Saturday, February 27, 2016

प्रविधिको कमाल- अब जुत्ता, चम्चा र औंठीले खिच्नेछन् सेल्फी

काठमाडौं । सेल्फी, अहिले संसारमा सबैभन्दा तीब्र गतिमा फैलिरहेको रोग जस्तै बनेको छ । स्मार्टफोन प्रयोग गर्ने कसैले सेल्फीबारे जानेका छैनन् होला र ?

सुरु-सुरुमा मान्छेहरु क्यामाराबाट मात्रै सेल्फी लिन्थे, पछि सेेल्फी स्टिक आयो ।

अब त हद नै भएको छ । हुँदाहुँदा जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

जुत्ताले खिच्छ सेल्फी !

सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्न पनि अनुमति हुँदैन । तर, सोच्नुस्, जुत्ता लगाएर हिँड्न नपाइने ठाउँ त कति होलान र ?

त्यसैले अब विकासकर्ताले जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि बनाएका छन् । यस्तो जुत्ता बनाएको कम्पनीले जुत्ताको अघिल्लो भागमा स्मार्टफोन अड्याउने ठाउँ राखिदिएको छ ।

selfie-shoes-miz-mooz-1

त्यसमा स्मार्टफोन हालेर तपाईंले खुट्टा उचाल्दै सेल्फी लिन सक्नुहुन्छ । यसरी सेल्फी लिँदा फोटो खिच्नेको दुईवटै हात फ्रि हुनेछ । जुन फोनबाटै लिईने सेल्फीमा सम्भवनै हुन्न । प्रविधिको विकास यतिमै सीमित छैन, अब कम्पनीले जुत्तामै चार्जरको व्यवस्था गर्ने तयारी पनि गरिरहेको छ ।

यो प्रबिधिबारे अघिल्लो बर्षको अपि्रलफुलमा समाचार आएको थियो । जुत्ता उत्पादक कम्पनी ‘मिज मुज’ले आफ्नो जुत्ताको मार्केटिङका लागि अपि्रलफुल ठट्टाका रुपमा सेल्फी जुत्ताको आइडिया ल्याएको थियो । अहिलेसम्म विकाश नभइसकेको यो प्रबिधि बजारमा ल्याउनेबारे सोचिरहेको कम्पनीले जनाएको छ ।

चम्चा र काँइयोको सेल्फी कमाल

त्यस्तो सेल्फी डिभाइस के काम, जुन डिभाइस तपाईंलाई जुनसकै बेलामा फोटो लिन नसकियोस् र आफ्ना साथीलाइ फोटो पठाउन नसकियोस् । अब तपाईंले खाना/खाजा खाँदै गर्दा पनि सेल्फी लिएर साथीलाई पठाउन सक्नुहुन्छ । त्यो पनि खाजा खाने चम्चाबाटै ।

selfie-spoon

हो, अब सेल्फी डिभाइस चम्चामा पनि जडान गर्न सुरु भएको छ । यो प्रविधिमा ३० इन्च लामो चम्चाको पछिल्लो भागमा स्मार्टफोन राख्न मिल्ने ठाउँ बनाइएको छ । चम्चाले खाजा खाँदै गर्दा तपाईंले मज्जाले सेल्फी लिन सक्नुहुन्छ ।

संसारमा सेल्फीको क्रेज कतिसम्म फैलिएको छ भने अब कपाल कोर्ने काईंयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

selfie brush
यस्तो सेल्फी ब्रसको पछिल्लो भागमा आईफोन लगाउन सकिन्छ । आईफोन फिट गर्ने गरी यो ब्रस तयार गरिएको छ । यसबाट कपाल कोर्दै गर्दा सेल्फी लिन सकिन्छ । यस्ता सेल्फी लिएर के हुन्छ भन्ने सायद सेल्फीका पारखीहरुलाई नै थाहा होला । तर, विकासकर्ताले सेल्फीको क्रेज आँकलन गरेरै यस्ता नौला प्रविधिलाई निकै महत्व दिएर विकास गरिरहेका छन् ।

औंठीले खिच्ने की ?
सेल्फी प्रविधिमा अझै नयाँ-नयाँ विकास भइरहेकै छन् । अब औंठीले पनि सेल्फी लिने प्रविधि आईसक्यो । खासमा हामी एउटा औंलामा मात्रै औंठी लगाउँछौं । तर, यो प्रविधिमा एकैपटक दुईवटा औंलामा औंठी लगाउनुपर्छ । औंठीमा तपाइँले आफ्नो स्मार्टफोन चिप्काउन सक्नुहुन्छ, जसको मद्दतले जतिबेलामा पनि तपाईं सेल्फी लिन सकिन्छ । अब भन्नुस् तपाईं कुन प्रविधि प्रयोग गरेर सेल्फी लिने ?


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो हुनेछ एप्पलको मिनि आइफोन

एप्पलले आउँदो महिना सार्वजनिक गर्ने भनिएको मिनी आइफोन अर्थात् आइफोन फाइभ एस इ को तस्वीरहरु सार्वजनिक भएका छन् ।

नाइन टू फाइभ म्याक वेबसाइटले स्मार्टफोनको बाहिरी खोल बनाउने एक कम्पनीको हवाला दिँदै आगामी आइफोनको चित्र सार्वजनिक गरेको हो ।

४ इन्चको आइफोन फाइभ एस इ सन् २०१३ मा सार्वजनिक आइफोन फाइभ एसको हार्डवेयर तथा सफ्टवेयरमा अपग्रेड गरिएको संस्करणको रुपमा रहने कुरा श्रोतले पुष्टि गरेको दाबी वेबसाइटले गरेको छ ।

नयाँ आइफोनको साइज ठ्याक्कै आइफोन फाइभ एसको जस्तै हुने र सो आइफोन फाइभ एसको खोलभित्रै अट्ने बताइएको छ ।

फाइभ एसको डिजाइनमा केही परिवर्तन गर्दै पावर बटन भने छेउँतर्फ सारिएको छ । आगामी आइफोनको भन्दै सार्वजनिक गरिएको केही ड्रइंग यस्ता छन् ।mini iphone1mini i phone2 mini iphone5


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !

महामानव गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् । विश्वले शान्तिका अग्रदूत मान्ने गौतम बुद्धसँग जोडिएका कैयन यस्ता प्रसंग छन्, जसको चर्चा सर्वत्र हुने गर्दछ ।

यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ ।

सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण गरी ज्ञान प्राप्ती र त्यसलाई संसारभर बाँढ्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो ।

ति महिलाले गौतम बुद्धसँग सोधिन, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहेँलो बस्त्र धारण गर्नुभएको ?’

आफ्नो सन्यासबारे ति महिलाले प्रश्न सोधेपछि बुद्धले शालीनताका साथ जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नको लागि सन्यास लिएको हुँ । अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो विस्तारै बुढो हुन्छ, बिरामी हुन्छ, अन्तत: मृत्युवरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण जान चाहन्छु ।’

बुद्धको कुरा सुनेर ति महिला निकै प्रभावित भइन्, अनि उनलाई बेलुकाको खाना आफ्नो घरमा खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो स्वीकारे, तत्काल गाउँबासीलाई यो कुरा थाहा भयो । उनीहरुले ति महिला चरित्रहिन रहेकाले उनको घरमा नजान आग्रह गरे ।

गाउँबासीको यस्तो आग्रह सुनेपछि बुद्धले गाउँका मुखियालाई बोलाएर ‘गाउँबासीले भनेको कुरा सत्य हो ?’ भनि सोधे । मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाए अनि उनलाई ति महिलाकोमा नजान भने ।

तब बुद्धले ति मुखियाको एक हात समाते अनि भने, ‘ल ताली बजाऊ !’ मुखियाले भने, ‘यो कसरी सम्भव हुनसक्छ, एउटा हात तपाईंले समात्नु भएको छ, एक हातले तालीबज्न असम्भव छ ।’

त्यसपछि बुद्धले भने, ‘त्यसोभए एक्ली स्त्री कसरी चरित्रहिन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान भएको भए ति स्त्री चरित्रहिन हुने नै थिइनन् ।’ बुद्धको कुरा सुनेपछि सबैको आँखा खुल्यो । गाउँका सबै पुरुषहरुले लाजले शीर झुकाए ।

हाम्रो समाज पुरुष प्रधान छ, हामी महिलालाई मात्रै चरित्रहिन मान्छौं । कोही चरित्रहिन हुनुमा महिला र पुरुष दुवैको बराबर हात हुन्छ, भन्ने कुरा बुद्धको यो महान सन्देशबाट पनि प्रष्ट हुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुजाताद्वारा काँग्रेस सभापतिमा उम्मेद्वारी घोषणा

काठमाडौं, १५ फागुन । काँग्रेस नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी छन् । रिपोटर्स नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरी कोइरालाले महिला नेतृत्व स्थापित गर्नका लागि आफूले उम्मेद्वारी घोषणा गरेको बताइन् ।

‘मैले बार्गेनिङका लागि उम्मेद्वारी दिएको होइन,’ कोइरालाले भनिन्, ‘म यसपटक पनि ब्याक भए काँग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’ देशभरीका कार्यकर्ताको समर्थन आफूलाई रहेकाले आफैँले जित्ने उनको दावी छ ।

साथै उनले कोइराला परिवारबाट आफूलाई पूर्ण समर्थन रहेको दावी गरिन् । सशांक र शेखर कोइराला दुबैले आफूलाई समर्थन गर्ने वचन दिएको उनको दावी छ ।

१२औं महाधिवेशनमा आफूले महामन्त्री पद त्याग गरेको भन्दै उनले सधैँ आफूलेमात्रै त्याग गर्नुपर्छ भन्ने नरहेको बताइन् ।

पार्टीमा बीपीदेखि गिरिजाप्रशाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले आफूलाई पनि सिध्याउने षड्यन्त्र भइरहेको दावी गरिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गोर्खा पुगेका प्रचण्डलाई बाबुरामको सुनसरीबाट जवाफ- बिरामी हुनुभाछ, आराम गर्नुहोस्

इटहरी, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुरातनवादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरुले नयाँ शक्तिको अभियान अघि बढाएको बताएका छन् ।

सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले देशलाई आर्थिक, साँस्कृतिक र सामाजिक रुपान्तरण गर्न हिजोको राजनीतिक चिन्तन र धारणालेमात्र सम्भव नहुने स्पष्ट पारे ।

एक फरक प्रसंगमा नेता भट्टराईले प्रचण्ड बिरामी भएको भन्दै सुस्वास्थ्यको कामनासमेत गरेका छन् । शुक्रबार भट्टराईको गृह जिल्ला पुगेका एमाओवादी अध्यक्ष तथा पूर्व सहकर्मी प्रचण्डको कडा अभिव्यक्तिबारे जवाफ दिँदै नयाँ शक्तिलाई झटारो फर्काउने फुर्सद नभएको प्रतिक्रिया दिए ।

नयाँ शक्ति नेपालका नेतृत्वकर्ता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई झटारो फर्काउने फुर्सद नभएको बताएका छन्। ‘कुकुरहरु भुकिराख्छन्, रोक्दै ढुंगा हान्दै हिँडियो भने आफैलाई ढिलो हुन्छ र पुगिँदैन,’ भट्टराईले भने, ‘हामीलाई झटारो फर्काउने फुर्सद छैन, फर्काउन थालियो भने ढिलो हुन्छ ।’

उनले चैत मसान्तभित्र एक लाख जनालाई संगठित गरेर पार्टी घोषणा गर्ने र १० देखि १५ वर्षभित्र नेपाललाई एउटा तहको समृद्ध राष्ट्र बनाउने उद्घोष गरे ।

उनले हिन्दू राष्ट्र र राजतन्त्रलाई बगेको खोलासँग तुलना गर्दै अब यो फर्कन असम्भव रहेको प्रतिक्रिया दिए । उनले संगठन विस्तार, कार्ययोजना निर्माण र जनसरोकारका विषयमा सामाजिक अभियान सञ्चालनलाई प्राथमिकता दिएको बताउँदै कार्यकर्ता प्रशिक्षण सुरु गरेको बताए। उनले सुनसरीकै धरानमा पहिलो पटक कार्यकर्ता भेला गरी प्रशिक्षण दिएका छन्। उनले पूर्वमा आर्थिक विकासको पर्याप्त सम्भावना रहेकोले नयाँ शक्तिको अभियान पनि पूर्वबाट सुरु गरेको बताए।

उनले राजनीतिक र सामाजिक सद्भाव सिर्जना गर्दै सम्पूर्ण नेपालीहरुलाई समान ढङ्गले नयाँ शैलीबाट देश निर्माण गर्ने अभियानमा समाहित गराउनु नयाँ शक्तिको मुख्य अभियान रहेको स्पष्टसमेत पारे ।

डा भट्टराईले देशलाई भ्रष्टाचाररहित नबनाएसम्म कुनै पनि नेपालीको आर्थिक हैसियत माथि उठ्न सम्भव छैन भन्ने आफ्नो बुझाई र विश्लेषण रहेको तर्क गर्दै नयाँ शक्तिले देशैभर अभियान चलाउने रणनीति अघि सारेको जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चामल पुर्‍याउन डोल्पा गएको हेलिकप्टरबाट एउटा ‘सडकबालक’ काठमाडौं आयो

तिलक घिमिरे ‘निर्मल’

‘भाइ तिम्रो नाम के हो ?’ मैले सोधेँ । अन्दाजी १३ वर्षजतिको उसले कालिमाटी लेखनाथ पौडेलको सालिकअगाडि पाइपको बारमा एक हातमा आफूभन्दा ठूलो प्लास्टिकको बोरा बोकेको थियो र अर्को हातले सीताराम दूधको पाकेटमा डेन्ड्राइड हालिएको सानो पाकेट सुँघिरहेको थियो ।

उसले पनि बडो मज्जाको जवाफ दियो, ‘किन चाहियो तपाईंलाई ?’  यसो सम्झिएँ, हो पनि, उसको नाम सोध्ने मेरो काम थिएन । उसको जवाफले मसँगै रहेको साथी मज्जाले हाँस्यो ।

तिलक घिमिरे 'निर्मल'

तिलक घिमिरे ‘निर्मल’

म अलिअलि हच्किएँ र अति नै मायालु लवजमा भने, ‘चिनेको भाइजस्तो लागेर सोधेको ।’ उसले अब अलि नरम भावमा अंग्रेजीमा भन्यो, ‘नो मेन्सन ।’ अबचाहिँ परिस्थिति एकैछिन अगाडिको भन्दा राम्रो भइरहेको थियो । मैले कुरा गर्ने निधो नै गरें र पुनः सोधे, ‘मलाई तिम्रो नाम भन्न मिल्दैन हो भाइ ?’ उसले जवाफ दियो, माइकल ।

मेलै भनेँ, ‘भाइको त अंग्रेजी नाम पो रहेछ ।’ ऊ हाँस्यो ।

‘अनि, माइकल भाइको घर कता पर्‍यो नि ?’ उनले डोल्पा बताए ।

‘डोल्पा भनेको त साह्रै टाढा छ हैन माइकल भाइ ?’

‘हो, धेरै टाढा छ, हामी गाउँलेहरु चाहिँ काठमाडौं आइपुग्न ७/८ दिन जति लाग्छ, तर मेरो गाउँबाट यहाँ आउन कुइरेहरुलाई १० दिन भन्दा धेरै लाग्छ ।’

डोल्पाबाट काठमाडौंसम्म कसरी आइपुगेको भनी सोधेँ । उसले ‘आज मसँग ट्याम छैन कुरा गर्न’ भन्यो । मैले उसलाई लेखको मुख्य पात्र बनाउन उपयुक्त ठानेँ र उसलाई भोलि पनि भेट्न भनेँ । ऊ एक हातले डेन्ड्राइड तान्दै अर्को हालमा काँधमा ठूलो धोक्रो भिरेर प्लास्टिक टिप्न लाग्यो । मैले ऊ पर पुगुन्जेल हेरिरहेँ ।

कालिमाटीको तरकारी बजारको गेटमा डोकोमा बेच्न राखेको एक सुन्तला निकालेर ऊ भाग्न खोज्छ । तर साहुजीले समातेर लात्ताले हिर्काउँछ र आमाबाबुको नाम जोडेर अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गर्छ । ‘बोहोनी समेत नभएको बेलामा खा***ले झुर गरायो’ भनेर मुर्मुरिन्छ ।

मलाई त्यो उसको गालीको शब्दले बडो नमज्जा लाग्छ र ‘सुन्तलाको पैसा म दिन्छु उसलाई छोड्दिनुस् साहुजी’ भन्छु । उसले छोड्दिन्छ । मैले उसैसँग १ केजी सुन्तला किनेर एउटा साहुलाई दिन्छु । वरपरका मान्छे र अन्य व्यापारी पनि ‘यिनीहरुको जातै यस्तै हो ।’ भनेर कुरा काट्छन् ।

रुममा पुग्छु र उसको कथासँग सम्बन्धित रहेर कसरी राम्रो आर्टिकल लेख्ने भनेर गम्छु तर मेलोमेसो नै आउँदैन । भोलिपल्ट त्यसै ठाउँमा पुगे । केहीबेरको प्रतीक्षापछि ऊ आएर भन्यो, ‘ओ ब्रो हल्का ढिला भयो आउन, सरी है ।’ उसले एकजना साथीलाई ज्वरो आएको र उपचार तथा रेखदेखका लागि १ संस्थामा पुर्‍याएर आएको बतायो ।

म बडो भावुक भए र सोचेँ, ‘अनि उसलाई कहिलेदेखि ज्वरो आएको रहेछ माइकल ?’ उसले ‘हिजो माल खोज्न पाइएन पानी परिरहेर अनि झ्याप हान्न पनि चान्स मिलेन त्यही भएर भोकै बसेको र पानीमा हल्का भिजेकाले बिरामी भएको’ बतायो ।

मैले खाना खायौ त भनेर सोधेँ । उसले संस्थामा गएर मासुभात खाएको बतायो ।  त्यसपछि डोल्पादेखि काठमाडौंसम्मको यात्रा सुनाउन आग्रह गरेँ । उसले १ पाकेट खुकुरी चुरोट किनिदिन आग्रह गर्‍यो । तर, मैले त्यति नै पैसामा मःमः खुवाउने सर्त राखेँ । ऊ आफ्नो कथा भन्न राजी भयो ।

उसको जीवन-कथा बडो मार्मिक रहेछ । डोल्पाको विकट गाउँमा घर । जहाँबाट मानिसहरु से-फोक्सुन्डो ताल र राष्ट्रिय निकुञ्ज हेर्न तथा घुमफिर गर्न जाँदा रहेछन् । सदरमुकाम दुनैबाट लगभग तीन दिनजति लाग्ने रहेछ, उसको गाउँ पुग्नलाई । उसको वास्तविक नाम माइला । सोही माइला नै पछि सहर छिरेपछि अपभ्रंश हुँदै माइकल भएको । माइला ११ वर्ष उमेरसम्म गाउँमै चौँरी चराउने काम गर्थ्यो । जब उसको बाबुको भीरबाट लडेर मृत्यु भयो, त्यसको लगभग ७ महिनापछि उसको आमा पनि पोइला गइछिन् । माइलाको १ जना बहिनी रहिछिन् हाल उनी १२ वर्षकी भइन् ।

माइकलचाहिँ १४ वर्षमा हिँड्दै रहेछ । आमा पोइला गएपछि ११ वषर्ीय माइलाले साहुको चौँरी चराएर बहिनीलाई हुर्काइरहेको थियो । त्यति बेला उसकी बहिनी गौरी नौ वर्षकी मात्र थिइन् । लगभग ५ महिना जति चौँरी चराएछ उसले । एकदिन भोट माग्न आएका नेताले उनी र गौरीलाई काठमाडौं लगेर धेरै पढाइदिने भनेर चामल पुर्‍याउन गएको खाद्य संस्थानको हेलिकप्टरमा हालेर सुर्खेत हुँदै काठमाडौं ल्याएछन् । त्यो नेताको एकजना कुइरेसँग चिनजान थियो । त्यही भएर उसको संस्थामा राख्न ल्याएको रहेछ । तर उनीहरु काठमाडौं आउँदा त्यो कुइरे आफ्नो देश फर्किसकेको हुनाले ती दाजुबहिनीलाई नेताले त्यहीँ छोडेर ‘एकछिनमा आउँछु है’ भनेर हिँडेको आज तीन वर्ष भइसक्यो, अझै भेट भएको छैन ।

डोल्पाको त्यो अनकन्टार वनमा बसेको माइला र गौरीलाई काठमाडौंको भीडभाडले वाकवाकी लाग्न थालेछ । त्यो नेता नआएपछि उनीहरु आत्तिँदै रुँदै बसेछन्, गोंगबुको बसपार्कमा । उनीहरु रोएको देखेर एकजना होटलवाला आएर भाडा माँझ्ने काम गर्छस् भनेर सोधेछन् । माइला र गौरीले सहमत जनाएर हुन्छ भन्दै भाडा माझ्ने काम सुरु गरेछन् ।

काठमाण्डौंको भाषा उनीहरुले राम्ररी बोल्न नजान्ने तर बुझ्न चाहिँ बुझ्ने । चामलको खाना, दाल, तरकारी, अचार हालेको खाएकै थिएनन्, डोल्पामा हुँदा । केही समय त उनीहरुलाई भात रुच्दै रुचेन । २ महिना जति बितेपछि एकजना मोटी-मोटी देखिने महिला आएर गौरीलाई आफ्नो घरमा काम पनि गर्ने, पढाउने पनि भनेर लिएर गइन् । तर ती मोटी महिला को हुन् न उनलाई थाह थियो, न त गौरीलाई । त्यस होटलमा लगभग नौ महिना काम गरेपछि उसले साहुजीसँग लुगा किन्न दुई सय रुपैयाँ माग्दा दिएनछन् । उसलाई काम गर्न मन पनि हराउँदै गयो । एकदिन चियाको कप फुट्दा साहुको छोरोले पिटेको हुँदा उसले काम छोडेर सडक जीवन अंगाल्न पुगेको रहेछ । सडकमा लगभग २ वर्षजति भयो, ऊ बस्न थालेको । ६ महिनाअगाडि गौरीको बारेमा बुझ्न त्यही पुरानो साहुसँग जाँदा उसले त होटल बेचिसकेको र अर्कैले किनेको पो रहेछ ।

म साह्रै भावुक भएँ, उसको कथा सुन्दा । उसका पनि कथा कहँदै जाँदा गला अवरुद्ध थिए, आँखा टिलपिलाइरहेको थियो । मैले मःमः खान उसलाई होटलमा लगेँ । होटलवालाले तपाईंभित्र टेबुलमा बस्नुस्, यो ‘खाते’ यहीँ उभिएर खान्छ भन्यो । माइला जोडले कराउँदै भाग्छ, ‘साला खान्न तेरो मःमः, हो म ‘खा**’ हुँ ।’

म अवाक् भएँ र मःमः पसलको साहुसँग झोक्किएँ र उनलाई त्यस्तो भन्ने अधिकार कसले दियो भनेर अलि कड्किएँ । त्यतिञ्जेल ऊ विष्णुमतीपुल नजिकै पुगिसकेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहिलो योगोत्सव फागुन अन्तिम साता

१५ फागुन, काठमाडौं । यही फागुन २४– २६ गते नेपालमै पहिलो पटक योगोत्सव हुने भएको छ ।

विश्व योग उत्सव मूल समारोह समितिले पत्रकार सम्मेलन गरी मानिसलाई विभिन्न किसिमका तनावबाट मुक्त गराउनका लागि यस किसिमको उत्सव गर्न लागिएको जानकारी गराएको हो ।  निःशुल्क रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्न लागिएको उत्सवमा एक हजार जनालाई समावेश गराइने कार्यक्रम संयोजक योगी प्रकाशले जानकारी दिए ।

उत्सव  बिहान ५ देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने छ ।  कार्यक्रममा नेपालका साथै युरोप र अमेरिकाबाट समेत योगगुरुहरुको सहभागिता रहने जनाइएको छ ।

मानव जीवनलाई भौतिक र आध्यात्मिक रुपमा सहज तरिकाबाट बुझाउन प्रयास गर्नु उत्सवको मुख्य उद्देश्य हुने जनाइएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं