Monday, February 29, 2016

कांग्रेसको विधानलाई कोरियाको जस्तो नबनाउन आग्रह

१८ फागुन, काठमाडौं । विहीबारदेखि शुरु हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिन नेता-कार्यकर्ताहरु राजधानी भित्रिने क्रम जारी छ । राजधानी आएका कार्यकर्तालाई विभिन्न नेताहरुले दिनहुँजसो पार्टी प्यालेसहरुमा भेला गर्दै भोज भतेर खुवाउने क्रम तीव्र बनेको छ ।

यही क्रममा नयाँ बानेश्वरस्थित ‘बानेश्वर बैंक्वेट’ मा संस्थापन पक्षका नेता नविन्द्रराज जोशीको  निम्तो मान्न भेला भएका केही महाधिवेशन प्रतिनिधिहरुलाई हामीले सोध्यौं- तपाईहरु यो महाधिवेशनले कस्तो पार्टी बनाओस् भन्ने चाहनुहुन्छ ? जवाफमा अधिकांश सहभागीहरुले महाधिवशेनबाट विधान संशोधन गरिनुपर्ने बताए ।

महिला र जनजातिलाई स्थान दिनुपर्छ

गीता गुरुङ (महाधिवेशन प्रतिनिधि, चितवन क्षेत्र नं ५)

आगामी महाधिवेशनबाट पार्टीभित्र  भागवण्डा अन्त्य हुनुपर्छ । क्रियाशील पदाधिकारी आउनुपर्छ ।  महिला, जनजातिहरुलाई स्थान दिनुपर्छ त्यसका लागि विधान संशोधन जरुरी छ । पार्टी चलायनमा हुनुपर्छ, पुरानो शैलीको विधानले पार्टी चल्न सक्तैन ।

पार्टी अब नयाँ संविधान अनुसार चल्नुपर्छ

हुर्मतकुमार न्यौपाने (महाधिवेशन प्रतिनिधि, बाँके क्षेत्र नं ३)

पार्टीले नयाँ नेतृत्व चयन गर्दैछ । मलाई पनि महाधिवेशनले व्यस्त बनाएको छ । एउटा प्रजातान्त्रिक पार्टीमा नेतृत्वका लागि धेरैले प्रतिस्पर्धा गर्नु नकारात्मक होइन । तर सबैलाई व्यवस्थित बनाएर लैजाने नेतृत्व आउनुपर्छ ।

केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्न सकेन, त्यसमा मेरो पनि असन्तुष्टि छ । संविधानले देशलाई संघीय मुलुक बनाइसकेको छ, अनि पार्टीचाँहि उही पुरानै विधान चल्न सक्छ ? पार्टी पनि नयाँ संविधानअनुसार चल्नुपर्छ । पार्टीलाई केही नेताको वरिपरि मात्रै घुमाउन विधान संशोधन नहुने कुरा गरेका छन् यसको विरोधमा हामी बन्दसत्रमा आवाज उठाउँछौं ।

पुरानो विधानले पार्टी समावेशी हुँदैन

यमुनादेवी श्रेष्ठ (महाधिवेशन प्रतिनिधि काठमाडौं क्षेत्र नं १०)

Yamuna Devi Shresthaपार्टीका भातृ संगठनहरुको चुनाव गर्न नसक्दा महाधिवेशनमा आकांक्षीहरु बढेको  छ । उनीहरुलाई स्थान दिन पनि विधान संशोधन गर्नुपर्छ ।  तर, विधान संशोधनमा नेताहरुको मौन छन् ।  पुरानो विधानले पार्टी समावेशी हुँदैन र त्यसले महिला, दलित, मुस्लिम आदिलाई अवसर दिन पनि सक्दैन उनीहरुका लागि कोटा बढाउनुपर्‍यो ।

पुरानो विधानले संविधानले दिएको जस्तो समावेशी व्यवस्थालाई सम्बोधन गर्न सक्तैन । यसमा महिलाको अधिकारको कुरा उठेको छैन । त्यसैले विधान संशोधन जरुरी छ ।

कांग्रेसको विधानलाई कोरियाको जस्तो बनाउन खोजियो

लेखनाथ पोखरेल (महाधिवेशन प्रतिनिधि, अर्घाखाँची १)

Lekhnath Pokhrelपार्टीको आगामी महाधिवेशनमा नेतृत्वमा धेरैले चाहना राख्नु सकारात्मक हो । तर पार्टीमा पदाधिकारी नबढाउने केन्द्रीय समितिको निर्णय भने ठीक  छैन ।

प्रतिस्पर्धा गर्नुपर्ने पार्टीहरुमा पदाधिकारी धेरै छन् । त्यसका लागि पनि कांग्रेसले पदाधिकारी बढाउनुपर्छ । नत्र लामो समयदेखि पार्टीमा लागेकाहरुले अवसर पाउन सक्दैनन् ।

विधान संशोधन गर्न पार्टीको केन्द्रीय समितिले कञ्जुस्याइँ गरेको छ ।  जसले कञ्जुस्याइँ गरेको छ, उसलाई हराउँछौं ।पार्टीको विधानलाई कोरियाको जस्तो एकतन्त्रीय बनाउन खोज्नेहरुलाई ठेगान लगाउनुपर्छ ।

पुरानै विधान पारित गर्ने निर्णयमा आपत्ति छ

टेकराज पौडेल (महाधिवेशन प्रतिनिधि बाग्लुङ क्षेत्र नं ३)

Tekraj Poudelमहाधिवेशन प्रतिनिधिहरुमा काठमाडौं आउने र भोट हालेर फर्किने अनि नेताहरुमा भोट हाल्न लगाएर फर्काउने मानसिकता छ, तर अब त्यो चल्दैन ।

मुलुकको संविधानमा देश संघीय प्रदेशमा गैसक्यो, तर कांगे्रसको महाधिवेशनमा पुरानै विधान पारित गर्ने केन्द्रीय समितिको  निर्णयमा हाम्रो विरोध छ । विधान संशोधनका लागि दबाव दिन अभियान चलाउने तयारी पनि भैरहेको छ, हेरौं के हुन्छ ।

म पनि केन्द्रीय सदस्यका लागि लड्दैछु । पार्टी बहुपदमा जाने कुरामा नेताहरुले कञ्जुस्याइँ गरेको छ । तर, अब पार्टी नेतृत्वमा युवाहरु आउनुपर्छ त्यसका लागि अहिले नै पदाधिकारीको संख्या थपेर स्थान दिनु पर्छ ।

भुमा शर्मा पाण्डे (महाधिवेशन प्रतिनिधि स्याङजा क्षेत्र नं ३)

Bhuma Sharma Pandeyम पनि  स्याङजा क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधि भएर आएकी हुँ । हिजोको दिनमा अरु कसैसँग वैचारिक लडांइ थियो । तर, अब पार्टीले विचार र विकास दुबैका लागि लडनु पर्छ । यसका लागि पार्टीमा सही नेतृत्व जरुरी छ ।

संविधान बन्यो, अब त्यसको कार्यान्वयन गर्नुछ । तर, नेताहरुले नयाँ संविधान अनुसार पार्टीको विधान परिर्वतनमा ध्यान दिएको छैन ।

संविधानमा राज्यको संरचना भैसकेको छ पार्टीमा पनि त्यही अनुसारको स्पष्ट खाका हुनुपर्छ । पार्टीको पुरानो विधानले महिलालाई पनि स्थान दिन नसकेको छैन । आगामी महाधिवेशनमा संविधानअनुसार आफ्नो विधान पनि संशोधन गर्नुपर्छ ।  परिर्वतनका अनुभूति गाउँ गाउँसम्म पुर्‍याउन सक्नुपर्छ ।
 
प्रस्तुती : रमेश धमला


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment