Friday, May 6, 2016

एनसेलले होइन, टेलियासोनेराले नेपाललाई कर तिर्नुपर्छ : पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री रामशरण महतले एनसेलले नभई टेलियासोनेराले नेपाललाई पुँजीगत लाभकर तिर्नुपर्ने बताएका छन् ।

लाभकर तिर्नुपर्ने विक्रेताले भएको उल्लेख गर्दै उनले एनसेलप्रति अहिले गरिएको आलोचना अनुचित भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एनसेल वहिस्कार गरौं भन्ने अभियान नै चलेका बेला पूर्व अर्थमन्त्री महतको यस्तो भनाइ टिप्पणी आएको हो । महतले शुक्रबार ट्विट गर्दै विक्रेताबाट पुँजीगत लाभकर उठाउनुपर्ने बताएका हुन् ।

ramsaran mahat

“आयकर ऐन २०५८ को दफा ३५ मा विक्रेताबाट नै पुँजीगत लाभकर उठाउनुपर्छ भन्ने उल्लेख छ,” उनले बाह्रखरीसँग थप कुराकानी गर्दै भने, “टेलियासोनेराले रेनल्ड होल्डिङस्लाई मलेसियन कम्पनी एक्जियटालाई विक्री गरेकाले टेलियासोनेराले नै कर तिर्नुपर्छ ।” आन्तरिक राजस्व विभागले विक्रेता कम्पनीबाटै कर उठाउनुपर्ने महतले बताए ।

महतले कुल टेलियासोनेराले नेपाललाई १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था भएको बताए । “हाम्रो कानुनले जो विक्रेता हो, उसैले पुँजीगत लाभकर तिर्नुपर्ने प्रस्ट व्यवस्था गरेको छ,” उनले बाह्रखरीसँग टेलिफोनमा भने, “टेलियासोनेराबाट एक्जियटाले रेनल्ड होल्डिङस् खरिद गरेको हो । खरिदकर्ताले पुँजीगत लाभकर तिर्ने हैन, विक्रेताले हो ।”
सामाजिक सञ्जाल ट्विटरमा एनसेल बहिस्कार अभियान चलेपछि महतले बेलुका ६ बजे ट्वीट गरेर पुँजीगत लाभकर विक्रेताले नै तिर्नुपर्ने उल्लेख गरेका हुन् ।

“एनसेलले स्रोतमा कर कट्टा (टीडीएस) बापत १५ प्रतिशतको जिम्मेवारी लिएको हुन्छ । त्यो र टेलियासोनेराले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ,” महतले भने, “दुबै जोड्दा २५ प्रतिशत हुन आउँछ ।”

उनका अनुसार टेलियासोनेराले कर तिर्ने महतले जानकारी दिए । “टेलियासोनेराले सकेसम्म कर नतिर्न चाहेको हो,” उनले भने, “तर, कर नतिरी सुखै छैन् । जसरी पनि कर तिर्छ । म विश्वस्त छु ।”

आयकर ऐन २०५८ को दफा २(द), ३५, ५७, ५८, ६७ र ९५ को संयुक्त प्रयोग गरेर कर उठाउन सकिने विज्ञहरुले बताएका छन् । स्रोतका अनुसार सरकार आफैले टेलियासोनेरालाई नेपालबाट उम्काएको छ ।

टेलियासोनेराले पटक–पटक आन्तरिक राजस्व विभागलाई ‘हामीले रेनल्ड होल्डिङस् विक्री गर्दैछौं, त्यसमा तपाईहरुको देशको कानुनले के भन्छ,’ भनेर सोध्दा कुनै उत्तर नआएको स्रोतले बताएको छ ।

रेनल्ड होल्डिङस् क्रेता एक्जियटाले समेत गत पुस ७ गते आन्तरिक राजस्व विभागसँग पूर्वादेश मागेको थियो । तर, सकारले कुनै जवाफ नदिएको र विक्री भएपछि कारोबार के÷कति छ भनेर फाइल मगाएको थियो । त्यसमा पनि पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गरेको छैन् ।

रेनल्ड होल्डिङको माउ कम्पनी टेलियासोनेरालाई पुँजीगत लाभकर तिराउन सरकार पछि हट्न नहुने महतले जानकारी दिए । “एनसेल बहिस्कार अभियान चलाउनुहुन्न,” महतले भने, “टेलियासोनेरालाई कर तिराउनतर्फ लाग्नुपर्छ ।”
कर नर्तिनुमा एनसेल दोषि नभएको महतको भनाइ छ । टेलियासोनेरा र सरकारको कमजोरीका कारण अहिलेसम्म पुँजीगत लाभकर उठ्न नसकेको महतले जानकारी दिए ।

“एनसेलको २० स्वामित्व र रेनल्ड होल्डिङको ८० प्रतिशत स्वामित्व विक्री भएको हो,” उनले भने, “२० प्रतिशतबाट सरकारले कर लिइसक्यो, ८० प्रतिशतको पुँजीगत लाभकर टेलियासोनेराले तिर्नुपर्छ ।”



from Nepal123.com - एनसेलले होइन, टेलियासोनेराले नेपाललाई कर तिर्नुपर्छ : पूर्व अर्थमन्त्री महत

No comments:

Post a Comment