Sunday, May 8, 2016

बाहिर आयो कांग्रेस र एमाओवादी हुन नसकेको ७ बुँदे सम्झौता (एक-एक बुँदासहित)

काठमाडौं, २६ वैशाख । नयाँ सरकार बनाउन प्रतिपक्षी दल नेपाली कांग्रेस र एमाओवादीबीच सम्झौताका लागि तयार पारिएको ७ बुँदे ड्राफ्ट सार्वजनिक भएको छ ।

एमाले नेतृत्वको वर्तमान सरकार परिवर्तन गरेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी निर्णयलगत्तै यी दुबै दलबीच सम्झौताको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । तर, अन्तिममा बाह्य दबाब थेग्न नसकेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो निवास लाजिम्पाटमा बोलाएर सरकार परिवर्तनको निर्णयबाट आफू ब्याक भएको जानकारी गराए ।

सम्झौताको ड्राफ्ट बोकेर तयार पार्ने नेताहरु पनि सँगसँगै लाजिम्पाट पुगेका थिए । तर, प्रचण्ड पछि हटेपछि सम्झौता भएन् ।

के-के थियो ७ बुँदे सम्झौतामा ? (हेर्नुस् एक–एक बुँदा)

१. नेपालको संविधानबारे देशभित्र मधेसी, आदिवासी जनजाति, दलितलगायत पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहमतिका आधारमा संविधानमा आवश्यक संशोधनको वातावरण बनाउने।

२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको ऐतिहासिक उपलब्धीको रक्षा गर्दै संविधान बमोजिम आवश्यक कानुनी व्यवस्था गर्ने।

३. सक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तामा छानविन आयोगसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी समाजमा शान्ति, मेलमिलापको स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण बनाउने। सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता व्यक्तिका परिवार, अंगभंग र द्धन्द्धका क्रममा विस्तापित परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम उपलब्ध गराउने। सशस्त्र संघर्षको अवधिमा भएका जग्गा विवाद सहमतिका आधारमा समाधान गर्ने।

४. वि.सं. २०७२ साल वैशाख १२ र २९ गएको भूकम्पबाट भएको क्षतिको विवरण लिई भूकम्पपीडितको राहत तथा पुन:स्थापनाका लागि पुनर्निर्माण कार्यलाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउने।

५. देशमा शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्दै कालोबजारी, कृत्रिम अभाव, महंगीको अवस्था अन्त्य गरी दैनिक उपभोगका सामाग्रीको सहज उपलब्धीको व्यवस्था गर्ने।

६. नेपालको संविधानले परिकल्पना गरे बमोजिम देशमा शान्ति, स्थिरता र सुशासनको प्रत्याभूति गर्दै आर्थिक समृद्धि तथा विकासका अभियान संचालन गर्ने।

७. नेपाली कांग्रेस र एमाओवादीको संयुक्त सरकार गठन गर्ने। दुबै दलको सहमतिमा संसदमा रहेका अन्य दललाई सरकारमा सहभागी गराउने। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने। …महिनापछि वि.सं. … साल … महिना … गतेदेखि संघीय संसदको निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने।

हस्ताक्षर                                           हस्ताक्षर

शेरबहादुर देउवा                               प्रचण्ड



from Nepal123.com - बाहिर आयो कांग्रेस र एमाओवादी हुन नसकेको ७ बुँदे सम्झौता (एक-एक बुँदासहित)

जलवायु परिवर्तनले नेपाल जोखिममा

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापाद्वारा आयोजित दैवीप्रकोप उद्धार समितिका लागि पूर्व सूचना प्रणाली र विपद् जोखिम न्यूनीकरण गोष्ठीमा जलवायु परिवर्तनले प्रकृतिमा देखिएको परिवर्तन एवम् प्रभावबाट मानवजीवन जोखिममा पर्न गएको सन्दर्भमा प्रशिक्षण दिइयो ।

विपद्बाट समाजका मानिसलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षक कृष्ण बस्यौलाले जानकारी दिएका थिए ।
सो अवशरमा प्रजिअ मदन भुजेलले मौसममा आएको परिवर्तनले ल्याएको खडेरी , बाढी जस्ता प्रकोपबाट तत्काल जोगिन जोखिम क्षेत्रमा मानिस चनाखो भएर बस्नुपर्ने बताए ।

रेडक्रस झापाका सभापति लोकराज ढकालले जलवायु परिवर्तनले विश्वमा नै त्यसको प्रभाव भएकाले नेपाल अन्य मुलुकभन्दा बढी जोखिममा रहेको बताए ।



from Nepal123.com - जलवायु परिवर्तनले नेपाल जोखिममा

चर्चित लोकगायक भोजराज काफ्ले भन्छन : ‘साह्रै बैश लाग्दो रैछ चालिस काटेपछि’

चर्चित लोकगायक भोजराज काफ्लेलाई यतिखेर उखरमाउलो बैश लागेको छ । त्यसैले होला यतिखेर उनी हरेक कार्यक्रममा जाँदा भन्ने गर्छन साह्रै बैश लाग्दो रैछ चालिस कटेपछि । तर ,यो उनको वास्तविक जिवनमा भन्दा पनि उनले तयार पार्न लागेको गीतको बोल हो  ।
जुन गीत आफुले  चालिस नाघेका नेपाली दाजुभाई दिदीबहिनीको लागि तयार पारेको  बताउछन काफ्ले । पछिल्लो समय ‘गाँजा तानेर’ र ‘लोकल भाले’को अपार  सफलता पछि उनी एकदमै व्यस्त छन् ।
सामाजिक विकृती विसंगतीलाई भिन्न तरिकाले व्यंग्यात्मक रुपले आफ्ना गीतसंगित मार्फत ल्याउने गरेका काफ्लेको यतिखेर दिनेश काफ्ले र टिका पुनको स्वरमा भोजराज काफ्लेको लय शव्द र निर्देशनमा तयार गरिएको गीत ‘औठी चिनु  नक्कली कान्छीलाई फिर्ता लिनु छ’ यूट्युव मार्फत सार्वजनिक भएको छ ।  चालिस नाघेकाहरुका लागि गाउन लागिएको गीत ‘यो मनले आँटेछी साह्रै बैंश लाग्दो रैछ चालिस काटेपछि’ भने रेकर्डिङको तर्खरमा रहेको छ ।
केही दिन अघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा यो गीतको बोल सुनाउदा उपस्थित दर्शक स्रोता रमाएका थिए । साथै उनको चर्चित गीत ‘बोतलको पानी’ र ‘लोकल भाले’ एल्वमको मासु मिठो भाालेको माछा तारेको, लेउ लेउ साइली दुई बोतल घरमै तारेको गीत गाइरहँदा दर्शकहरुले टुँडिखेल नै तात्तिएको थियो ।
हेर्नुस भिडियो
https://youtu.be/Lr2bZ0BwTKE


from Nepal123.com - चर्चित लोकगायक भोजराज काफ्ले भन्छन : ‘साह्रै बैश लाग्दो रैछ चालिस काटेपछि’

यी थिइन् बिन लादेनलाई सबैभन्दा मन पर्ने गायिका

२६ बैशाख, एजेन्सी । संसारकै खतरनाक आतंकबादी नेता मध्ये एक मानिएका तत्कालीन अलकायदा प्रमुख ओसामा बिन लादेन पनि कुनै एक सेलिब्रेटी अभिनेत्रीको फ्यान थिए भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

एक सुडानी कवयत्री तथा उपन्यासकार कोला बुफले ओसामा बिन लादेन हलिउड गायिका ह्वीट्नी ह्यूस्टनको ठूलो फ्यान रहेको खुलासा गरेकी हुन् ।

बिन लादेनले करिव ४ महिना सम्म यौन दाशी बनाएर राखेकी ती लेखिकाले आफ्नो आत्म वृतान्तमा ह्यूस्टनलाई बिन लादेनले संसारकै सबैभन्दा सुन्दर महिला भएको बताउने गरेको उल्लेख गरेकी छिन् ।

whitney huston

आफूले ह्युस्टन जति सुन्दर महिला अहिले सम्म नदेखेको बिन लादेनले आफूलाई बताउने गरेको समेत उनले खुलाएकी छिन् ।

संगीतलाई पाप मान्ने गरेका बिन लादेनले सांगेतिक क्षेत्रमा चर्चित रहेकी गायिका भने परी नै मान्ने गरेको उनको भनाइ छ ।



from Nepal123.com - यी थिइन् बिन लादेनलाई सबैभन्दा मन पर्ने गायिका

‘मधेस’ शब्द सुन्नासाथ एमाले नेता बुरुक्क !

२६ वैशाख काठमाडौं । केपी ओली नेतृत्वको सरकार टिकाउन एमाले र एमाओवादीका नेताहरु ९ बुँदे सहमतिको मस्यौदा बनाइरहेका थिए । मस्यौदाको दोस्रो बुँदामा ‘मधेस’ शब्द उलेख गर्ने कि नगर्ने भन्नेमा केहीबेर दुई पार्टीका नेतावीच गलफत्ती पर्‍यो ।

‘संघीयता लगायतका विषयमा केही राजनीतिक दलहरुले उठाएका विषयमा’ भन्ने वाक्य एमाले नेता भीम रावल लगायतले तयार पारेका थिए । त्यसमा एमाओवादी नेताहरुले ‘तराई मधेस केन्द्रित समेतका कतिपय’ भन्ने वाक्यांश घुसाए ।

त्यसपछि यस्तो वाक्य तयार भयो-‘संघीयता लगायतका विषयमा तराई मधेसकेन्द्रित समेतका कतिपय राजनीतिक दलहरुले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने ‘ भन्ने दोस्रो बुँदा तयार पारियो ।

तर, २ नम्बर बुँदामा तराई मधेस भन्ने शब्द उल्लेख भएकोमा एमाले नेता भीम रावल र माधव नेपाल रिसाए । ‘यस्तो शब्द किन लेख्नुपर्‍यो ? के हो यो मधेस भनेको ?’ भन्दै एमाले नेताले रोष प्रकट गरे । यद्यपि त्यहाँको परिस्थिति एमाओवादीलाई फकाउनुपर्ने थियो । र, अन्ततः तराई मधेस भन्ने शब्दलाई यथावत राखेर ९ बुँदेलाई फाइनल गरियो ।

राजनीतिक ‘गाँठो’ मधेस नै हो

एमाले र एमाओवादीवीच गरिएको ९ बुँदे सहमतिको दुई नम्बर बुँदामा उल्लेख गरिएको संघीयता र तराई मधेसको प्रश्न नै अहिलेको राजनीतिक समस्याको गाँठो हो । संविधानको कार्यान्वयनका लागि यो गाँठो फुकाउन अपरिहार्य छ ।

तर, एमाले नेताहरु मधेसी मोर्चाको माग वा मधेसको विषयलाई त्यसरी मान्यता दिने पक्षमा छैनन् । एमाओवादीसँग लिखित सहमति गरिरहेका बेलामा समेत एमाले नेताले मधेस शब्द सुन्न रुचाउँदैनन् भने यो दोस्रो नम्बर बुँदा कार्यान्वयन हुने त्यति धेरै आशा गर्न सकिँदैन ।

मानवअधिकारवादी तरंगित

एमाले र एमाओवादीवीच ९ बुँदे सहमति भएको भोलिपल्ट मानवअधिकारवादीहरुले आयोजना गरेको एक कार्यक्रममा एमाओवादीका एकजना पदाधिकारीले भाषण गर्दैथिए, त्यही बेला प्याकुरेल थरका एकजना एमाले समर्थित मानवअधिकारवादीले आपत्ति जनाए ।

द्वन्द्वकालीन राजनीतिक मुद्दाहरु फिर्ता लिइनुपर्ने र अदालतमा हालिएका मुद्दा सत्यन निरुपण तथा मेलमिलाप आयोगमा जानुपर्ने एमाओवादी नेताले बताउनासाथ एमाले समर्थित मानवअधिकारवादीले कार्यक्रममै उभिएर आपत्ति जनाए ।

तर, दुई पार्टीवीच भएको ९ बुँदे सहमतिमा शन्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने धेरैवटा बुँदाहरु समावेश गरिएका छन् । राजनीतिक मुद्दाहरु फिर्ता लिने, जग्गाको किनबेचलाई बैधानिकता दिने, शहीदलाई राहत र घाइतेहरुलाई उपचार खर्च निकासा गर्ने लगायतका विषयहरु ९ बुँदेमा समावेश गरिएका छन् ।

तर, एमाले र एमाओवादीवीच मुद्दा फिर्ता लिने लगायतका विषयमा भएको सहमतिका विरुद्ध मानवअधिकारवादी एवं द्वन्द्वपीडितका नाममा खुलेका संस्थाहरुले आपत्ति प्रकट गर्न थालिसकेका छन् । केही वकिलहरु पनि ९ बुँदेको विरोधमा सतहमा आएका छन् ।

यो स्थितिमा एमाले एमाओवादीवीच भएको सहमति कार्यान्वयन  कसरी होला ? समझदारी भएको तीन दिन नबित्दै यसको कार्यान्वयनमा चुनौती देखा परेको छ ।

मधेसको मामिलामा एमालेको अनिच्छा र मुद्दा फिर्ता सम्बन्धमा मानवअधिकारवादीका नाममा स्वदेशी र विदेशीहरु संयुक्त विरोधले ९ बुँदेलाई चुनौतीपूर्ण बनाएको हो ।



from Nepal123.com - ‘मधेस’ शब्द सुन्नासाथ एमाले नेता बुरुक्क !

Saturday, May 7, 2016

‘झिल्के र साथी तिमी नै हौ’मा व्यस्त झरना, के भयो निर्देशक बन्ने कुरा ?

नायिका झरना थापाले करिब डेढ बर्ष कुनै पनि चलचित्र गरिनन् । यसको पछाडि केही कारणहरु थिए । पहिलो कुरा झरनाले अभिनय गरेका अधिकांश चलचित्र लगालग असफल भएका थिए । व्यापारिक रुपमा चलचित्र कमजोर बनेपछि झरनाले करिब डेढ बर्ष काम गरिनन् । यस्तै, उनी आफै निर्देशक बन्न पनि तम्सिइन् ।

झरनाले चलचित्र ‘ए मेरो हजुर २’ बनाउने भनेको लामै समय भैसकेको छ । तर, उनले नायिका नपाएर अझै चलचित्रको छायांकन सुरु गर्न सकेकी छैनन् । नायक पनि पाइसकेको र कार्यक्रम गरेरै सार्वजनिक गर्ने झरनाको भनाई छ ।

करिब डेढ बर्ष पछि झरना २ चलचित्रको छायांकनमा व्यस्त छिन् । झरना अहिले पुर्वका रमणिय स्थानमा चलचित्र ‘झिल्के र साथी तिमी हौ’को एकसाथ छायांकन गरिरहेकी छिन् ।

उनले चलचित्र निर्देशन सुरु गरेपछि भने सो अवधीमा कुनै चलचित्रमा काम नगर्ने बताइन् । नेपाली चलचित्रकी चर्चित नायिका थापालाई अब फेरि एउटा हिट चलचित्र चाहिएको छ । के ‘झिल्के र साथी तिमी हौ’ले यो कुरा पूरा गर्ला त ? प्रतिक्षा गरौ ।



from Nepal123.com - ‘झिल्के र साथी तिमी नै हौ’मा व्यस्त झरना, के भयो निर्देशक बन्ने कुरा ?

​जन्मेको गाउँको नामलाई ब्राण्ड बनाएर व्यापार गर्दै कतारमा एक नेपाली

महेश्वर नेपाल/उज्यालो ।

कतार, वैशाख २६ – कतारमा व्यवसाय गर्दै आएका एक नेपालीले आफू जन्मेको गाउँको नामलाई ब्राण्ड नेम बनाए व्यवसाय गर्न थालेका छन् ।

गएको पाँच वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका धनुषाका अव्दुल वासिदले आफू जन्मेको गाउँको नामलाई ब्राण्ड नेम बनाएर इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गर्नुभएको हो ।

उहाँले आफ्नो जन्मगाउँ धनुषाको बेलाकोलाई व्यावसायीक ब्राण्ड नेम बनाउनुभएको हो । उहाँले ‘बेलाको’ ब्राण्ड बनाएर एयर कण्डिसन, कुलर तथा पङ्खाको व्यवसाय गर्नुभएको हो ।

वासिदले आफ्नो कम्पनी अब्दुल हाफिज ट्रेडिङ मार्फत ग्रिसमा बनेका ती सामान कतार भित्र्याउनु भएको हो । कतार अन्तर्राष्ट्रिय बजार भएकाले छुट्टै ब्राण्ड बनाएर बजारमा लैजाने काम चुनौतीपूर्ण रहेको वासिदले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय बजारमा ब्राण्ड बनाउन सफल भएका अन्य कम्पनीसँग प्रतिस्पर्धा गरेर नयाँ ब्राण्ड बजारमा लैजान गाह्रो छ । तर मैले यसलाई चुनौतीका रुपमा लिएको छु ।’

नेपाली भएकै कारणले कतारमा व्यवसाय गर्न विगतमा अप्ठेरो परेको अनुभव पनि उहाँसँग छ । कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने तयारी गरेसँगै व्यापार व्यवसायका लागि प्रशस्तै अवसर रहेको उहाँले बताउनुभयो ।

‘कतारले अहिले विकास निर्माणमा पैसा र समय खर्चेको छ । त्यसैले यहाँ कमाएको सिप र पैसालाई व्यापारमा लगानी गर्न सके राम्रो हुन्छ ।’ वासिदले नेपाल र युएईमा समेत शाखा बिस्तार गर्ने योजना पनि बनाउनुभएको छ ।



from Nepal123.com - ​जन्मेको गाउँको नामलाई ब्राण्ड बनाएर व्यापार गर्दै कतारमा एक नेपाली