Monday, February 29, 2016

छोरालाई विदेश पठाउँदा धितो राखेको जग्गा बल्ल फिर्ता

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

फागुन १५ – सर्लाही हरिपुर–९ की सुमित्रादेवी महराका काइँलो छोरो शत्रुधन कतार जाँदा गरिबी हट्ने सपना मात्रै मनमा थिएन, पक्की घर बनाउने योजना पनि थियो । कार्पेन्टरको कामका लागि गएका शत्रुधनको कमाई पनि ठिकै थियो तर ९ महिनामै कम्पनी बन्द भएर नेपाल फर्किएपछि उहाँको सपना पूरा हुन पाएन ।

शत्रुधनलाई एजेण्ट सविन्द्र यादवले पासपोर्ट बनाइदिएर एक लाख २० हजार आफैले हालेर कतार पठाएका थिए । ९ महिना मात्रै काम गर्न पाएका शत्रुधनले सविन्द्रलाई ६५ हजार मात्रै बुझाउन सक्नुभयो । ५५ हजार त बाँकी नै थियो । शत्रुधनले भन्नुभयो ‘म नेपाल आउने बित्तिकै सविन्द्रले मेरो बाँकी पैसा ले भन्न थाले ।’

शत्रुधनले आफूले करार अवधिसम्म काम गर्न नपाएकाले पैसा तिर्न नसक्ने जवाफ दिनुभयो तर एजेण्टले मान्ने कुरै थिएन । पैसा जसरी पनि चाहिन्छ भनिरहेका एजेण्ट सविन्द्रले मलेसियाबाट माग आएका त्यसमा गएर भएपनि पैसा तिर्न दबाब दिए । उनले शत्रुधनलाई अर्को एक जना मान्छे खोज्न पनि भने ।

‘एक पटक दुःख पाएर फर्किएकाले के गरौं गरौं भन्ने त लाग्यो तर अब विदेश नगई ऋण तिर्न विकल्प थिएन’ शत्रुधनले भन्नुभयो ‘घर सल्लाह गर्दा भाइले नै विदेश जाने इच्छा देखायो ।’ तर उहाँहरुसंग विदेश जाने मात्रै होइन पासपोर्ट बनाउने पैसा पनि थिएन । फेरि पनि एजेण्टसंगै पैसा माग्नुभयो । तर यस पटकको सर्त फरक थियो एजेण्टको । उनले त्यतिकै पैसा दिन नसक्ने भन्दै धितो राख्नुपर्ने बताए । ‘अरु के राख्ने केही थिएन त्यसैले भएको जग्गा नै धितो राख्ने निर्णयमा पुगेँ’ शत्रुधनकी आमा सुमित्रादेवी भन्नुहुन्छ ‘ १२ धुर जमिनको ३ लाख २ हजार कायम गरेँ ।’

दुई जना छोरालाई विदेश पठाउन २ लाख २५ हजार अनि कतार जाँदाको तिर्न बाँकी ५५ हजार र पासपोर्ट बनाएको २२ हजार गरी ३ लाख २ हजारमा जमिन एजेण्डको नाममा नाम सारि गरिदिनुभयो सुमित्रादेवीले । त्यसमा पनि सयकडा तीन रुपैयाँ दरले ब्याज पनि दिने सहमति गरेर  । आफ्नो भएजति जमिन सबै अर्कैको नाममा पास गरिदिँदा पनि उहाँको मनमा दुःख भन्दा खुसी धेरै थियो त्यतिबेला ।

‘आज ऋण लागेर के भयो त भोली उनीहरुले कमाएपछि तिरिहाल्छन भन्ने सोचको थिएँ’ सुमित्रादेवी भन्नुहुन्छ । आफ्नो सँगै परिवारको सपना बोकेर मलेसिया गएका सत्रुधन र प्रमोदलाई मलेसिया पुगेको दश दिनसम्म त कम्पनीले कामै दिएन । दश दिनपछि काम त पाउनुभयो तर नेपालमा  भनेको भन्दा फरक र गाह्रो । जाँदा लागेको ऋण र परिवारको दुःख सम्झेर काम गरिरहनुभएको थियो, तर कम्पनिले पैसा दिने कुरै गरेन । काम गरेको पैसै नपाएपछि एजेण्टलाई पटक पटक फोन पनि गर्नुभयो उहाँहरुले तर हतपत्ति एजेण्टले फोन उठाएन । फोन उठेपनि भोलि, पर्सि भन्दै दुई महिना बिताईदियो ।

त्यसको केही दिनमै सुमित्रादेवीले छोराहरु समस्यामा परेको खवर पाउनुभयो । एकातिर ब्याज बढेको बढ्यै, अर्कोतिर एजेण्टले पैसा नदिए जग्गा पनि लिलाम गर्ने धम्की दिएपछि सुमित्रादेवीका समस्या थपिँदै गए । त्यही क्रममा सर्लाहीको हरिवनमा रहेको सूचना केन्द्रमा पुगेकी सुमित्रादेवीले धितोमा राखेको जग्गा मात्रै फिर्ता पाउनुभएन । अरु समस्या पनि समाधान भएको छ ।

यसरी भयो समस्याको समाधान

सूचना केन्द्रमा पुगेकी  सुमित्रादेवीमा देखापरेको मानसिक समस्या न्यूनिकरण गर्न मनोपरामर्श  र एजेण्टको धम्की तथा ठगीलाई कानूनी दायरामा ल्याउन केन्द्रले प्रयास थाल्यो । ‘हामीले उहाँका छोराहरुलाई भनेको काम र तलव दिन म्यानपावरलाई दवाव दियौं’ केन्द्रका कार्यक्रम संयोजक दिवाकर झा भन्नुहुन्छ।

‘एजेण्टले जग्गा लिलाम गर्न दिएको धम्कीको स्थानीय स्तरमै समाधान खोज्न पनि पहल थाल्यौं साथै मनोपरामर्श माफर्त मानसिक समस्या र तनाब पनि न्युनिकरण ल्यायौँ ।’ केन्द्रकै पहलमा भएको छलफलमा दुई जना छोरालाई विदेश पठाएको २ लाख २५ हजार अनि पासपोर्ट बनाउँदा लागेको २२ हजार कतार जादाको ३० हजार गरी २ लाख ७७ हजार सुमित्रादेवीले दिने सहमति भयो ।

तर एजेण्टले बाँकी रहेको १ किस्ता पहिले कतार जाँदाको पैसाको र त्यसको ब्याजसहित १ लाख ८५ हजार एकै पटकमा दिनुपर्छ नत्र जग्गा बेचिदिन्छु भनेपछि सुमित्रादेवी फेरि समस्यामा पर्नुभयो । समस्या दोहोरिएपछि २०७२ फागुन ९ गते सुमित्रादेवी र सबिन्द्रलाई फेरि छलफल गरायो ।

दोस्रो पटकको छलफलमा पहिलेको सहमति तोडेकाले सुमित्रादेवीले ७७ हजार रुपैयाँ मात्रै तिर्नुपर्नेे साथै पहिला कतार जाँदाको  र मलेसिया जाँदाको पैसाको ब्याज पनि  छोड्नु पर्ने निर्णय गराइदियो केन्द्रले । त्यसकै आधारमा सुमित्रादेवीले गएको फागुन ११ जग्गा फिर्ता लिनुभएको छ ।

‘सूचना केन्द्रले स्थानीय स्तमानै न्याय दिलाएकाले नै मैले न्याय पाएँ’ जग्गा फिर्ता पाएपछि खुशी हुँदै सुमित्रादेवी भन्नुहुन्छ ‘ हतार गरेर छोरालाई विदेश पठाउँदा समस्या भोग्नुप¥यो , त्यसैले विदेश जानेले धेरै सोचेर, जानेर अनि बुझेर मात्र जानुहोला ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment