गोरखा, २४ वैशाख । नयाँ शक्ति गोरखाले केही समयदेखि यातायात क्षेत्रमा देखिएको सिन्डिकेट र त्यसले जनतामा पर्न गएको अप्ठेरोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नयाँ शक्ति गोरखाका संयोजक ऋषभदेव भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिन्डिकेटले जनजीवनमा परेको असरबारे राज्य मुकदर्शक बनेको भन्दै आपत्ति जनाएका हुन् ।
‘गोर्खा जिल्लामा विगत केही दिनदेखि गोर्खा यातायात र आरुघाट यातायातबीच भएको विवादले जनताको भावना र स्वतन्त्रतामा नकरात्मक प्रभाव पर्न गएको छ,’ संयोजक भट्टराईले भनेका छन्, ‘सिन्डिकेट पद्धति हावी हुँदै गएको अनुभूति हुनु राज्य संयन्त्रको कमजोर पक्ष ठहरिने हुनाले चाँडोभन्दा चाँडो निकास दिने कदम चाल्न राज्य संयन्त्रलाई हार्दिक अनुरोध गर्दै अनिर्णयको बन्दी नहुन समेत आग्रह गरिन्छ ।’
वक्तव्यमा नियम कानुनले प्राथमिकता नपाउने स्थानमा मात्र अराजकताले स्थान पाउनेहुँदा जनताको पक्षमा निर्णय गरी तुरुन्त सुशासन कायम गर्नेतर्फ सक्रिय हुन प्रशासनलाई सचेत गराइएको छ ।
‘जनताको लागि सञ्चालित यातायातले आमाको मुख हेर्ने दिन अवरोध सृजना गर्दा सेवा गर्ने संस्था नभई कष्ट दिने र जनतालाई शोषण गर्ने संस्थाको रुपमा बुझिन गयो भने यातायातमा आवद्ध सम्पूर्ण व्यावसायी र मजदुरहरुको मर्यादामा समेत नकरात्मक प्रभाव पर्नसक्छ,’ वक्तव्यमा भनिएको छ ।
संयोजक भट्टराईले यो विवाद तुरुन्त समाधान गर्दै यातायात व्यावसायी तथा मजदुरलाई आग्रह गर्दै शान्ति र सुशासनका लागि तथा जनताको पक्षमा नियम कानुन पालना गराउने तथा निर्धक्क भई व्यावसाय गर्न सकिने वातावरण बनाउन नयाँ शक्तिले सकरात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । यो अप्ठेरो अवस्थामा गोरखाबासीहरुमा शान्त र धैर्यता राखी सहयोग गर्न समेत उनले हार्दिक अपिल गरेका छन् ।
from Nepal123.com - यातायातमा सिन्डिकेटविरुद्ध नयाँ शक्ति गोर्खाको आपत्ति, राज्य संयन्त्रको ध्यानाकर्षण
No comments:
Post a Comment