१८ फागुन, काठमाडौं । कांग्रेसनिकट बुद्धिजीवी हुन् हरी अधिकारी । यद्यपि, कांग्रेसको नीति र नेतृत्वको खुलेर आलोचना गर्न उनी पछि पर्दैनन् । विशेषगरी कोइराला परिवारका कट्टर आलोचक मानिन्छन् अधिकारी ।
कांग्रेसको आसन्न महाधिवेसनबाट नेतृत्व हासिल गर्न थुप्रै नेता लालायित छन् । तीमध्ये १० नेताको सवल पक्ष र दुर्वल पक्षबारे मूल्यांकन गर्ने जिम्मेवारी दिइयो अधिकारीलाई । उनले यसरी मूल्यांकन गरे :
शेरबहादुर देउवा तीनपटक प्रधानमन्त्री भइसकेका अनुभवी नेता हुन् । उनी विगतमा पटक-पटक कांग्रेस सभापतिमा उठेर हारेका थिए । १२ औं महाधिवेसनमा पनि उनले सभापति पदको दाबी गरेका छन् । यसपटक उनलाई सबैभन्दा राम्रो मौका छ ।
आफ्नो गुटका सबैको चित्त बुझाएर व्यापक तयारीका साथ देउवाले उम्मेदवारी दिँदैछन् । देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिको झुकाव हेर्दा उनले जित्ने सम्भावना बढी देखेको छु । पहिलो राउन्डको चुनावबाटै ५१ प्रतिशत भोट ल्याएर जित हासिल गर्न पनि सक्छन् ।
सबैलाई मिलाएर लैजान सक्ने र परिणाम निकाल्न सक्ने नेताको छवि छ देउवाको । आवश्यक पर्दा कठोर निर्णय लिनु र त्यसमा अडिन सक्नु उनको सकारात्मक विशेषता हो । देउवा आफ्नो गुटलाई सकेसम्म संरक्षण दिन्छन् । नेता-कार्यकर्ताको क्षमता चिनेर त्यसअनुसार जिम्मेवारी दिन सक्छन् । प्रधानमन्त्री पदमा तीनपटक पुगेर थुप्रै नयाँ कामहरु गरेको अनुभव पनि उनीसित छ ।
देउवाको कमजोर पक्ष भनेको कुनै पनि विषयलाई सांंगोपांगो विश्लेषण गर्ने र सन्तुलन मिलाएर लैजाने धैर्यता छैन । मीठो भाषण गर्ने र कार्यकर्तासित लामो अन्तरंग कुराकानी गर्ने स्वभाव छैन उनको । त्यसैले उनलाई धेरैले रुखो स्वभावको व्यक्तिका रुपमा समेत चिन्छन् ।
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशाष्त्रमा बिएल र एमए गरेका हुन् भने लन्डन स्कुल अफ इकोनोमिक्सबाट इन्टरनेसनल इकोनोमिक्समा फेलोसिप पाएर पढेका हुन् । यद्यपि, पढाइको डिग्रीलाई राजनीतिमा खासै सदुपयोग गरेको जस्तो देखिँदैन ।
नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील पुराना र निष्ठावान नेता हुन् रामचन्द्र पौडेल । सबैभन्दा ठूलो शक्ति निरन्तर रुपमा प्रजातान्त्रिक आन्दोलनमा आवद्ध रहनु हो । प्रजातन्त्रको पुनस्र्थापनापछि प्रधानमन्त्री र पार्टी सभापतिबाहेक धेरै पदहरु उनले हासिल गरिसकेका छन् ।
यति लामो समय राजनीति गरेर पनि उनले आफ्नो छुट्टै गुट भने निर्माण गरेनन् । यसलाई उनको राम्रो पक्ष वा कमजोरी जे भन्दा पनि हुन्छ । वीपी कोइरालादेखि गणेशमान र किसुनजीसँग काम गरिसकेका भए पनि उनलाई नेता मानेर पछि लाग्ने कार्यकर्ताको ठूलो समूह छैन । जबकि उनीभन्दा जुनियर धेरै नेताले पनि आफ्नो टीम बनाएका छन् ।
रामचन्द्रको बलियो पक्ष भनेको अहिलेसम्म कुनै पनि प्रकारको विवाद वा स्क्यान्डलमा नमुछिनु हो । पटक-पटक सरकारमा गएर पनि चोखै निस्कन सफल भए ।
कमजोरीको कुरा गर्दा उनी संयोजनकारी भूमिका खेल्न सक्दैनन् । नेता-कार्यकर्तालाई विश्वासमा लिएर उचित जिम्मेवारी बाँडफाँड गर्न असमर्थ छन् ।
मैले उनीसँग नजिकबाट संगत त गरेको छैन, तर छेउछाउ पुगेर हेर्दा उनीमा आत्मविश्वासको पनि कमी महसुस गरेको छु । म कोइराला क्याम्पको लिडर हुनुपर्छ भन्ने उनको स्लोगान नै ‘बुनियादीरुपले’ गलत छ जस्तो मलाई लाग्छ । र, यो चुनाव जित्ने खालको रणनीति होइन ।
शेरबहादुर रामचन्द्रको पङ्तिमा आउने नेता होइनन् केपी सिटौला । यद्यपि उनले यसपटक सभापतिमा दावी गरिरहेका छन् । तथापि, यसका लागि उनको योग्यता पुग्छ जस्तो मलाई लाग्दैन । सुशील कोइरालाले सिटौलालाई पर्याप्त योग्यताबिनै महामन्त्री बनाइदिएका थिए । जबकि महामन्त्रीका लागि योग्य उनीभन्दा सिनियर नेता धेरै थिए ।
सिटौलाको सवल पक्ष भनेको १२ बुँदे यता माओवादीलाई मुलधारमा ल्याउन उनले खेलेको भूमिका हो । ०६४ सालमा गृहमन्त्री हुँदा पनि उनले माओवादीलाई गुन लगाएका थिए । त्यसैले सिटौला सभापति भएमा सबैभन्दा खुशी सायद प्रचण्ड हुनेछन् ।
दक्षिणतिरको संस्थापनको आशिर्वाद पनि सिटौलालाई रहेको सुनिन्छ । तर, आम कांग्रेस कार्यकर्ताले उनलाई सभापतिमा देख्न चाहेका छन् भन्नेमा मलाई शंका छ । सिटौलाको इगोले दिन्छ कि दिँदैन, वरिष्ठ केन्द्रीय सदस्यका रुपमा पूर्वाञ्चल हाँक्ने जिम्मेवारी पाए भने उनले त्यसलाई न्याय गर्न सक्छन् ।
यसपालि महाधिवेशनमा कुलबहादुरको अलग्गै टीम छ । त्यसमा गोविन्दराज जोशी, विनयध्वज चन्दलगायतका नेताहरुछन् । यो समूहले आफूलाई तेस्रो धारको भन्दै पदाधिकारीमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । तर, यो नैतिक कुरा होइन । नेतृत्व गर्ने हो भने प्रतिस्पर्धामा उत्रिनुपर्छ । कुलबहादुर पुराना र सादगी नेता हुन् । तर, राजनीतिमा सादगीपनले मात्रै सफलता हासिल हुँदैन ।
सुजाता कोइरालाको सम्पूर्ण राजनीतिक धरातल र सारा आधार भनेको स्वर्गीय गिरिजाप्रसादको विरासत हो । त्योबाहेक उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र सभ्यता निर्माणमा खासै योगदान दिएकी छैनन् ।
सुजाताले पनि सभापतिकै दाबी गरेकी छिन् । तर उनी गम्भीर उम्मेदवार हुन् भन्ने लाग्दैन । अन्तिम समयसम्म उनको उम्मेदवारी कायम रहला भन्नेमा मलाई आशंका छ । भोलि मनोनित महामन्त्री वा उपसभापतिको आश्व्ाासन पाइन् भने उनले छोड्ने सम्भावना छ । यद्यपि ‘क्राइटएरिया’ पुगेको हिसाबले उनले सभापतिमा उम्मेदवारी दिन पाउँछिन् ।
कांग्रेसको नेतृत्व कोइराला थरभन्दा बाहिर जानुहुँदैन भन्ने खालको चेतना उनमा देखिन्छ । तर, आजको सचेत नेपाली समाजमा त्यो सोचले केही काम गर्दैन ।
सकारात्मक पक्षको कुरा गर्दा सुजाताले एउटा ट्रस्टमार्फत समाजसेवाका कामहरु गरेकी छिन् । महिलाहरुको हितमा केही परियोजनाहरु सञ्चालन गरेकी छिन् । त्यस हिसाबले उनले केही भोट ल्याउन सक्छिन् । साथै गिरिजाप्रसादकी छोरी हुनुको नाताले पनि अलिकति सहानुभूति उनलाई जान सक्छ ।
मेरो नजरमा उनी अझै एक कार्यकाल केन्द्रीय सदस्यमै बस्नु उचित हुन्छ । लामो समय कांग्रेसको नेतृत्व गरेका गिरिजाप्रसादको सम्मानका खातिर पनि उनलाई केन्द्रीय समितिमा राख्नु आवश्यक छ । यद्यपि, गिरिजाप्रसादले नै देश र नेपाली कांग्रेसलाई यो दुर्दशामा पुर्याएका हुन् भन्ने मान्यता राख्ने व्यक्ति हुँ म ।
हिजो मात्रै मैले फेसबुकमा डा. रामशरण महतलाई सभापति बनाउनुपर्छ भनेर प्रचार-प्रसार गरिएको पेज देखेँ । त्यसमा धेरैजनाले उनको प्रशंसा गर्दै अब कांग्रेसको नेतृत्व उनैले गर्नुपर्छ भन्ने आशय व्यक्त गरेका थिए । त्यसमा मैले के कमेन्ट गरेँ भने, ‘जसलाई तपाईंहरु सभापति बनाउनुपर्छ भनेर स्तुततिगान गरिरहनुभएको छ, उहाँ स्वयम् भने मनोनित महामन्त्री बन्नका लागि सारा प्रयत्न लगाइरहनुभएको छ । त्यसैले यो स्तुतिगानको अर्थ छैन ।’
डा. महत अर्थशास्त्रको गहिरो जानकारी भएका विज्ञ हुन् । उनी अन्तर्राष्ट्रिय एजेन्सीहरुमा काम गर्न फिट मान्छे हुन् जस्तो लाग्छ मलाई । तर, आम नेपालीका लागि डा. महत र एउटा अमेरिकाकी अर्थशास्त्रीमा ठूलो अन्तर छैन । दिनदुःखी र गरिबका पीडामा डा. महतको संवेदनशीलता कमजोर छ । मलाई त लाग्छ उनी आम नेपालीबीचका मान्छे होइनन् । उनी आफूलाई आम मान्छेभन्दा अलि माथि ठान्छन् । कांग्रेसमा उनको वर्चश्व बढ्दा जनता र देशलाई केही फाइदा हुन्न ।
प्रकाशमानसिंह नेपाली कांग्रेसका महान नेता स्वर्गीय गणेशमान सिंहका सुपुत्र हुन् । गणेशमान सिंहको महानताको बोझले उनी थिचिएका छन् जस्तो लाग्छ । उनले सभापति पदको दाबेदारी सम्भवतः छोडिसकेका छन् र रामचन्द्रको प्यानलबाट उपसभापति लड्ने तयारीमा छन् ।
सुशील कोइरालाले नेपाली कांग्रेसलाई आज जसरी लथालिंग हालतमा छाडेका छन्, त्यसमा प्रकाशमानसिंहको पनि अंश छ । किनकि उनी अहिले पार्टीका महामन्त्री छन् । बाबु गणेशमानको जस्तो उदार र फराकिलो सोच उनको छैन ।
शशांक एक ‘जेन्टेलम्यान’ हुन् । अहिलेसम्म टेस्ट हुन बाँकी रहेको हुनाले कांग्रेसभित्र उनीप्रति अलिकति आशा जीवित रहेको देखिन्छ । उनको पार्टीभित्र आफ्नै शक्ति भने छैन । सभापतिलाई जिताउनमा उनको केही योगदान हुन्न । वीपीको छोरा भएकाले आम कांग्रेसीको धेरथोर सहानुभूति उनीप्रति रहन्छ । यही सहानुभूतिका कारणले १२ औं महाधिवेशनमा उनले तेस्रो वा चौथो लोकप्रिय भोट ल्याएका थिए ।
शशांकको क्षमता पदमा पुगेपछि देखिएला । तर, वीपी कोइरालाको लिगेसी धान्न सक्ने नेता होइनन् उनी । वीपीको लिगेसी धान्ने कोइराला क्याम्पमा कोही पनि छैन । शशांक झन् छैनन् । सुशील प्रधानमन्त्री हुँदा शशांक ‘डिफ्याक्टो’ जस्ता थिए । तर, सुशीलको कार्यकाल बिर्सनयोग्य बन्यो । त्यस हिसाबले उनको क्षमतामा शंका गर्न सकिन्छ ।
कांग्रेसभित्र गगन थापाको ग्ल्यामरस छवि रहेको छ । उनी युवा जोश-जाँगर भएका नेता हुन् । भाषण गर्ने कला राम्रो छ । वैचारिक हिसाबले पनि अरुभन्दा अगाडि छन् । तर, गगन आफ्नो क्षमताले मात्रै यति चाँडो यति उचाइमा पुगेका होइनन् ।
उनले एक्कासी गरेको उन्नति मलाई यदाकदा अस्वभाविक पनि लाग्छ । चाँडो-चाँडो सफलताको खुड्किलो उक्लँदै गर्दा उनी अतिरिक्त महत्वाकांक्षी पनि भएको म देख्छु । यो नै उनको प्रमुख कमजोरी हो । पछिल्लो समयमा कुमार श्रेष्ठ ‘घैंटे’ सँग नाम जोडिँदा उनलाई धक्का लागेको छ । त्यतातिर भने म जान चाहन्न ।
गगनले महामन्त्री पदमा दाबी गरिरहेका छन् । उनी नेतृत्वमा आउनु राम्रो हो । तर, गगन महामन्त्री भएर सभापतिमा पुरानै ढर्राको मान्छे आउँदा त्यसको अर्थ हुन्न । कि उनले युवाहरुको अलग्गै टीम बनाउन सक्नुपर्यो । पार्टीमा नयाँ विचार र दर्शन दिनुपर्यो । अन्यथा गगन महामन्त्री हुँदैमा कांग्रेसमा कायापलट होलाजस्तो लाग्दैन ।
अघिल्लो महाधिवेशनमा गगनले सबैभन्दा बढी भोट ल्याएर केन्द्रीय सदस्य जितेका थिए । यसबाट पार्टीभित्र उनको लोकप्रियता झल्किन्छ । मेरो विचारमा उनले फेरि एकपटक केन्द्रीय सदस्यमै बसेर पार्टीमा आमूल परिवर्तन गर्ने हिसाबले नयाँ नीति र कार्यक्रमको तयारी गर्नुपर्छ ।
भ्रष्टाचारमा मुछिएपछि देशभित्र खुमबहादुर खड्काको छवि धुलिसात भइसकेको छ । यद्यपि, कांग्रेसमा उनको प्रभाव र वर्चश्व अझै जिवित छ । अहिले पनि केहि सय महाधिवेसन प्रतिनिधको विश्वास उनले होल्ड गर्छन् । सभापतिको चुनाव दोस्रो राउन्डमा गयो भने उनको भूमिका निर्णायक हुन सक्छ ।
खुमबहादुरको राम्रो पक्ष भनेको कुशल संगठनकर्ता हुन् । त्यत्रो हावा-हुन्डरी आउदा पनि आफ्नो शक्ति गुम्न दिएका छैनन् । तर, नैतिकताको ऐनामा उनी कमजोर छन् । राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने सोच भएका मान्छे हुन् खुमबहादुर । त्यो उनको ठूलो कमजोरी हो ।
साधनको पवित्रता-अपवित्रतामा वास्ता नगरेर साध्यमा मात्रै आँखा लगाउने उनको प्रवृत्ति छ । सत्तामा अर्जुनदृष्टि भएका मान्छे हुन् उनी । उनको प्रवृत्ति र सोच देशका निम्ति हितकर छैनन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment