Monday, February 29, 2016

एयर काष्ठमण्डपका पाइलट र को-पाइलटलाई वीर पदक

१८ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान दुर्घटना निधन भएका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ले सम्मान गर्ने भएको छ ।

कालीकोटको चिलखाया गाविस-२ मा गत शुक्रबार आकस्मिक अवतरण गराउँदा न्यौपाने र रानाको मृत्यु भएको थियो भने जहाजमा सवार सबै ९ यात्रु सकुशल रहेका थिए ।

सोमबारको मन्त्रिपरिषदको बैठकले, आफू मरेर पनि यात्रुहरुको ज्यान जोगाउने पाइलट न्यौपाने र को-पाइलट रानाको सम्मानमा ‘वीर पदक’ प्रदान गर्ने निर्णय गरेको हो ।

वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस

सरकारले वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय पनि गरेको छ । नेपालको पहिलो पत्रिका गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई स्मरण गर्दै पत्रकारिता दिवस मनाउने निर्णय गरेको हो ।

उदारवादी राणा प्रधानमन्त्री श्री ३ देवशमसेरले विक्रम संवत् १९५८ वैशाख २४ गतेबाट गोरखापत्र प्रकाशन सुरु गरेका थिए ।

१६५ कैदी बन्दीको सजाय माफ

मन्त्रिपरिषद बैठकले संविधान जारी भएको उपलक्ष्यमा ०७२ कात्तिक ३ सम्ममा १६५ जना कैदी बन्दीलाई सजाय माफ गर्दै रिहा गर्ने निर्णय पनि गरेको छ । असल चाल चलन भएका, कैदको ४० प्रतिशत म्याद भुक्तानी गरेका र ६५ वर्ष उमेर पूरा गरेकाहरुको सजाय माफ गरिने सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।

गुरुङ, आचार्य र नेपालको उपचार खर्च व्यहोर्ने

बैठकले कांग्रेस नेता नरहरि आचार्य, वरिष्ठ संगीतकार अम्बर गुरुङ र तत्कालीन परीक्षा नियन्त्रक खगेन्द्र नेपालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

मस्तिष्क घात भएपछि आचार्य न्यूरो अस्पतालमा र नेपाल नर्भिक अस्पतालमा उपचाररत छन् । गुरुङको भने भारतको मेदान्त अस्पतालमा उपचार भैरहेको छ ।

काठमाडौंमा मेट्रोल रेलको तयारी

सरकारले काठमाडौं उपत्यकामा मेट्रोरेल र मोनोरेल निर्माण सम्बन्धी प्रस्ताव अगाडि बढाउन लगानी बोर्डलाई निर्देशन दिएको छ । यसैगरी धरान, चतरा, गाइघाट हुँदै कटारी, सिन्धुली, हेटौडा जोड्ने सडकको स्तरोन्नती गर्ने काम तीन वर्षभित्र सक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको निष्कर्ष निकाल्दै चीन भ्रमणको तयारी गर्ने निर्णयसमेत गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment