Thursday, March 24, 2016

भेनिशाको हत्यामा फेसबुकबाट परिचित ‘ब्वाइ फ्रेण्ड’ को हात

११ चैत, काठमाडौं । फागुन ८ गतेदेखि वेपत्ता भएकी धनकुटा राजारानी-३ की भेनिशा लिम्बु एक सातापछि नगरकोटमा मृत फेला परिन् । फेसबुकमा चिनजान भएको साथीलाई भेट्न जाँदा अपार्टमेन्टको छतबाट घँच्याडेर उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भक्तपुरको नगरकोटमा २० वर्षीया युवतीको शव भेट्नासाथ प्रहरीले निष्कर्ष निकालेको थियो कि यो स्वाभाविक मृत्यु नभई हत्या नै हो । अन्ततः अनुसन्धानका क्रममा प्रहरीले के पत्ता लगायो भने भेनिसालाई मृत्युको मुखमा पुर्‍याउनेहरु उनका केटा-साथी नै हुन् । र, उनीहरुमध्ये एकजना फेसबुकबाट चिनजान भएका रहेछन् ।

यसरी भयो घटना

प्रहरीका अनुसार राजन राई र भेनिसा लिम्बुको चिनजान करिब तीन महिनाअघि फेसबुकबाट भएको थियो । फागुन ८ गते उनीहरुबीच बौद्ध गेटमा भेट्ने सल्लाह भयो । भेनिसालाई भेट्न राजनसँगै सनि लामा, सजित लामा र अर्का एकजना व्यक्ति पनि गए ।

तेस्रो व्यक्तिको नाम थर नखुलेको र हाल फरार रहेको प्रहरीको दाबी छ । तर, समूहमा सहभागी साथीको नाम थर थाहा नहुने कुरो रहस्यमय छ ।

दिउँसो तीन बजेतिर बौद्धमा भेट भएका उनीहरु सबैको सल्लाहले ‘रमाइलो गर्ने’ निष्कर्षमा पुगे र केही घण्टापछि उनीहरु हाल ‘फरार’ भनिएका व्यक्तिको गाडीमा चढेर भेनिसासहित ठमेलमा पुगे ।

साँझको करिब ६ बजेतिर ठमेलको हार्ड रक रेष्टुरेन्टमा पुगेका उनीहरुले चार-पाँच बोतल वियर खाए । त्यतिञ्जेलसम्म रातिको एघार बजिसकेको थियो । रेष्टुरेन्टमा उनीहरुले भेनिसालाई समेत रक्सी खुवाएर लठ्ठ बनाई अश्लील हर्कत गरेको प्रहरीको भनाइ छ ।

ठमेलबाट उनीहरु सबैजना उही अपरिचित र फरार भनिएका व्यक्तिकै गाडीमा चढेर बौद्ध फर्किए । बौद्ध गेटमा आइसकेपछि राजन राई र सजित लामा गाडीबाट ओर्लिए । त्यसपछि राजन र सजित फेसबुकबाट साथी बनेकी भेनिसालाई सनि लामा र ‘अपरिचित व्यक्ति’को जिम्मा लगाई घर फर्किए ।

ती ‘अपरिचित व्यक्ति’ले सनि र भेनिसालाई आफ्नो अपार्टमेन्टमा लगे । अपार्टमेन्टको छैठौं तलामा रहेको कोठामा उनीहरु बसे । त्यहाँ भेनिसा र सनिले थप एक बोतल बियर खाए । त्यहाँ सनि र भेनिसाबीच सहमतिमा शारीरिक सम्पर्कसमेत भएको प्रहरीको दाबी छ । त्यसबेला अपरिचित भनिएका व्यक्ति भने अर्को कोठामा सुतेको प्रहरी बताउँछ ।

केहीबेरपछि अपरिचित भनिएका ती व्यक्तिले सनि र भेनिसा बसेको कोठामा गई ढोका खोल्न भने । सनिले ढोका खोले । उनले सनिलाई कोठाबाट बाहिर जान भने । तर, भेनिसालाई करणी गर्ने मनसायले आफूलाई बाहिर पठाउन खोजिएको ठानेपछि सनि र ती ‘अपरिचित व्यक्ति’बीच विवाद भयो ।

प्रहरीका अनुसार ती ‘अपरिचित व्यक्ति’ले जबर्जस्ती गर्न खोजेपछि भेनिसा भागेर ट्वाइलेटभित्र छिरिन् । उक्त अपरिचित व्यक्ति पनि ट्वाइलेटमै पसेको प्रहरी बताउँछ । भेनिसाले इन्कार गरेपछि ती ‘अपरिचित व्यक्ति’ले अपार्टमेन्टको छैटौं तलाबाट धकेलेर भुईंमा खसालिदिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भुईंमा खसेपछि पनि केहीबेर भेनिसा जिउँदै थिइन् । तर, उनलाई अस्पताल पुर्‍याइएन बरु, ती अपरिचित भनिएका फरार व्यक्ति र सनिले गाडीमा राखेर अन्यत्रै लगेको अनुसन्धानबाट खुलेको छ । केही समयपछि भेनिसा मरेको ठानेर उनीहरुले शवलाई भक्तपुरको नगरकोट पुर्‍याई मनपोखरीको बाँसको झ्याङमा छोपछाप गरेर फर्किएको प्रहरीको भनाइ छ ।

तीनजना पक्राऊ

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भेनिसाको हत्या अभियोगमा तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्धका २८ वर्षीय सनि लामा, बौद्धकै २४ वर्षीय सजित लामा र मोरङको पथरी-३ घर भई हाल थली बस्ने १९ वर्षीय राजन राई छन् ।

उनीहरुलाई सर्लाहीको त्रिभुवननगर गाविस-१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

कसरी समातिए अभियुक्त ?

शवलाई फालिसकेपछि फरार भनिएका व्यक्तिले सनिलाई बिहान अन्दाजी तीन बजेतिर घरमै छाडिदिएका थिए । अर्को दिन बिहान पाँच बजे पुनः उक्त फरार भनिएका व्यक्ति सनिको घरमा आएर मोबाइल स्वीच अफ गरेर बस्न भनेका थिए । बिहान १० बजेतिर फेरि आउँछु भनेका ति व्यक्ति नआएपछि सनि र राजन उसको घरमा खोज्न गएका थिए । तर, नभेटेपछि सनि र राजन नेपाल-भारत सीमा क्षेत्रमा गएर लुकीछिपी बसेका थिए ।

उक्त सूचना पाएपछि चैत १० गते अपराध महाशाखाको टोली उनीहरु बसेको स्थानमा पुगेको थियो । त्यसपछि चैत ११ गते उनीहरुलाई सर्लाहीको त्रिभुवननगर गाविस १ बाट पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले जनाएको छ । पक्राउ परेकाहरुलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मा लगाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment