Thursday, March 24, 2016

सुरुङमार्गको सञ्चालकबाट लालकृष्ण हटाइए

११ चैत, काठमाडौं । काठमाडौं- कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधार विकास कम्पनीका उपाध्यक्ष तथा सञ्चालक लालकृष्ण केसीलाई हटाइएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई बर्खास्त गरेको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्षलाई आवश्यक सहयोग र कम्पनीलाई प्राविधिक सहयोग गर्न उद्देश्यले केसीलाई कम्पनीको बिज्ञ स्वतन्त्र सञ्चालक नियुक्ति गपिरएको थियो ।

कम्पनीको उद्देश्य बमोजिम अपेक्षित रुपमा अध्यक्ष एवं कम्पनीलाई प्राविधिकरुपमा सहयोग एवं सुझाब उपलब्ध गराउन नसकेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पद नै खारेज गर्न आगामी साधारणसभा समक्ष प्रस्ताव पेश गर्ने निर्णयसमेत गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

केही महिनाअघि मात्रै कम्पनीको अध्यक्षमा एनअारएनका उपाध्यक्षसमेत रहेका भवन भट्ट चुनिएका थिए ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शान्ति र गरिबी एकसाथ जाँदैनन्ः प्रधानमन्त्री

११ चैत, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरम फर एशियालाई बिहीबार सम्वोधन गरेका छन् । उनले शान्ति र गरिबी सँगसँगै जान नसक्ने बताए ।

एशिया विश्व अर्थतन्त्रको पावरहाउसका रुपमा उदाएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले एशियाको समग्र विकास र उत्थान समावेशीताका आधारमा हुनुपर्नेमा जोड दिए ।

‘बजार विस्तार भइरहेका छन्, उद्येागहरु फस्टाइरहेका छन्, रोजगारी सिर्जना भइरहेका छन् र धेरै एशियनहरु गरिबीबाट बाहिर निस्किएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यद्यपि अझै पनि यहाँको जनसंख्याको ठूलो हिस्सा गरिबीको चंगुलभित्रै छ ।’

एशियालाई नयाँ दृष्टिकोण र नयाँ आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउन अहिले ठूलो अवसर रहेको भन्दै उनले यसका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले एशियाको विकास गर्ने क्रममा कुनै पनि देश र जनसंख्या छुट्नु नहुने उल्खे गरे । उनले भने, ‘समावेशीतालाई अंगाल्नुमै एशियाको भविष्य छ ।’

संवोधनका क्रममा उनले नेपालमा हालै जारी संविधानलाई स्वागत र समर्थन गरेकोमा सबै एशियाली मुलुकहरुप्रति आभार व्यक्त गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् चीनले नेपालमा गर्ने १० काम

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तत्कालै इन्धन आयात गर्ने सम्झौता नभए पनि दीर्घकालीन फाइदा पुग्ने केही महत्वपूर्ण विषयमा सम्झौताहरु भएका छन् । यी सम्झौता कार्यान्वयन भएको खण्डमा अबको एक दशकमा नेपालको पहाडी क्षेत्रमा निकै ठूलो आर्थिक विकास हुन सक्छ ।

नेपालका प्रधानमन्त्रीको चीन भ्रमणमा ठूलो उपलिब्ध भनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको ऋण सम्झौता हो । साथै रेल्वेसम्बन्धी जुन सहमति भएको छ, यसले दीर्घकालमा नेपालको विकासमा धेरै ठूलो अर्थ राख्छ । व्यापार तथा पारवहन सम्झौताको महत्व पनि दीर्घकालीनरुपमा निकै ठूलो छ ।

चीनले नेपालसँग व्यापार विस्तारका लागि यातायात सेवा जोड्न सिगात्से-रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनीसम्म रेल्वेको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने सम्झौता भएको छ ।

विजय गच्छदार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री भएलगतै उनले चिनियाँ कम्पनीलाई रेल्वेको पूर्वसम्भाव्यता अध्ययन गर्ने जिम्मा दिएका थिए । पूर्वसम्भाव्यता अध्ययनका क्रममा रेल्वे सेवा सञ्चालन गर्न सकिने सञ्भाव्यता देखिएकाले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई नै दिइएको छ ।

त्यसैगरी, केरुङ-रसुवागढी-हेटौडा १३२ केभी क्षमताको अन्तरदेशीय प्रशारणलाइन निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने सझौता भएको छ । अन्तरदेशीय प्रसारणलाइन निर्माण भएसँगै दुई देश बीच विद्युत व्यापारका लागि ढोका खुलेको छ ।

त्यसैगरी, चीनले काठमाडौं-तातोपानी (अरनिको) राजमार्ग मर्मत गर्ने भएको छ । गत बैशाखमा गएको भूकम्पले प्रभावित बनाएको यो राजमार्ग मर्मत भएसँगै तातोपानी नाकाबाट हुने व्यापार बढ्ने भएको छ । भूकम्पपछि तातोपानी नाका ठप्प भएको थियो । दुई देशको संयुक्त वक्तव्यमा आवश्यकता अनुसार नाकाहरु खोल्दै जाने उल्लेख छ ।

त्यसैगरी, भूकम्प पीडितहरुका लागि ३ बिलियन आरएमबी अर्थात करिब ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै, नेपालमा पेट्रोल र ग्यासको उत्खनन बारे चीनले संभाव्यता अध्ययन गरिदिने भएको छ ।

पछिल्लो समय केरुङ नाकाबाट नेपालसँगको व्यापार बढाउन चाहेको चीनले स्याफ्रुबेसी-रसुवागढी सडक मर्मत गरिदिने भएको छ । त्यसैगरी हुम्लाको हिल्सामा पुल निर्माण गर्ने, ३२ हजार घरधुरीलाई सोलार जडान गरिदिने, काठमाडौंको चक्रपथको स्तरोन्नित गर्ने, काठमाडौं-खाँदबारी-धनकुटा सडकलाई डबल लेनको बनाउने भएको छ ।

पोखरा विमानस्थल निर्माणका लागि चीनले अनुदान तथा सस्तो व्याजदरमा ऋण सहयोग गर्ने सम्झौता भएको छ । यो सहयोगले नेपालमा अब दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको खाँचो पूर्ति हुने सम्भावना बढेको छ ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुनसरीमा ट्याक्टर दुर्घटना, २ को मृत्यु, २ घाइते

११ चैत, धरान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।

स १ त ३२८८ नम्बरको ट्याक्टर बिहीबार बिहान सवा ६ बजेतिर इटहरी उपमहानगरपालिका १९ स्थित सशस्त्र प्रहरी बेसक्याम्प नजिकैको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चितवन नारायणगढका अन्दाजी २५ वर्षीय गौरव रायक्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका सई राजन पौडेलले जानकारी दिए । मृतक अर्का एक पुरुषको भने सनाखत भएको छैन । दुबै शवलाई इनरुवा अस्पतालमा राखिएको छ ।

घाइते हुनेहरुमा भोजपुर रानीबास घर भएका ट्याक्टर चालक २१ वर्षीय प्रताप राई र उदयपुरका रोशन राई छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उदयपुरको रामपुर ठोकसिला मैनामैनीबाट गएराति ९ बजे बाँस लिएर इटहरीका लागि ट्याक्टर छुटेको थियो । रातभरी चलाउँदा अनिधो भएर चालकले सन्तुलन गुमाएको हुनसक्ने र ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको सई पौडेलले बताए ।

घाइते चालकले भने ट्याक्टरको अगाडिको चक्का एक्कासी हल्लिएको र ब्रेक लगाउँदा नलागेपछि सडक किनारमा खनिएको गहिरो खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीलाई जानकारी दिएका छन् ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नारीको बौद्धिकता मिस नेपाल प्रतियोगिताले मापन गर्छ त ?

शोभा शर्मा

हरेक वर्ष जाजरकोट रुन्छ, सामान्य रुघाखोकीको ओखती राज्यले समयमा पुर्याउन नसक्दा । सुन्दैछु, ४० वर्ष यताकै भीषण खडेरीले कर्णालीमा खाद्यान्नको अभाव हुँदैछ ।

हाल राजधानीमा विभिन्न शीर्षकमा दिनैपिच्छे सौन्दर्य प्रतियोगिताको आयोजना भइरहेको खबर सुनिन्छ । केही दिनअगाडि यस वर्षको मिस नेपाल प्रतियोगिता चैतको अन्तिम साता हुने भनेर घोषणा गरिएको छ । यो मिस नेपालको २१औं संस्करण हुनेछ ।

मिस नेपालमा सहभागी हुन विभिन्न स्थानबाट प्रतिस्पर्धी आएका छन् । यसरी प्रतिस्पर्धीले विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाउन थालेको केही वर्ष बितेको छ ।

प्रत्येक वर्ष जब मिस नेपालको घोषणा हुन्छ । त्यसको केही दिन अगाडिदेखि नै विभिन्न मञ्च र सञ्चारमाध्यममा ताता बहस हुन्छन् । आशा छ, यो वर्ष पनि यसले निरन्तरता पक्कै पाउने छ ।

केही वर्ष अघिसम्म आयोजना स्थलअगाडि नारीवादीको चर्को विरोध सुनिने गर्थे । तर पछिल्ला वर्षमा, यस्तो केही नभई सौहार्दपूर्ण वातावरणमा यो कार्यक्रम सम्पन्न हुँदै आएको छ ।

Shova sharma२१औं संस्करणसम्म आइपुग्दा मिस नेपाल आयोजना भएपश्चात्, देशलाई कसरी र कुन रुपमा फाइदा भइरहेको छ, यसको लेखाजोखाका लागि कुनै निकाय जिम्मेवार छ कि छैन ? यसमा छलफल केन्द्रित हुनुपर्छ ।

जब हरेक वर्ष मिस नेपाल प्रतियोगिताको चर्चा चल्न थाल्थ्यो, म र मेरा केही साथीले यसमा चासो राख्ने गथ्यौर्ं । केही साथीको सपना यसमा सहभागी भई आफूभित्र रहेको प्रतिभा सम्पूर्ण देशवासीसामु ल्याउने पनि हुन्थ्यो । तर, अहिले लाग्छ, पाँच हप्ताको प्रशिक्षणले बौद्धिकताको मापन कसरी र कुन आधारमा गर्न सकिन्छ र ? यस्तो जिज्ञासा सम्भवतः हरेकमा उठ्नु स्वाभाविक नै हो ।

राजधानीमा लाखौं खर्च गरी यस्तो कार्यक्रम आयोजना गर्नुको साटो ती ठाउँमा आधारभूत कुरा पुर्याउनेतर्फ सबैको ध्यान जान जरुरी छ ।

गत वैशाखमा आएको विनाशकारी भूकम्प, विषम राजनीतिक परिस्थिति र लामो समय नाकाबन्दीको चपेटामा परी आर्थिक संक्रमणले गाँजेको यो देशका दुर्गम स्थानका अधिकांश जनता आधारभूत कुराबाट नै वञ्चित भइरहेका छन् ।

यो अवस्थामा राजधानीमा लाखौं खर्च गरी यस्तो कार्यक्रम आयोजना गर्नुको साटो ती ठाउँमा आधारभूत कुरा पुर्याउनेतर्फ सबैको ध्यान जान जरुरी छ ।

संविधानका लागि लामो पर्खाइ र देशले आर्थिक क्रान्ति गरी विकसित देशको सूचीमा फड्को मार्ने दिनको परिकल्पनामा यस्ता आयोजनाले कुनै योगदान दिनेछैन ।

राजधानीमा दिनहुँ रुपमा विभिन्न शीर्षकमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दैमा देशले खासै कुनै ठूलो आर्थिक फड्को मार्न सक्दैन । यसतर्फ आयोजक तथा लगानीकर्तालाई जिम्मेवार निकायले अवगत गराउन आवश्यक छ ।

जब देश आर्थिक समृद्धितर्फ बढ्छ, तब मात्र देशवासीको इज्जत स्वतः बढ्छ । देशलाई प्रसिद्धि दिन मिस नेपाल नै हुनुपर्दैन । यो प्रतियोगिता, २१औं संस्करणसम्म आइपुग्दा, पहिलो मिस नेपाल रुबी राणादेखि हालसालै चुनिएकी इभानासम्मको लक्ष्य उस्तै छ । महिला सशक्तीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरी समाजलाई रूपान्तरण गर्ने भनिएको छ ।

जब मिस नेपाल चुनिन्छन्, अनि पहिलो वक्तव्यमा, उनीहरू समाज सेवा र नारीको समानताबारे ठूला-ठूला कुरा गर्छन् । मिस नेपाल भएपछि, एक वर्ष उनीहरूको साह्रै नै चर्चा, परिचर्चा हुने गर्छ । त्यसपछिको समयमा उनीहरू कहाँ छन् र के गर्दै छन् भन्ने कुरा धेरैलाई अत्तोपत्तो हुँदैन ।

मिस वल्र्ड, मिस अर्थ आदि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइने आशाले पनि प्रतियोगीहरू मिस नेपालमा सहभागिता जनाउने गर्छन् ।

मिस वल्र्डको इतिहास हेर्ने हो भने, यसको सुरुवात नै बिकिनीको विज्ञापन गर्नुलाई लिइन्छ । हालसम्म, यो प्रतियोगिताको विजेता तिनै देश भएका छन्, जसले यसको प्रवर्द्धन र प्रभाव विस्तार गर्नमा प्रत्यक्ष र परोक्ष भूमिका खेलेका छन् ।

हाम्रो देशमा पनि मिस नेपाल र यस्तै अन्य प्रतियोगिताको उद्देश्य उत्पादित सामग्रीको प्रचार-प्रसार गर्नु नै हो भन्दा अतियुक्ति नहोला । योबाहेक प्रतियोगिता आयोजकले अरु कुनै उपलब्धिमूलक कार्य गरेको कहीँकतै सुनिने गरेको छैन ।

हरेक वर्ष तामझामसँग बन्ने मिस नेपालले सो वर्ष जे गरे पनि सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान पाउँछ । कतिपय महिला, जो आफू जुनसुकै ठाउँमा भए पनि, निकै महत्त्वपूर्ण कार्य गरिरहेका हुन्छन्, उनीहरूको मिडियामा कहिल्यै प्रचार-प्रसार हुँदैन ।

बाहिरी सुन्दरता र बौद्धिकताको मापदण्डमा खरिने नारी नै मिस नेपाल हुने र अंग्रेजीमा दुई-चार वाक्य बोलेकालाई आधार बनाएर कुनै पनि व्यक्तिको बौद्धिकता मापन गर्न सकिएला त ? यसरी कुनै पनि व्यक्तिको बौद्धिकताको मापन हुनसक्ला र ?

व्यक्ति कति सुन्दर छ भन्ने कुरा उसको बाहिरी आवरणलाई हेरेर भनिन्छ भने, त्यो सुन्दरता मापनको कसी हुन सक्दैन । व्यक्ति सुन्दर हुन मन पनि त्यत्तिकै सुन्दर हुनुपर्छ । साथै, व्यक्तिको आनीबानी, बोलीचाली पनि राम्रो हुनुपर्छ भन्नु किमार्थ गलत नहोला । र, यो मेरो नितान्त व्यक्तिगत धारणा हो ।

बाहिरी सुन्दरता र बौद्धिकताको मापदण्डमा खरिने नारी नै मिस नेपाल हुने र अंग्रेजीमा दुई-चार वाक्य बोलेकालाई आधार बनाएर कुनै पनि व्यक्तिको बौद्धिकता मापन गर्न सकिएला त ? यसरी कुनै पनि व्यक्तिको बौद्धिकताको मापन हुनसक्ला र ?

कुनै नारी कति बौद्धिक छिन् भन्ने जान्न यो मात्रै उचित तरिका नहुन सक्छ । त्यसैले अब कुनै नयाँ अवधारणामार्फत व्यक्तिको बौद्धिकता मापन गर्न सकिन्छ कि भनेर खोजी गर्ने हो कि ?

देशलाई नै चिनाउन अरु पनि धेरै विषय हुन सक्छन् र छन् पनि । नारी सौन्दर्यलाई देश चिनाउने प्रमुख ध्येयको रुपमा लिने हो भने बौद्धिक जमातले यस्ता कार्यक्रम आयोजना हुनुको औचित्यबारे प्रश्न उठाउने र आयोजकले प्रस्ट पार्नुपर्ने हुन्छ । तर, यसबारे अहिलेसम्म कुनै अध्ययन र अनुसन्धान नै भएको छैन । बौद्धिक वर्ग पनि यस्तो संवेदनशील विषयमा मौन हुनु आश्चर्यजनक छ ।

तसर्थ, फगतमा यस्तो प्रतियोगिता आयोजना गर्नुको सट्टा क्षमतावान् महिलाहरू जो लगानीको अभावमा पिल्सिएका छन् । उनीहरूलाई अवसर दिई अगाडि बढ्नलाई प्रेरित गर्ने पो हो कि ?

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आल्मुनियम फेब्रिकेसन: फालाफाल काम, चित्तबुझ्दो दाम

रवीन्द्र घिमिरे
११ चैत, काठमाडौं । काठमाडौं आलापोटका दीपक श्रेष्ठ ७ वर्षअघिसम्म विभिन्न कम्पनीका फ्लेक्स र होडिङ टाँग्ने काम गर्थे । कहिले काम चापाचाप हुन्थ्यो त कहिले धेरै दिनसम्म रित्तो हात ।

त्यही क्रममा उनले आल्मुनियम फेब्रिकेटर व्यवसायी पुष्प राईलाई भेटे । राईसँग उनले केही समय काम सिके । काम जानेपछि महिनाको साढे ४ हजार तलबमा हेल्परका रुपमा काम गर्न थाले । विस्तारै आल्मुनियम फेब्रिकेसनमा उनी अब्बल हुँदै गए ।

अहिले उनी यो पेशामा निकै रमाएका छन् । महिनामा आरामले ३० हजार रुपैयाँ कमाउँछन् । बेलैमा आल्मुनियम फेब्रिकेसन सिकेछु भनेर मख्ख पनि छन् ।

‘महिनाको २० हजार त सजिलै बचाउँछु,’ श्रेष्ठले सुनाए-‘कति मान्छे केही कामै पाइएन भन्छन् । आफू त खाली हात बस्नै पर्दैन ।’ उनले थुप्रै युवालाई आल्मुनियम फेब्रिकेसनको काम सिकाउन भ्याइसकेका छन् । आफुले काम सिकाएका केही कुलतमा लागेर बिग्रिएको तितो अनुभव उनीसँग छ ।

श्रेष्ठले भने-‘सीप भएकालाई काम नपाएर छट्पटिनै पर्दैन । मेहेनत गर्नेका लागि त यहाँ अवसरै अवसर छ ।’

के हो आल्मुनियम फेब्रिकेसन ?

अहिले अधिकांश कार्यालयमा आल्मुनियमको पार्टेसन देख्न सकिन्छ । छोटो समयमै कोठामा पार्टेसन निकाल्न सकिने, आवश्यक पर्दा झिक्न र सार्न मिल्ने तथा खर्च पनि कम लाग्ने लगायतका कारणले यो शैली फस्टाएको छ ।

Aluminium-Materials-Fabrication
आल्मुनियम फेब्रिकेसनसँगै ‘स्ट्रकचरल ग्लेजिङ’ को काम पनि आउँछ ।  अहिले शहरी क्षेत्रमा बन्ने धेरै घरमा सिसा प्रयोग गर्ने गरिएको छ । यही सिसा जोड्ने काम हो स्ट्रकचरल ग्लेजिङ । काम सिकेपछि स्ट्रकचरल ग्लेजिङ गर्न पनि गाह्रो पर्दैन ।

त्यसैले आल्मुनियम र सिसाको काम जानेकालाई अब काम नै भएर बस्नुपर्ने अवस्था नहुने आल्मुनियम फेब्रिकेटर संघका अध्यक्ष तेजबहादुर राई बताउँछन् ।

कति हुन्छ कमाई ?

आल्मुनियम फेब्रिकेसनका लागि देशभर १२ सय वटा फर्महरू दर्ता भएका छन् । यी फर्महरूमा ८ देखि २० जनासम्म फेब्रिकेटरहरु कार्यरत हरेको अध्यक्ष राइले बताए । तर, व्यक्तिरुपमा काम गर्ने फेब्रिकेटरको संख्या पनि ठूलो छ ।

आल्मुनियम फेब्रिकेसन सिकेकाले महिनामा २० देखि ४० हजार रुपैयाँ कमाउनु मामुली हो । कुनै महिनामा त्योभन्दा बढी हुनसक्छ । कामको गुणस्तर र जनसम्पर्कले त्यसमा भूमिका खेल्छ ।

फेब्रिकेटर कम्पनीका कामदारले पनि २० देखि ३५ हजार रुपैयाँसम्म तलव बुझ्छन् । त्यसैले विदेशमा २०/२५ हजारका लागि बाहिरिनुभन्दा यहाँ नै सम्मान साथ काम गर्नु उचित देख्छन् फेबि्रकेटर श्रेष्ठ ।

खाडी मुलुकमा आल्मुनियम फेब्रिकेसनमा जानेहरुले ४० हजार देखि १ लाखसम्म कमाउँछन् । विदेशका कतिपय कम्पनीमा यहाँभन्दा निकै राम्रो तलब पाइने भएकाले काम सिकेर बाहिरिनेको संख्या पनि बढिरहेको उनले अध्यक्ष राईको भनाई छ ।

भुकम्पपछि झन् बढ्यो माग

आल्मुनियम आँफैंमा हलुका बस्तु हो । यसको प्रयोग गर्दा भवनमा ठूलो लोड पर्दैन । गत बैशाखको भूकम्पपछि  भवनहरुमा स्ट्रकचरल ग्लेजिङ र आल्मुनियम फेब्रिकेसनको माग ह्वात्तै बढेर गएको छ । व्यवसायिक र सरकारी भवनहरुमा  इँटा र ब्लकका गह्रुंगो पार्टेसन गाह्रो भत्काएर फेब्रिकेसन गर्न थालिएको छ ।

नयाँ बन्ने घरमा त झन् आल्मुनियमको प्रयोग निकै बढेको छ । फेब्रिकेसनको माग जति वृद्धि हुँदैछ, फेब्रिकेटर कम्पनीलाई कामदार नपाएर त्यत्तिकै हैरानी छ ।

दक्ष कामदार नपाउँदा धेरै कम्पनीमा भारतीय कामदारले रोजगारी पाइरहेका छन् । फेब्रिकेसनको कामका १० प्रतिशत भारतीय कामदार नै संलग्न भएको संघका अध्यक्ष राई बताउँछन् ।

भूकम्पपछि आल्मुनीयम फेब्रिकेसनको महत्व जति बढेको छ त्यसमा  अवसर पनि त्यत्ति नै वृद्धि भएको छ । विदेश जानहरुलाई पनि यो सीप राम्रो अवसर दिलाउने किसिमको ठहरिएको छ ।

कसरी सिक्ने ?

आल्मुनियम फेब्रिकेसन सिक्न चाहनेलाई विभिन्न तालिम केन्द्रमा तालिम सञ्चालन भइरहेका छन् । सीटीभीटीले आल्मुनियम फेब्रिकेसनका लागि ४ सय ८०  र ७ सय १० घण्टाको तालिमको कोर्स तयार गरेको छ । ४ सय ८० घण्टको  कोर्स बेसिक हाे भने अर्को एड्भान्स हाे । पहिलाे कोर्स पुरा गरेपछि यो पेशामा हेल्पर फेब्रिकेटरका रुपमा प्रवेश पाउन सकिन्छ ।

सीटिभीटीबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाहरुले निशुल्क तालिम पनि दिइरहेका छन् । काठमाडौंमा पीस टेक्टिकल ट्रेनिङ सेन्टर, धनगढीमा ट्रेस प्रालि, बारामा व्यवसाय तालिम केन्द्र, धरानमा इस्ट एसियन कलेज लगायतले तालिम दिने गरेका छन् । स्वीस सरकारको सहयोगमा चलेको हेल्भेटास परियोजनाले पनि तालिम प्रदान गर्ने गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Wednesday, March 23, 2016

बालुवाटार घेराउ गर्न खोज्ने द्वन्द्व पीडित प्रहरी नियन्त्रणमा

११ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न खोज्ने द्वन्द्वपीडित साझा चौतारी नामक संस्थाका सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेपत्ता नागरिकको अबस्था सार्वजनिक गर्न, दण्डहीनता अन्त्य गर्नलगायतका माग गर्दै मञ्चका सदस्यहरुले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए । छैठौं सत्यको अधिकार दिवसको सन्दर्भ पारेर प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले बेपत्ता नागरिकको अबस्था सार्बजनिक गर, वेपत्ता पार्नेहरुलाई कारबाही गर, हत्या हिंसा बन्द गर, हत्यारालाई पक्राउ गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘मेरो बुवालाई नियन्त्रणमा लिई बेपत्ता पार्ने ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीलाई किन सजायँ भएन ?’ ‘बालकृष्ण ढुंगेललाई किन पक्राउ गरिएन ?’, ‘द्वन्द्वकालमा हामीलाई बिस्थापित किन गराइयो ?’ लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरुले बेपत्ता नागरिक सार्वजनिक गर्न, मानव अधिकार सुनिश्चित गर्न, दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेका थिए ।

उनीहरुले नाराबाजी गर्दै निषेधित क्षेत्र भित्र प्रदर्शन गर्न खोजेपछि र यातायात आवागमन अबरुद्ध पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं