१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति या महामन्त्रीमा उठ्ने चर्चामा रहेका नेता डा. शशांक कोइरालाले नयाँ संविधानमा स्थापित गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि नै गम्भीर प्रश्न उठाएका छन् ।
सोमबार साँझ बीबीसी नेपाली सेवाका लागि बरिष्ठ पत्रकार रवीन्द्र मिश्रसँगको अन्तरवार्ताका क्रममा कांग्रेस नेता कोइरालाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता लगायतका सबै नीतिहरुको समीक्षा हुनुपर्ने बताए ।
गणतन्त्रबाट पछाडि फर्कंदा पनि केही नबिग्रने बताउँदै कोइरालाले अहिलेको यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने भन्नेबारेमा पनि छलफल हुनुपर्ने माग गरेका छन् । यसअघि पनि बीबीसीमै दिएको अन्तरवार्तामा शशांकले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोध गरेपछि तत्कालीन राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालाले सम्झाइ बुझाइ गरेका थिए ।
बीबीसीमा प्रसारित अन्तर्वार्ता
तपाई सभापतिको उम्मेद्वार बन्ने कि महामन्त्रीको ?
अहिलेको अवस्थामा कांग्रेसको १३ औं महाधिवेशन हुँदै गर्दाखेरि मैले प्राथमिकता केलाई दिएको छु भन्दाखेरि यो तेह्रौं महाधिवेशनले एउटा समीक्षा र पुनर्मूल्यांकनका बारेमा सोच्नुपर्छ । ७० वर्षको इतिहासमा टेकेर हामीले त्रुटीहरु के गर्यौं र कुन बाटो अब लिनुपर्ने हो ।
मेरो चिन्ता भनेको अहिले पार्टीकै लागि हो । यो महत्वपूर्ण होइन कि को पदमा आउँछ । पार्टी भनेको त एउटा माध्यम मात्रै हो । हाम्रो दृष्टि त राजनीतिक स्थिरता, विकास र प्रजातन्त्र फस्टाओस् भनेर न राजनीति गरेको हो । सुशील कोइरालादेखि भन्ठान्नोस्, गिरिजाप्रसाद कोइरालादेखि भन्ठान्नोस्, अहिलेको अवस्थामा हामीले यसलाई परिवर्तन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यसैले मेरो उम्मेद्वारी भन्दा पनि नेपाली कांग्रेस कता जान्छ, त्यो महत्वपूर्ण कुरा हो ।
यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने ? यी एकदम गहन विषयहरु छन्, जुन अधिवेशनभन्दा पहिले नै भइसक्नुपर्ने
दोस्रो कुरो के हो भने हामी आइसकेका छौं अहिले नयाँ संविधान अन्तरगत । यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने ? यी एकदम गहन विषयहरु छन्, जुन अधिवेशनभन्दा पहिले नै भइसक्नुपर्ने ।
० अब यसका लागि तपाई आफैं सभापतिमा उठेर पार्टीलाई तपाईले भनेजस्ता परिवर्तनहरु दिएर कांग्रेसलाई नेतृत्व गर्ने सम्भावनाचाँहि कत्तिको छ ?
आफूलाई त लाग्छ, मसँग प्रष्ट धारणा छ, पार्टीलाई कुन दिशामा लिएर जाने हो । दोस्रो, यो देशलाई नै कुन दिशातिर लिएर जाने हो ।
० तर, तपाईलाई धेरै कार्यकर्ताले आएर तपाई नै अगाडि बढ्नोस् भनिराखेका छन् भन्ने खबरहरु आइराखेका छन् नि बाहिर ?
हैन, त्यो त सबैलाई भन्छन् । कार्यकर्ताले सबैलाई भन्छन् नि । शेरबहादुरजीलाई पनि भन्छन् । रामचन्द्र दाईलाई पनि भन्छन् । प्रकाशमानजीलाई पनि भन्छन् । सिटौलाजीलाई भन्छन् । सबैलाई भन्छन् । आएर मलाई पनि भनेका छन् ।
म स्वीकार्य छु भने सभापतिका लागि किन नलड्ने भन्ने पनि कुरा आएको छ
महामन्त्री त रोजेको हैन तर, शेरबहादुरजीले पनि भन्नुभो, रामचन्द्र दाइ, सिटौलाजी, सुजाताजीले पनि भन्नुभो । प्रकाशमानजीले त भनि नै रहनुभएको छ । मेरो भनाइ के हो भने तपाईहरुले मलाई सर्वसम्मतिले महामन्त्री, जो तपाईहरु सबै उम्मेद्वार हुनुहुन्छ, म स्वीकार्य छु भने सभापतिका लागि किन नलड्ने भन्ने पनि कुरा आएको छ ।
० तपाईले अघि नेपाली कांग्रेसले आफूलाई पुनःसमीक्षा गर्नुपर्छ, त्यसका चुनौतीहरु छन्, संविधानले जुन परिवर्तन ल्यायो, त्यसलाई ग्रहण गर्ने कि नगर्ने यो सबै कुरा बुझेको नेतृत्व हुनुपर्छ भन्नुभयो, अहिलेको संविधानलाई ग्रहण गर्ने कि नगर्ने भन्दा जवाफचाँहि के हुन्छ ?
कुनै पनि राष्ट्रको इतिहास हेर्यो भने ‘क्रिटिकल जंग्चर’ मा तपाईले के निर्णय गर्नुहुन्छ, त्यसले राष्ट्रलाई डोर्याउने हो, हैन र ? भर्खरै आएको संविधान हो, त्यसलाई हामी सबैले स्वीकारिसकेका छौं । यो संविधानलाई टेक्ने हो भने पहिलो त हामीले एक किसिमको ‘डिसेन्ट्रलाइज’ को अवधारणा राखेका छौं ।
एकै रातमा परिवर्तन हुँदैन । मलाई सम्झना छ, तपाईलाई म एउटा मार्मिक उदाहरण दिन्छु, टिचिङ हस्पिटलमा काम गर्दैगर्दाखेरि एकजना बुढा बालाई सोधेको थिएँ, बाबा तपाईको घर कहाँ हो ? उहाँले ‘पूर्व एक नम्बर’ भन्नुभयो । मलाई डर के हो भने कांग्रेस अहिले पनि पूर्व एक नम्बरकै मनस्थितिमा छ कि परिवर्तन गर्न, यो ग्रहण गर्न गाह्रो हुन्छ भन्ने म देखिराखेको छु ।
० भनेको, अहिलेको यो जुन संघीयताको सोच छ, धर्म निरपेक्षताको सोच छ, गणतन्त्रको सोच छ, त्यो ग्रहण गर्न गाह्रो हो ?
मैले भन्न के खोजेको हो भने तपाईको अहिलेको निर्णयले आउँदो उसमा प्रभाव पारिराखेको हुन्छ । मलाई सोध्नुहुन्छ भने प्रजातन्त्र लोकतन्त्र जे भन्नोस् अहिले पनि धरापमा छ । अहिले पनि ग्यारेण्टी दिन सक्नुहुन्छ ? कि ०१७ साल पुस १ गते फेरि हुँदैन भनेर ? के हामी त्यति ग्रहण गरिसकेका छौं ? लिइसकेका छौं ?
० तर, ०१७ साल पुस १ गतेजस्तो त कसरी हुने ? अब राजतन्त्र नै छैन ?
हैन राजतन्त्रको मात्रै कुरा हो र ? यहाँ त कुरा के आाउँछ भने भोलिको अवस्थामा अपि्रय घटना घट्यो या एउटा दुर्घटना घट्यो भने भोलि केही कारणबस आपतकालीनको घोषणा हुन सक्दैन र ? हामीले अहिलेसम्म डेमोक्रेटिक भ्यालु र पि्रन्सिपललाई लिएका छौं र ? म त देख्दिँन । अहिले पनि हामी तरल अवस्थामा छौं । अहिले पनि हामीले डेमोक्रेटिक भ्यालु र पि्रन्सिपलमा प्रश्न चिन्ह आइराखेको छ ।
० तपाईको भित्र मनमा कतै तपाईको बुबा वीपी कोइरालाले लिएको बाटो ठीक थियो र यो वीचमा चाँहि जुन बाटो बदलियो, त्यसले यो देशको हित गर्दैन भन्ने किसिमको सोच भित्र मनमा परिराखेको हो ?
लोकतन्त्र, प्रजातन्त्र जे भन्नुहोस्, यसलाई जोगाउने कि नजोगाउने ? के हामी सबै २ करोड ८० लाख जनताले स्वीकारेका छौं ?
मेरो भनाइ के हो भने पछाडितिर फर्किएर हेर्नुपर्छ । यो नितान्त आवश्इक छ राष्ट्रका लागि । र, अगाडिको बाटो हेर्दाखेरि प्रमुख कुरा के हो भने लोकतन्त्र, प्रजातन्त्र जे भन्नुहोस्, यसलाई जोगाउने कि नजोगाउने ? के ग्यारेन्टी छ ? के हामी सबै २ करोड ८० लाख जनताले स्वीकारेका छौं ? स्वीकारेका छौं भने हाम्रो व्यवहार त्यो किसिमको भइराखेको छ ? हाम्रो राजनीतिक व्यवहार, हाम्रो सामाजिक व्यवहार त्यो भइराखेको छ ? यो प्रश्नचिन्ह छ कि छैन भन्नोस् त । तपाईलाई नै म प्रतिप्रश्न गर्छु ।
० तपाईले यसैगरी मसँग केही समय अगाडि गरेको अन्तरवार्तामा अहिलेका परिवर्तनहरु धरापमा छन्, यसलाई हामीले समीक्षा गर्नुपर्छ, लोकतन्त्र धरापमा पनि पर्न सक्छ, त्यसो हुनाले विचार गर्नुपर्ने स्थिति छ भनेर भन्दाखेरि तपाईलाई त्यतिबेला तत्कालीन राष्ट्रपति रामवरण यादवले पनि अनि तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि बोलाइकन के बोलेको त्यस्तो ? त्यस्तो पनि बोल्ने हो ? भनेर भनेको भन्ने कुराहरु बाहिर आयो । तर, अहिले पनि तपाईको कुराकानीमा त्यो चिन्ता त प्रष्टै देखिन्छ नि ?
मलाई त चिन्ता छ हेर्नुहोस् । मलाई चिन्ता के छ भने नयाँ संविधान त आयो । बहुमत बहुमत होइन ‘अप्सुलेट मेजोरिटी’ आयो । यसलाई हामी ग्रहण गर्ने, कहिलेसम्म गर्ने, कति समय लाग्ने हो, ग्रहण गर्ने कि नगर्ने ? कांग्रेसको महाधिवशेन गर्दैगर्दा पछाडि एकचोटि फर्किएर हेर्नैपर्छ । त्रुटीहरु के के हुन् ? आउँदो धरापलाई पनि हामीले अहिल्यैदेखि बुझ्न सक्दैनौं र ? किनभने अहिले पनि म राष्ट्र त्यस्तो स्थिर देख्दिँन ।
मलाई तपाईले प्रश्न राख्दै गर्दा मलाई अहिले भर्खरै सम्झना आयो, गिरिजाबाबुको सबैभन्दा राम्रो उहाँले दिएको भाषण कहिले हो भन्दाखेरि ०४६ सालको आन्दोलन जव सफल भो, उहाँले यो जित सबैको हो भन्दाखेरि हुटिङ भएको मलाई सम्झना आयो ।
० भनेको, तपाई उही वीपी कोइरालाले भनेको जस्तो राष्ट्रिय मेलमिलापको नीतिमै र्फकनुपर्छ र चाँडै नै समीक्षा हुनुपर्छ भन्ने तपाईको धारणा हो ?
मेरो एकदम प्रष्ट धारणा छ, अहिले पनि राष्ट्रियता नै हो हेर्नुहोस् । हाम्रो भूराजनीतिक यथार्थ के हो भन्दाखेरि यो राष्ट्रियता जोगाउनका लागि हामी एक हुनैपर्छ । नत्रभए विकल्प छैन । कतिचोटि मैले भन्ने ? कतिचोटि रिट्रिट गर्ने ?
० तर तपाईले यसो भन्दाखेरि नि शशांकजी यहाँ अब देश धर्म निरपेक्ष भइसक्यो, देश गणतन्त्र भइसक्यो, भनेपछि यो सबैको धारणलाई समेट्नै पर्छ र यो मेलमिलापकै बाटोबाट फेरि अगाडि बढ्नुपर्छ भनेर भन्न खोज्नु…..
वीपीले जुन एउटा दिनुभएको थियो, त्यो राजनीतिकमात्रै थिएन, हाम्रो पहिलो कदम, स्टेप भनेकै राष्ट्रियता नै हो । यो राष्ट्रियता हामीले जोगाउन सकेको खण्डमा न हामी जोगिने हो । नत्र त हाम्रो यत्रो ठूलो इतिहास, यत्रो ठूलो संस्कार र संस्कृतिमाथि नै… ‘जियो पोलिटिकल रियालिटी’ नै त्यही हो । वीपीले त्यो बुझेर न भन्नुभएको थियो । त्यो राष्ट्रियतालाई… तेह्रौं महाधिवेशनमा जाँदै गर्दाखेरि एकचोटि यो ७० वर्षको कांग्रेसको इतिहास पुनः एकपटक हेर्नुपर्यो ।
० भनेपछि, यो तेह्रौं महाधिवेशनमा धर्मनिरपेक्षता, गणतन्त्र। संघीयता सबैको एकचोटि समीक्षा हुनैपर्यो, खुल्ला रुपमा भन्न खोज्नुभएको हो ?
अब हामीले अहिलेको अवस्थामा फेरि एकचोटि यदि यसलाई अस्थिरता ल्याउने हो भने यहाँ त धेरै शक्तिहरु परिचालित छन् । हामीले पुनरावलोकन त गर्नै पर्यो एक । दोस्रो कुरो, मैले के भनें त्यसैको निहुँमा फेरि यहाँ अस्थिरताचाँहि आउनुभएन ।
धर्मका बारेमा, संघीयताका बारेमा पनि त प्रश्नहरु छन् । तर, हामीले यो स्वीकारेर ६०१ ले, विभिन्न दलले स्वीकारेर अगाडि बढ्ने हो भने त दलहरुमा पनि त त्यो परिवर्तन आउन सक्नुपर्यो । र, यो … बाटो जाने वा पछाडि जाने ? पछाडि जाँदा पनि के बिग्रियो र ? (हाँस्दै) अहिले अगाडि जाँदाखेरि हासिल भइसकेको छैन ।
मेरो चिन्ता चाँहि के हो भने पहिलो राष्ट्रियता नै हो । यो राष्ट्र हामीले जोगाउनैपर्छ ।
० यो राष्ट्रियता राष्ट्रियता भनेर तपाईले बारम्बार भन्नुभयो, त्यो जोगिने बाटो चाँहि के हो भन्ने लागेको छ तपाईको मनमा ?
हाम्रो ‘जियो पोलिटिकल रियालिटी’ नै राष्ट्रियतामा आधारित छ क्या । रिभ्यु गर्ने एउटा कुरा हो, गर्नु पनि पर्छ । सोच्नु पनि पर्छ । र, मैले पटक-पटक भन्ने गरेको छु हाम्रो साध्य पार्टी होइन क्या । साधन मात्रै हो ।
० तपाईले यो भूराजनीतिको कुरा बारम्बार लिएर आनुभयो, भूराजनीति भन्नेवित्तिकै स्वाभाविक रुपमा भारत र चीनको कुरा आउँछ, उनीहरुको कुनै त्यस्तो भावना बुझ्नुभएको छ, जसले तपाईलाई अलिकति चिन्तित तुल्यायो ?
हामीले पहिले बुझ्नुपर्यो क्या । तपाईले आफ्नो घरभित्रको कुरा गर्नुपर्यो । यो यथार्थ बाबा ! भारत र चाइनामा निर्भर गर्दैन, यो हामीमा निर्भर गर्छ ।
० तपाईको कुरा सुन्दाखेरि तपाई आफ्नो बुबा वीपी कोइरालाका राजनीतिक दर्शन र राजनीतिक मार्गलाई पुनस्थापित गर्न भित्र मनबाट धेरै उद्दत हुनुहुन्छ जस्तो सुनिन्छ नि ?
अब आफूलाई लागेको, मैले बुझेको राजनीतिशास्त्रका कुराहरु गर्दाखेरि पनि मलाई लाग्छ, वीपीले दिएको त साँच्चै सत्य नै त्यही हो । वीपीको समयका मानिसहरु धेरै कम छन् । वीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ । राष्ट्रियताको कुरा होस्, प्रजातन्त्र लोकतन्त्रको कुरा होस् या त्यो समाजवादको कुरा होस् ।
० तर, वीपीले त राष्ट्रियताका लागि राजाको र मेरो घाँटी जोडिएको छ भन्थे…
उहाँले त्योबेला भन्नैभाको हो, राष्ट्रियता बचाउनुपर्यो । त्यत्रो उहाँले संघर्ष गरेको, बन्दुक उठाएको । एउटा अवस्था कस्तो आयो भने राष्ट्र नै खतरामा छ, मैले र्फकनुपर्यो, मलाई फाँसीको सजायँ हुन सक्छ, त्यही पनि फर्किदिन्छु भनेर एउटा अठोट लिएर आउनुभएको हो ।
० तपाईले महाधिवेशनको मुखैमा यस्तो कुरा गरिराख्दा तपाई सभापति, महामन्त्रीको आकांक्षी भइराखेको स्थितिमा यस्तो कुरा गरिराख्दाखेरि फेरि भोट नपाइएला, हारिएला भन्ने लागेको छैन ?
मैले आम निर्वाचनमा पनि र यो पार्टीको निर्वाचनमा पनि भोटको राजनीति…. आफ्नो विचारबाट पृथक हुँदिन । मलाई भोट मान्छेले बुझेर दिन्छन्/दिँदैनन् त्यो महत्वपूर्ण होइन । मेरो राजनीतिक धरातल मैले बुझाउनैपर्छ । म हार्दै गर्दाखेरि यो देशचाँहि हार्नुभएन । जेसुकै होस्, भोलि गएर को जित्ने हो, त्यो पनि महत्वपूर्ण त महत्वपूर्णै हो, त्यो समयका लागि महत्वपूर्ण हो । तर, मैले तपाईलाई भनें, त्यो अन्तिम लक्ष त हाम्रो रहनै पर्यो नि ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment