रवीन्द्र घिमिरे
१८ फागुन, काठमाडौं । वीरगञ्ज नाका खुलेको यतिका दिनसम्म पनि बजारमा तेलको आपूर्ति सहज हुन सकेको छैन । पेट्रोल पम्पहरुमा लामो घन्टौं लाइन बस्दा पनि उपभोक्ताले तेल नपाएर निराश हुँदै र्फकनुपर्ने बाध्यता कायमै छ ।
मागअनुसार भारतीय आयल कर्पोरेशन (आइओसी)ले अझै तेल नदिएकाले आपूर्ति सहज नभएको नेपाल आयल निगम बताउँछ । भारतले कुल मागको ७० प्रतिशत मात्र तेल दिएकाले बजारमा तेलको अभाव समाधान हुन नसकेको पक्कै हो । तर, यो मात्र कारण होइन । अहिले काठमाडौंमा मात्रै दैनिक ४ देखि साढे ४ लाख लिटर पेट्रोल बजारमा पुगिरहेको छ । तर, पनि उपभोक्तालाई तेल पाउनु ‘युद्ध जित्नु’ जत्तिकै छ । तेल अभाव जारी अन्य कारणहरु यस्ता छन्:
१.नाकाबन्दीको त्रासले अनावश्यक सञ्चिति
चार महिनाभन्दा लामो नाकाबन्दी भयो र इन्धनको हाहाकार मच्च्ियो । ५ गुणासम्म महंगोमा ब्ल्याकको तेल किनेर उयपभोक्ताले सवारी चलाए । नाका खुल्यो भनिए पनि अझै माग अनुसार तेल नआएकोले उपभोक्ता ढुक्क हुन सकेका छैनन् । भारतले इन्धनमा नाकाबन्दी कायमै राखेको निश्कर्ष धेरैको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत गएर फर्किंदा नाका खुलेको औपचारिक सन्देश आउने र ७० प्रतिशतको तेल आपूर्ति सत्प्रतिशत पुग्नेमा धेरै आशावादी थिए । स्वयम् नेपाल आयल निगम पनि प्रधानमन्त्रीको भारत भ्रमणपछि तेल आपूर्ति सहज हुनेमा विश्वस्त थियो । तर, प्रधानमन्त्रीको यो भ्रमणले न तेल आपूर्ति सहज गरायो, न त नाका खुलेको भन्ने कुनै औपचारिक सन्देश दियो ।
इन्धनमा भारतको लगाम कायमै रहिरह्यो । अहिले भारतले फेरि नाकबन्दी गर्दैछ भन्ने हल्ला सर्वत्र छ । यो अफबाहका कारण उपभोक्ता तेलको अनावश्यक सञ्चितिमा लागेका आयल निगमका अधिकारीहरु बताउँछन् । पम्पबाट सुपथ मुल्यमा तेल पाएका कारण फुर्सद निकालेर लाइन बस्ने र घरमा तेल भण्डारण गरेर मख्ख पर्ने उपभोक्ताको संख्या ठूलो रहेको पेट्रोलियम डिलर्स एशोसियनका अध्यक्ष लिलेन्द्र प्रधानकोे भनाई छ ।
‘फूल ट्याङ्की तेल हाल्ने र त्यसलाई घरमा भण्डार गरेर फेरि लाइनमा आउने उपभोक्ता धेरै भए- अध्यक्ष प्रधानले भने ‘नाकाबन्दी नहटेको वा फेरि नाकबन्दी हुँदैछ भन्ने हल्लाले गर्दा उपभोक्ता दोहोर्याएर लाइन बसेका छन् ।’
२. कालोबजारीयाको चलखेल
नाका खुलेपछि तेल सहज भएर कालोबजार स्वतः नियन्त्रण हुने अपेक्षा थियो । तर, अहिले पनि बजारमा कालोबजारीको तेल छ्यापछ्याप्ती छ ।
पहिलेको र अहिलेको कालोबजारीमा खास फरक देखिएको छ । यसअघि विभिन्न नाका हँुदै विभिन्न माध्यम भएर भारतबाटै तस्करले तेल ल्याउँथे । अहिले चाहिँ आयल निगमले पम्पमा दिएको तेल नै कालोजारीको हातमा पुगिरहेको आयल निगमकै कर्मचारीहरु बताउँछन् ।
पम्पले फुल ट्याङ्की तेल दिने भएपछि कालोबजारी गर्नेहरुले सवारी लाइनमा राखेर तेल हाल्ने र त्यसलाई कालोबजारीमा बेच्ने गरेका छन् । पक्राउ पर्ने जोखिम नहुने र लाइनमा बसेर दिनमा जति पटकसम्म पनि तेल हाल्न सकिने लगायतका कारण पम्पले बाँडेका तेल नै कालोबजारीको हातमा पुगिरहेको छ ।
