Friday, March 25, 2016

प्रदीप पौडेलको बयानः गगनको गुनासो हुनसक्छ,मेरो छैन

१२ चैत, काठमाडौं । कांग्रेस महामन्त्रीमा पराजित गगन थापा र केन्द्रीय सदस्यमा विजयी प्रदीप पौडेल पुराना ‘दोस्त’ हुन् । यद्यपि १३ औं महाधिवेशनमा उनीहरु अलग-अलग प्यानलबाट चुनाव लडे ।

फरक गुटमा सामेल भएको विषयलाई लिएर गगन र प्रदीपवीच लामो व्यक्तिगत सम्बन्धमा दरार आएको अनुमान बाहिर गरिएको छ । यसै सन्दर्भमा प्रदीपलाई हामीले सोध्यौं, के तपाईंहरुको सहयात्रा टुटेकै हो त ? प्रदीपले गगनसँग आफ्नो पुरानो सम्वन्ध र यसका उतार- चढाव व्याख्या गर्दै यसरी आफ्नो धारणा राखेः

गगन र म लामो समयदेखि एउटै डुंगामा सवार सहयात्री हौं । सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा गगन मभन्दा एक ब्याच जुनियर थिए । उमेरले पनि मभन्दा झण्डै एक वर्ष कान्छा हुन् ।

गगनका दाइ पवन थापा र म सहपाठी थियौं । हामी निकै मिल्थ्यौं । एकअर्काको घरमा आउजाउ पनि थियो । त्यसैक्रममा गगनसँग पनि मेरो निकटता भयो । यद्यपि, उनीसँग मेरो सहयात्रा भने सडकबाट सुरु भएको हो ।

हामी दुवैको पारिवारिक माहोल कांग्रेसमय थियो । त्यसैले दुवैजना कम उमेरमै कांग्रेस राजनीतिमा लाग्यौं । सिद्धार्थ वनस्थली स्कुलमा १० कक्षामा पढ्दा म नेविसंघ इकाइ अध्यक्ष थिएँ । ०४६ सालको आन्दोलनमा वनस्थलीका विद्यार्थीहरुलाई मैले नै अगुवाइ गरेर सडकमा उतारेको हुँ । आन्दोलनको अग्रपङ्तिमा गगन पनि हुन्थे  ।

साथीको भाइ भएकाले पहिले म गगनलाई भाइकै रुपमा हेर्ने गर्थे । तर, राजनीतिक आन्दोलनमा सँगै भएपछि हाम्रो सम्वन्ध मित्रतामा बदलियो । पवनभन्दा गगनसँग मेरो मित्रता फराकिलो हुँदै गयो । प्रजातन्त्र आइसकेपछि नेविसंघका हरेक गतिविधिमा हामी संलग्न हुन्थ्यौं ।

हामी दुवै पढाइमा पनि अब्बल थियौं । स्कुलले ‘बेस्ट अफ फाइभ’ भनेर हरेक कक्षाका ५ विद्यार्थीहरु छनोट गर्दा गगन र म दुवै परेका थियौं । म गाउँको स्कुल पढेर आठ कक्षामा वनस्थली भर्ना भएको हुँ । सरकारी स्कुलको पृष्ठभूमि भएकाले मेरो अंग्रेजी कमजोर थियो । अन्यथा म आफ्नो कक्षाको जेहेन्दार विद्यार्थीहरुभित्रै गनिन्थेँ । गगनको चाहिँ अंग्रेजी पनि छुरा थियो ।

गगन खासमा पहिलेदेखि नै ‘फरवार्ड’ थिए । राजनीति मात्र होइन, खेलकुद, मनोरञ्जनलगायतका क्षेत्रमा पनि उनको लगाव थियो । गगनकै संगतले गर्दा पनि म राजनीतिक बाहेकका विषयहरुमा रुची राख्न थालेँ । उनले नै मलाई सिनेमा हेर्न बानी पारेका हुन् । अहिले पनि हामी बाक्लै सिनेमा हेर्छौंं ।

सिनेमा हेरेर फर्किँदा गगनले र मैले सम्झिने विषयवस्तु फरक हुन्छन् । उनलाई एउटा कुराले छुन्थ्यो भने मलाई अर्कै कुराले । यसबाट  हाम्रो स्वभावगतः भिन्नता प्रकट हुन्छ ।

खेलकुद सम्वन्धी कार्यक्रममा पनि उनकै लहैलहैमा सहभागी हुन्थेँ । फुटबल, क्रिकेट, बास्केटबल, भलिबल सबै खेलमा उनको रुची छ । म पनि थोरबहुत खेलकुदप्रेमी भएर निस्केको छु ।

म अलि बढी अन्तरमुखी छु । चाँडै कसैसँग खुलिहाल्दिँन । उनी भने जहाँ पनि तुरुन्तै हावी भइहाल्छन् । मभन्दा बढी आत्मविश्वास उनको छ । उनको सफलताको मुख्य आधार पनि यही आत्मविश्वास नै हो ।

अस्कल र त्रिचन्द्रमा सहकार्य

म ७६ प्रतिशत अंक ल्याएर एसएलसीमा पास भएँ । त्यसपछि साइन्स पढ्न अमृत साइन्स क्याम्पसमा भर्ना भएँ । तर पढाइ कम, राजनीति बेसी गरियो । अर्को वर्ष गगन पनि एसएलसी पास भएर अस्कलमै आए ।

pradip poudel (1)

गगन भर्ना भएकै वर्ष स्ववियू चुनाव भयो । म सहसचिवको उम्मेदवार बनेको थिएँ । क्याम्पसमा परम्परादेखि नै अखिलको जगजगी थियो । मैले हारेँ । यद्यपि, आफ्नो संगठनबाट सबैभन्दा बढी भोट ल्याउन सफल भएँ ।

०५१ सालमा अर्को स्ववियू चुनाव भयो । त्यतिबेला भने गगन आइएस्सी सिध्याएर त्रिचन्द्र क्याम्पसमा बिएस्सी भर्ना भएका थिए । त्रिचन्द्र नेविसंघको पकड भएको क्याम्पस भएकाले पदाधिकारीमा एकैचोटि उम्मेदवारी पाउन कठीन थियो । उनी त्रिचन्द्रबाट सदस्यको उम्मेदवार बने । म त्यो चुनावमा लडिनँ ।

पछि ०५३ सालको चुनावमा म अस्कलको सभापति लडेँ भने गगन त्रिचन्द्रको सचिवमा । अस्कल र त्रिचन्द्रका विद्यार्थीबीच निकै सहकार्य हुन्थ्यो । चुनावमा मैले उनलाई र उनले मलाई जिताउन सक्दो सहयोग गर्‍यौं । दुवैले जित्यौं पनि ।

त्यो चुनावमा अस्कलबाट जित्ने म एक्लो नेविसंघको उम्मेदवार थिएँ । गगनले पनि नेविसंघको विद्रोही प्यानलबाट उठेर सर्वाधिक मतका साथ जितेका थिए ।

त्यसपछि ०५५ सालको चुनावमा भने मेरो सभापति कार्यकाल सकिएको थियो । त्रिचन्द्रमा गगन सभापतिको उम्मेदवार बने । फुर्सदमा रहेको मैले गगनलाई जिताउन आफ्नो सारा जोडबल लगाएँ । उनले जिते पनि ।

नेविसंघमा यसरी पर्‍यो टक्कर

यसरी हामी नेविसंघको राजनीतिमा एक-अर्कालाई सहयोग गर्दै अघि बढ्यौं । राजनीतिको उकालो चढ्दै गर्दा एक-अर्कासँग ठोक्किने क्षणहरु पनि नआएका होइनन् । त्यस्तो परिस्थितिलाई हामी दुवैले सुझबुझका साथ व्यवस्थापन गर्न सफल भएका छौं । नेविसंघको केन्द्रीय सदस्यमा म पहिले आएँ । गगन भने एकैपटक उपाध्यक्ष भएर केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् ।

गगनले उपाध्यक्षमा उम्मेदवारी दिनुलाई कतिपयले महत्वाकांक्षी पनि मानेका थिए । तर, नेविसंघभित्र लोकप्रिय भइसकेकाले उनले जिते । मैले त्यो चुनावमा भाग लिइनँ ।

मेरो गगनप्रति गुनासो छैन । यद्यपि उनको मसित गुनासो हुन सक्छ । उनले चुनाव हारे । म उनको टीमभित्र भएको भए केही फरक पर्थ्यो कि भन्ने सोचेका हुन सक्छन्

त्यसपछिको पोखरा महाधिवेशनमा गगनले आफूलाई सभापतिका उम्मेदवारका रुपमा प्रस्तुत गरे । त्यो बेला उनलाई समर्थन गर्ने अलि परिचित नेता ममात्रै थिएँ । यद्यपि विभिन्न कारणले त्यो महाधिवेशन भाँडियो ।

चितवन महाधिवेशनमा हामी दुवैलाई अध्यक्षको आकांक्षीका रुपमा हेरिएको थियो । मलाई पनि अध्यक्ष बन्नुपर्छ भन्ने दवाब थियो भने उनलाई पनि । तर, अन्तिममा उनले सभापतिमा मलाई समर्थन गरे । उनले विसुद्ध हाम्रो पुरानो व्यक्तिगत सम्वन्धका कारणले यो त्याग गरेका थिए । गगनको समर्थनले गर्दा मलाई सभापति निर्वाचित हुन सहयोग मिल्यो । यसरी त्यो महाधिवेशनमा हाम्रो सम्वन्धमा अलिकति असहजता उत्पन्न हुन खोज्दा यसको उचित व्यवस्थापन भयो ।

जेलभित्र भावुक पत्र

हामी सडक आन्दोलनबाटै कांग्रेसको राजनीतिमा स्थापित भएका हौं । कुनै नेता विशेषप्रति बफादार भएर होइन । हामी दुवैले आफ्नो आवश्यकता र महत्व पुष्टि गरेको आन्दोलनकै क्रममा हो ।

राजाको प्रत्यक्ष शासनकालमा हामीलाई सबैभन्दा बढी टार्गेट बनाइएको थियो । सबैभन्दा बेसी जेल पनि हामी दुई नै बस्यौं । जेलबाहिर रहँदा सँधै साथसाथ हुन्थ्यौं । काठमाडौंमा खतरा हुँदा ट्रक्याक्टरमा राखेको परालमुनि लुकेर थानकोट क्रस गरेको उदाहरण पनि छन् । हिरासतमा भने हामीलाई कहिले पनि सँगै राखिएन । सँगै पक्राउ परे पनि बेग्लाबेग्लै हिरासतमा राखिन्थ्यो ।

हामी जेलबाट एकअर्कालाई हदै भावुक बनेर लामा-लामा पत्र पठाउने गर्थ्यौं । पत्रमा व्यक्तिगत, राजनीतिक तथा व्यवहारिक कुराहरु हुन्थे ।

‘तिमी बढी इमोसनल छौ, आवेगमा आउनु हुँदैन, परिवारलाई सम्झाउनू । यो निरंकुशता लामो जाने होइन । वीपी कोइरालाको जस्तो समय होइन अहिले  । केही दिन दुःख सहनुपर्छ । धैर्य गर्नुपर्छ । यहीबेला हो, हामीले आफूलाई पुष्टि गर्ने । यो चुनौतिलाई हामीले सामना गर्नैपर्छ ।’ यस्तै-यस्तै शब्दहरु हुन्थे हामीले लेख्ने पत्रमा ।

पोखरा महाधिवेशन हुनुभन्दा तीन दिनअघि म हिरासतबाट छुटेँ भने गगन एक दिनअघि मात्रै छुटे । उनले ‘मेरो उम्मेदवारी तिमीले दर्ता गरिदिनु, म वारेस पठाइदिन्छु’ भनेर चिठीमा लेखेका थिए । तर, त्यो महाधिवेशन बीचमै अवरुद्ध भयो ।

कांग्रेसमा हारजीत

कांग्रेसका अघिल्लो महाधिवेशनमा हामी दुवै जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिने अवस्था आयो । सो महाधिवेशनमा म नउठेर उनलाई जिताउन केन्द्रित भएको हेर्न चाहन्थे गगन । म चाहिँ दुवै जना जित्न सकिन्छ भन्नेमा थिएँ । गगनले आफ्नो लोकप्रियताको बलले चुनाव जिते पनि । उनले सबैभन्दा बढी भोट पनि पाए । म २९ भोट नपुगेर केन्द्रीय सदस्य बन्नबाट वञ्चित भएँ ।

१३ औं महाधिवेशनभन्दा अगाडिसम्म गगनसँग मेरो सहकार्य घनिभुत नै थियो । गगन, म र गुरु घिमिरे मिलेर पार्टीको वैचारिक कार्यक्रमबारे नयाँ प्रस्तावना ल्याएका थियाैं । पार्टी नीतिलाई समय सापेक्ष बनाउनका निम्ति हाम्रो यो सामुहिक प्रयास थियो । यसले पार्टी पङ्तीमा एक किसिमको तरंग पनि ल्यायो ।

