Friday, May 6, 2016

शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने छुट्टै कानुन बनाउन निर्देशन

काठमाडौं, वैशाख २४ – ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने छुट्टै कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । 

शैक्षिक परामर्श केन्द्र सञ्चालन सम्बन्धी ऐन नहुँदा विकृति बढेकाले नयाँ ऐन बनाउन निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो । समितिको बैठकले नेपाली विद्यार्थी विदेश पढ्न जाने उपयुक्त विषय तथा देशको सूची बनाएर अनुमति दिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

जथाभावी खुलेका परामर्श केन्द्र दर्ता रोक्न तथा स्पष्ट मापदण्ड बनाएर थप शैक्षिक परामर्श केन्द्रको दर्ता प्रमाणपत्र दिन र नियमित अनुगमन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । बैठकमा सांसदले परामर्श केन्द्रले म्यानपावरको जस्तो काम गरेको तथा मानवतस्करीमा समेत सहयोग गरिरहेको भन्दै अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले परामर्श केन्द्र सम्बन्धी छुट्टै कानुनमा व्यवस्था नभएकाले अहिलेलाई निर्देशिका बनाएर ४ सय २ वटा केन्द्रलाई सञ्चालन अनुमति दिइएको जानकारी दिनुभयो ।

शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको भन्दै समितिले महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई धन्यवाद दिएको छ । बैठकमा एसएसपी खनालले महाशाखामा अहिले शैक्षिक परामर्श केन्द्रबाट भएका ठगीका ६७ वटा उजुरी अनुसन्धान गरिरहेको र २ सय ८ जना विद्यार्थी विभिन्न देशमा अलपत्र परेको उजुरी दर्ता भएको जानकारी दिनुभयो ।



from Nepal123.com - शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने छुट्टै कानुन बनाउन निर्देशन

No comments:

Post a Comment