश्यमै भोकमरीको समस्या देखिनसक्ने मुगुवासी जर्मन नेपालीले बताए ।

कणर्ाली खाद्य तथा कृषि सरोकार समूहले मुगुलाई खाद्य संकटग्रस्त क्षेत्र जिल्ला घोषणा गरी स्थानीय किसानहरुलाई क्षतिपूर्ति दिन तथा निःशुल्क रुपमा मल र बीउ उपलब्ध गराउन माग गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कुरो र कुलो

भान्जाको बिहेको निम्तो मान्ने उद्देश्यले गत साता गाउँ पुगेँ । बजारको पुरानो चल्तीको चिया दोकानमा आज पनि थुप्रै स्थानीय नेता, कार्यकर्ता र गाउँलेहरू भेला भएर वादविवाद गर्दै रहेछन् । आजको विषयचाहिँ प्रधानमन्त्रीको भारत भ्रमण रहेछ । 

कांग्रेसका स्थानीय नेता खड्गप्रसाद ओझाको पालो रहेछ बोल्ने । भने, ‘ओली त जिउँदो मान्छे रैछ हो । शिर ठाडो गरेर इन्डियन नेताहरूसँग, पत्रकारहरूसँग, जोसँग पनि बोल्न सक्ने । हिन्दीमा भन्यो हिन्दीमा, अंग्रेजीमा भन्यो अंग्रेजीमा, ओहो !’

एमालेका स्थानीय नेता माधवकुमार ढकालको चित्त बुझेन । भने, ‘अंग्रेजी बोल्दैमा ठूलो भइन्छ ? मेरो नाति पनि फरर्र अंग्रेजी बोल्छ । शिर ठाडो त यसो नि, घाँटीको बिरामी, मुन्टो निहुराउनै मिल्दैन अरे ओलीजीको । अनि ठाडो त हुने भैगो नि !’

‘आफ्नै नेतालाई नउडाउनूस् काका । उहाँको आत्मविश्वासले रोगलाई जितिसक्यो । उहाँको यही आत्मविश्वास र अडानले गर्दा कसरी झुक्न आए भारतीय नेताहरू ? उहाँलाई स्वागत गर्न राज्यमन्त्री, सचिव जाँदा हुनेमा विदेशमन्त्री आफैँ एयरपोर्ट गइन् ।’

‘तिमेरु ठिटाहरूलाई भारतको कूटनीति के थाहा छ ? यो त हाम्रा नेताहरूलाई भस्ल्याङभुस्लुङ पारेर लटपट्याउने चाल हो । त्यो सुष्मा भन्नेले केपीको हात कस्तरी च्याप्प पारेर समातेकी, ख्याल गर्नुभो तपाईंहरूले ?’

‘तपाईंले के भन्न खोज्नुभएको ?’ एक जना युवा जंगिँदै उठे ।
‘बिरामी मान्छेको अररिएको हात त्यसरी अठ्याउन हुन्छ ? उनीहरूले रिस पोख्न त्यसो गरेका हुन्, जानी जानी पीडा दिन । राजकीय भ्रमणमा गएका प्रधानमन्त्रीलाई स्वागत गर्न आउँदा हाफ सर्टमा भोटो लगाएर भेट्न आए मोदी । मोजासमेत लगाएका छैनन् खुट्टामा । कति हेपेको त ? यत्रो अपमान गर्दा पनि ओलीले कुनै प्रतिरोध गरेनन् । लत्रक्कै परे ।’

‘मोजा लगाएर आउनूस् मोदीजी भन्नु त केपीले ? नचाहिने कुरा ! देख्नुभएन, विदेश मन्त्रीले केपीको जन्म दिनमा कत्रो सम्मान प्रकट गरिन् । आफ्नै भाइ भन्दै शुभकामना दिइन् ।’

‘केको सम्मान, हेपेको हो हेपेको । आफू आठ दिनअगाडि जन्मेको कुरा पत्ता लगाएर प्रधानमन्त्रीजस्तो मान्छेलाई ‘छोटा भाइ’ भनेर अपहेलना गर्दा पनि मख्ख पर्ने ? अर्को कुरो, देशको स्थिति यस्तो छ, नयाँ दिल्लीमा गएर जन्म दिन मनाउनुपर्ने ! काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।’

‘तपाईंहरू नकारात्मक मात्रै कुरा नगर्नूस्, मधेस आन्दोलनका बेला इन्डियाबाट नेपालको भूमिमाथि आक्रमण गरेको कुरा दिल्लीमै गएर अप्रत्यक्ष रूपमा उठाएर ओलीले भारतलाई थर्काएको कुरा पनि नबिर्सौं साथी हो ।’

‘अँ, यहाँ झापामा थापा भाइको चिया दोकान पनि हल्लिन त हल्लिएको थियो । ओलीले दिल्लीमा थर्काएकाले पो रहेछ । डाइरेक्ट भन्न सक्नुपर्‍यो नि भारतले नेपालमाथि आक्रमण गरायो, त्यसका लागि भारतले माफी माग्नुपर्छ भनेर ।’ कुईंकेल बूढा कस्सिए ।

‘यी भन्न सक्छ कसैले त्यसरी ? तिम्रा नेता भए सुरालमा सु गरेर फर्किन्थे होला ।’ लाउती बूढाले जुरुक्कै उठेर कुर्इंकेल बूढालाई लोपारे । कुर्इंकेल उठेर लाउतीतिर जाइलाग्न खोजे ।  एकछिनको चर्काचर्की र ठेलमठेलपछि एक एक गरेर जंगिँदै सबै निस्किए र तितरबितर भए । म पनि भोलि फेरि आउने विचार गर्दै घरतिर लागेँ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

६३ जनाले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिए

२२ फागुन, काठमडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्तार् लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि ३०२ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन-तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिका अनुसार ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन तालिका अनुसार शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ता लिन समय तोकिएको थियो ।

पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुले भने फिर्ता लिएका छैनन् । सभापतिमा तीन, महामन्त्रीमा तीन र कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको निर्वाचन सदस्य घिमिरेले जानकारी दिए ।

निर्धारित समयसीमाभित्र ६३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कमिटीका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

`ड्रिम्स`को बम्पर ओपनिङ, जताततै हाउसफुल

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ड्रिम्स’ले बम्पर ओपनिङ गरेको छ । युवा स्टार अनमोल केसी स्टारर यो फिल्मले पहिलो दिनको पहिलो शो मा हाउसफुल सुरुवात गरेको छ । फिल्म काठमाडौं तथा मोफसलका प्रायः सबै स्टेशनमा हाउसफुल छ ।

सबैभन्दा बढि चर्चामा रहने तथा बिजनेसको हिसाबले महत्व दिईने राजधानीको गोपिकृष्ण हलमा ४ वटा पर्दा हाउसफुल बनेका छन् । गोपी, कृष्ण, शिवाय तथा नमः, चारवटा पर्दा हाउसफुल भए भने प्रियंका चोपडा अभिनित हिन्दी फिल्म ‘जय गंगाजल’ले एक शो पनि पाएन् । त्यस्तै अष्टनारायण, गुण लगायतका हलहरुमा पनि दर्शकको चाप उस्तै रहेको जानकारीमा छ ।
मल्टिप्लेक्समा पनि ‘ड्रिम्स’प्रति दर्शक खनिएका छन् । अग्रिम बुकिङ खुल्दा बिहिबार बिहान नै अधिकांश मल्टिप्लेक्स हलहरुमा बुकिङ हाउसफूल भएको थियो । यो हिसाबले हेर्दा फिल्मले ओपनिङ बिजनेश आक्रामक गर्ने निश्चित छ । यसैबीच यो सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’मा भने उल्लेख्य दर्शक देखिएका छैनन् । बिहानि शो मा गोपीकृष्णको सानो हलमा ५० जना पनि दर्शक नरहेको गोपिकृष्ण श्रोतले बताएको छ ।
‘फिल्म प्रति दर्शकले दिएको माया र साथबाट उत्साहित छु, निर्देशक भुवन केसीले भने, ‘पुनः एकपटक अनमोल क्रेज प्रमाणित भएको छ।’ त्यसो त भुवनको यो फिल्म डेब्यु निर्देशन पनि हो । सामिप्य तिमिल्सिनाको कथा रहेको फिल्ममा अनमोलसँगै साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छिन् ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३२ विद्यालयमा छैनन् एकजना पनि विद्यार्थी, शिक्षक दरबन्दी भने यथावत

२२ फागुन, काठमाडौं । काभ्रे जिल्लाका तीन दर्जनभन्दा बढी सरकारी विद्यालयमा दरबन्दीअनुसार विद्यार्थी संख्या नभएको पाइएको छ ।

३२ विद्यालयमा एक जना पनि विद्यार्थी नभएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार शून्य विद्यार्थी भएका विद्यालयमा पनि साविककै शिक्षक दरबन्दी कायम छ ।

शिक्षा कार्यालयले दुई वर्षअघि नै विद्यार्थी नभएका विद्यालयबाट विद्यार्थी भएका विद्यालयमा शिक्षकहरुको दरबन्दी मिलान गर्न सुरु गरेको जनाएको थियो । तर, तथ्यांकले दरबन्दी मिलान योजनामा सीमित भएको देखाएको छ ।

शून्य विद्यार्थी रहेका विद्यालयमा नवप्रभात प्रावि, देवीस्थान निमावि देवीस्थान, बालविकास मावि फलामेटार, धार्ने ज्योति प्रावि धार्ने, ज्ञानकुञ्ज प्रावि, महादेवस्थान निमाविलगायत छन् । दुईदेखि २० जना विद्यार्थी संख्या भएका प्रावि ३२ वटै छन् । २० भन्दा कम विद्यार्थी भएको निमावि ४० वटा छन् । त्यस्तै ४० भन्दा कम विद्यार्थी भएका मावि पाँचवटा छन् ।

विद्यालयहरुमा शून्य विद्यार्थी भए पनि शिक्षा कार्यालयमा पेस गरेको तथ्यांकमा भने विद्यार्थी संख्या ५० को हाराहारीमा रहने गरेका स्रोतको भनाई छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिनाबर्दीकी सचेतक अर्थात् शारदा शर्मा

– राजकुमार बानियाँ

ब्रेन र ब्युटी दुवैको साथ छ, शारदा शर्मा, ५७, लाई । बाह्रैमास उनको व्यक्तित्व शान्त, सौम्य र शीतल लाग्छ । साँच्चै भन्ने हो भने यी परिचित लेखिका स्टार हिरोइनजस्तो लाग्छिन् । के उनले रजतपटमा रहर गरिनन् ?

०४२ सालतिर सिद्धार्थ वनस्थली स्कुलमा पढाइरहेकी थिइन् शारदा । आईएस्सीका सहपाठी हरिहर शर्मा हस्याङफस्याङ गर्दै पुगे । उनले सोधेछन्, ‘फिल्म खेल्ने हो ?’ सुरुमा त उनले पत्याइनन् । खासमा चेतन कार्की कान्छी फिल्मका लागि हिरोइन खोज्दै रहेछन् । कताकता फिल्म खेलौँ खेलौँ नलागेको होइन शारदालाई । तर, तत्काल निर्णय दिन सकिनन् । सानै थिए दुई छोरी । थुप्रैपटक सोचिन् शारदाले ।

हिरोइन भनेपछि समाजको नजरिया बेग्लै हुन्छ । फोटो खिच्ने, अटोग्राफ लिने ताँती लाग्छ । हिरोइन हुनुभन्दा पनि त्यसलाई धान्नै मुस्किल । अडिसन नै दिइनन् उनले । शारदाको ठाउँमा डेब्यु भइन् शर्मिला शाह (मल्ल) । भन्छिन्, “सिटी बस चढेर हिँड् नुपर्ने, तरकारी, दूध किन्न आफैँ जानुपर्ने मान्छे कसरी हिरोइन हुने ?”

सौन्दर्यको मानक एउटै छैन । कतै अनुहार हेर्छन्, कतै शरीरको नाप । शारदा के भन्छिन् भने शरीरलाई सुन्दर बनाउन सकिँदैन । त्यो प्राकृतिक हो । सुन्दर बनाउने त गुणलाई हो । आफ्नो कामलाई हो ।
सुन्दरी शारदालाई प्रेम नगर्ने को होला ? थुप्रैले प्रेमपत्र लेखे । उनले पढिन् मात्रै । तर, कसैलाई हृदय सुम्पिनन् । भन्छिन्, “साइन्स पढ्नेलाई फुर्सदै हुन्न । नोट बनाउने कि लभलेटर लेख्ने ?”

सौन्दर्य शारदाले मागेर पाएकी होइनन् । कसले दिएको हो भन्ने पनि थाहा छैन । तर, जे प्राप्त छ, त्यो अद्भुत छ । त्यसलाई सकेसम्म राम्रोसँग, प्रेमपूर्वक व्यतीत गर्नुपर्छ जस्तो लाग्छ उनलाई । सुन्दरी भन्नेलाई उनले दिने जवाफ ‘धन्यवाद’ मात्र हो ।

उनको बुझाइमा कामुकता व्यक्तिभित्र सलबलाइरहेको जीवन्त र सिर्जनशील ऊर्जा हो । सुन्दर हुनु र अनुभव गर्नु भनेको जीवनप्रति नित्य उत्सुक हुनु हो ।

स्याङ््जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षदेखि ठेगाना फेरिँदै गयो । प्रशासक महेश्वर शर्माको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौँमा बाल्यकाल बिताइन् ।

शान्त, लजालु र अन्तर्मुखी शारदाका साथी थिएनन् । यस अर्थमा उनको बाल्यकाल बाल्यकालजस्तो थिएन । पिताजी अफिसमा मात्र नभएर घरमा पनि प्रशासनै चलाउँथे । एकै दिनमा दुईवटा परीक्षा दिनु पथ्र्यो । एउटा स्कुलमा, अर्को घरमा ।

पोखरा बस्दा सेती नदी र याम्दीखोलाको दोभान देखेर उनमा भावनाको भलबाढी कति उर्लिएछ भने कविता नलेखिरहन सकिनन् । आठ वर्षीया शारदाले त्यो कविता संकोचवश कसैलाई देखाइनन् ।
त्यसपछि पनि मनका छाल, उकुसमुकुस र सुनामीलाई कविता नबनाएकी होइनन् । ती कविताको पेटारो एकैचोटि बिहे भएपछि आफ्ना पति नरहरि आचार्यलाई देखाइन् । तिनै उनका पहिलो पाठक र मेन्टर बने । बिहेको चार वर्षपछि कविता छापिदिए, पूजा पत्रिकामा । बीपी कोइरालाको निधनमा भावविह्वल भएको कविता थियो त्यो ।

“हुन त एकपटक बालक पत्रिकामा मेरो नाममा कथा छापिएको थियो तर बुबाले लेखेको कथा,” उनी भन्छिन्, “आफ्नो नाम देखेर मलाई कुनै खुसी लागेन ।”

१३ वर्षको उमेरमै कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, प्याफलबाट एसएलसी छिचोलेकी जेठी छोरी शारदालाई प्रशासक पिता डाक्टर बनाउन चाहन्थे । उनकै कारण एमएस्सीसम्म पढिन् ।

एमबीबीएसका निम्ति कोलम्बो प्लानमा नाम ननिस्कँदा शारदा खुसी पो भइछन् । किनभने, डाक्टरी उनको मिसन थिएन । उनी घाउ र रगत हेर्नै नसक्ने । तर, डाक्टरले हेर्नुपर्ने त्यही ।

दुई सिद्धार्थ स्कुलमा पढाइन् शारदाले । एउटा तनहुँ, बडहर भन्ज्याङको सिद्धार्थ मावि, अर्को काठमाडौँको सिद्धार्थ वनस्थली । त्यसपछि मोडिइन्, नेपाल परिवार नियोजन संघमा । त्यहाँ १६ वर्ष काम गर्दा उनी लैंगिक शाखा प्रमुख थिइन् ।

त्यसपछि चार वर्ष उनले अन्तर्राष्ट्रिय परिवार नियोजन संघ ( आईपीपीएफ)को दक्षिण एसिया क्षेत्रीय कार्यालय नयाँदिल्लीमा कार्यक्रम अधिकृत र सल्लाहकारका रूपमा बिताइन् । जागिरबाट अरू केही नभए पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा फराकिलो दृष्टिकोण बनाउनुका साथै घर चलाउन सजिलो भएको उनको अनुभव छ ।

यौनका बारेमा निसंकोच लेख्ने भूमि पनि जागिरले नै दिएको हो । भारतको कोलकातामा एक यौनकर्मीलाई भेटेपछि उनले लेखिन्, ‘हामी चाहे वेश्यालयभित्र हौँ वा घरगृहस्थीमा, यौनकर्मी नै त हौँ हामी सबै । यौन कर्ममा संलग्न नहुने को छ ? भात खाएर र सम्भोग गरेर को अघाएको छ ?’
उनको लेखनमा नारीका भावना, संवेदना र अस्तित्व पोखिएका छन् । विभिन्न सामाजिक वा पौरुषय कृत्रिम पर्खालभित्र नारी अटाउन्न । किनभने, ऊ सिंगै प्रकृति हो ।

उनलाई लाग्छ, लेख्नु समयखण्डको तस्बिर बनाउनु हो । आफूभित्र र बाहिरको । लेखेकी छन्, ‘म पुरुषविरोधी कहिल्यै भइनँ र हुन्न पनि । मेरो जीवनमा तिनको भूमिका ज्यादै महत्त्वपूर्ण छ ।’
शारदाको पहिलो कवितासंग्रह आयो, सीमान्त अनुभूति (०४४) । सरदार यदुनाथ खनालको भूमिका, पुष्कर लोहनीको सेक्स एनालाइसिस, आनन्ददेव भट्टको विमर्शले उनलाई छुट्टै उचाइ दियो ।

ईश्वर बरालले भारतीय हवाईपत्रमा पठाए, ‘अब उप्रान्त यस्तो कविता लेख्दै नलेख्नु वेश ।’ त्यसले उनलाई दिनुसम्म तनाव दियो । पाणिनीको व्याकरण पनि पल्टाइन् उनले । वास्तवमा त्यो स्नेहपूर्ण चुनौती थियो । उनको ‘च्यालेन्जिङ टोन’का रूपमा आइपुग्यो, स्वर्णसूत्र ।

साहित्यमा उनका अतिरिक्त विधा हुन्, कथा, निबन्ध, उपन्यास र समालोचना । एघारौँ पुस्तकका रूपमा आउने क्रममा छ, कम्प । यो उनको दोस्रो उपन्यास हो । उनको विचारमा लेखक थुप्रै पात्र भएर बाँच्छ । सबै पात्र उसकै मानस सन्तान हुन् । तिनलाई न्याय गर्नुपर्छ लेखकले ।

भर्खर बीएस्सी सकेकी थिइन् शारदाले । १९ वर्षको उमेरमा मागी बिहे भयो, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा पढाउने नरहरिसँग । पाँच वर्ष जेठा नरहरिलाई उनले बिहेमण्डपमै देखेकी हुन् ।

शारदाका कुनै सपना थिएनन् । एकैचोटि विपना आए अगाडि । पतिको कल्पना नगर्दै घरबार भयो । आमा बन्ने मानसिक तयारी नगर्दै दोजिया भइन् । दुई छोरी भए अनामिका (अस्ट्रेलिया) र अपराजिता ( अमेरिका) । दुवैले आफ्नै रुचिमा घरजम गरिसकेका छन् । एक जनाले त अन्तरजातीय बिहे नै गरिन् ।
शारदा र नरहरिले साझा मान्यताको धरातल नै भेटेनन् केही समय । कहिले पारिवारिक समस्या र बुझाइमा विवाद, कहिले राजनीतिक परिपाटी र सक्रियतामा फरक मत । भन्छिन्, “अब साथै जीवन चल्दैन भनेर धेरैपल्ट निष्कर्षमा पुगेका पनि हौँ ।”

३७ वर्षे दाम्पत्यबारे नरहरिले अग्निस्पर्शमा लेखेका पनि छन्, ‘मलाई लाग्दैन, समग्रमा मैले उनलाई चिनिसकेँ । मेरा लागि कुनै बेला उनी सपनाजस्ती हुन्छिन् र कुनै बखत कठोर यथार्थ ।’

शारदालाई लाग्छ, सहजीवन चलाउन हरबखत सहिष्णुता, धैर्य र क्षमा चाहिन्छ । जति नै साथै रहन्छौँ भने पनि समयले त आखिर छुट्याउँछ नै एक दिन । समयभन्दा बलियो को छ ?

१८ वर्षको अन्तरालमा दुईपटक मन्त्री भए नरहरि । राजनीतिमा उनले पतिलाई सघाइन् तर कहिल्यै सक्रिय भइनन् । लोकतन्त्रको भविष्य र कांग्रेसको सुधारका लागि बिनाबर्दीकी सचेतकका रूपमा उनले घचघचाइरहेकै हुन्छिन् ।

कहिलेकाहीँ आफूलाई नरहरिकी पत्नी मात्र देख्दा उनलाई झोँक चल्छ । कतिसम्म भने सबै नरहरिले लेखिदिन्छन् भन्ने समेत छन् । एकपटक मंगलादेवी सिंहले राष्ट्रियसभामा लैजान खोज्दा उनले आफ्नो उमेर नपुगेको र पार्टीमा आफ्नो योगदान नभएको भनेर पन्छाइदिएकी थिइन् ।

मेडिकल डाक्टरको भर्पाई स्वरूप पीएचडी डाक्टर झुन्डाउने रहर पनि पूरा भएन उनको । मदनमणि दीक्षितको उपन्यास माधवीका वैदिककालीन नारी पात्रका बारेमा इन्रोल्ड भएकी पनि हुन् । भन्छिन्, “शनिबार र आइतबार दौडेर पीएचडी हुँदो रहेनछ । गुलाफको पत्रजस्तो केलाउँदा केलाउँदा कृतिको सौन्दर्य मर्दो रहेछ । बरू, म लेख्छु, अरूले केलाउन् ।”

उसो त नेपाली विषयमा प्राइभेट एमए गरेकी शारदाले थेसिसमै १० वर्ष लगाइन् । पछि पुस्तककै रूपमा आयो, विश्वेश्वरप्रसाद कोइरालाका नारी पात्र । त्यसको मिहिनेतले आफ्नो गद्य लेखन माझिएको उनको स्वीकारोक्ति छ ।

जीवन झर्कोलाग्दो अनुभव हुन थाल्यो भने शारदा पदयात्रामा निस्किन्छन् । यसै गरी ५२ जिल्लाको भ्रमण गरिसकेकी छन् उनले । ओशो तपोवनमा पहिलोपल्ट अध्यात्म बोध भयो उनलाई । शाकाहारी भइन् । ध्यान गर्न थालिन् । छुटेको कुरा केही पाएजस्तो भयो ।

संसारका राम्रा कुराजति सबै उनका आइडल हुन् । उनलाई धर्मभन्दा अध्यात्ममा विश्वास छ । अध्यात्मले खुला र कृतज्ञ हुन सिकाएको छ । उनका लागि अध्यात्म पूर्णता र स्वत्वको खोजी हो ।
बाल्यकालदेखि चित्र बनाउँथिन् शारदा । ललितकला पढ्न नपाएको प्यास भने केही वर्षअगाडि सिर्जना आर्ट ग्यालरीमा कलाकार केके कर्माचार्यसँग ‘हबी क्लास’ लिएर मेटिन् । यति मात्र होइन, मधुरिमा कलाकेन्द्रका प्रदीप बमजनसँग दुई महिना बेसिक भोकल पनि सिकिन् ।

अब रुटिन छैनन् शारदाका । निश्चित फम्र्याट पनि छैन । आफ्नै छनोट र स्वतन्त्रता छ– लेख्ने, पढ्ने, बगैँचाको झार उखेल्ने या फूलमा पानी हाल्ने । भगवान्का नाममा दुइटा धूप बाल्छिन्, भजन गाउँछिन्, हार्मोनियम बजाउँछिन् ।

टोलछिमेकले थाहा पाएर भन्छन्, नानीले पनि हार्मोनियम बजाउँदो रहेछ । “लेख्दा पो कसैले चाल पाउँदैन,” उनी भन्छिन्, “गाएपछि, बजाएपछि सबैले सुनिहाल्छन् ।”

तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Friday, March 4, 2016

सरकारी खर्चमा उपप्रधानमन्त्रीको ‘हुनिमुन ट्रिप’

२२ फागुन, काठमाडौं । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली नजाँदा पनि हुने एउटा कार्यक्रममा भाग लिन सरकारी खर्चमा पत्नी निलम खड्कासमेतको एउटा ठूलो टोली लिएर अमेरिका जाने तयारीमा छन् ।

महिलाको अवस्थाका बारा राष्ट्रसंघीय ६० औँ सेसनमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले जनाएको आजको समाचार पत्र दैनिकमा समाचार छ ।

मन्त्रालय स्रोतका अनुसार यस खालको कार्यक्रममा न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिले भाग लिएमा नै प्रयाप्त हुन्छ । यसो गरिएमा सरकारको खर्च समेत जोगिन्छ ।

तर, उनले पत्नी खड्का तथा स्वकीय सचिवसहित १६ जनाको टोलीलाई मन्त्रिपरिषद्बाट पास गराएर अमेरिका लान लागेका हुन् । अन्य केही पनि थपिने सूचीमा रहेको मन्त्रालय स्रोतले बताएको  छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं