काठमाडौं, २५ वैशाख । आन्दोलन सशक्त बनाउन मधेसी दलहरूले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको हो ।
मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरूले संघीय गठबन्धन बनाएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी, नेपाल सद्भावना, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए । पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो ।
तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ ।
संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे । ‘विवाद त्यस्तो केही भएको छैन, बाहिर हल्ला बढी भएको हो,’ श्रेष्ठले भने ।
चार दलद्वारा बैठक बहिष्कार संघीय गठबन्धनको शुक्रबार बसेको बैठक चार मधेसी दलले बहिष्कार गरेका छन् ।
तमलोपा, सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी बैठकमा नगएका हुन् । महाधिवेशनको तयारीमा लागेको भन्दै तमलोपाका नेताहरू बैठकमा सहभागी भएनन् ।
तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महामन्त्री मनीष सुमन काठमाडौंमै भएर पनि बैठकमा गएनन् । ‘सिंहदरबार घेराउ कार्यक्रमबारे पार्टीभित्र छलफल थियो, त्यसैले गठबन्धनको बैठकमा नगएको हो,’सुमनले भने । २ जेठका लागि गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम तय गरेको छ ।
from Nepal123.com - उपेन्द्र यादव यसरी एक्लिए, गठबन्धन फुट्दै
No comments:
Post a Comment