सुजाता खत्री/उज्यालो ।
काठमाडौं वैशाख २४ – ‘मैले हिजोको दिन जसरी बिताएँ आज पनि उसैगरी बित्यो’ ४५ वर्षकी फूलमाया खड्का भन्नुहुन्छ, ‘हुन त आज मातातीर्थ औंसी, माइतीमा आमा भेट्न जानुपर्ने …पाइन ।’
१२ वर्षदेखि सुन्धारामा बस्दै आउनुभएकी खड्कालाई आमाको मुख हेर्ने औंसी कहिल्यै आएन । ‘आफ्नी एउटी छोरीलाई पनि मिले बेलुकी आइज भनिदिएँ’ उहाँले भन्नुभयो ।
सुन्धाराको आकाशे पुलमा मोजा, रुमाल, गन्जीको पसल राखेकी उहाँले पसल छाडे कमाइ हुने दिन त्यसै खेर जाने भएर औंसी मनाउनु भएन । ‘म आफै आमा भएदेखि औंसीमा आमाको मुख हेर्न गएको छैन ।’ लामो सुस्केरामा उहाँले भन्नुभयो, ‘छोरीलाई पनि समय दिन पाएको छैन ।’
ओखलढुङ्गाबाट काठमाडौं आएपछि उहाँलाई परिवार पाल्ने दायित्व आयो । तीन सन्तानकी आमा खड्काको कान्छा छोरा भर्खर ५ कक्षामा पढ्दै छन् । काठमाडौंको महंगीमा छोरालाई राम्रो विद्यालयमा पढाउन उहाँलाई प्रत्येक दिन व्यापार नगरी सुख छैन । ‘पानी आउने बेला छ, आयो भने व्यापार गर्ने कुरा सोच्न पनि पाइएन । झन् आज त मान्छेको आवतजावत पनि धेरै हुने दिन, मैले पसल राखिन भने त के गर्नु’ हाँस्दै उहाँ भन्नुहुन्छ, ‘अब हामी दिउँसो कमाएर बेलुका खाने मान्छेलाई केको औंसी, के को पूर्णिमा ?’
७२ वर्षकी तारा तिवारीलाई पनि व्यापार गर्ने बानीले औँसीको दिनपनि घरमा टिकाएन । ‘छोरी बेलुका आउँछु भनी, म त घरमा टिक्न पनि सकिन’ खित्का हाँसो छाड्दै उहाँ भन्नुहुन्छ, ‘जानेदेखि गरेको काम यहि हो, काम नगरी खाएको पनि पच्दैन की जस्तो लाग्छ ।’
उहाँका अनुसार सधैँ काम गरेको हुनाले औंसीमा पनि घर बस्न सक्नुभएन । ‘छोरी आउँछे भनेर पर्खेर बसेको तर बेलुका आउँछु भनेपछि म त यहाँ आएँ’ उहाँ भन्नुहुन्छ, ‘यहाँ आए दुई पैसा जोरजाम हुन्छ, नातिनातिनालाई, छोरीलाई खर्च दिनलाई पुर्याउँछु ।’
गुर्जुधारा घर भएकी तिवारीले व्यापार गर्न थालेको ५० वर्ष भयो । काम गर्ने नशा लागेको भएर चाडपर्वको भन्दा पनि पैसाको रस बसेको छ उहाँलाई । उहाँ भन्नुहुन्छ, ‘घरको कोठामा बस्दा भन्दा यहाँ आएर बसे यसो गफगाफमा पैसा कमाउन पाइन्छ ।’
from Nepal123.com - आमा भएदेखि औंसीमा आमा भेट्न गएको छैन
No comments:
Post a Comment