तर, महाधिवेशनको पूर्वसन्ध्यामा हामी एउटै डुंगामा अटाउन सकेनौं । अलिकति अलमलपछि गगन र मैले फरक प्यानलबाट उम्मेद्वारी दियौं । यसले गर्दा हाम्रो लामो समयदेखिको सानिध्यतामा अलिकति दरार उत्पन्न हुन गयो ।

यस सन्दर्भमा मेरो गगनप्रति गुनासो छैन । यद्यपि उनको मसित गुनासो हुन सक्छ । उनले चुनाव हारे । म उनको टीमभित्र भएको भए केही फरक पर्थ्यो कि भन्ने सोचेका हुन सक्छन् । म दु:खी छु, तर राजनीतिमा आफ्नो करिअर नै सबैभन्दा प्रधान हुँदोरहेछ । म केन्द्रीय सदस्य निर्वाचित भएपछि उनलाई भेट्न गएँ । उनले मलाई बधाइ दिए । हामीबीच गम्भीर वार्तालाप भने भएन ।

यस्ता छन् गगन थापा

Gagan Thapa 1

मेरो दृष्टिमा गगन एक साहसी र महत्वकाकांक्षी व्यक्ति हुन् । साहसी यस अर्थमा कि आवश्यक पर्दा बोल्ड डिसिजन लिन हिच्किचाउदैनन् । महत्वाकांक्षी यस अर्थमा कि एकैपटक धेरै खुडि्कला उक्लेर छिटो माथि पुग्ने चाहना राख्छन् । आफ्नो महत्वाकांक्षालाई कसरी व्यवाहारमा रुपान्तरण गर्ने भन्ने उनले राम्रोसँग बुझेका छन् ।

बैचारिक हिसाबले गगन प्रष्ट छन् । आफूलाई अरुभन्दा भिन्न र प्रखररुपमा प्रस्तुत गर्ने भएकाले नेपाली कांग्रेसभित्र मात्र नभएर नेपालको समग्र युवापुस्तामा गगनको लोकप्रियता छ । अत्यधिक ‘मिडिया फ्रेन्डली’ हुनुले पनि उनको लोकप्रियतामा मलजल गरेको छ । मडियालाई कसरी ‘डिल’ गर्नुपर्छ भन्ने उनले राम्ररी बुझेका छन् र यो कुरा हामीले उनीबाट सिक्न सक्छौं ।

आज कांग्रेसमा गगनलाई पूँजिका रुपमा लिइन्छ । किनकी उनको कारणले कांग्रेसप्रति धेरै युवाहरुको उत्सुकता बढेको छ । बैचारिक हिसाबले सुसुप्त अवस्थामा रहेको पार्टीमा उनको उपस्थितिले उर्जा भर्ने काम गरेको छ ।

अनेक क्षमताले भरिपूर्ण भएर पनि राजनीतिमा एक्लै अगाडि बढ्न सम्भव हुँदैन । समुहका साथ अगाडि बढ्दा चाँडो गन्तव्यमा पुगिन्छ । गगनले आफ्नो विचारसँग नजिक युवाहरुसँग मिलेर अघि बढ्नु उनको र कांग्रेसको हितमा छ ।

आन्दोलन र पार्टी राजनीतिमा सफलताका खुड्किला चढ्दै आए पनि राज्य सञ्चालनको अनुभव उनीसँग छैन । यस हिसाबले उनी अनटेस्टेड हुन् । गगनबाट जे-जति आशा देशले गरेको छ, भोली ठाउँमा पुग्दा त्यो आशामा तुषारापात हुने अवस्था आउन नदिनु उनको निम्ति ठूलो चुनौति हो ।

भोलीको कांग्रेसको नेतृत्वकर्ता भनेका हामी नै हौं । हामीमध्येमा पनि गगन चाँडो त्यो ठाउँमा पुग्ने धेरैले अनुमान गरेका छन् । मलाई पनि यस्तै लाग्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फिल्म हेरेर निस्केका कृषिमन्त्री क्वाँ-क्वाँ रोए (भिडियोसहित)

१२ चैत, काठमाडौं । सिटी सेन्टरमा फिल्म हेर्न पुगेका कृषि मन्त्री हरिबोल गजुरेल बाहिर निस्केर बच्चाजसरी रोएका छन् । डब्बु क्षेत्रीद्वारा निर्देशित फिल्म राहदानी हेरेर निस्केपछि उनले क्यामराकै अगाडि डाँको छोडेका हुन् ।

वैदेशिक रोजगारीको विषयमा बनेको फिल्म हेर्न मन्त्री आफ्नो दलबलसहित बिहीबार बेलुकी सिटी सेन्टर पुगेका थिए । फिल्ममा भावुक सिन आउँदा हलभित्रै मन्त्रीले आँशु झार्न थालेको निर्देशक क्षेत्रीले बताए ।

‘फिल्मको कथामा एक गरिब परिबारको गाई मरेको दृष्यपछि मन्त्रीज्यू भावविव्हल हुनुभएको थियो,’ क्षेत्रीले अनलाइखबरसँग भने, ‘त्यसपछि लगातार उहाँको आँखामा आँशु छचल्किइरहेको मैले देखेँ ।’

फिल्म सकिएर बाहिर निस्कदा मन्त्री गजुरेल निकै भावुक मुद्रामा थिए । उनलाई सञ्चारकर्मीले रोकेर फिल्मको विषयमा प्रतिक्रिया मागे । तर मन्त्रीले धेरै बोल्न सकेनन् ।

‘यो चलचित्र सत्यमा आधारित छ । मैले कतार दुवईमा जाँदा जे देखेँ त्यसलाई यहाँ कलाकारले पर्दामा प्रस्तुत गर्नुभएको छ । यो सटिक यथार्थपरक छ । मलाई लाग्छ, यो विदेशीएका युवाहरुको…’ यति भन्नासाथ मन्त्रीले मुख बिगारे अनि क्वाँक्वाँ गरे । त्यसपछि आफ्नै हातले अनुहार छोपेर झण्डै घुुँक्क घुँक्क गर्दै झण्डै आधा मिनेट रोए । अनुहारबाट हात हटाएर पनि रोइरहेपछि निर्देशक क्षेत्रीले उनलाई त्यहाँबाट निकालेका थिए ।

हेर्नुस् भिडियो


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दयाहाङ र अनुपको ‘वीर विक्रम’ भदौ ३ मा

यस्तो लाग्दैछ, भदौ महिनामा चलचित्र रिलिजको बाढी नै आउँदैछ । भदौको पहिलो साता नै २ ठूला चलचित्रको बक्स अफिसमा भिडन्त हुने देखिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीर विक्रम’ले भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको छ । निर्माता तथा निर्देशक चाम्सले वितरकहरुसँग सल्लाहा गरेर प्रदर्शन मिति तोकिएको बताए । भदौ २ गते बिहिबारबाट पनि निर्माता अर्जुन कुमार आफ्नो चलचित्र ‘चपली हाइट २’ लगाउने तयारीमा छन् ।

दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा र दीया पुनको मुख्य भूमिका रहेको यो चलचित्रको हङकङ र यूकेमा रेड कार्पेट पि्रमियर पनि हुँदैछ । ओभरसिजमा चलचित्र देखाइसकेपछि निर्माता तथा निर्देशक चाम्स नेपालमा चलचित्र रिलिज गर्न तयार भएका हुन् ।

काठमाण्डौमा गोपाल कायस्थ र गोविन्द शाही, काठमाण्डौ बाहिर केदार पराजुली यसका वितरक हुन् । चलचित्रको एक गीतले चर्चा पाइसकेको छ । मिलनले यस अगाडि ‘हँसिया’ नामक चलचित्र बनाएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

क्यान्सरको पीडा बाँड्न सकिन भन्दै युवतीद्वारा आत्महत्या

१२ चैत, घोराही । दाङको पुरन्धारामा एक युवतीले आफूलाई रक्त क्यान्सर भएको र त्यसको पीडा कसैलाई बाँड्न नचाहेको भन्दै आत्महत्या गरेकी छन् । पुरन्धारा ६ रातोमाटा निवासी १९ वर्षीया रोशनी ओलीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घोराहीमा सिएमए अध्ययनरत उनी अविवाहित हुन् । शौंचका लागि भन्दै शुक्रवार विहान सबेरै आफ्नो घरबाट निस्किएकी उनी घरभन्दा डेढसय मिटर टाढाको खेतमा अचेत अबस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिए ।

घटनास्थलमा ‘नोभा’ नामक विषादीको बोतल र ‘सुसाइड नोट’ फेला परेको थियो । प्रहरी निरीक्षक दानीका अनुसार रोशनीको सुसाइड नोटमा आफूलाई ब्लड क्यान्सर भएको र आफ्नो पीडा अभिभावक र साथीहरुलाई समेत कसैलाई नबाँडेको उल्लेख छ । उपचारमा धेरै खर्च लाग्ने र अब बाँच्न संभव छैन भन्ने ठानेर उनले आत्महत्या गरेको बताइएको छ ।

ओलीको शव पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । ब्लड क्यान्सर भए-नभएको कुरा पोष्टमार्टम रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अमेरिकी पोल्टिकल चिफले राजेन्द्र महतोसँग भेटिन्

१२ चैत, काठमाडौं । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र काठमाडौंस्थित अमेरिकी दूतावासकी पोल्टिकल चिफ एण्ड्री गुडम्यानसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा महतोले मधेश आन्दोलनको माग र आन्दोलनको क्रममा मानव अधिकारको हनन बारे जानकारी गराएको सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जानकारी दिए ।

भेटमा महतोले मानव अधिकार हनन् बारे अमेरिकाले पनि बोल्नुपर्ने बताएका थिए । जवाफमा एण्ड्रीले सरकारसँग निरन्तर वार्ता गर्नुपर्नेमा जोड दिएको र प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि भेटेर चासो राख्ने बताएकी थिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Thursday, March 24, 2016

विदेशमा बिक्यो ‘प्रेमगीत’, अझै चाहिन्छ लगानी उठाउन ५० लाख

फेसन र मोडलिङ क्षेत्रमा कार्यरत संस्था ‘रनवे फेसन हाउस’ले चलचित्र ‘प्रेमगीत’को ओभरसिज राइट लिएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता सन्तोष सेन र रनवे फेसन हाउसका तर्फबाट अध्यक्ष सुवाससिंह ठकुरी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

फेसन हाउसका अध्यक्ष ठकुरीले चलचित्रलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराइन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत, यूकेमा र आशुसेन फिल्मको व्यवस्थापनमा अमेरिका, हङकङ, यूके, अष्ट्रेलिया, भारत र युरोपको देशहरुमा प्रदर्शन गरिनेछ । चलचित्रको पहिलो ओभरसिज प्रदर्शन सिङ्गापुरबाट शुरु गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आशुसेन फिल्मस्का तर्फबाट अध्यक्ष तथा निर्माता सेनले आफ्नो सोचले बनाएको फिल्म सफल भएकोमा खुशी लागेको बताए । ठूलो रकम चलचित्रमा लगानी भएकाले पनि नाफाका लागि ओभरसिज मुख्य श्रोत भएको सेनको भनाई थियो । उनले चलचित्रको लगानी डेढ करोडमाथि रहेको दाबी गरे ।

जसमध्ये नेपालबाट ८० लाख बढी रकम आफूलाई आउने उनको भनाई थियो । करिब ३० लाखमा रनवेले ओभरसिज राइट्स किनेको वुझिएको छ । यसअर्थमा यो चलचित्रलाई लगानी उठाउन अझै ५० लाख हारहारीको व्यापार आवश्यक छ । यसका लागि आशुसेन फिल्मस्ले ओभरसिजलाई मुख्य श्रोत मानेको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रमा प्रदिप खड्का र पूजा शर्मा मुख्य भूमिकामा छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेखाको ‘रामप्यारी’को दोश्रो ट्रेलर, आक्रामक छ संवाद(भिडियो)

नायिका रेखा थापाले आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’को दोश्रो ट्रेलर सार्वजनिक गरेकी छिन् । पहिलो ट्रेलरमा रेखाको एक्सनका दृश्यलाई बढी समावेश गरिएको थियो । दोश्रो ट्रेलरमा भने संवाद र चलचित्रका मुख्य कलाकार आभाष अधिकारी र आश्मा डीसीको रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।

यसपटक सार्वजनिक गरिएको ट्रेलरमा रेखाका आक्रामक संवाद प्रस्तुत गरिएको छ, जसले महिला र पुरुष दुबैका कमजोरीलाई देखाउन खोजेको छ । सविर श्रेष्ठ निर्देशित यो चलचित्रमा रेखा राम र प्यारीको भूमिकामा देखिएको चर्चा छ ।

चैत्र २६ गतेबाट चल्ने यो चलचित्रका लागि रेखाले आफ्नो तौल पनि घटाएकी थिइन् । चलचित्रमा नायक सविन श्रेष्ठ पनि छन् । पूर्णरुपमा व्यवसायिक यो चलचित्रमा रेखा महिला ट्याम्पु ड्राइभरको भूमिकामा पनि देखिएकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं