Monday, February 29, 2016

सशस्त्रका पूर्वमहानिरीक्षक बस्नेतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर  

१७ फागुन, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बस्नेतविरुद्ध ९ करोड १५ लाख ८१ हजार रुपैयाँ बराबरको माग दावी गरिएको छ ।

अख्तियारले बस्नेतसहित ७ जना प्रहरी अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

०६६ वैशाखदेखि ०६८ श्रावण महिनासम्म सशस्त्रमा महानिरीक्षक पदमा रहँदा मातहत युनिटमा सामान ढुवानीमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

यस्तै यही प्रकरणमा सामेल भएको भन्दै सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापाविरुद्ध पनि त्यति नै रकमको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध ७३ लाख र शिबबहादुर कार्कीविरुद्ध २३ लाख रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीले १ करोड ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरिएको छ ।

अर्का सशस्त्र प्रहरी नायब निरीक्षक देबेन्द्रकुमार श्रेष्ठविरुद्ध ८३ लाख रुपैयाँ माग दावी भएको छ ।

उनीहरु सबैले नियमविपरीत विभिन्न कर्मचारीको नाममा ढुवानी प्रयोजनको लागि भन्दै पेश्की लिएको देखाएर भ्रष्टाचार गरेको अनुसन्धानबाट देखिएको अख्तियारको दाबी छ ।

सामान नै ढुवानी नगरी सञ्चालन मै नभएका ट्रान्सपोर्टहरुको झुठ्ठा बिलहरु पेश गर्न लगाएर बुद्ध तथा यति एयरलाइन्सबाट कार्गो गरी मातहत युनिटहरुमा जिन्सी सामानहरु ढुवानी गराएको भनेर भ्रष्टाचार भएको दावी अख्तियारको छ ।

एयरलाइन्सको समेत झुठ्ठा कार्गो बिल तयार गर्न लगाएको र सामान ढुवानी गर्न भनी पेश्की लिएका भनिएका कर्मचारीहरुको नाममा पेश्की शोधभर्ना भुक्तानी दिइएको भेटिएको छ ।

भ्रष्टाचार गर्ने क्रममा सम्बन्धित कर्मचारीहरुका नाममा चेक काटेर सोही चेकको पछाडिपट्टी दैनिक भ्रमण भत्ता वितरण गर्ने प्रयोजनका लागि भन्ने झुठ्ठा विवरण उल्लेख गरेको अख्तियारले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment