Monday, February 29, 2016

अस्पतालमा लोडसेडिङ नगर्न अदालतको निर्देशन

चितवन,फागुन १८- पुनरावेदन अदालत हेटौडाले अस्पताल संवेदनशील क्षेत्र भएकोले त्यस्ता निकायमा लाइनबाट सञ्चालित विद्युत् सेवा नरोक्न निर्देशन गरेको छ । चितवनका दुई मेडिकल कलेजसहितका दर्जनभन्दा बढी निजी अस्पतालहरुमा लोडसेडिङ नहुने लाइन नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले काटेपछि त्यसविरूद्ध दायर मुद्दामा अदालतले यस्तो आदेश जारी गरेको हो ।

‘अस्पतालजस्तो संवेदनशील निकायमा लोडसेडिङ नहुने विद्युत् सेवा सञ्चालनमा रोक लगाउनु कानुन संगत देखिएन’, अदालतले जारी गरेको निशेधाज्ञामा भनिएको छ, ‘नेपालको संविधान–२०७२ को धारा ३५ ले स्वास्थ्य सम्बन्धीहकलाई आधारभूत स्वास्थ्यका रुपमा लिई मौलिक हक मानेको छ ।’ प्राधिकरणले गत फागुन ६ गते निजी अस्पताललाई पत्र लेखेर विद्युत् सेवा बन्द गर्ने जानकारी गराएको थियो ।

सोही पत्रको विरोधमा निजी अस्पताल समन्वय समितिकातर्फबाट अध्यक्ष नारायणसिंह कुवंरले पुनरावेदन अदालत हेटौंडामा निशेधाज्ञा जारी गर्दै रिट निवेदन दिएका थिए । आदेशमा प्राधिकरणले जारी गरेको पत्र कार्यान्वयन गर्न र अस्पतालहरुमा नियमित बिजुली सेवा दिन निर्देशनसमेत दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेल केन्द्रको निर्देशनअनुसार निजी अस्पतालहरुको लाइन काटिएको बताए । ‘लोडसेडिङ नहुने लाइन काट्नु पर्ने माथिको आदेश हो’ उनले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment