११ चैत, काठमाडौं । मधेसी मोर्चाका एक नेता अनिल झाले प्रधानमन्त्री केपी शर्माले गरेको चीन भ्रमण ‘सौताको रिसले पोइको काखमा पिसाब गर्नु’ सरह भएको टिप्पणी गरेका छन् । उनले यो भ्रमणबाट नेपाल-भारतको आर्थिक तथा सामाजिक सम्बन्धमा कुनै असर नपर्ने उल्लेख गरे ।
‘प्रधानमन्त्रीले हिमालयन एयरलाइन्सको जहाजमा ग्यासका दुई-चार सिलिन्डर र तेलका ट्याङकर हालेर ल्याउने आशा काठमाडौंका एलिटहरुले गरेका थिए,’ नेपाल सद्भावना पार्टीका झाले अनलाइनखबरसँग गरे, ‘तर उनीहरु निराश बन्नुपर्ने भएको छ ।’
उनले नेपाल र भारतबीच भएको सम्झौतालाई शब्दजालको संज्ञा दिँदै यसमा नयाँ कुरा केही पनि नभएको तर्क गरे । सबैभन्दा महत्वपूर्ण मानिएको पारवहन सन्धिलाई पनि उनले अर्थहिन बताए ।
‘नेपालीलाई आज चुल्हो बाल्नलाई ग्यास छैन । तर पारहवहन सन्धि भयो भनेर कोही झ्याली पिटिरहेका छन्,’ झा भन्छन्, ‘यो सन्धिबाट मेरो छोरा नातिहरुको पालामा केही हासिल भयो भने थाहा छैन, तर मेरो पालामा नेपालले केही पनि पाउदैन । नेपालको राष्ट्रिय रणनीतिलाई यसले केही पनि प्रभाव पार्दैन ।’ छिट्टै पेट्रोलियम सम्झौता हुन्छ भन्नु हुँदैन भन्नुसरह भएको उनको टिप्पणी छ ।
‘प्रधानमन्त्रीको भ्रमण फगत औपचारिकतामा सिमित भएको छ । सौताको रिसले पोइको काखमा पिसाब फेरेर के हुन्छ ?’ उनले प्रश्न गरे ।
झाले मधेसी दलहरु नेपालको ठूलो राजनीतिक शक्तिकेन्द्र हुन् भन्ने चीनले बुझेको उल्लेख गरे । उनले आफूहरु चीनविरोधी भने नभएको प्रष्ट पारे ।
एकिकृत आन्दोलन वैशाखबाट
अध्यक्ष झाले वैशाखबाट मधेसको नेतृत्वमा एकीकृत आन्दोलन गर्ने गृहकार्य भइरहेको बताएका छन् । नाकाबन्दी खुलेपछि निश्चिन्तसँग बसिरहेको सरकारलाई फेरि एकपटक घच्घच्याउने उनको भनाई छ ।
‘वैशाखको पहिलो साताबाट नयाँ आन्दोलनको आह्वान गर्ने तयारी भइरहेको छ । यो आन्दोलन पहिलेभन्दा वृहद जनसहभागिता हुन्छ,’ झाले भने । पहिलेजस्तै नाकाबन्दी गर्ने त होइन होला नी भन्ने प्रश्नमा उनले आन्दोलनको स्वरुपका विषयमा अहिले नै भन्न नसक्ने बताए ।
‘हामी जनजाति लगायत विभिन्न पक्षहरुसँग छलफल गरिरहेका छौं, आन्दोलनको स्वरुप निर्धारण भइसकेको छैन,’ उनले भने ।
साभारः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment