Sunday, May 8, 2016

एकै परिवारका चार जनाको सामुहिक अन्तेष्टि

प्यूठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका दाङका चार जनाको आइतवार सामुहिक अन्तेष्टि गरिएको छ । उक्त दुर्घटनामा एकै परिवारका आमा, छोरा र दुइ जना नातिनीको सामुहिक अन्तेष्टि गरिएको हो । सामुहिक अन्तेष्टि स्थल बबई नदीमा मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली दिन सयौं स्थानीय सितलपुर घाट पुगेका थिए । चार जनाको एकै लाईनमा लक्सरै चितामा राखेर अन्तेष्टि गरिएको हो । मृतक शुकदेवका कान्छा छोरा नारायण खनालले लक्सरै राखेका चारवटा चितामा दागवत्ति दिनेक्रममा धेरै मलामीका आँखा आँशुले भरिएका देखिन्थे ।

उक्त हृदयविदारक दृष्य देखेर आँशु नझार्ने व्यक्ति त्यहाँ सायदै थिए । आमा छोरा र दुई जना नातिनीको सामुहिक अन्तेष्टि कार्य निकै कारुणिक थियो । स्वर्गद्धारी प्रभुको दर्शनमा गएका एकै परिवारका चार जनाको मृत्यु भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । स्वर्गद्धारी प्रभुको दर्शनका लागि प्यूठान गएका दाङ तुलसीपुर १९ उरहरीका ६५ वर्षीया आमा दुवा खनाल, ५० वर्षीय छोरा सुकदेव खनाल र उनकी १९ वर्षीया छोरी विमला खनाल र सुकदेवको भाईको छोरी १२ वर्षीया अस्मिता खनालको आइतवार उरहरी स्थित सितलपुर घाटमा सामुहिक अन्तेष्टि गरिएको हो ।

दुर्घटनामा परेका मध्ये दुवा खनालको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने अन्य तीन जनाको भने घटना स्थलमै मृत्यु भएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तुलवहादुर कार्कीले बताए । स्वर्गद्धारी प्रभुको दर्शन गरेर घरतर्फ फर्कदै गर्दा प्यूठानको भिंगृ–१ स्थित मुहान खोलाले शनिवार दिउँसो उनीहरु सवार बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई बगाउँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा परी खनाल परिवारकै थप चार जना घाईते भएका छन् । मृतक सुकदेव खनालकी श्रीमती ४६ वर्र्षीया कौशिला खनाल, साईली छोरी २२ वर्षीया शारदा खनाल, माईली छोरी २६ वर्षीया बशन्ता खनाल र भाई वुहारी ३५ वर्षीया कमला खनाल घाईते छन् । उनीहरुको श्वास्थ्य खतरा मुक्त रहेको कोहलपुर मेडिकल कलेजवाट बाँकेवाट उरहरीको वडा नं. १९ का सचिव एवं स्थानीयवासी मानवहादुर रावतले जानकारी दिए । एकै परिवारका चार जनाको मृत्यु र अन्य चार जना घाईते भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । गाडी चालक कवित चौधरी र अन्य दुई जना मध्ये मृतक सुकदेवका भतिजा सुशील भण्डारी र मृतक सुकदेवका माईला ज्वाँई चेतराज अवस्ती भने सकुसल रहेको वडा सचिव रावतले जानकारी दिए । चेतराज अवस्ती धनगढी  निवासी हुन ।



from Nepal123.com - एकै परिवारका चार जनाको सामुहिक अन्तेष्टि

राजाका रुपमा बिदा भएका शाह सम्राटको रुपमा फर्किदै

२७ वैशाख, काठमाडौं । नेपाली राजनीतिको पर्दा अगाडि सरकार गिराउने र टिकाउने खेल हुँदैछ तर पर्दा पछाडि अर्कै भयानक खेल भइरहेको छ । झलक्क हेर्दा असम्भव झैँ लाग्ने एउटा डरलाग्दो खेलले नेपाली राजनीतिमा टाउको उठाउन थालेको छ ।

सो खेल अनुसार नेपालमा राजतन्त्र पुनरस्थिापित गर्ने होइन, सम्राटतन्त्र स्थापित गरिनेछ । हिजो राजा थिए, अब सम्राट हुनेछन् । सम्राटका रुपमा ज्ञानेन्द्र शाह र हृदयेन्द्र मध्ये को हुन्छन् थाहा छैन तर यही वंशाबाट नेपालमा सम्राट स्थापित गर्ने ग्राण्ड डिजाइन बनिरहेको छ ।

यही डिजाइअनुसार गत वैशाख १६ गते पूर्वराजा ज्ञानेन्द्र अचानक भारत गए । दुई रात दिल्ली बसे । अनि ठूलो उत्साहसहितको सपना बोकेर नेपाल फर्किए । पूर्वराजा ज्ञानेन्द्र दिल्ली गएको हाराहारीमै नेपालबाट पूर्व प्रधानमन्त्री देउवा र एमाओवादी नेता कृष्णबहादुर महरा पनि भारत गएका थिए ।

नेपालका जल्दाबल्दा र निर्णायक पार्टीका यी नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्नन् तर पूर्वराजा ज्ञानेन्द्रसँग भने गुप्त रुपमा भेटे । ज्ञानेन्द्र शाह निकटहरु बताउँछन्–पूर्वराजा अहिले अत्यन्तै उत्साही भएका छन्, राजाका रुपमा बिदा भएका थिए, अब सम्राटका रुपमा फर्किने वातावरण बन्दै छ।

स्रोतहरु भन्छन्–भारतको यसपटकको भ्रमणपछि चाहिँ ज्ञानेन्द्र अत्यन्तै आशावादी भएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।



from Nepal123.com - राजाका रुपमा बिदा भएका शाह सम्राटको रुपमा फर्किदै

सरकारले नहेरेपछि आफै विद्यालय ठड्याउँदै शिक्षक-विद्यार्थी

गत वर्षको भूकम्पले नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलको २७ कोठे भवन पूरै क्षतिग्रस्त भयो ।

कक्षा १२ सम्मका २ हजारभन्दा बढी विद्यार्थी कहिले ग्यारेजमा त कहिले खुला चौरमा बसेर पढ्न बाध्य भए । वर्षा, हुरीबतास र गर्मीले उनीहरु विरामीसमेत परेको अाजको नागरिकमा समाचार छ ।

यसबीच विद्यालयका पदाधिकारी स्थायी कक्षाकोठा माग्दै जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग, मन्त्रालयसम्म धाए । तर, सरकारले विद्यार्थीका पीडा घटाउन कुनै पहल गरेन । अब उनीहरु आफ्नो विद्यालय आफै बनाउन कस्सिएका छन् । भवन निर्माणका लागि ‘एक व्यक्ति एक इँटा’ अभियान चलाएर सहयोग संकलन थालिएको प्राचार्य गीता खरेल बताउँछिन् ।

केही दिनअघि विद्यालय पुग्दा बालुवा, गिटी, सिमेन्ट, छडलगायत सामग्री जुटिसकेका थिए ।  शिक्षकहरु ती सामग्री ओर्सान सघाइरहेका थिए ।

पटक पटक मन्त्रालय धाउँदा तीन वर्षपछि मात्र भवन बनाइने जवाफ आएपछि प्राचार्य गीताले गत फागुन २२ गते अभिभावक, विद्यार्थी, शिक्षक, समुदायका अगुवा तथा समाजसेवी डाकेर छलफल चलाइन् ।

आफ्नै पहलमा विद्यालय भवन बनाउने प्रस्ताव गरिन । त्यसका लागि सहयोगको आग्रह गरिन् । ‘सहभागीहरुले तुरुन्तै ७ लाख रुपैयाँ सहयोग गरिहकाले’ उनले सुनाइन ‘यसले हामीलाई थप बल मिल्यो ।’ सहयोग संकलन अभियानको थालनी गीता आफैँले एक लाख रुपैयँ दिएर गरिन् ।



from Nepal123.com - सरकारले नहेरेपछि आफै विद्यालय ठड्याउँदै शिक्षक-विद्यार्थी

नवीकरण नै नगरी ४० हजार एनजिओ सञ्चालनमा

२७ वैशाख, काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५ हजार संघ संस्थामध्ये मध्ये करिब पाँच हजारले मात्रै नवीकरण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन र कडाइ गर्न नसक्दा ४० हजार एनजिओले नवविकरण गर्न कुनै चासो नदेखाएका आजकोनयाँ पत्रिका दैनिकले जनाएको छ ।

गैरसरकारी संघ संस्थाहरुले समयमै नवीकरण गर्न अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले नवीकरणमा कडाइ गर्ने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पाँच वर्षसम्म नवीकरण नगर्ने खारेजीमा पर्ने जानकारी दिए ।v



from Nepal123.com - नवीकरण नै नगरी ४० हजार एनजिओ सञ्चालनमा

विधान लत्याउँदै देउवा

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् ।

१३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन।

पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ । फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यता नपुगेको बताए । नेतृत्वमा नपुगुन्जेल विधानको कुरा गर्ने र आफैँ नेतृत्वमा पुगेपछि विधान मिच्नु राम्रो नभएको घिमिरेको भनाई छ ।

सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सूर गरेका छैनन् । त्यस्तै, बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन ।

विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबे तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।



from Nepal123.com - विधान लत्याउँदै देउवा

श्रीमातीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि…

काठमाडौं : एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।

इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको  छ ।

चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए ।  चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ ।

पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमान्लाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।

गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए ।

-नयाँ पत्रिका दैनिबाट



from Nepal123.com - श्रीमातीको नग्न तस्वीर श्रीमानलाई पठाएपछि…

भारतीयहरूले नै मोदी–ओलीको यसरी विरोध सुरू गरे

काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ता प्रकरणबारे भारतका कूटनीतिज्ञहरूले फरक–फरक प्रतिक्रिया दिएका छन् ।

कतिपयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको आलोचना गरेका छन् भने कतिपयले नेपालका प्रधानमन्त्री केपी ओलीको भारत नीतिप्रति टिप्पणी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भारतले औपचारिक रूपमा भने पछिल्ला घटनाक्रमबारे नजिकबाट नियालिरहेकोबाहेक अन्य टिप्पणी गरेको छैन ।

पूर्वराजदूत एमके भद्रकुमारले भने नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीका अवसरमा २१ मेमा जाने भनिएको कार्यक्रम रद्द र नयाँदिल्लीबाट राजदूत फर्काउने काठमाडौंको निर्णयजस्ता नाटकीय विकासक्रमले नेपाल–भारत सम्बन्धको पछिल्लो घाउ थप गहिरिएको बताएका छन् ।

भारतको संस्थापनको केही पक्षले हिसाब–किताब गरिरहेका हुनसक्छन् कि नेपाललाई कमजोर गराउँदै अस्थिर बनाउँदै जानु भारतका लागि किफायती बाटो भएको उनले बताए ।

‘उनीहरूले सम्भवतः यो पनि सोच्छन् कि भारतीय एजेन्सीहरू काठमाडौंको राजनीतिक घोडचढीलाई सजिलै लगानी गरिदिन सक्छन् किनभने उनीहरूसँग निर्वाचित सरकार ढाल्ने र अपमान गर्ने अभ्यासको अनुभवमा पनि कमी छैन’, उनले भनेका छन् ।

यस्तै लेखक रुद्रोणील घोषले गत २५ वैशाखमा टाइम्स अफ इन्डियामा लेखेका छन् – घटनाक्रमहरूको नाटकीय फेरबदलका क्रममा माओवादीहरूले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थिए । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीहरूको बैठक परिणाम दिन असफल भयो । यही क्रममा माओवादीहरूले पूर्णतया युटर्न गरे र केही समय सरकारलाई नै निरन्तरता दिने बताए ।

सरकार ढाल्न भारतले कोसिस गरेको प्रधानमन्त्री ओलीको बुझाइका कारण नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्वनिर्धारित भारत भ्रमण रद्द भयो ।

यसमा राजदूत दीपकुमार उपाध्याय सहमत थिएनन् र उनले ओलीलाई टेलिफोनमा यो कुरा भने । त्यसपछि नेपालको क्याबिनेटले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । यो पूरै इपिसोडले नेपाल–भारत सम्बन्धमा ठूलो अविश्वास रहेको स्पष्ट हुन्छ, जुन भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएर सुरु भएको थियो ।

यस्तै प्रोफेसर एसडी मुनीले २५ वैशाखमा भनेको कुरा द क्याच न्युजमा उल्लेख गरिएको छ– पछिल्ला घटनामा नयाँदिल्ली धेरै नै दुःखी छ । नेपाल सरकारले भारतसँग सम्बन्धको विषयमा सावधानी नअपनाइरहेको देख्दा म धेरै नै आश्चर्यचकित छु । अर्कातिर भारत नेपालमा के चाहन्छ भन्ने पनि निश्चित छैन । नेपालको संविधानमा भारतको धारणा, विदेश सचिव एस जयशंकरले संविधान निर्माणको उत्तराद्र्धमा गरेको नेपाल भ्रमण, मधेसीहरूले गरेको नाकाबन्दीलाई सहयोग गरेकोलगायतका घटनाहरूले सम्बन्धको उतारचढाब देखाइरहेको छ । अहिले मधेसीहरू पनि भारतसँग खुसी छैनन् किनभने अहिले मधेसीहरूलाई भारतले छाडेको छ ।

भारतका पूर्वविदेशसचिव कनवाल सिवलले भनेको कुरा द क्याच न्युज यसरी उल्लेख गरिएको छ– केही नहुँदा पनि नेपालले भारतीय हात देख्छ । राष्ट्रपतिलाई भारत भ्रमण नगर्न दबाब दिएर र राजदूतलाई बर्खास्त गरेर छिमेकी मुलुक (नेपाल)ले तनावको परिस्थिति सिर्जना गरिरहेको छ । नेपाल सरकार समस्यामा रहेको भए पनि राष्ट्रपतिजस्तो उच्च व्यक्तिको भ्रमण रोकिनु हुँदैनथ्यो ।



from Nepal123.com - भारतीयहरूले नै मोदी–ओलीको यसरी विरोध सुरू गरे