लाइन बस्न नभ्याउने उपभोक्ता त्यही पेट्रोल लिटरको २ सय ५० रुपैयाँसम्म तिरेर कालोबजारीयासँग किनिरहेका छन् । लिटरमै डेढ सय रुपैयाँसम्म नाफा हुने भएपछि कालोबजारीले धेरै तेल अट्ने मोटरसाइकल र साना गाडीहरु प्रयोग गरेर पम्पहरुमा लाइनमा राख्ने गरेको भेटिएको पेट्रोलियम ब्यवसायी बताउँछन् ।
यस्तै पम्प पुगेका तेल पनि कतिपय ब्यापारीले थोरै उपभोक्तालाई बाँडेर अरु कालोजारीमा बेचिरहेका छन् । केही समयअघि त्रिपुरेश्वरको मायाराम भोलाराम पम्पका कर्मचारी तेल बिक्री गर्दागर्दै पक्राउ परहेको घटनाबाट पनि यसको पुष्टी भएको छ ।
३. वितरण प्रणालीमा कमजोरी
आपूर्ति कम भएका बेला तेल वितरण प्रणाली पूर्ववतः रुपमा फर्काइएको छ । आयल निगमले यस्तो बेलामा वितरण प्रणाली चुस्त बनाउने हो भने अवस्था सामान्यउन्मुख हुन सक्थ्यो । पर्याप्त तेल नआएकै अवस्थामा कोटा प्रणाली हटाउँदा बजारमा कालोबजारीको चलखेल बढेको छ ।
आयल निगमले अहिले काठमाडौंको बढी भिडभाड हुने पम्पमा धेरै र रिंगरोड बाहिरका पम्पलाई कम मात्रामा पेट्रोल दिइरहेको छ । अधिक तेल बिक्री हुने पम्पमा धेरै तेल दिए वितरण सहज हुने निगमको विश्वास थियो । तर, एकपट्ट िटाल्दा अर्को तिर भ्वाङ पर्ने भने जस्तो रिंगरोड बाहिरका उपभोक्ता पनि अहिले ‘कोर’ एरियाकै पम्पमा तेल हाल्न आइपुगेका छन् । यसरी लाइन लामो हुँदा तेल आपूर्ति सहज बन्दैछ भन्ने सन्देश जान सकेको छैन । उपत्यकाबाहिर भने तेल आयात केही हदसम्म सहज भएको छ ।
पम्पहरुले तेल वितरण थाल्नु अघि कति सवारीलाई तेल बाँड्ने भनेर पूर्वसूचना पनि गर्ने गरेका छैनन् । जसका कारण लाइनमा सयौं सवारी बस्ने तर, बाँड्दा बाँड्दै सकियो भनेर फिर्ता पठाइने गरेको छ । आयल निगमदेखि पम्पहरुको वितरण प्रणाली कमजोर हुँदा उपभोक्ता सास्ती भोग्दैछन् ।
४. सरकारी पम्पको मनपरी
सरकारी तथा सुरक्षा निकायका पम्पहरुको मनलाग्दीले पनि वितरण प्रणालीमा चुनौति थपेको छ । दैनिक १ लाख लिटरभन्दा बढी तेल लिने यी पम्पमा सर्वसाधारणले भन्दा पहुँचवालाहरुले तेल पाइरहेका छन् । सरकारी निकायका कर्मचारीमा तेलको मितव्ययिता नहुनु पनि तेलको आपूर्ति ज्यादै असहज हुनुका कारणहरुमा पर्छन् । यसलाई सुधार्न आपूर्ति मन्त्रालय र आयल निगमले खासै ध्यान दिएका छैनन् ।
५. फितलो र निष्प्रभावी अनुगमन
नाकाबन्दीका बेला अनुगममन कमजोर हुँदा बजारमा वितरण प्रणाली अव्यवस्थित भएको थियो । अहिले पनि पम्पहरुमा सरकारी अनुगमन फितलो मात्रै हैन शुन्यप्रायः छ । पम्पमा प्रहरी पनि पम्पवालासँग मिलोमतोमा लाग्ने आरोप लागिरहेका बेला जिम्मेवार सरकारी निकाय पम्प अनुगमनमा चासो दिइरहेका छैनन् ।
कहिलेकाँही हुने अनुगमन पनि पहिल्यै हल्ला गरेर गरिने भएकाले त्यो प्रभावकारी भएको छैन । अनुगमन नभएपछि पम्पमा हुने अनियमितता बाहिर आउन सकेको छैन भने कमजोर वितरण प्रणाली पनि सुधि्रएको छैन । अनुगमन गर्ने निकायका अधिकारी नै कालोबजारीयासँग मिलोमतो गर्ने गरेको आरोपलाई ति निकायले चिर्न पनि सकेका छैनन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment