काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण जारी रहेका बेला काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो सक्रियता बढाएको छ ।
ओलीको भ्रमणमा भारतलाई अप्ठेरोपर्ने गरी चीनसँग सम्झौताहरु भएको भनेर दिल्लीबाट प्रतिक्रिया आइरहेका बेला काठमाडौंमा भारतीय राजदूतावासले सक्रियता बढाएको हो ।
ओली चीनमा रहेका बेला भारतीय राजदूत रञ्जीत रेले विभिन्न नेताहरुसँग भेटवार्ता र परामर्श गरिरहेका छन् । यसैक्रममा होलीको मौका पारेर रेले तराईमा आन्दोलनरत मधेसवादी दलका नेतालाई बोलाएका छन् ।
बुधबार लैनचौरस्थित भारतीय दूतावासमा होली शुभकामना कार्यक्रमको आयोजना गरी राजदूत रेले मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
त्यस क्रममा उनले मधेसी मोर्चाले वैशाखदेखि गर्न लागेको पूर्वघोषित आन्दोलनमा सहयोग गर्ने संकेत गरेका छन् । ‘होलीको शुभकामना दिन हामीलाई भारतीय राजदूतले बोलाउनुभएको थियो । त्यहाँ मधेस आन्दोलन, ओली सरकारबारे छलफल भयो । उहाँले तपाईहरुको धारणा के भन्नुभयो । हामीले वैशाखदेखि आन्दोलन गर्न तयारी गरेको जानकारी गरायौं । उनले ल ठिक छ । म र भारतले गर्नसक्ने सहयोग गर्छ भन्नुभयो,’ छलफलमा सहभागी मोर्चाका एक नेताले भने ।
उनका अनुसार आन्दोलन सुरु गर भन्ने संकेत दिँदै रेले त्यसमा भारतको साथ समर्थन र शुभेच्छा जतिबेला पनि रहन्छ भनेको बताए । उनले ओली सरकार परिवर्तनबारे पनि सामान्य छलफल भएको भन्दै मधेसको समस्या समाधानमा भएका प्रगतिबारे राजदूतले विशेष चाँसो राखेको बताए ।
राजदूत रेलाई भेट्न नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायत १० जनाको टोली लैनचौरस्थित भारतीय दूतावास पुगेको थियो ।
यसअघि भारतीय राजदूत रेले मंगलबार(हिजो) प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा दुई घण्टा गोप्य छलफल गरेका थिए ।
त्यसक्रममा उनले ओली सरकारको विकल्प खोज्नुपर्ने विषयमा देउवासँग छलफल गरेको स्रोतले बतायो ।
उनले चीनसँग भएका सम्झौताले भारतलाई धेरै असर नपार्ने बताएपनि मधेस केन्द्रीत दलका समस्या समाधान गर्न र संविधानको कार्यान्वयन गर्न वर्तमान सरकारबाट संम्भव नभएको दावी समेत गरेका थिए ।
साभारः दैनिक नेपाल
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment